Category: मकवानपुर

  • पाँच दलीय सत्ता गठबन्धन लुतो हो : ओली

    पाँच दलीय सत्ता गठबन्धन लुतो हो : ओली

    राजन कटुवाल

    हेटौंडा, १८ वैशाख

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन लुतो भएको बताएका छन् । आइतबार एमाले मकवानपुरले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले अहिलेको गठबन्धन शरीरमा आउने लुतो जस्तै भएको बताएका हुन् ।

    ‘लुतो धेरै ठूलो घाउ त हैन तर जताततै चिलाइरहन्छ’, उनले भने, ‘अहिलेको गठबन्धन पनि त्यस्तै हो, काम गर्दैन ओली र एमालेलाई गाली मात्रै गरिरहन्छ ।’ उनले अहिलेको सरकार खान जन्मिएको आरोप पनि लगाए । ‘अहिलेको सरकारले देशको ढुकुटी मात्र रित्याएको छ,’ उनले भने, ‘एमालेको सरकार हुँदा सात ओटा मन्त्रालयले विकास गरिरहेको थियो । अहिलेको सरकार आउने बित्तिकै १८ वटा मन्त्रालय पुर्‍याएको छ ।’ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिन धेरै षड्यन्त्र रचेको उनको आरोप छ । ‘सरकारले फागुन महिनाभित्रै स्थानीय तहको निर्वाचन गराउनुपर्ने थियो, गठबन्धन अहिले पनि चुनाव बिथोल्न लागिपरेको छ ।’

    ‘गठबन्धन बाध्यताले चुनावमा सहभागी भएको छ । चुनाव गराउन बाध्य भएको छ । अहिले पनि चुनाव बिथोल्न खोजिरहेको छ’, ओलीले भने, ‘यदि लायक सरकार हुन्थ्यो भने फागुनभित्रै यो चुनाव सम्पन्न भैसक्नुपथ्र्यो ।’ सरकारले कमिसनको लागि अहिले चुनावको मुखमा अरबौंको स्वास्थ्य सामग्री खरिद गरिरहेको आरोप लगाए । ‘मन्त्रीको सिक्रीले धेरैलाई बाँधेर राखेकोले त्यही पार्टीमा बसिरहेका छन् । नत्र पार्टी प्रवेश गर्न आइसक्थे’, ओलीले भने ‘फुटेर गएको पार्टीको नाम एकीकृत भन्न थाले । कांग्रेसको पछि लाग्नेको नाम समाजवादी पार्टी रे ।’

    एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेल, मकवानपुर इन्चार्ज रामेश्वर राना, हेटौंडाको मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्ले लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर र स्वतन्त्र रहेका व्यक्तिहरू एमाले प्रवेश गरेका थिए । /न्युज कारखाना

  • भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

    भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

    हेटौंडा, १६ वैशाख

    भोलि आइतबार नेकपा एमालेले हेटौंडामा आमसभा गर्दैछ । आमसभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
    स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओली हेटौंडा आउन लागेका हुन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्ताहरू सहित ४० हजार भन्दा बढीको सहभागिता रहने दावी गरिएको छ ।

    हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । न्युज कारखाना

  • हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

    हेटौंडाको एक वडामा कांग्रेसको दुई जनालाई टिकट

    हेटौंडा, १२ वैशाख-

    मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाको एक वडामा वडा अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट दुई जनालाई टिकट दिइएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले दुवै जनाको टिकटमा हस्ताक्षर गरेका हुन् ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्षका लागि रविन्द्र घिमिरे र विष्णु गोपाल महर्जनले टिकट पाएका हुन् । महर्जनले निर्वाचन अधिकृतको कार्यलय हेटौंडामा उम्मेदवारी दर्ता गराइसकेका छन् भने घिमिरे जाने तयारीमा छन् ।- न्युज कारखाना

  • मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

    मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबण्डा

    हेटौंडा, ११ वैशाख

    सत्ता गठबन्धनले मकवानपुर जिल्लाको सबै स्थानीय तहको भागबन्डा टुंग्याएको छ । आइतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले ९ वटै पालिकाको प्रमुख र उपप्रमुखको भागबण्डा टुंगो लगाएको हो ।

    हेटौंडा उपमहानगरपालिकाको भने गठबन्धनको केन्द्रीय बैठकले यसअघि नै टुंगो लगाइसकेको थियो । हेटौंडाको मेयर नेकपा एकीकृत समाजवादी र उपमेयर नेपाली कांग्रेसको भागमा परेको थियो ।

    बैठकबाट मकवानपुरका बाँकी ९ स्थानीय तह मध्ये पाँच वटा पालिकाको प्रमुख कांग्रेसले पाउने सहमति भएको हो । तीन वटा पालिकामा माओवादी केन्द्र र एउटामा एकीकृत समाजवादीले अध्यक्ष पाउने भएको छ ।

    कांग्रेसले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र बकैया गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा माओवादी केन्द्रले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, बागमती गाउँपालिकाको प्रमुख पाउने सहमति भएको छ भने नेकपा एकीकृत समाजवादीले ईन्द्रसरोबर गाउँपालिका पाउने सहमति भएको हो ।

    त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसले थाहा नगरपालिका, भिमफेदी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका, बागमती गाउँपालिका पाउने छ भने नेकपा माओवादीले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, बकैया गाउँपालिका पाउने सहमति भएको छ । नेकपा एसले कुनै पनि पालिकाको उपप्रमुख पाएको छैन ।राजन कटुवाल/न्युज कारखाना

  • गठबन्धनबाट हेटौंडाको मेयरमा लामा

    गठबन्धनबाट हेटौंडाको मेयरमा लामा

    हेटौंडा, १० वैशाख

    सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छिन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो ।

    एकीकृत समाजवादीको पदाधिकारी बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । भागबन्डाको आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् ।

    हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र उपाध्यक्ष लामाको नाम सिफारिस भएको थियो । एसले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको टिकट टुंगो लगाएको हो ।

    गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा टिकट पाउने भएपछि प्रतिक्रिया दिँदै लामाले आफूले जित्ने दाबी गरिन् ।

    ‘म उपमेयर हुँदा नै धेरै महत्त्वपूर्ण काम गरिसकेको छु । राम्रो अनुभव बटुलिसकेको छु,’ उनले भनिन्, ‘अब मलाई मेयरमा अवसर आएको छ । गठबन्धनले मलाई पूर्ण रूपमा समर्थन गर्नेछ ।’ लामाले यसअघि हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट उपमेयर जितेकी थिइन् । एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेकी हुन् ।
    न्युज कारखाना

  • मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड (फोटोफिचर)

    मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड (फोटोफिचर)

    हेटौंडा, ९ वैशाख

    हेटौंडा उपमहानगरपालिका-९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेकाे हाे ।

    बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा-९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

    मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

    पार्कमा रहेका अन्य संरचना भने यथावत रहेकाे उनले बताए । ‘त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

    इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ । – न्युज कारखाना

  • बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

    बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

    मकवानपुर, १ वैशाख-
    बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो ।

    प्रदेश प्रमुख शर्माले मुलुकको विकासका लागि सबैले साझा सङ्कल्प लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश यस वर्षदेखि ती साधनको समुचित उपयोग गरी समुन्नत राष्ट्र निर्माण गर्न तथा अतिकम विकसित राष्ट्रबाट माथि उठाउन सबैले साझा सङ्कल्प गर्नुपर्छ ।”

    शुभकामना सन्देशमा उहाँले अर्थतन्त्रमा देखिएको सङ्कट समाधानका लागि प्रत्येक प्रदेशको राजधानी वा उपयुक्त स्थानमा ठूला–ठूला उद्योग, आयोजना सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश प्रमुख शर्माले देशलाई आर्थिक, सामाजिक एवं राजनीतिकरूपमा प्रगतिको गोरेटोतर्फ लम्काउनका लागि सबैले अहम् भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ । (रासस)

  • ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    ९० किलो गाँजासहित भारतीय नागरिक पक्राउ

    मकवानपुर, २१ चैत-
    मकवानपुर प्रहरीले ९० किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    मकवानपुरको मनहरी गाउँपालिका- ६ स्थित पूर्वपश्‍चिम राजमार्गमा चितवनबाट मनहरी आउँदै गरेको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा क्‍याबिनमा रहेको गाँजासहित ट्रक र एक जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा भारतको मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अली छन् । पक्राउ परेका अलीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-न्युज कारखाना

     

  • हेटौँडामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

    हेटौँडामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

    बागमती, १७ चैत
    हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

    मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् । बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    ठक्कर दिने बस र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको छ । (रासस)

  • मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

     

    बागमती, १० फागुन –
    मकवानपुरमा आज भएको फरक फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा एक र पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटौँडा मनहरि सडक खण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

    केहीबेर अघि हेटौँडाको बस्तीपुरबाट नेवारपानीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३– ००५प– १५०३ नंको मोटरसाइकल ना.५त ७३३८ नंको ट्र्याक्टरमा ठक्कर खाँदा मोटरसाइकल चालक स्थानीयवासी १७ वर्षीय सुदीप तितुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका तितुङको उपचारका क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा मृत्यु भएको हो । त्यस्तै इन्द्रसरोवर गाउँपालिका–२ मा आजै भएको दुर्घटनामा एक जनाको मृत्युु भएको छ । कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्डअन्तर्गत काठमाडौँदेखि इन्द्रसरोवर–२ कंलकीतर्फ जाँदै गरेको बा५७ प ८५७० नंको मोटरसाइकल कंलकी नजीक सुकौरा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी ३३ वर्षीय दोर्जे लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मोटरसाइकल सडकबाट तीन सय मिटर तल खसेको थियो । लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । (रासस)