Category: नवलपरासी पूर्व

  • गैंडाकोट नगरपालिकाद्धारा १ अर्ब ८ करोडको बजेट सार्वजनिक, समावेशी विकासमा विशेष जोड

    गैंडाकोट नगरपालिकाद्धारा १ अर्ब ८ करोडको बजेट सार्वजनिक, समावेशी विकासमा विशेष जोड

    गैंडाकोट असार ७
    गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८ करोड ७२ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै सुशासन, सेवा प्रवाहको छरितोपन, कृषि, पर्यटन, रोजगार र समावेशी समाज निर्माणलाई बजेटको केन्द्रमा राखिएको जानकारी दिनुभयो।

    नगरपालिकाले सेवा छिटो, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित बजेट निर्माण गरेको जनाएको छ। यसपटकको बजेटमा नागरिकका लागि सहज पहुँच हुने स्वास्थ्य र गुणस्तरीय शिक्षा, विपद् व्यवस्थापन, गरिबी न्युनीकरण र रोजगारी सृजनामा विशेष प्राथमिकता दिइएको छ।

    नगरपालिकाले समावेशी र समतामूलक समाज निर्माणमा विशेष जोड दिइएको छ, लक्षित वर्गलाई श्रोत-साधन र अवसरमा समान पहुँच सुनिश्चित गरिने जनाएकाे छ।नगरको विकासका लागि विनियोजन गरिएको बजेटमा चालु खर्चतर्फ ६३ करोड ३१ लाख र पुँजीगत खर्चतर्फ ४५ करोड ४० लाख छुट्याइएको छ।

    नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटले समावेशी, पारदर्शी र दिगो विकासलाई लक्ष्य बनाएर विविध सामाजिक र आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ। सेवा प्रवाहदेखि रोजगारी सिर्जनासम्म र सामाजिक सुरक्षादेखि पूर्वाधार निर्माणसम्मका विषयलाई समेट्दै नगरले नागरिकमैत्री दृष्टिकोण अघि सारेको छ।

    बजेटको मूल उद्देश्य सेवा छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने हो। प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित बजेट तयार गरिएको छ। त्यसैगरी, कृषिमा आत्मनिर्भरता र रोजगारी सिर्जना गर्दै गरिबी न्युनीकरणको दिशामा ठोस पाइला चालिएको छ।

    पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन र सामाजिक सुरक्षालाई समेत समेटिएको बजेटले लक्षित वर्गहरू—जस्तै अपाङ्गता भएका व्यक्ति, महिला, वृद्धवृद्धा र विपन्न समुदाय—लाई केन्द्रमा राखेको छ।

    नगरपालिकाले साना तथा घरेलु व्यवसाय सञ्चालन गर्ने अपाङ्गता भएका नागरिकहरूलाई कर छुटको व्यवस्था निरन्तरता दिएको छ। ‘क’ र ‘ख’ वर्गका अपाङ्ग व्यक्तिहरूका व्यवसायमा क्रमशः ८०% र ७०% छुट यथावत् राखिँदा, ‘ग’ वर्गका अपाङ्ग व्यक्तिहरूका व्यवसायमा पहिलोपटक ५०% छुट दिने व्यवस्था गरिएको छ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले चालु आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ४.५ प्रतिशत प्रशासनिक खर्च घटाइएको जानकारी दिए । खनालले नगरपालिकाले सुशासन, सेवा प्रवाहको छरितोपन, कृषि, पर्यटन, रोजगार र समावेशी समाज निर्माणलाई केन्द्रमा राखेर काम गरेको बताए ।

    बजेटका प्राथमिकता क्षेत्रहरू यस्ता छन्:
    गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच: हरेक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गरून् र हरेक नागरिक आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित नहोस् भन्ने लक्ष्य।

    प्रविधिमैत्री र पारदर्शी सेवा प्रवाह: सुशासनको प्रत्याभूति गर्दै प्रविधिको अधिकतम प्रयोगमार्फत नागरिक सेवा छरितो र सरल बनाउने योजना।

    सामाजिक विकास र सुरक्षा: लक्षित वर्गको सशक्तिकरण, सामाजिक न्यायको प्रवर्द्धन र सहजीकरणको लागि विविध कार्यक्रम।

    कृषिको व्यवसायीकरण र बजारीकरण: परम्परागत कृषिलाई आधुनिक विधिबाट उत्पादनमुखी बनाउने, युवालाई कृषि रोजगारीतर्फ आकर्षित गर्ने।

    भौतिक पूर्वाधार विकास: बाटो, पुल, खानेपानी, सरसफाइलगायत नगरको आधारभूत संरचना मजबुत बनाउने।

    विपद् व्यवस्थापन: विपद् पूर्वतयारीदेखि पुनःस्थापनासम्मको चक्र व्यवस्थित बनाउँदै सुरक्षित नगर बनाउने।

    पर्यटन प्रवर्द्धन: गैंडाकोटका सम्भावनाशील पर्यटकीय स्थलहरूको संरक्षण, विकास र प्रचार-प्रसार गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने।

    रोजगारी सिर्जना र गरिबी न्युनीकरण: साना उद्यम, सीप विकास, सहुलियत कर नीतिजस्ता कार्यक्रममार्फत रोजगारका अवसर विस्तार गर्ने।

    राजस्व परिचालनमा सुधार: आन्तरिक राजस्व संकलन प्रणाली पारदर्शी बनाउँदै आर्थिक आत्मनिर्भरता हासिल गर्ने।

  • दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

    काठमाडौं असार ५

    पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

    विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो ।

    डाभइर्सनमा क्षति भएका कारण उक्त सडकखण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने र चिप्लिने गरेको प्रहरीले जनाएको छ ।

    सडक बिग्रिएकोले जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ ।

    यातायातका साधन सञ्चालनका लागि विभिन्न ४ वटा वैकल्पिक मार्ग तय गरिएको छ । त्यस क्षेत्र हुँदै आवागमन गर्दा यी रुट प्रयोग गर्न सकिन्छ –

    पहिलो रुट –पूर्वबाट पश्चिम जाने सवारी साधनले नारायणगढ-मुग्लिन-पोखरा-स्याङ्जा-बुटवल हुँदै जाने

    दोस्रो रुट – काठमाडौंबाट पश्चिम जाने सवारी साधनले मुग्लिन-पोखरा-स्याङ्जा-बुटवल हुँदै गन्तव्यमा जाने

    तेस्रो रुट- पश्चिमबाट पूर्व जाने सवारी साधनले बुटवल-स्याङ्जा-पोखरा-मुग्लिन हुँदै जाने

    चौथो रुट- साना सवारी साधन भने अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट-पिपलडाँडा सडकबाट सञ्चालन गर्न सकिनेछ ।

  • विनयी खोलाको डाईभर्सन बन्यो, सडक एकतर्फी संचालन

    विनयी खोलाको डाईभर्सन बन्यो, सडक एकतर्फी संचालन

    चितवन, असार ०४
    पुर्वपश्चिम राजमार्ग एकतर्फी खुलेको छ ।

    पुर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवासको विनयी खोलाको अस्थायी डाईभर्सन बाढीले बगाएपछि अवरुद्ध रहेको पुर्वपश्चिम राजमार्गमा आवागमन एकतर्फी संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

  • विनयी खोलाको बाढीले नारायणगढ–बुटवल सडक अवरुद्ध

    विनयी खोलाको बाढीले नारायणगढ–बुटवल सडक अवरुद्ध

    गैँडाकोट जेठ १६
    नवलपुर जिल्लाको विनयीत्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलामा बाढी आएपछि नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान करिब सवा ६ बजेबाट खोलामा रहेको अस्थायी डाइभर्सनमाथिबाट बाढी बग्न थालेपछि सवारी आवागमन दुईतर्फी रुपमा बन्द भएको हो ।
    सडक बन्द भएपछि यात्रु बोकेका गाडीहरू बीच बाटोमै रोकिएका छन् । लामो तथा छोटो दूरीका सयौं सवारी साधनहरू ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन् ।“विनयी खोलाको बहाव उच्च भएकाले डाइभर्सनमाथिबाटै पानी बग्न थालेको छ । अहिले तत्काल खुल्ने अवस्था छैन। केही घण्टा लाग्छ ” जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक मधु नेपालले भन्नुभयो ।

    प्रहरीले चालकहरूलाई आफूले प्रयोग गर्ने लेनमै सवारी चलाउन र अनावश्यक रुपमा अगाडि बढ्न खोज्नेतर्फ सचेत रहन अनुरोध गरेको छ । नारायणगढ–बुटवल सडक पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने अति व्यस्त खण्ड हो, जहाँ दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन् ।

  • नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    नवलपरासी बैशाख २९
    मध्यविन्दु नगरपालिकाको चोरमारामा अवस्थित गिरवारी खोलाको पुल भाँचिएको छ ।‌ अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ भने सयौँ सवारी लाम लागेका छन् । अत्यधिक भारसहितको ट्रक पुल पार गर्न लाग्दा भाँचिएपछि सुरक्षाकर्मीले आउजाउ बन्द गराएको छ ।

    रानीबारी क्षेत्रको वैकल्पिक मार्गबाट सवारी खुलाउने प्रयासमा प्रहरी लागेका छन् । पुल भाँचिएपछि ट्रक पुलमै छाडेर चालक भागेका छन्

  • गैँडाकोटको केलादी खोलामा डुबेर दुई किशोरको मृत्यु

    गैँडाकोटको केलादी खोलामा डुबेर दुई किशोरको मृत्यु

    मध्यविन्दु, २२ वैशाखः
    यहाँको गैँडाकोट नगरपालिका–३ केलादीमा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

    आज स्थानीय जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

    मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र भरतपुर–४ धर्मचोकका १६ वर्षीय शिशिर पन्त रहेका छन् ।

    साथीहरूसँग जुक्तिखोलामा पौडी खेल्न गएका किशोर डुबेर बेपत्ता भएकामा प्रहरी टोलीले खोजी गर्दा दुवै जनाको शव फेला परेको हो ।

  • वर्षाले नारायणगढ-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

    वर्षाले नारायणगढ-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

    नवलपुर (नवलपरासी),वैशाख २१

    गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

    उहाँले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गर्नुभएको छ । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि नै बन्द भएको यस सडक वर्षाका कारण आवागमन बन्द भएपछि सवारीसाधनको लाइन लामो हुँदै गएको सूचना अधिकारी नेपालले जानकारी दिनुभयो ।

    कान्ति लोकपथ सडक अवरुद्ध

    त्यसैगरी, गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाबाट काठमाडौँ जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार उक्त डाइभर्सन बगाएपछि अज बिहान ६ः०० बजेदेखि नै सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । अहिले प्रहरी टोली घटनास्थलमा खटिएको छ र अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रहरीले यात्रीलाई हेटौँडाबाट काठमाडौँ जान अन्य मार्ग प्रयोग गर्न आग्रह गरेको छ । रासस

  • नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते

    नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते

    नवलपरासी, १२ वैशाखः 
    पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । आज बिहान प्रतापपुर गाउँपालिका-६ गुठ्ठीप्रसौनी बस्ने ३६ वर्षीय रघुवीर केवटले बारीमा काम गरिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो । उहाँको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ ।
    केवटलाई चितुवाले आक्रमण गरेको चार घण्टापछि फेरि तीन जनालाई आक्रमण गरी घाइते बनाएको पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “केवटको उद्धार गरी उपचार भइरहेको थियो । सो घटनाबारे थप अनुसन्धान गरिरहेको बेला थप तीनलाई आक्रमण गरी घाइते बनाएको जानकारी प्राप्त भयो ।”
    चितुवाले प्रतापपुर-६ का दुई र सुस्ताका एक जनालाई घाइते बनाएको प्रनाउ पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतापपुरका ३० वर्षीय प्रेमे कोइरीको हातमा, २८ वर्षीय उमालाल कोइरीको खुट्टाको पञ्जामा र सुस्ता गाउँपालिका-५ बस्ने महमद मियाको बाँया हातमा चोट लागेको छ ।
    चितुवाले आक्रमण गरेका सबै उपचारपछि घर फर्किएका छन् । मानिसलाई घाइते बनाएको चितुवालाई इलाका प्रहरी कार्यालय बेलाटारी र प्रतापपुर/सुस्ताको सवडिभिजन वन कार्यालय बरुवाको संयुक्त टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • बाबुआमाले लछारपछार गर्दा नवलपुरमा शिशुको मृत्यु

    बाबुआमाले लछारपछार गर्दा नवलपुरमा शिशुको मृत्यु

    मध्यविन्दु, बैशाख ८ –
    नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिका–१ अर्मलेमा बाबुआमाले लछारपछार गर्दा चारमहिनाको शिशुको मृत्यु भएको छ ।

    स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले गए राति मादक पदार्थ सेवन गरी चारमहिनाको छोरालाई लछारपछार गरी गम्भीर घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

    मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेको अवस्थामा स्थानीयले देखेपछि रामपुर अस्पताल पाल्पा लगिएकामा उपचारका क्रममा शिशुको मृत्यु भएको प्रनाउ नेपालले बताए ।

    शिशुको हत्या अभियोगमा २१ वर्षीय बाबु दीपेन्द्र र ३५ वर्षीया आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आमा कमला परियार दीपेन्द्र परियारसँग केही वर्षअघि दोस्रो विवाह गरी आएको स्थानीय सुकबहादुर नेपालीले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • बुटवलबाट पाल्पा जाँदै गरेको कारमा भिरबाट ढुंगा खस्यो

    बुटवलबाट पाल्पा जाँदै गरेको कारमा भिरबाट ढुंगा खस्यो

    बुटवल चैत ३०,

    सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा खण्डमा माथिबाट खसेको ढुंगा एउटा कारमा खसेको छ । सडक माथिबाट खसेको ढुंगा बुटवलबाट पाल्पातर्फ जाँदै गरेको कारमा लागेको हो ।

    तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिर नजिक कुहिरेभिर माथिबाट खसेको ढुंगा कारमा लागेको प्रहरीले जनाएको छ ।

    बुटबलबाट पाल्पाको भैरवस्थानतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ००१ ज ०२७६ नम्बरको कारमा ढुंगा लागेको दोभान प्रहरी चौकीका सई हिराधर खनालले जानकारी दिए ।

    कारमा रहेका यात्रु सकुसल रहेको खनालको भनाइ छ । शुक्रबार रातिदेखि बिहानसम्म यस क्षेत्रमा ठूलो वर्षा भएको थियो ।

    अहिले यहा सुरुङमार्ग निर्माणको काम जारी छ ।