Category: अन्तर्राष्ट्रिय

  • दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

    दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दो, एकै दिनमा ८० हजारभन्दा बढी संक्रमित

    सोल, १३ बैशाख-
    दक्षिण कोरियामा कोभिड १९ को संक्रमण बढ्दो देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र ८० हजार जना भन्दा बढीमा कोभिडको संक्रमण भएको छ ।
    दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि ८० हजार ३६१ जना संक्रमित भेटिएका छन् ।

    यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७० लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको नि समाचारमा जनाइएको छ ।यहाँ अघिल्लो हप्तासम्ममा दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएर ३४ हजार जनामा संक्रमण पुगेको थियो ।

    सोमबार मात्र यहाँ कोभिडका संक्रमित ८० हजार नाघेको बताइएको छ । तर पनि पछिल्ला दिनहरुमा कोभिडका संक्रमितहरुको संख्या घट्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् ।यहाँका यी संक्रमितहरु मध्ये ६१३ जना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको पनि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

    संक्रमणबाट पछिल्लो पटक ८२ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २२ हजार ३२५ जनाको ज्यान गएको बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् । (एजेन्सी)

  • युवायुवतीलाई बिगारेको भन्दै अफगानिस्तानमा टिकटिक बन्द

    युवायुवतीलाई बिगारेको भन्दै अफगानिस्तानमा टिकटिक बन्द

    काठमाडौं, बैशाख ११ –
    अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकमा भिडियो सेयरिङ एप टिकटक पब्जी भिडियो गेममाथि प्रतिबन्ध लगाएको छ ।

    बीबीसीले जनाएअनुसार अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता इनामुल्लाह समानगानीले ‘युवाहरुलाई बिगारेको’ भन्दै टिकटक र पब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

    यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । यसअघि तालिबानले सङ्गीत, चलचित्र तथा टेलिसिरियलहरुमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

    यद्यपि यस प्रतिबन्ध कहिलेबाट लागू हुने भन्नेबारे केही खुलाइएको छैन । गत वर्षको अगष्ट महिनामा सत्ता हत्याएयता तालिबानले पहिलो पटक यस्तो एपहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

    पछिल्लो समय अफगानिस्तानमा युवायुवती तथा केटाकेटीमाझ पब्जी र टिकटक अत्यन्त लोकप्रिय बन्दै गएको जनाइएको छ । – बीबीसी

  • विश्वकै जेष्ठ महिलाको मृत्यु, यस्तो थियो उनको दिनचर्या

    विश्वकै जेष्ठ महिलाको मृत्यु, यस्तो थियो उनको दिनचर्या

    टोकियो, १३ वैशाख –

    विश्वकै सबैभन्दा बढी उमेरकी महिलाका रुपमा आधिकारिकता प्राप्त गरेकी जापानकी केन टनाकाको ११९ वर्षको उमेरमा मृत्यु भएको छ ।

    टनाकाको जन्म जनवरी २, १९०३ मा जापानको फुकुओकामा भएको थियो । उनी जन्मिएकै साल राइट दाजुभाइले पहिलोपटक विमान उडाएका थिए भने म्यारी क्युरी नोबल पुरस्कार पाउने पहिलो महिला बनेकी थिइन् ।

    टनाका तुलनात्मक रुपमा राम्रै स्वास्थ्य अवस्थामा थिइन् । नर्सिङ होममा बसिरहेकी उनी विभिन्न खेल खेल्नेदेखि गणितका हिसाबहरु समेत हल गर्थिन् भने सोडा र चकलेट खान मन पराउँथिन् ।

    युवा अवस्थामा उनी खानेकुरा व्यवसायी थिइन् । उनले एक शताब्दी अगाडि १९२२ मा हिडेओ टनाकासँग विवाह गरेकी थिइन् । उनीहरुका चार छोराछोरी थिए भने पाचौँ चाहिँ पछि एडप्ट गरिएको थियो ।

    २०२१ को टोकियो ओलम्पिक्समा उनले ह्वीलचियरको सहायतामा टर्च रिले समारोहमा सहभागीता जनाएकी थिइन् । २०१९ मा गिनिज विश्व रेकर्डले उनलाई दुनियाँकै सबैभन्दा जेष्ठ जिवित मानिसका रुपमा आधिकारिकता दिलाएपछि संचारकर्मीहरुले उनलाई आफ्नो जीवनकै सबैभन्दा खुसीको क्षणबारे बताउन भनेका थिए । यसको जवाफमा उनले, “अहिले । म वर्तमानमा सबैभन्दा धेरै खुसी छु ” भनेकी थिइन् ।

    उनी हरेक दिन बिहान ६ बजे उठ्ने गर्थिन् र दिउँसोको समय गणित पढेर अनि क्यालिग्राफीको अभ्यास गरेर बिताउने गर्दथिन् । अहिलेसम्मकै सबैभन्दा लामो समय जीवित रहनेमा चाहिँ फ्रान्सेली महिला जिन लुइस केलमेन्ट पर्दछिन् । उनको १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएको थियो । (एजेन्सी)

  • युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त

    युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त

    किभ, १३ वैशाख-

    रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा ब्रिफिङमा रुसी सेनाले धेरै सैन्य क्षेत्रमा हमला गरेको जनाएको छ ।

    प्रवक्ता कोनासेन्कोभले भने, ‘रुसी सशस्त्र बलहरूले युक्रेनमा विशेष सैन्य कारबाही जारी राखेका छन् । लामो दूरीका हतियारहरूले क्रेमेन्चुक सहरको बाहिरी भागमा रहेको तेल प्रशोधन केन्द्र ध्वस्त पारेका छन् ।’ रुसी फौजले युक्रेनका ५६ ओटा सैन्य आधारहरूमा हमला गरेको मस्कोले दाबी गरेको छ । यद्यपि, मस्कोको दाबी पुष्टि हुन बाँकी नै छ ।

    रुसले मारिओपोलमा रहेको एजोभस्टल स्टिल कारखानामा आक्रमण रोक्ने र त्यहाँबाट सर्वसाधारणलाई बाहिर निस्कन दिने बताएको छ । तर, युक्रेनले लिखित सुरक्षा सुनिश्चितताको माग गरेको छ ।

    यसैबीच, सो सहरबाट भागेका मानिसहरूले आफूहरूलाई एउटा प्रशोधन केन्द्रमा राखिएको बीबीसीले जनाएको छ । एजेन्सी

  • युक्रेन संकट: मारिओपलमा युद्धविराम

    युक्रेन संकट: मारिओपलमा युद्धविराम

    मस्को, १३ वैशाख-

    रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार रुसी सेनाले एकतर्फी रूपमा सबै शत्रुताको अन्त्य गर्नेछन् । एकाइहरूलाई सुरक्षित दूरीमा हटाउनेछन् र मानिसहरूलाई बाहिर निकाल्ने सुनिश्चित गर्नेछन् । युक्रेनी पक्षले निकासी प्रक्रिया सुरु गर्न अजोभस्टलमा ‘सेतो झण्डा उठाएर’ तत्परताका लागि संकेत गर्नुपर्छ ।

    ‘त्यसपछि सर्वसाधारणहरूलाई उनीहरूले छनौट गरेको दिशामा लगिनेछ’, मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार हरेक ३० मिनेटमा ‘रेडियो च्यानलहरू मार्फत’ अजोभस्टल भित्रका व्यक्तिहरूलाई पठाइनेछ ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता रूसी सेनालाई स्टिल कारखानामा आक्रमण गर्नुको सट्टा सो क्षेत्र घेरेर बस्न आदेश दिएका थिए ।- एजेन्सी

  • रुसी राष्ट्रपति पुटिन के अस्वस्थ छन् ?

    रुसी राष्ट्रपति पुटिन के अस्वस्थ छन् ?

    लन्डन, १३ वैशाख-

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् ।

    ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे । यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ ।

    यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन् । सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यमा समस्या आएको अनुमान गरेको सो पत्रिकाको दाबी छ ।

    गत राति उनी मस्कोको क्राइस्ट द सेभियर क्याथेड्रलमा सहरका मेयर सर्गेई सोब्यानिनको साथमा थिए । त्यतिबेला पुटिनमा पार्किन्सन रोगका केही लक्षण देखिएको पत्रिकाको दाबी छ ।

    उनी असहजरूपमा सरेको, जिब्रो बाहिर निकालेको र ओठ टोकेका देखिन्थे । उनले सिलिङ र भुइमा हेरेका थिए । राष्ट्रपति आफूलाई नियन्त्रण धेरै सावधान देखिन्थे । मण्डलीमा सामेल हुनबाहेक उनी अरू बोलेनन् ।

    युक्रेनी सहर मारिओपोलमा घेराबन्दी गर्न रक्षामन्त्री सर्गेई सोइगुलाई आदेश दिएको केही दिनपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए ।- एजेन्सी

  • इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

    इटालीमा फेरि कोभिड त्रास: ७३ हजार दैनिक संक्रमित, १४३ जनाको मृत्यु

    रोम, ११ वैशाख-

    इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् । कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो ।

    सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ ।

    युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए । एजेन्सी

  • दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

    दिल्लीमा मास्क अनिवार्य, नियम उल्लंघन गर्नेलाई ५०० जरिवाना

    नयाँ दिल्ली, ८ वैशाख-

    भारतको राजधानी नयाँ दिल्लीमा फेरिे मास्क अनिवार्य गरिएको छ । कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो । मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ ।

    तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् । बुधबार भारतमा ६३२ जना नयाँ संक्रमित देखिएका थिए । कूल संक्रमितमध्ये ५०१ जना नयाँ दिल्लीका छन् । संक्रमण दर ४ दशमलब ४२ प्रतिशत रहेको थियो । मंगलबार दिल्लीमा दैनिक संक्रमितको संख्या २६ प्रतिशतले बढेको थियो ।

    कोरोना महामारी सुरु भएदेखिअहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कुल ४ करोड २५ लाख १३ हजार २४८ जना संक्रमणमुक्त भएका छन् ।- एजेन्सी

  • भारतको भ्रमणमा निस्कनुअघि बेलायती प्रधानमन्त्रीले के भने ?

    भारतको भ्रमणमा निस्कनुअघि बेलायती प्रधानमन्त्रीले के भने ?

    लन्डन, ८ वैशाख-

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुससँग युद्ध अन्त्यका लागि भएका वार्ता असफल हुन सक्ने बताएका छन् । भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री जोनसनले रुसले राजधानी कीभमा ताजा हमला गर्न सक्ने बताए ।

    भारत भ्रमणका क्रममा युक्रेन युद्धबारे भारतको तटस्थता अन्त्य गर्न भारतीय समकक्षीलाई प्रोत्साहन गर्ने उनले बताए । तर, भारतले रुससँगको लामो समयदेखिको सम्बन्ध तोड्ने सम्भावनालाई भने उनले अस्वीकार गरे ।

    प्रधानमन्त्री नरेन्द्र मोदी र जोनसनबीच शुक्रबार नयाँ दिल्लीमा भेट वार्ता हुँदै छ । भेटका क्रममा जोनसनले आफ्ना भारतीय समकक्षीलाई रुस–युक्रन युद्धमा युक्रेनको पक्षमा उभिन मोदीलाई मनाउन प्रयास गर्ने अनुमान गरिएको छ ।

    ‘मैले युक्रेनको बारेमा नरेन्द्र मोदीसँग कुरा गरिसकेको छु र वास्तवमा भारतीयहरूले बुचामा भएको घटनाको निन्दा गरेका छन’ उनले भने ।

    प्रधानमन्त्री जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यवहार गर्नु भनेको गोहीसँग ‘बार्गेनिङ’ गर्नुजस्तै भएको बताए । रुसले पछिल्लो समय आफ्नो सम्पूर्ण बल पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनबाट रूसी सेनालाई हटाएको आफूले हेर्न चाहेको उनले बताए ।

    सन् २०१४ मा रुसमा बिलय भएको क्रिमिया प्रायद्वीपबारे जेलेन्स्कीले छलफल गर्न सक्ने उनले बताए । युक्रेनी जनताले आफ्नो भविष्यको निर्णय आफै गर्ने उनको भनाई थियो । ‘युक्रेनबिना युक्रेनको बारेमा केही निर्णय गर्नु हुँदैन् ’, उनले थपे ।- एजेन्सी

     

  • पेरुमा बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै

    पेरुमा बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै

    लिमा, ८ वैशाख-

    पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन ( यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग) लाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रिपरिषद्का सदस्यहरूले यस्तो जानाकारी दिएका हुन् ।

    तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानुन ल्याउन लागेको हो । न्यायमन्त्री फेरलिक्स चेरोले भने, ‘यो उपाय बलात्कार गर्नेहरूका लागि थप सजाय हुनेछ ।’

    नाबालिगहरूलाई बलात्कार गर्नेहरूले जेल सजाय भोग्ने र सजायको अन्त्यमा दोषीलाई नपंशुक बनाइने उनले बताए ।

    ३ वर्षीया बालिकाको बलात्कारको आशंकामा ४८ वर्षीय पुरुष पक्राउ परेपछि सरकारले बलात्कारीविरुद्ध कठोर कानुन ल्याउन लागेको हो । पीडित बालिकाको परीक्षणपछि शल्यक्रिया गरिएको थियो ।

    सामाजिक रूपले रूढिवादी र विद्यालयका पूर्वशिक्षकसमेत रहेका राष्ट्रपति पेड्रो कास्टिलोले विद्येयकको समर्थन गरेका छन् । बालिका बलात्कार गर्नेलाई उदाहरणीय ढंगले सजाय दिनु पर्ने उनले बताएका छन् ।

    ‘हामीलाई आशा छ कि संसदले यो विद्येयक अनुमोदन गर्नेछ’, क्यास्टिलोले यसै साता भनेका थिए ।

    विद्येयकले कानुनको रूप लिन संसदबाट अनुमोदन हुनुपर्छ । तर, स्वास्थ्यमन्त्री जर्ज लोपेज, पीडितका अभिभावक र केही महिला अधिकार संगठनहरूले विद्येयकको आलोचना गरेका छन् । ‘हामीलाई खेद छ कि कार्यपालिकाले यौन हिंसा बुझ्दैन’, पेरुकाे महिला अधिकार समूह फ्लोर ट्रिस्टानले ट्विट गरेको छ ।

    ‘तीब्र न्यायिक प्रक्रिया, हेरचाहमा सुधार, दण्डहीनता विरुद्ध लडाइँ र रोकथामलाई बलियो बनाउने उपाय आवश्यक छन्’, समूहले अगाडि भनेको छ । एजेन्सी