Category: नवलपरासी पूर्व

  • छोराको कुटपिटबाट बुवाको मृत्यु

    छोराको कुटपिटबाट बुवाको मृत्यु

    नवलपरासी, मंसिर १०-
    नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। मंगलबार राति पौने १२ बजे नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-१ जुगेपानीका ६० वर्षीय रामबहादुर विकलाई उनकै छोरा ३० वर्षीय सन्तकुमार विकले कुटपिट गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झै-झगडा हुँदा सन्तकुमारले आफ्ना बुवा रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

    उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो। अस्पतालका डाक्टरले रामबहादुरलाई गएराति सवा १२ बजे मृत घोषणा गरेको हो।

    कुटपिट गर्ने सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको छ।

  • नवलपरासीमा छ हजार मतदाता थपिए

    नवलपरासीमा छ हजार मतदाता थपिए

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), मङ्सिर ९ –
    पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।

    राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पाँच हजार ३८० जनाले नाम दर्ता गराएका छन् । यद्यपि यी नाम आयोगले अद्यावधिक गरिनसकेको निर्वाचन अधिकारी सुजाता खत्रीले बताउनुभयो । कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको राससलाई बताउनुभयो । यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र कायम थिए । रासस

  • नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

    नारायणघाट–बुटवल सडक विस्तार राति मात्र

    नवलपरासी, २९ कात्तिकः
    पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको गैँडाकोटमा रातिको समयमा मात्र सडक विस्तारको काम भइरहेको छ । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको हो ।

    नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताउनुभयो ।

    “दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो”, उहाँले भन्नुभयो, “रातिमा सवारीसाधनको न्यून चाप हुनाले सहज रूपमा सडक विस्तार भइरहेको छ ।” दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको उहाँले बताउनुभयो ।

    कार्यतालिका बमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा यस सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले बताउनुभयो । गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ । चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ ।

    “दाउन्नेमा तीन किमी सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमी ढलानको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदैछ ।” यस सडकको भौतिक प्रगति करिब ७० प्रतिशत हाराहारी पुगेको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणघाट–बुटवल खण्डको ११४ किमीमध्ये पूर्वी खण्डमा ६५ किमी र पश्चिम खण्डमा ४९ किमी पर्दछ ।

    सडक विस्तारका क्रममा यस खण्डको १०० किमी चार लेनमा तथा दाउन्नेको १४ किमी सडक तीन लेनमा विस्तार हुँदैछ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताउनुभयो । उहाँका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ ।

  • नवलपुरमा दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

    नवलपुरमा दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

    नवलपुर, कार्तिक ०१
    नवलपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको चोरमारा बजारमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छ्न ।

    पुर्व पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासी तर्फ जाँदै गरेको जिजे१४जेड ६४६ नम्बरको भारतिय बसले सोही दिशामा जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा परेर मोटरसाइकलमा सवार सर्लाहीको लालबन्दी नगरपालिका४ बस्ने अनिता चौधरीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन ।

    दुर्घटनामा परेर मृतक अनिता चौधरीका श्रीमान नरेश चौधरी र उनिहरुका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाईते भएका नवलपुर प्रहरीले जनाएको छ । घाईते नरेश चौधरी नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार हुन ।

    घाईतेहरुको अवस्था गम्भीर रहेको र उनिहरुलाई थप उपचारका लागि मेडिकल ईक्युप्मेन्ट सहित चिकित्सकको निगरानीमा चितवन मेडिकल कलेज पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

  • नवलपुरको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    नवलपुरको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

    नवलपुर (नवलपरासी), भदौ १८ 

    बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली–१५ लोकाहामा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आज बिहान मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रासस

  • गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

    गैँडाकोट १६ भदौ
    लुम्बिनी ICT क्याम्पस मातहत रहेको लुम्बिनी ICT क्लबले प्रविधि क्षेत्रमा सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको “LICT Hackathon Vol. 1” आजदेखि सुरु भएको छ।

    आजदेखि १८ गतेसम्म लुम्बिनी ICT क्याम्पस परिसरमा सञ्चालन हुने यस तीन दिने कार्यक्रममा विद्यार्थी, डेभलपर, डिजाइनर, स्टार्टअप इनोभेटर र प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याई स्थानीय समस्या समाधानका लागि नवीनतम प्रविधिमूलक उपाय प्रस्तुत गर्ने अवसर बिद्यार्थीहरुलाई प्राप्त भएको छ ।

    ह्याकाथनमा प्रथम हुने समूहले ३० हजार रुपैँया द्धितीय हुने समुहले २५ हजार तृतीय हुने समूहले १५ हजार र सान्तवना स्थान हाँसिल गर्ने समूहलाई ५ हजार रुपैँया पंदान गरिने छ भने उत्कृष्ट टोलीहरूले प्रमाणपत्र र आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। महोत्सवमा चितवन, नवलपुर, रुपन्देही लगायतका जिल्लाबाट १६ कलेजकाे सहभागिता रहेकाे छ ।

    ह्याकाथनले विद्यार्थी तथा युवाहरूलाई प्रविधि क्षेत्रमा सिर्जनशील सोच र नवप्रवर्तनको अवसर प्रदान गर्दै भविष्यमा उत्कृष्ट प्रविधि विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

    कार्यक्रम संयोजक आयुष घिमिरे, निर्देशक नरेन्द्र आले मगर र प्रमुख आयोजक अशोक भट्टराई हुन् भने लुम्बिनी ICT क्लबका विभिन्न प्राविधिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएका विशाल भण्डारीले समेत यस कार्यक्रमको जानकारी गराउनुभएको छ।

    उद्घाटन सत्रमा प्रोफेसर डाक्टर हरिहर पौडेल प्रमुख अतिथि रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता कैलाश कोइरालाले गर्नुभएको थियो । अतिथिहरूमा क्याम्पस प्रमुख प्रताप कोइराला , सहायक क्याम्पस प्रमुख खिला देवकोटा, लुम्बिनी क्ष्ऋत् क्लबका अध्यक्ष अशोक भट्टराई, इभेन्ट कोअर्डिनेटर आयुष घिमिरे लगायतको उपस्थितिमा कार्यक्रम शुभारम्भ गरिएको हो।

     

  • नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

    नवलपुरको कावासोती धापमा भासिएर गैँडाको मृत्यु

    नवलपुर,भदौ १०

    कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो । गैँडाको खाग र खुर सुरक्षित छ । पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार सन् २०२१ मुलुकमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा छन् ।

  • दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम

    दाताका भरमा अपाङ्ग जीवन विकास आश्रम

    नवलपुर (नवलपरासी), भदौ ९ –
    बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था (आश्रम) दाताहरुकै भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठलगायतका विभिन्न शुभकार्यमा दाताहरुले गर्ने सहयोगकैभरमा आश्रम सञ्चालन भइरहेको छ ।

    आश्रमका सञ्चालक गणेश सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरुलाई खाना र स्वास्थ्योपचारका लागि मासिक रु दुई लाख भन्दा बढी खर्च हुने गरेको जानकारी दिनुभयो । “हामीलाई सरकारी निकायबाट कुनै सहयोग छैन” उहाँले भन्नुभयो, “उत्सव तथा विभिन्न समयमा दाताहरुको दानबाट आश्रम चलाउँदै आएका छौँ, केही नियमित दातासमेत हुनुहुन्छ ।” दाताहरुबाट नगद तथा खाद्यान्नलगायतका जिन्सी सामान सहयोग हुँदै आएको सापकोटाले बताउनुभयो ।

    हाल आश्रममा देशका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका १९ जना असहाय तथा अपाङ्गहरु आश्रित रहेका छन् । जसमध्ये तीन जना महिला तथा दुई जना बालक छन् । आश्रममा संरक्षित व्यक्तिहरुमा मानसिक समस्या भएका, दृष्टिविहीन, बोल्न नसक्ने, खुट्टा तथा अन्य अपाङ्गता भएका व्यक्ति रहेका सापकोटाको भनाइ छ ।

    सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिहरुलाई उद्धार गरी उनीहरुलाई आश्रमा ल्याएर आश्रय दिइँदै आएको सापकोटाले बताउनुभयो । “हामीले उद्धार गरेर ल्याएकामध्ये धेरैलाई पारिवार खोजी गरी पुनःस्थापना गरेका छौँ” उहाँले भन्नुभयो, “पुनःस्थापना हुन नसकेका व्यक्तिहरु संस्थामा नै बस्दै आउनुभएको छ ।” सामान्य खालका बिरामीका लागि स्वास्थ्यचौकीबाट परीक्षण र औषधि उपचारको व्यवस्था हुने गरेको भए पनि जटिल रोगका बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताउनुभयो ।

    आश्रममा अश्रित व्यक्तिलाई आवश्यक पर्ने लुगाफाटा, खाद्यान्नसहितका वस्तु सहयोग गरिदिन उहाँले आग्रह गर्नुभयो । आश्रममा गएर रु पाँच हजार शुल्क सहयोग गरेमा सहयोग गर्ने व्यक्तिको नाममा एक छाकको खाना खुवाइने उहाँले बताउनुभयो । रासस

  • नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    नारायणी पुलमा सवारी दुर्घटना १ जनाको मृत्यु, १ जना घाइते

    नवलपुर, भदौ ८-
    नवलपुरको गैडाकोटमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलको बीचमा गैडाकोटबाट नारायणगढतर्फ जाँदै गरेको ना १ क ५१९९ नम्बरको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएको हो ।

    दुर्घटनामा परी मोटरसाइकल चालक नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर ४ बस्ने बर्ष २३ को मुनाल दाहालको मृत्यु भएको छ ।

    त्यसैगरी मोटरसाइकल पछाडि सवारी गैडाकोन ४ निवासी २७ बर्षीय प्रतिक घिमिरे सामान्य घाइते भएका छन् ।

    दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको हो ।
    ट्रकले मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको थियो ।

    ठक्कर दिने ट्रक र ट्रक चालक सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ९ निवासी ३५ बर्षीय तुक्तबहादुर आले मगर चितवन प्रहरीको नियन्त्रणमा रहेको नवलपुर प्रहरीले जनाएको छ ।

  • गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    गैँडाकोटमा भव्य रूपमा ‘अक्सफोर्ड मेला २०२५’ शुभारम्भ

    गैँडाकोट साउन २६
    अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘अक्सफोर्ड मेला २०२५’ गैँडाकोटस्थित कलेज प्राङ्गणमा भव्य रूपमा सुरु भएको छ।

    तीन दिनसम्म सञ्चालन हुने यस मेलाको उद्घाटन पोखरा विश्वविद्यालय व्यवस्थापन विभागका डिन, एसोसिएट प्रोफेसर डा. दयाराज ढकालज्यूले गर्नुभयो। उद्घाटन सत्रमा उहाँले अक्सफोर्ड कलेजलाई पोखरा विश्वविद्यालय अन्तर्गतको सर्वोत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै, अध्ययन-अध्यापनसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा यसको योगदान प्रशंसनीय भएको बताउनुभयो। साथै, मेलाले विद्यार्थीहरूलाई नवप्रवर्तन, अनुसन्धान र व्यावहारिक सीप विकासमा संलग्न हुन प्रेरणा दिने अपेक्षा व्यक्त गर्नुभयो।

    गैँडाकोट नगरपालिकाका नगर प्रमुख श्री मदनभक्त अधिकारीज्यूले अक्सफोर्ड कलेजको विभिन्न सामाजिक र शैक्षिक पहलले गैँडाकोटको प्रतिष्ठा उच्च बनाएको उल्लेख गर्दै, गैँडाकोटलाई शैक्षिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न यस मेलाले महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।

    गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री अमृत भट्टचनज्यूले मेलाले विद्यार्थीको क्षमता विकासमा कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्दै, वैदेशिक शिक्षातर्फको बढ्दो प्रवृत्ति न्यूनीकरण गर्न नीतिगत पहल आवश्यक रहेको बताउनुभयो।

    यस अवसरमा प्रज्ञा एकेडेमी, मध्यविन्दु बहुमुखी क्याम्पस, वाइज भिजन स्कूल, सेन्ट्रल इङ्लिस स्कुल, नोबेल एकेडमी, सिद्धि विनायक आवासीय माध्यमिक विद्यालय, नेपाल आदर्श शिक्षा सदन, ग्लो साइन एकेडमी, मदरल्याण्ड एकेडमी, ओशन एकेडमी र भ्याली स्टेट कलेजलगायत ११ प्रतिष्ठित शैक्षिक संस्थासँग अक्सफोर्ड कलेजबीच शैक्षिक सहकार्यसम्बन्धी सम्झौता (MOU) हस्ताक्षर गरिएको छ। कलेजका प्राचार्य प्रा. डा. ई. हरि भण्डारीज्यूले सम्झौता अन्तर्गत शिक्षक तथा कर्मचारी तालिम, विद्यार्थी तालिम, गेस्ट क्लास, प्रयोगशाला तथा स्रोतको साझेदारी र पुस्तकालय पहुँच जस्ता पहलहरू सञ्चालन गरिने जानकारी दिनुभयो। साथै, यस वर्ष २५ विद्यालयसँग सहकार्य गर्ने लक्ष्य राखिएको समेत बताउनुभयो।

    अक्सफोर्ड कलेजका सहायक प्राचार्य कृष्णहरि पौडेलज्यूले उद्घाटन सत्रका सम्पूर्ण गतिविधि सुमधुर र समन्वित ढंगले सञ्चालन गर्दै, कक्षा १२ पास गरेपछि सीपबिना विदेश जानुभन्दा देशमै अध्ययन गर्दै दक्षता हासिल गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। मेलामा कोड वार, ब्रिज मोडलिङ, सर्किट डिजाइन, बिजनेस पिच प्रतियोगिता, मोकटेल, कुकिङ विथआउट फायर, आर्ट तथा पोस्टर डिजाइन, क्विज, पब्लिक स्पिकिङ च्यालेन्ज, प्यानल डिस्कसन, करियर गाइडेन्स सेसन, पब्जी टुर्नामेन्ट र बास्केटबल टुर्नामेन्टसहित १३ विविध कार्यक्रम समावेश छन्। पहिलो दिन पब्जी र बास्केटबल प्रतियोगिता तथा सांस्कृतिक प्रस्तुति सम्पन्न भएका छन् भने आगामी दिनहरूमा शैक्षिक प्रदर्शनी, नृत्य–संगीत, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू हुनेछन्।

    वि.सं. २०५७ सालदेखि पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गर्दै उच्च शिक्षा क्षेत्रमा प्रवेश गरेको अक्सफोर्ड कलेजले हाल स्नातक तहका ६ र स्नातकोत्तर तहको १ कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्थापना कालदेखि नै शैक्षिक उत्कृष्टता कायम राख्दै आएको यस कलेजले डीन लिस्ट, गोल्ड मेडल तथा राष्ट्रियस्तरका उपलब्धिहरू हासिल गर्दै आफ्नो शैक्षिक पहिचान मजबुत पारेको छ।