Category: मकवानपुर

  • मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

    मकवानपुर जिल्ला आयुर्वेद अस्पतालमा औषधिको अभाव

    हेटौंडा, साउन २१-
    बाग्मती प्रदेशअन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएको छ ।

    मकवानपुरको हेटौंडा रहेको उक्त केन्द्रमा औषधि अभावका कारण उपचार गराउन आउनेको सङ्ख्यामा कमी आएकोे छ ।

    आयुर्वेदिक औषधिबाट कुनै पनि ‘साइड इफेक्ट’ नहुने भएकाले बिरामीको सङ्ख्या बढ्ने गरेकामा अहिले औषधिको अभाबमा रित्तै फर्किने गरेका छन् ।

    विभिन्न रोगका करिब २३ प्रकारका आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको सो केन्द्रमा हाल १० प्रकारका औषधिसमेत नरहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन्।

    विशेषगरी बाथ, पित्त, कफ, ग्यास्टिक, ववासिर, अल्सर, ज्वरो, कमलपित्त, कमजोरी, भोक नलाग्ने, हात र खुटा सुन्निने झमझमाउने र पोल्ने तथा पारालाइसिसलगायत विभिन्न रोगका बिरामीलाई दिइने औषधि सकिदा पनि प्रदेश सरकारले उपलब्ध नगराएकाले सेवा लिनेहरु मारमा परेको बताइएको छ ।

    दैनिक ८५ बिरामी उपचारका लागि आउने गरेकामा औषधि अभावका कारण हाल दैनिक ३० देखि ३५ बिरामी आउने गरेको केन्द्रका सूचना अधिकारी अशोक झाले बताउनुभयो ।

    बिरामीलाई विभिन्न औषधिको प्रयोगसँगै उपकरणको सहायताले सेकताप र रोग नुसारको उपचार पद्धति प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

    विगत दुई वर्षदेखि विश्वमहामारीका रुपमा फैलिएको कारोनाको सङ्क्रमणवाट जोगिनका लागि सो स्वास्थ्य केन्द्रमा उपचार गराउन र परामर्श लिनेको सङ्ख्या बढ्दै गएको थियो ।

    प्रदेश सरकारसँग औषधि खरिदका लागि रकम माग गरिएकामा अहिलेसम्म प्राप्त हुन नसकेको सूचना अधिकारी झाले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य केन्द्रमा जनशक्तिको अभावका कारणले कार्य सम्पादनमा समेत समस्या भएको उहाँको भनाइ थियो ।

    उक्त केन्द्रबाट आर्थिक वर्ष २०७८-७९ मा नौ हजार एक सय ११ बिरामीले उपचार सेवा लिएकामा चार हजार पाँच सय १५ महिला र चार हजार चार सय ९५ पुरुष थिए ।

    उक्त केन्द्रमा प्रयोगशाला, फिजियोथेरापी, क्षारसूत्र, पञ्चकर्म, योग सेवाका साथै ज्येष्ठ नागरिकहरुलाई रसायन औषधि वितरण तथा स्तनपायी आमाहरुका लागि दुग्धबर्धक औषधि वितरणसमेत हुँदै आएको थियो ।

  • मकवानपुरमा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै, चार वडामा ४० जना स्रंक्रमित

    मकवानपुरमा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै, चार वडामा ४० जना स्रंक्रमित

    हेटौंडा, साउन २१-
    हेटौंडा उपमहानगरपालिका वडा नं ४, ५, १० र ११ मा केही दिनदेखि डेङ्गुको प्रकोप बढ्दै गएको छ ।

    यी चारै वटै वडामा करिब ४० जना डेङ्गुका सङ्क्रमित फेला परेको हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

    अहिले डेङ्गुका बिरामीको चितवनको भरतपुर, काठमाडौँ र हेटौंडा अस्पतालमा उपचार भइरहेको उक्त महाशाखाका स्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

    वडा नं ४ र ५ को प्रत्येक टोलको घरमा लामखुट्टे नियन्त्रण गर्न अहिले स्प्रे गरिरहेको र घर वरपर जमेको पानी फ्याक्ने कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

    यसैगरी उक्त महाशाखाले प्रत्येक वडाको टोलमा डेङ्गु रोग पहिचानका लागि तथ्याङ्क सङ्कलन गर्न आगामी भदौको पहिलो हप्तादेखि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्न लागिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

    डेङ्गु विरुद्धको औषधि तत्कालै आपूर्ति गरेर एक हप्ताभित्रै सङ्क्रमण फैलिएका क्षेत्रको विभिन्न घरमा छकर्ने तालिका मिलाइसकिएको पनि उहाँले जानकारी दिनुभयो ।

    विगत डेढ वर्ष अघि पनि वडा नं ४, ५ र १० मा डेङ्गुका बिरामी फेला परेको थियो ।

  • मकवानपुरमा २८ जनामा डेङ्गुको सङ्क्रमण

    मकवानपुरमा २८ जनामा डेङ्गुको सङ्क्रमण

    हेटौंडा, साउन १८-
    मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् ।

    कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

    साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ ।

    मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी सो रोगका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रुपमा सो रोगको सङ्क्रमण देखा परेको छ ।

    सूचना अधिकारी घिमिरेले १५ दिनमा उक्त सङ्ख्यामा बिरामी फेला पर्नु ठूलो समस्या भएकाले सर्तकता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताउँनुभयो । सङ्क्रमित हेटौँडा वडा नं ४ तथा ५ का रहेको र उनीहरुको उपचार भइरहेको उहाँले बताउनुभयो ।

    कतिपय निजी अस्पतालमा उपचार गराइरहेको तथ्याङ्क आउन बाँकी रहेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको सोही अवधिमा जिल्लामा एक जनामा कालाजार भएको छ भने हेटौँडाका ९ जनामा स्क्रवटाइफस सङ्क्रमण भएको बताइएको छ ।

    गत आवमा २९५ जना डेङ्गुको सङ्क्रमणबाट बिरामी भएका थिए ।

  • मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो सडक अवरुद्ध

    मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो सडक अवरुद्ध

    मकवानपुर, साउन १८-
    मकवानपुरको बकैया गाउँपालिका–११ लामराङस्थित सडकमा पहिरो खसेको थियो ।

    पहिरो खसेको खबर प्राप्त हुने वित्तिकै पहिरो हटाउन प्रहरी खटिएको छ ।

    पहिरोका कारण ठिंगन हुँदै ललितपुरको सातदोबाटो निस्कने सवारी साधन चल्न सकेका छैनन् ।

  • हेटौँडा उपमहानगरपालिकाले २२ हजार परिवारलाई १० हजार लिटरसम्म पानी निःशुल्क दिने

    हेटौँडा उपमहानगरपालिकाले २२ हजार परिवारलाई १० हजार लिटरसम्म पानी निःशुल्क दिने

    हेटौंडा, साउन १३-
    हेटौँडा उपमहानगरपालिकाले नगरवासीलाई मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने भएको छ । उपमहानगरले मासिक १० हजार लिटर पानीको पैसा नलिने निर्णय गरेको हो ।

    खानेपानी व्यवस्थापन बोर्डअन्तर्गत जडान भएका धारामा मात्र यो निर्णय लागू हुने हेटौँडाका उपप्रमुख राजेश बानियाँले जानकारी दिनुभयो । हेटौँडामा खानेपानी बोर्डअन्तर्गतका झण्डै २२ हजार धाराको हकमा मात्र यो निर्णय लागू हुने उहाँले बताउनुभयो ।

    उपमहानगरले खानेपानी बोर्डमार्फत नगरवासीलाई उक्त सुविधा दिन लागेको हो । यसबाट नगरका एक लाख ४५ हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ ।

    खानेपानी उपलब्ध गराएवापत उपमहानगरले खानेपानी बोर्डलाई वार्षिक रु दुई करोड ३९ लाख ७० हजार उपलब्ध गराउने जनाइएको छ ।

    हाल बोर्डले उपमहानगरपालिकाअन्तर्गत आठ वडाका सबै क्षेत्र र थप छ वडाका केही क्षेत्रका एक लाख ४५ हजार नागरिकलाई २१ हजार सात सय ५० धारामार्फत दैनिक एक करोड ८२ लाख लिटर पानी वितरण गर्दै आएको बोर्डले जनाएको छ ।

  • मकवानपुरबाट एक वर्षमा साढे ६ हजार बढी व्यक्तिले लिए राहदानी

    मकवानपुरबाट एक वर्षमा साढे ६ हजार बढी व्यक्तिले लिए राहदानी

    हेटौंडा, साउन ८-
    जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षमा साढे ६ हजार बढी व्यक्तिले राहदानी लिएका छन् । प्रशासन कार्यालयबाट गत आर्थिक वर्ष २०७८ र ७९ मा ६ हजार ५३२ जनाले राहदानी लिएका हुन् ।

    विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।

    कार्यालयले विभागबाट बनाउने गरी ६ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको छ भने चार हजार १३८ द्रुत सिफारिस गरेको छ ।

    कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा ३ हजार ५२४ राहदानी वितरण गरेको थियो ।

    जसमा ८५० वितरण हुन बाँकी रहेका राहदानी थिए । सो आर्थिक वर्षमा चार हजार ३७४ राहदानीमा कार्यालयले साधारण सिफारिस गरेको थियो भने दुई हजार ९५१ द्रुत सिफारिस गरेको थियो ।

  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

    हेटौंडा, साउन ६-
    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ छ भन्नुभयो ।

    उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमले जनतालाई आर्थिक समृद्धितर्फ डो¥याउँछ । ”

    प्रधानमन्त्री देउवाले सञ्चारकर्मीले पनि देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्ने बानीब्यहोरालाई आत्मसात् गर्नसके मात्र प्रजातन्त्रको सुदृढीकरणमा बल मिल्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्वद्र्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ ।”

    प्रधानमन्त्री देउवाले नागरिकता सुलभ ढङ्गबाट उपलब्ध गराउन सरकारले अहिले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी नयाँ विधेयक दर्ता गरेको जानकारी दिनुभयो ।

    उहाँले देशमा विद्युत्को उत्पादन वृद्धि गरेर बाह्य मुलुकमा निर्यात गर्ने लक्ष्यका साथ आगामी वर्षमा विद्युत् उत्पादनलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोेजित गरिएको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री देउवाले युनियनद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभयो । -रासस

  • हेटौंडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड, परीक्षा गार्डले छात्रालाई दुर्व्यवहार गरेको आरोप

    हेटौंडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड, परीक्षा गार्डले छात्रालाई दुर्व्यवहार गरेको आरोप

    हेटौंडा, साउन ४-
    मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।

    परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

    हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो (मंगलबार)परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

    छात्राले आफूहरुमाथि दुर्व्यवहार भएको आरोप लगाएपछि क्याम्पसले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको छ ।

  • बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने

    बागमती प्रदेशसभा बैठक साउन ५ गते बस्ने

    हेटौंडा, साउन २-
    बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ ।

    प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ ।

    बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

    यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि स्थगन गरेकोे थियो ।

  • हेटौडामा तीन महिनाअगावै पुल बनाउने निर्माण कम्पनीलाई पुरस्कार

    हेटौडामा तीन महिनाअगावै पुल बनाउने निर्माण कम्पनीलाई पुरस्कार

    मकवानपुर, १ साउन-

    तोकिएको समयभन्दा तीन महिनाअगावै पुल निर्माण गर्ने एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि पुरस्कृत हुने भएको छ ।

    हेटौंडा-११ नवलपुर र पदमपोखरी जोड्ने राप्ती नदीको पक्की पुल तोकिएको समयभन्दा तीन महिनाअघि नै निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनी पुरस्कृत हुने भएको हो ।

    सो पुल २६ असोजभित्र निर्माण गरिसक्ने गरी ठेक्का लगाइएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीले जानकारी दिनुभयो ।

    बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले दुई सय १५ मिटरको उक्त पक्की पुल २७ असोज ०७६ असोजमा निर्माण सम्झौता गरेको थियो । राप्ती नदीमाथि रहेको ४ स्पानको ११ मिटर चौडाइको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

    बागमती प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ वटा पुल निर्माण भइसकेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । उसका अनुसार यसअघि पनि एउटा पुल समयअगावै निर्माण सम्पन्न भएको थियो । -न्युज कारखाना