Category: राप्ती

  • प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था द्वारा रक्तदान कार्यक्रम सम्पन्न

    प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था द्वारा रक्तदान कार्यक्रम सम्पन्न

    भरतपुर,५ साउन
    प्रवासबाट फर्किएका युवाहरुले स्थापना गरेको सहकारी संस्था प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो कार्य संचालन शुभारम्भ गरेको दिन श्रावण ०४ गतेको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम गर्दै आफ्नो प्रथम स्थापना दिवस मनाएको छ ।

    भरतपुर अस्पताल रक्तसञ्चार केन्द्रको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ।

    कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नं -१२ का वडा अध्यक्ष लेखराज पन्त रहुन भएको थियो ।

    अतिथिहरुमा गैर आवासिय नेपाली संघका सल्लाहकार तथा यस सहकारी संस्था लि. का समेत सल्लाहकार रहेका सोमनाथ सापकोटा, सुरक्षित आप्रवासन (सामी) का संयोजक सुरेस भन्डारी, भरतपुर महानगरपालिका रोजगार शाखा केन्द्र का प्रमुख सन्देश वाग्ले, रिटनी संजाल वाग्मती प्रदेश कमिटी उप- सचिव इन्द्र प्रसाद न्याैपाने, लगायतका बिशिस्ट व्यक्तित्वहरुको साथमा संस्थाका सल्लाहकार, क्षिमेकी सहकारीका प्रतिनिधि, विभिन्न उप- समिती संयोजक, सेयर सदस्य, शुभचिन्तक तथा रक्तदाताहरुको बाक्लो उपस्थिति रहेको थियो। बिश्वनाथ साप्कोटाको सम्योजकत्वमा भएको औपचारीक कार्यक्रम दुर्लभ बन्दु पोख्रेल ले सन्चालन गर्नु भएको थियो ।रक्तदान कार्यक्रममा ९२ जना पुरुष र ११ जना महिला गरेर १०३ जनाले रक्तदान गर्नु भयकोथियो।

    उक्त रक्तदान कार्यक्रममा सहभागी भई सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि,विशेष अतिथी, अतिथिहरु प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. का संचालक समिती सदस्यहरु , स्वास्थ तथा सरसफाइ उप समिति, लेखा समिति, ऋण समिति साथै विभिन्न उपसमिति संयोजक तथा सदस्यहरु, सेयर सदस्य तथा शुभचिन्तक लगायत सम्पूर्ण रक्तदाताहरुलाई प्रवासी चितवन बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष मुक्ति प्रसाद अधिकारी ले हार्दिक धन्यबाद ज्ञापन गर्नु भयको थियो।

  • स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष रु ५२ करोड आम्दानी

    स्वास्थ्य बीमाबाट भरतपुर अस्पताललाई गत वर्ष रु ५२ करोड आम्दानी

    चितवन, ५ साउन
    भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमबाट गत एक वर्षमा रु ५२ करोड ५० लाख ७२ हजार आम्दानी गरेको छ । यस अवधिमा सेवाग्राहीले दुई लाख छ हजार आठ सय ८५ पटक सेवा लिएका थिए ।

    अस्पतालले बीमा कार्यक्रमबाट गत आवमा रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको भए पनि सोभन्दा रु १२ करोड रकम बढी भुक्तानी भएको हो । भरतपुर अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका सम्पर्क व्यक्ति लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको अझै रु १० करोड दाबी गरेर पठाइएको रकम आउन बाँकी छ । अघिल्लो आवमा अस्पतालले बीमा कार्यक्रममार्फत रु ३० करोड ७९ लाख भुक्तानी पाएको थियो ।

    अस्पतालको तथ्याङ्कअनुसार आठ हजार तीन सय ९६ पटक अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका बिरामीले सेवा लिएका छन् । यस्तै स्वास्थ्य बीमामार्फत अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामी आठ हजार रहेका छन् । राज्यको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा जति प्रत्यक्ष राहत दिने महत्वपूर्ण कार्यक्रम अन्य नदेखिएको उहाँले बताउनुभयो ।

    अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बिरामी स्वास्थ्य बीमाबाट सेवा लिने गरेका छन् । उनान्तीस प्रतिशतले मात्रै शःशुल्क सेवा लिने गरेको उहाँले बताउनुभयो । विसं २०७४ भदौ १ गतेदेखि अस्पतालमा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म आठ लाख पटक सेवा दिइएको छ ।

    सेवाग्राहीको आकांक्षा र सेवा प्रदायकको कार्यक्रम समन्वय नहुनु, औषधिको उपलब्धता र गुणस्तरमा समस्या देखिनु, दाबी भुक्तानीमा समस्या देखिनु, सेवाग्राहीले सेवा लिन आउँदा आफू अपमानित भएको महसुस गर्नुजस्ता कारणले सेवामा अझै चुनौती रहेको उहाँले बताउनुभयो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले सङ्घीय सरकारले दिने बजेटभन्दा बीमा कार्यक्रमबाट प्राप्त दाबी भुक्तानी रकम बढी भएको बताउनुभयो । कार्यक्रमलाई अझै सेवाग्राहीको चाहनाअनुरुप गर्न नसकिएको भन्दै उहाँले बिरामीका लागि थप संरचना निर्माण गरेर सेवा दिइने बताउनुभयो । यसका लागि आवश्यक जमिनसमेत अस्पतालसँग नभएको उहाँको भनाइ छ । उहाँले आगामी दिनमा बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजान अस्पताल लागि पर्ने बताउनुभयो । अस्पतालमा एमआरआइसमेत ल्याइँदै छ । अत्याधुनिक उपकरणसहित विशेषज्ञ सेवा दिन सुरु गरिएसँगै रेफर भएर अन्यत्र निजी अस्पताल जानुपर्ने बिरामीको बाध्यता घटेर जाने उहाँको भनाइ छ ।

    अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले देशकै अस्पतालमा बीमा कार्यक्रम सबैभन्दा प्रभावकारी भरतपुर अस्पतालमा भएको बताउनुभयो । यससँगै देखिएका समस्याको खोजी गरी निराकरणका लागि पहिलो पटक आजदेखि सबै विभागका कर्मचारी समावेश हुने गरी तीन दिने योजना तर्जुमा गोष्ठी गर्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालका राम्रा पक्षलाई अघि बढाउँदै लैजाने र समस्याको निराकरण गरेर सेवाग्राहीलाई सेवा दिने काममा हामी जुटेका छौँ ।” चितवनसहित छिमेकी जिल्लाबाट समेत बिरामीले स्वास्थ्य बीमामा प्रथम विन्दु भरतपुर अस्पताललाई बनाउने गरेका छन् । (रासस)

  • चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज

    चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज

    भरतपुर, ५ साउन
    चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ ।

    कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा रु दुई अर्ब २४ करोड ७५ लाख ९३ हजार भुक्तानी भएको हो । सङ्घतर्फको रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजीगत बजेटमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ को वित्तीय प्रगति भएको कार्यालयले जानकारी दिएको छ ।

    चितवनमा आर्थिक वर्ष २०७९÷८० मा ३७ प्रतिशत विकास बजेट फ्रिज भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटमध्येबाट रु चार अर्ब ८४ करोड ३८ लाख ४१ हजार खर्च हुन नसकेर फिर्ता भएको हो । कार्यालयका अनुसार जिल्लामा सङ्घ र प्रदेश सरकारको पुँजीगत बजेट रु १३ अर्ब सात करोड २० लाख २८ हजार विनियोजन भएको थियो । त्यसमध्ये रु नौ अर्ब ३७ करोड सात लाख ५३ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मुक्तिप्रसाद चापागार्इँले जानकारी दिनुभयो ।

    सङ्घीय सरकारबाट चितवनका लागि रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार पाँच सय १७ पुँजगत बजेट विनियोजन भएको थियो । त्यसमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ मात्र खर्च हुन सकेको चापागाईँले बताउनुभयो । यसरी सङ्घको विकास खर्चको वित्तीय प्रगति हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ ।

    चितवनमा सङ्घ र प्रदेशको कूल बजेट रु २९ अर्ब ३२ करोड २८ लाख ३५ हजार थियो । रु २४ अर्ब ४८ करोड ६९ लाख ९४ हजार खर्च भएको छ । यसरी हेर्दा ८३ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । चालुतर्फ खर्च बढी हुँदा समग्रमा वित्तीय प्रगति सन्तोष जनक देखिएको हो ।

    चितवनमा पुँजीगत बजेटभन्दा चालु बजेट बढी थियो । यसको वित्तीय प्रगति पनि राम्रो छ । सङ्घ र प्रदेशको चालु बजेट रु १६ अर्ब २५ करोड ८१ हजार थियो । सङ्घतर्फ चालु बजेट रु १४ अर्ब २० करोड चार लाख ६४ हजार पाँच सय ८२ थियो । सङ्घतर्फको चालु खर्च ९५ प्रतिशत छ । रु १३ अर्ब ४४ करोड ४० लाख ७४ हजार खर्च भएको छ ।

    सङ्घतर्फको चालु खर्च सबैभन्दा बढी विपी कोइराला क्यान्सर अस्पतालको हुन सकेको छैन । अस्पतालमा कार्यकारी नहुँदा वैशाखदेखि त्यहाँका कर्मचारीले तलब पाएका छैनन् । रु तीन करोड हाराहारीमा अस्पतालको चालुतर्फको रकम फ्रिज भएर फिर्ता भएको छ । प्रदेशतर्फको चालु बजेट रु दुई अर्ब पाँच करोड तीन लाख थियो । त्यसमध्ये रु एक अर्ब ६७ करोड २१ लाख खर्च भएको छ ।

    चितवनमा सङ्घतर्फ चालु र पुँजीगत गरी कूल बजेट रु २३ अर्ब ४३ करोड ८० लाख १४ हजार थियो । त्यसमध्ये रु २० अर्ब १३ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । पुँजीगत र चालुतर्फको बजेट हेर्दा वित्तीय प्रगति सन्तोषजनक रहेको चापागाईँले बताउनुभयो । “सङ्घको चालु खर्च ९४ प्रतिशत भएको छ, पुँजीगत खर्च ७२ प्रतिशत देखिन्छ, यसरी समग्रमा ८५ दशमलव ९१ प्रतिशत खर्च भएको छ”, उहाँले भन्नुभयो । (रासस)

  • नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

    नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

    भरतपुर, ५ साउन
    चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा नयाँ पम्प जडान भएसँगै बिहीबारदेखि नहरमा पानी छाडिएको छ । साउन लागिसक्दा पनि धान रोप्न नपाएर किसान पानी छाडेपछि हर्षित भएका छन् ।

    बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले नयाँ पम्पको उद्घाटन र पानी छाड्ने कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो अवसरमा बोल्दै मन्त्री जोशीले किसानलाई समयमै पानी उपलब्ध गराउन ढिलाइ भएको बताउनुभयो । उहाँले सरकारी काममा ढिलासुस्ती हुने गरेको भन्दै अब कुनै पनि बाहानामा ढिलासुस्तीलाई छुट नहुने बताउनुभयो ।

    कार्यक्रममा बागमती प्रदेशका सांसद जेएन थपलियाले सांसद नारायणी लिफ्ट सिँचाइ प्रणाली पुरानो र खर्चिलो भएको भन्दै यसको विकल्प खोज्नुपर्ने बताउनुभयो । उहाँले सबै तहका सरकारको समन्वयमा नारायणी लिफ्ट सिँचाइ नयाँ पम्प जडान गरिएको जानकारी दिनुभयो ।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माण कम्पनीको ढिलासुस्तीका कारण पम्प फेर्न चार वर्ष लागेको बताउनुभयो । उहाँले नारायणी लिफ्टलाई बाह्रै महिना सञ्चालनका लागि तयारी गरिएको जानकारी दिनुभयो । “नारायणी नदी र राप्ती नदीमा यति धेरै पानी बगेर खेर गएको छ”, प्रमुख दाहालले भन्नुभयो, “यसको उपयोग गर्न हिउँदमा पनि सञ्चालन गर्ने तयारी गरेका छौँ ।”

    महानगरपालिकाले पश्चिम चितवनको सात हजार बिघामा सिँचाइ उपलब्ध गराएको भन्दै भूमिगत जलस्रोत सिँचाइ कार्यालयमार्फत सयौँ स्यालो र डिप बोरिङ जडान गरिएको उहाँले जानकारी दिनुभयो । महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर सिँचाइका काम गरिरहेको बताउनुभयो ।

    नारायणी लिफ्टमा रु २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ को लागतमा यहाँ दुईवटा नयाँ पम्प जडान गरिएको हो । पम्पहाउस ‘ए’ मा रहेका ४० वर्ष पुराना पम्प फेरिएको छ । यो सिँचाइमार्फत भरतपुरको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगन्ज, बसेनीलगायतका क्षेत्रमा सिँचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।

    भारतीय निर्माण कम्पनी डब्लुपीआइएल लिमिटेड कोलकाताले पम्प निर्माणको काम गरेको हो । नारायणी लिफ्ट सिँचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले ढिलै भए पनि पानी छाडेपछि किसानले राहत महसुस गरेको बताउनुभयो । विगतमा करिब पाँच हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमात्रै सिँचाइ गर्ने गरेको छ । (रासस)

  • गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

    गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

    चितवन, ५ साउन
    पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।

    साँझ घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शब आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस

  • चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक

    चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख पर्यटक

    चितवन ,साउन ४
    चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा दुई लाख ९९ हजार चार सय १२ पर्यटक भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये दुई लाख पाँच हजार छ सय पाँच नेपाली, ५५ हजार आठ सय ७२ विदेशी र ३७ हजार नौ सय ३५ सार्क राष्ट्रका पर्यटक छन् ।

    गत आर्थिक वर्षमा पर्यापर्यटनबाट रु २२ करोड ९३ लाख ९५ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको थियो ।

    यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको थियो । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । सो आवमा रु १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ राजस्व सङ्कलन भएको थियो ।

  • गैँडाको बासस्थान र प्रजननका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ उपयुक्त

    गैँडाको बासस्थान र प्रजननका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ उपयुक्त

    चितवन ,४ साउन
    दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका छन् ।

    कतिपय सामुदायिक वनले गैँडा देखाएर पर्यटन प्रबद्र्धनका साथै आयस्रोतको माध्यमसमेत बनाएका छन् । गैँडाका लागि भरतपुरको ज्ञानेश्वर ‘ब्लक’ क्षेत्र पनि उपयुक्त बासस्थान बनेको छ । यहाँका सामुदायिक वन गैँडाको प्रजननका लागि उपयुक्त क्षेत्र बन्दै गएका छन् ।

    ज्ञानेश्वर ब्लक अन्तर्गत पाँच सामुदायिक वन रहेका छन् । यी सामुदायिक वन गैँडाको बासस्थानका लागि उपयुक्त क्षेत्र बनेको डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनाल बताउनुहुन्छ । “बच्चासहितका गैँडा यहाँ प्रशस्त देखिन्छन्”, उहाँले भन्नुभयो, “प्रजननका लागि पनि गैँडाले यहाँका सामुदायिक वनलाई सुरक्षित महसुस गर्ने गरेका छन् ।” उहाँले यो क्षेत्रमा एकैपटक १४ सम्म गैँडा एकै ठाउँमा देखिएको बताउनुभयो । यो क्षेत्रमा २०÷२५ गैँडा नियमित रुपमा देखिने गरेको उहाँले बताउनुभयो ।

    ज्ञानेश्वर ब्लक अन्तर्गत भरतपुर महानगरपालिका–४ को नारायणी सामुदायिक वन, भरतपुर–१६ को ज्ञानेश्वर सामुदायिक वन, सेतीदेवी सामुदायिक वन र सिद्धिगणेश सामुदायिक वन तथा भरतपुर–१७ को मझुवा सामुदायिक वन रहेका छन् । यी सामुदायिक वनमा घाँसेमैदान र पोखरीको स्रोतको राम्रो व्यवस्थापन भएका कारण गैँडाका लागि उपयुक्त बासस्थान भएको खनालले बताउनुभयो ।

    ज्ञानेश्वर ब्लक निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएको छ । सबै सामुदायिक वनको पश्चिम क्षेत्रमा नारायणी नदी छ । “अन्य वन्यजन्तु र मानिसको समेत अवरोध कम हुने भएका कारण पनि यहाँ गैँडाका लागि उपयुक्त छ”, खनालले भन्नुभयो । उहाँले सामुदायिक वनहरुमा घाँसे मैदान र पोखरी निर्माणका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको बताउनुभयो ।

    सेतीदेवी सामुदायिक वनका अध्यक्ष सुकमान घलेले गैँडाका लागि उपयुक्त बासस्थान निर्माणको काम गरिएको बताउनुभयो । उहाँले गैँडाको बासस्थान र प्रजननमा सहयोग पुग्नेगरी घाँसेमैदान र पोखरी निर्माण गरिएको बताउनुभयो । सेतीदेवी सामुदायिक वनमा मात्र पाँच पोखरी रहेको उहाँले जानकारी दिनुभयो ।

    “वनभित्र रहेका सात ब्लकमध्ये एउटा ब्लकमा मान्छेको प्रवेश पनि निषेध गरेका छौँ”, उहाँले भन्नुभयो, “वन्यजन्तुलाई अवरोध हुने गतिविधिमा रोक लगाएका छौँं ।” उहाँले बच्चा जन्माउनकै लागि गैँडा यहाँ आउने गरेको बताउनुभयो । उहाँले आन्तरिक स्रोतबाट पनि वनभित्र सिमसार क्षेत्र निर्माणका लागि काम गरिरहेको जानकारी दिनुभयो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जसँगै आसपास रहेका सामुदायिक वन पनि गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले निकुञ्जको भित्रि क्षेत्र, घाँसेमैदान र ताल क्षेत्रमा बच्चासहितका गैँडा धेरै देखिने गरेको बताउनुभयो । निकुञ्जको मध्यवर्तीसँग जोडिएको ज्ञानेश्वर ब्लक क्षेत्र पनि गैँडा धेरै देखिने क्षेत्र रहेको उहाँको भनाइ छ ।

    गैँडा पाँच वर्षको उमेरपछि प्रजननका लागि तयार हुन्छ । घाँस राम्रो भएको समयमा गैँडामा सम्भोग गर्ने शक्ति बढ्नुका साथै गर्भका लागि तयार हुने गरेको तिवारीले बताउनुभयो । रासस

  • डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

    डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

    चितवन, ४ साउन
    चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । चितवन बाहिरका छ सय ९५ जना र ठेगाना नखुलेका तीन सय २३ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए ।

    जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताउनुभयो । भरतपुरमा एक हजार छ सय ४६ जना, रत्ननगर नगरपालिकाका दुई पाँच ६५ र खैरहनी नगरपालिकामा एक सय ८४ जना सङ्क्रमित भएका थिए । यस्तै राप्ती नगरपालिकामा एक सय जना, कालिका नगरपालिकामा ५५, माडी नगरपालिकामा ४० र इच्छाकमना गाउँपालिकामा १६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको केसीले बताउनुभयो ।

    डेङ्गु एडिस एजेप्टाइ र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माँसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण देखा पर्ने चिकित्सक बताउँछन् ।

    डेङ्गुबाट बच्ने मुख्य उपाय लामखुट्टेबाट बच्नु हो । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँजस्तैः गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले तोक्ने ठाउँमा निस्कदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्ने उहाँको भनाइ छ । (रासस)

  • गाउँ पसेको बाघ नियन्त्रणमा लिई निकुञ्जमा छाडियो

    गाउँ पसेको बाघ नियन्त्रणमा लिई निकुञ्जमा छाडियो

    चितवन,३ साउन
    चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघलाई नियन्त्रणमा लिई निुञ्जकको सुरक्षित क्षेत्रमा छोडिएको छ ।

    निकुञ्जबाट बस्तीमा पसेर मानव तथा जनावरमाथि आक्रमण गर्न थालेको बाघलाई निकुञ्ज प्रशासनले आज नियन्त्रणमा लिई नियमित अनुगमन गर्ने गरी निकुञ्जको सुरक्षित क्षेत्रमा छाडेको हो ।

    अन्दाजी पाँच वर्षको सो बाघलाई माडी नगरपालिका–३ रतनी खोला किनारबाट नियन्त्रणमा लिइएको थियो ।

    सो बाघले मङ्गलबार बस्तीमा प्रवेश गरी तीन जना मानिसलाई आक्रमण गरेर घाइते बनाएको थियो । त्यसपश्चात् निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि आज बिहान मात्रै बाघ नियन्त्रणमा लिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

  • भरतपुरका अखाद्य वस्तु प्रयोग गर्ने पानीपुरी पसल बन्द

    चितवन,३ साउन
    अखाद्य वस्तु प्रयोग गरेको पाइएपछि भरतपुरका दुई पानीपुरी बनाउने पसल बन्द गरिएको छ । भरतपुर महानगरपालिकाले मङ्गलबार गरेको बजार अनुगमनमा भरतपुर–१० का दुई पानीपुरी बनाउने पसलले अखाद्य वस्तु प्रयोग गरेको पाइएपछि तिनलाई बन्द गराइएको हो । सप्तगण्डकी चोक र ज्ञानदर्शन सडकमा रहेको पानीपुरी बनाउने दुई पसल बन्द गराइएको महानगरपालिकाले जनाएको छ । बजारमा अखाद्य वस्तु खुलेआम बिक्री वितरण भइरहेको लिखित उजुरी आएपछि महानगरले ती पसलमा अनुगमन गरेको थियो ।

    वडाध्यक्ष परमेश्वर खनालले भन्नुभयो, “यी दुवै पानीपुरी पसल बन्द भएका छन्, अब सरसफाइ गरेर प्रक्रिया पु¥याएर आए विचार गर्नसकिन्छ ।” अनुगमनका क्रममा पानीपुरी पसल दर्ता नगरी सञ्चालन गरिएको र पानीपुरी बनाउन प्रयोग गरिने मसला, अमिलो एवं रङ अखाद्य भेटिएको छ ।

    त्यसैगरी अनुगमन समितिले भरतपुर–१० अस्पताल सडकमा रहेको न्यु थकाली होटल एण्ड तन्दुरी रेष्टुरेन्ट र छहारी तन्दुरी होटलले अखाद्य तेल प्रयोग गरेको, सरसफाइमा ध्यान नदिएको, भान्छामा खाना पकाउदा सावधानी नअपनाएको पाइएको समितिले जनाएको छ । अनुगमनका क्रममा अघिल्ला आर्थिक वर्षमा गरिएको बजार अनुगमन निकै प्रभावकारी भएको उल्लेख गर्दै महानगरउपप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा पनि बजार अनुगमनले थप निरन्तरता पाउने बताउनुभयो ।

    उहाँले भन्नुभयो,“यो वर्ष महानगरले बजार अनुगमनलाई अझ सशक्त रुपमा लैजाने तयारी गरी काम सुरु गरेको छ ।”स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण समितिले अनुगमनलाई निरन्तरता दिएको हो । बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली बनाएर बजार अनुगमन गर्ने कामलाई तीव्र बनाएको छ ।

    अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफूल, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्य वस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको अधिकारीले बताउनुभयो । बजार अनुगमन समितिका सदस्य विष्णुबहादुर भुजेलले होटल तथा खाद्य बस्तुका मात्रै नभइ सबै प्रकारका क्षेत्रमा महानगरले छड्के अनुगमन गर्ने गरेको बताउनुभयो । उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र बनाइएको महानगरपालिकाले जनाएको छ । (रासस)