Category: रत्ननगर

  • मनकामना अस्पतालको लापरवाहीले गर्भवतीको मृत्यु, साढे २७ लाखमा सहमति

    मनकामना अस्पतालको लापरवाहीले गर्भवतीको मृत्यु, साढे २७ लाखमा सहमति

    चितवन, २० साउन
    उपाचारको क्रममा चार महिने गर्भवती महिलाको मृत्यु भएको घटनामा मनकामना अस्पतालले गल्ति स्वीकारेको छ।

    भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा मृत्यु भएको थियो । चार महिने गर्भवतीको मृत्यु भएपछि मृतकका आफन्तहरुले चिकित्सकले लापरवाही गरेको भन्दै अस्पताल घेराउ गर्दै गेटमा ताल्चा समेत लगाइदिएका थिए । आज दिनभर आफ्न्त र अस्पताल प्रशासन बीच भएको बैठकमा अस्पतालले आफ्नो गल्ति स्वीकारेको हो ।

    गल्ति स्वीकार गर्दै अस्पतालले पिडित पक्षलाई २७ लाख ५० हजार रुपैंया दिएको छ । सो रकम वार्ताकै क्रममा पिडित पक्षलाई अस्पतालले चेक हस्तान्तरण गरेको वार्तामा सहभागि एक आफन्तले बताएका छन्। स्रोतका अनुसार पिडित पक्षले सुरुमा ४० लाख मागेको थियो तर अस्पतालले १० लाख मात्रै दिने भनेको थियो । यसै बीच कुरा नमिले पछि २७ लाख ५० हजार रुपैंयामा सहमति भएको हो । आज दिनभर भएको अस्पताल प्रशासन र आफन्तहरु विचको वार्तामा अस्पतालले गल्ती स्वीकारेपछि शव उठाएको मृतकका देवर सन्तोष चौधरीले बताए ।

    चार महिनाको गर्भपतनको लागि अस्पताल आएकी उनको अपरेसन पछि अत्याधिक रक्तश्राव भएर मृत्यु भएको हो ।

    घटनाको बिषयमा अस्पतालले आधिकारीक रुपमा केहि जानकारी गराएको छैन ।

  • चितवनमा आँखा पाक्ने रोग फैलिदै, रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

    चितवनमा आँखा पाक्ने रोग फैलिदै, रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

    चितवन, २० साउन
    चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् ।

    भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कोभिडको जस्तै समय समयमा हात धुनुपर्छ, हातले आँखा छुनु हुँदैन, सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्छ ।” आँखा पाक्ने रोग (पिङ्क आई डिजिज) विशेषत वर्षा मौसममा बढी देखिने जनाउँदै उहाँले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “एकै समयमा धेरै जनालाई हुने सरुवा रोगका रुपमा हामीले यसलाई लिएका छौँ ।” यो रोग एकबाट अर्काेमा नजिकको सम्पर्क (क्लोज कन्ट्याक्ट) भएको ठाउँमा सर्ने डा सुवेदीले बताउनुभयो । उहाँले भन्नुभया,े “छात्रावास, विद्यालय, अस्पताल, जेल (कारागार) जहाँ धेरै भीडभाड हुन्छ त्यस्तो ठाउँमा एकबाट अर्काेमा सजिलै सर्ने बढी सम्भावना रहन्छ ।”

    यो रोग एक जनाबाट अर्काेमा फैलिन २४ घण्टादेखि एक हप्ता जति समय लाग्ने जनाउँदै उहाँले तीन हप्तादेखि कसैकसैलाई एक महिनासम्म पनि दुःख दिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरामी पहिलो पटक हामीकहाँ आउँदा आँखा बिझायो, बिहान उठ्दा आँखा सुनिएको देखियो, आँखा कचेराले टालियो, आँसु बढी आयो, उज्यालोमा हेर्न गाह्रो भयो भन्ने लक्षण लिएर आउनुहुन्छ ।” सुरुमा बिरामीको आँखा हेर्दा बाहिरी कोष सुनिएको, कचेरा लागेको, आँखा रातो भएको देखिने गरेको उहाँको भनाइ छ ।

    आँखा पाक्ने रोगले गम्भीर बनाएको अवस्थामा यसले आँखाको नानी (कर्निया) मा मसिना–मसिना घाउ गराउन सक्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आँखा पाकेको बिरामी देख्नुभयो भने त्यसबाट स्वस्थ मानिस टाढै बस्नु राम्रो रहन्छ ।” यसबाट बच्नका लागि कालो चस्मा प्रयोग गर्न उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “चस्माले रोकथाममा सहयोग त पु¥याउँछ, तर एकबाट अर्काेमा सर्दैन भन्ने हुँदैन ।”

    घरमा कसैलाई आँखा पाक्ने रोग भएको छ भने उहाँबाट टाढै बस्नुपर्ने भन्दै उहाँले थप्नुभयो, “बिरामीले चलाएका सामग्री रुमाल, तौलिया, सिरानीलगायतका सामग्री स्वस्थ मानिसले चलाउन हुँदैन ।” सकभर बिरामीलाई छुट्टै कोठामा राख्दा अझै राम्रो हुने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “घरमा एउटै बाथरुम हुन्छ, बिरामीले आँखा पुछेर छोएका बत्तीको स्वीच, ढोकाको ह्याण्डीललगायतका ठाउँमा स्वस्थ मानिसले छोएर आँखामा छोइयो भने यो रोग सर्दछ ।”

    यो रोग लागेमा अस्पतालमै आएर जचाउन सुझाव दिँदै डा सुवेदीले भन्नुभयो, “परीक्षण नगरी मेडिकलमा गएर औषधि लिनुहुँदैन, मेडिकलमा गएर देखाउँदा आँखा विशेषज्ञले नहेर्न सक्नुहुन्छ ।” कुनै कुनै घटनामा फर्मासिस्टले औषधि दिँदा केही नराम्रो दुर्घटना भएका जनाउँदै उहाँले आँखा पाक्ने रोग लागेपछि विशेषज्ञ चिकित्सकको राय लिएर मात्रै औषधि राख्न सुझाव दिनुभयो । (रासस)

  • मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव

    मनकामना अस्पतालमा ३ महिने गर्भवतीको उपचारको क्रममा मृत्यु, अस्पतालमा तनाव

    २० साउन, चितवन
    चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा तीन महिने गर्भवी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं २६ घर भएकी ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएको हो ।

    रक्तश्राव भएर अस्पताल आएकी नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ ।

    महतोका देवर सन्तोष चौधरीले सामान्य रक्तश्रावमा पनि अस्पतालले हेलचेक्र्याइँ गरेको कारण ज्यानै गएको बताए ।

    अस्पतालले शव बुझ्ने कागजमा जबरजस्ती हस्ताक्षर गराउन खोजेको पीडित परिवारको आरोप छ ।

    मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् । अहिले छलफल सुरु गर्न लागिएको छ । अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।

  • रत्ननगर-१५ का ८ जना महिलाले पाए निशुल्क सिलाई मेसिन

    रत्ननगर-१५ का ८ जना महिलाले पाए निशुल्क सिलाई मेसिन

    रत्ननगर, १९ साउन
    चितवनको रत्ननगर नगरपालिका वडा नं. १५ ले सिलाई कटाई सीप सिकेका महिलालाई शुक्रबार सिलाई मेसिन प्रदान गरेको छ ।

    वडा अध्यक्ष आसिक तामाङले एक कार्यक्रमका बिच सिलाई मेसिन हस्तान्तरण गरेका हुन् । यस अघि दिएको ३ महिने सिलाई कटाई तालिम असार ११ गते सम्पन्न भएको थियो । सोही तालिममा सहभागी भएर सीप सिकेका ८ जना महिलाहरुलाई सिलाई मेसिन प्रदान गरेका हुन् ।

    वडा अध्यक्ष तामाङले महिलाहरुलाई सिलाई पेशातर्फ आकर्षित गरी आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई मेसिन वितरण गरिएको बताए । आफूले सिकेको सीपलाई सक्दो उपयोग गरी स्वरोजगार बन्न उनले आग्रह गरे । हातमा सीप भएको मान्छे कहिल्यै भोको बस्नु नपर्नेमा जोड दिए ।

    कार्यक्रममा वडा सदस्य लिलादेवी पोख्रेल, रुकमाया परियार, शिवप्रसाद तिवारी, इमप्रसाद पन्त, वडा सचिव रुपबहादुर पण्डित क्षेत्री लगायतको सहभागिता रहेको थियो।

  • कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा

    कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा

    भरतपुर, १९ साउन
    चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो ।

    कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उहाँले बताउनुभयो । केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बाेनेट बढी प्रयोग गरेको पाइएको छ ।

    प्राविधिक सहायक सिम्खडाका अनुसार फोटो मिटरबाट गरिएको परीक्षणमा केमिकल राखेर रोकावट आउने प्रतिशत हेरेर विषादी प्रयोग गरिएको ४५ प्रतिशतभन्दा बढी इन्जाइममा रोकावट आएमा त्यो केरा नष्ट गरिन्छ । पैतीस प्रतिशतभन्दा बढी रोकावट आएमा त्यस्तो केरालाई क्वारेन्टिनमा राखेर केही दिनपछि मात्र प्रयोग गर्न लगाइन्छ । चितवनमा प्रायः गरेर केरालाई क्वारेन्टिनमा पठाउनुपर्ने अवस्था आएको प्राविधिक सहायक सिम्खडाले बताउनुभयो । पैतीस प्रतिशतभन्दा कम रोकावट आएमात्र केरा खानयोग्य हुन्छ ।

    अत्यधिक पोषणले भरिपूर्ण केरा बाह्रैमास पाइने फल हो । तर कहिलेकाहीँ केरा स्वास्थ्यका लागि हानिकारक पनि सावित हुनसक्छ । यसमा बढी मात्रामा रसायन र विषादीको प्रयोग भएमा केरा स्वास्थ्यका लागि हानिकारक हुनसक्ने चिकित्सक बताउँछन् । भरतपुर अस्पतालका डा गोविन्द कँडेलले धेरै परिमाणमा इथालिन र क्याल्सियम कार्बाेनेटजस्ता औषधि प्रयोग गरेर पकाइएको केरा खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने बताउनुभयो । यस्तो केरा खाएमा पेट दुख्ने, अल्सर हुने, न्यूरो प्रणालीमा असर गरेर टाउको धेरै दुख्नेजस्ता गम्भीर असर देखिन सक्ने उहाँले बताउनुभयो । गर्भवतीलाई यस्तो केरा खुवाएमा पेटमा रहेको बच्चालाई समेत असर गर्न सक्छ ।

    कृषि विज्ञका अनुसार केरामा रसायन हालेर पकाइएको छ कि छैन भनेर चिन्न केही कुरामा ध्यान दिनुपर्छ । कर्बोहाइड्रेड तथा अन्य रसायन प्रयोग गरिएको छ भने गन्ध फरक हुन्छ । आकार हेरेर पनि केरामा रसायन मिसाएको छ कि छैन पत्ता लगाउन सकिन्छ । केरालाई विषादीरहितभन्दा पनि विषादीको प्रभाव कम गर्न केरा किनेर ल्याएको एक–दुई दिनपछि मात्र प्रयोग गर्नु उपयोगी हुने चिकित्सक बताउँछन् । खानुअघि एक घण्टा पानीमा डुबाएर राखियो भने पनि त्यसमा भएको रसायनको मात्रा कम भएर जान्छ । (रासस)

  • रविले सुरु गरेको ‘ब्लु बस’ कुन–कुन रुटमा चल्छ ? (ठाउँको नामसहित)

    रविले सुरु गरेको ‘ब्लु बस’ कुन–कुन रुटमा चल्छ ? (ठाउँको नामसहित)

    चितवन, १८ साउन
    चितवन क्षेत्र नं २ को उपनिर्वाचनबाट निर्वाचित भएको १०० दिन पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजोदेखि ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन् । महिलाहरुका लागि मात्रै भनेर लामिछानेले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हुन् । मासिक एक लाख ३० हजार रुपैयाँ भाडा तिरेर ल्याइएको बस लामिछानेको निर्वाचन क्षेत्र (कालिका र भरतपुर)मा मात्रै चल्ने छ ।

    रास्वपाको ब्राण्डिङ कलर निलो भएकाले बसमा पनि निलो कलर लगाइएको लामिछानेले बताए । बस भाडा तिर्ने स्रोतबारे भने उनले खुलाएका छैनन् । निःशुल्क बस प्रयोग गर्न महिलाहरुलाई कार्ड दिइएको छ । उक्त कार्ड मेशिनले स्क्यान गरेपछि मात्रै महिलाहरु बसभित्र पस्न पाउँछन् । सार्वजनिक यातायातमा महिलाहरुलाई धेरै समस्या हुने भएकाले महिलालाई मात्रै भनेर निःशुल्क बस ल्याएको उनी बताउँछन् ।

    यो बस भरतपुर अस्पताल केन्द्रित भएर चल्ने लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले बताए । महिलाहरुलाई उपचारका लागि अस्पतालमा आउन सहज होस् भनेर अस्पताल केन्द्रित गरिएको उनी बताउँछन् । उनका अनुसार बिहान ७ बजे शक्तिखोरबाट बस छुट्छ । पहाडी इलाकाबाट चेपाङ समुदायका महिला तल झर्न समय लाग्ने भएकाले केहि ढिलागरी बस छुट्ने उनले बताए ।

    शक्तिखोरबाट छुटेको बस जुटपानी–क्लब चोक–पदमपुर हुँदै भोजाड निस्किएर विशाल चोक–राजस्व कार्यालयबाट घुमेर भरतपुर अस्पताल गेट हुँदै चौविसकोठी पुग्ने छ । त्यसपछि बसले एक पटक रिङ रोड घुम्ने उनले बताए । आँपटारीबाट देवघाट हुँदै भित्रि बाटो भएर ठिमुरा निस्किने बस रामनगर–आँपटारी–बाइपास रोड–अस्पताल रोड हुँदै पुलचोक पुग्छ । पुलचोकबाट बस शिवघाट–जेम्स वल्र्ड फनपार्क हुँदै धर्मचोक–चौविसकोठी–अस्पताल रोड हुँदै भरतपुर अस्पताल पुग्ने उनले जानकारी दिए ।

    त्यहाँबाट जिल्ला समन्वय समितिको कार्यालय हुँदै हाकिमचोक निस्किने बस केन्द्रिय बसपार्क चोक पुग्छ । त्यसपछि मालपोत चोक आएर अस्पताल आसपासका महिला चढेपछि विशालचोक–पदमपुर–खोलेसिमल–क्लब चोक–जुटपानी हुँदै शक्तिखोर पुगेर बस रोकिने सिग्देलले बताए ।

    लोकेशन अनुसार बसले विभिन्न ठाउँको नाम बताउने छ । बसमा जिपिएस जडान गरिएको सिग्देलले बताए । ‘अब कुन ठाउँ आउँछ भनेर पनि सिस्टमले नै बताउने छ । त्यो रवि सरकै आवाजमा हुन्छ’, उनले भने, ‘आवश्यकता अनुसार महिलाहरुलाई जति पनि कार्ड बाँड्न सकिन्छ ।’

  • रवि लामिछानेको सिइओमा हेमन्त बराल

    रवि लामिछानेको सिइओमा हेमन्त बराल

    चितवन, १७ साउन
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा हेमन्त बराललाई नियुक्त गरेका छन् ।

    बेलायतबाट उच्च शिक्षा हासिल गरी विगत २५ वर्षदेखि सूचना प्रविधि (आइटी)को क्षेत्रमा काम गर्दै आएका बराललाई बुधबार सिइओमा नियुक्त गरेका हुन् ।

    नेता लामिछानेले केही महिनाअघि पार्टीको सचिवालय सञ्चालनका लागि दक्ष जनशक्ति आवश्यकता भनी सार्वजनिक सूचना जारी गरेका थिए । सोही आधारमा करिब चार सय जनाको आवेदन परेकोमा विभिन्न प्रकृयाबाट छनौट गरी बराललाई नियुक्ति दिएको उनले बताए ।

    छनौट प्रकृया पूरा भएपछि बुधबार भरतपुरमा सचिवालयको शुभारम्भ गर्दै बराललाई सचिवालयको जिम्मेवारी सुम्पेका हुन् । पदभार ग्रहण गर्दै सिइओ बरालले आफ्नै देशमा केही गर्ने लक्ष्यसहित बेलायतमा आइटी इन्डष्ट्रिको सम्मानजनक जागिर छाडेर आएको बताएका छन् ।

  • रविले सुरु गरे महिलाका लागि निःशुल्क बस सेवा

    रविले सुरु गरे महिलाका लागि निःशुल्क बस सेवा

    चितवन, १७ साउन
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् ।

    बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरुले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ ।

    यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क क्लिनिक सेवा पनि दिने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । निलो रंगको एम्बुलेन्समा निःशुल्क क्लिनिक लेखिएको छ । हरेक दिन नयाँ टोलमा गएर ६५ माथिका वृद्धवृद्धालाई उपचार सेवा दिने बताइएको छ ।

    साथै, विपन्नहरुका लागि पाँच लाख बराबरको उपचार बिमाको घोषणा पनि उनले गरेका छन् । तर, विपन्नहरुको संख्या कति हो र एक वर्षमा बिमाले कति मानिसहरुलाई समेट्न सक्छ भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

    उनले दुईवटा विद्यालयलाई प्रविधिसहितको नमूना विद्यालय बनाउने घोषणा गरेका छन् भने १०० जनालाई रोजगारीको घोषणा गर्दै आवेदन मागेका छन् ।

    त्यसअघि, उनले चितवन–२ मा सचिवालय उद्घाटन गरेका थिए । घडा राखेर सजाइएको पानसमा बत्ती बालेर सचिवालय उद्घाटन गरेपछि उनले निर्वाचनको समयमा ‘नेपालमै रोजगारीको अवसर छ’ भनेर रोकिएका आईटी विज्ञ हेमन्त बराललाई प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’को परिचयपत्र लगाइदिएका थिए ।

  • एक सयजनालाई रोजगारी घोषणा गरेका रविको ‘स्लोगन’– बिनाढेउवा के !

    एक सयजनालाई रोजगारी घोषणा गरेका रविको ‘स्लोगन’– बिनाढेउवा के !

    काठमाडौँ, १७ साउन
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले १०० जनालाई रोजगारी दिने घोषणा गरेका छन् । चितवन–२ को उपचुनावबाट पुनः निर्वाचित भएको १०० दिनको अवसरमा लामिछानेले यस्तो घोषणा गरेका हुन् ।

    गत वर्षको प्रतिनिधिसभा निर्वाचनका क्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भाषणमा बोलेर भाइरल भएको विषयलाई रविले विज्ञापनको ‘स्लोगन’ बनाएका छन् ।

    नेपालले भोजपुरी समुदायलाई त्यही भाषामा फ्री भिसा, फ्री टिकेटमा विदेश पठाउने भनेर बुझाउन ‘बिना ढेउवा के’ भनेका थिए । रविले भने विदेश पठाउने नभएर विदेशबाट ल्याउनका लागि फ्री भिसा फ्री टिकेट गर्न ‘बिना ढेउवा के’ भनेर विज्ञापनको स्लोगन बनाएका हुन् ।

    “यी विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन्, छापिँदै छन् । चुनावमा आफूले बोलेअनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौँ, त्यो पनि ‘बिना ढेउवा के’,” रविले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउनेछौँ ।”

    उनले आफूले उपनिर्वाचनमा विजय हासिल गरेको १०० दिन पूरा भएको भन्दै बोलेका कामबारे आफ्नै निर्वाचन क्षेत्रमा गएर जानकारी दिने बताएका छन् । उनले निर्वाचनको समयमा बोल्दा ‘स्टन्ट’ भनिएको विषयलाई पनि जवाफ दिने भन्दै दिनभर फेसबुकमा फलो गरिदिन आग्रह गरेका छन् ।

  • चितवनमा लम्पी स्किनविरुद्ध खोप अभियान सञ्चालन गरिने

    चितवनमा लम्पी स्किनविरुद्ध खोप अभियान सञ्चालन गरिने

    चितवन, साउन १७
    चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान शुरू गरिने भएको छ ।

    साउन २५ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

    प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले बताए । उनका अनुसार प्रदेश सरकारबाट प्राप्त खोपलाई सातै पालिकामा वितरण गरी पशुलाई लगाइन्छ ।

    प्रदेश सरकारले १३ जिल्लामा नै अभियानका रूपमा लम्पी स्किन विरुद्धको खोप लगाउन लागेको उनले जानकारी दिए ।

    अभियानका लागि २२ गतेसम्म खोप जिल्लामा आइपुग्ने आचार्यले बताए । उनले भने, ‘अहिले ५ हजार डोज खोप आउने अनुमान गरेका छौं ।’ प्रदेश सरकारले अभियानका रूपमा खोप कार्यक्रम सञ्चालन गरेको हुँदा पछि पुनः थप हुन सक्ने उनले बताए । सातै पालिकामा पालिएका गाईभैंसीमा खोप लगाइने छ ।

    रोग लागिसकेका, गोठमा रोग देखिएका पशुहरूलाई खोप नलगाइने उनले जानकारी दिए । उनले थपे, ‘स्वस्थ पशुलाई खोप लगाइन्छ ।’

    जिल्लाका पालिकाहरूको सक्रियतामा खोप लगाइँदै आएको छ । यसलाई सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

    जिल्लामा हालसम्म १८ हजार ५९० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । भरतपुर महानगरपालिकामा ३ हजार ७९०, खैरहनी नगरपालिकामा ३००, राप्ती नगरपालिकामा ६ हजार र रत्ननगरमा ८ हजार ५०० पशुमा खोप लगाइएको उनले जानकारी दिए ।

    जिल्लामा हालसम्म ११ हजार १८५ गाईभैंसीमा यो रोग देखिएको छ । कार्यालयको तथ्यांकअनुसार हालसम्म २८७ गाई लम्पी स्किनबाट मरिसकेका छन् ।