Category: राप्ती

  • एमाले राप्ती नगर कमिटी चितवनको अध्यक्षमा राजकुमार कँडेल

    एमाले राप्ती नगर कमिटी चितवनको अध्यक्षमा राजकुमार कँडेल

    चितवन, पुष १५ –
    नेकपा (एमाले) राप्ती नगर कमिटी चितवनको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

    हिजो आइतबार राति सम्पन्न अधिवेशनले राजकुमार कँडेलको अध्यक्षतामा ६७ सदस्यीय नगर कमिटी सर्वसम्मतबाट चयन गरेको हो ।

    कमिटीको उपाध्यक्षमा राजु राइ, सचिवमा डिल्लीप्रसाद थपलिया, उप सचिवहरुमा मित्र कुमारी तितुङ र डिवि लामा चयन भएका एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए । त्यसैगरी लेखा आयोगको अध्यक्ष धर्म मोक्तान बनेका छन् ।

    २६१ जना प्रतिनिधि सहभागी रहेको अधिवेशनको उद्घाटन शनिबार एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गरेका थिए ।

    अधिवेशनको बन्द सत्रमा पोखरेलसहित एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य सीता पौडेल, पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जे ऐन थपलिया, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्यहरु प्रभा बराल, यम बहादुर परियार, कृष्णभक्त पोखरेल, एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, एमाले चितवनका अध्यक्ष कमलराज पाठक, निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने लगायत प्रदेश कमिटी सदस्यहरु, जिल्ला पदाधिकारी, जिल्ला कमिटी सदस्यहरु, विभागिय सदस्यहरु, जनर्गीय संगठनका नेताहरु लगायत स्थानीय जन समुदायहरुको उल्लासमय उपस्थिति रहेको थियो ।

  • अनेरास्ववियु राप्ती कमिटीको अध्यक्षमा रुपक कँडेल र जनआदर्श क्याम्पसमा विज्ञान शर्मा

    अनेरास्ववियु राप्ती कमिटीको अध्यक्षमा रुपक कँडेल र जनआदर्श क्याम्पसमा विज्ञान शर्मा

    चितवन, मंसिर १४ –
    एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती नगरपालिका कमिटी चितवनको अध्यक्षमा रुपक कँडेल चयन भएका छन् ।

    आज सम्पन्न अधिवेशनले कँडेलको नेतृत्वमा ११ सदस्यीय नगर कमिटी सर्वसम्मतबाट चयन गरेको हो । कमिटीको उपाध्यक्षमा मिलन क्षेत्री, सचिवमा सफल खरेल, कोषाध्यक्षमा सुमन छ्त्कुल्ली, सहसचिवहरुमा प्रशान्त सेढाई, शिरीष सिलवाल, अशोक कँडेल चयन भएका छन् । कमिटीको संगठन विभाग प्रमुखमा विजय वि.क. र महिला विभाग प्रमुखमा बिनि ओस्ति चयन भएका छन् ।

    त्यसैगरी आजै राप्ती नगरपालिकामा रहेको जनआदर्श बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको नयाँ क्याम्पस कमिटी बनाइएको छ । विज्ञान शर्माको नेतृत्वमा सर्वसम्मतबाट ११ सदस्यीय नयाँ क्याम्पस कमिटी चयन गरिएको हो । कमिटीको उपाध्यक्षमा महेश अर्याल, सचिवमा रिजन कंडेल, सहसचिवमा अन्जली बम, कोषाध्यक्षमा निसान क्षेत्री र सदस्यहरुमा प्रशिल डल्लाकोटी र स्वीकृती पाठक रहेका छन् ।

    एकै कार्यक्रमबाट नगर कमिटी र क्याम्पस कमिटी चयन गरिएको अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेतीले जानकारी दिए ।

    कार्यक्रममा नेकपा एमाले चितवनका सचिवालय सदस्य एवम् विद्यार्थी इन्चार्ज अनोज जोशी, एमाले बागमती प्रदेश कमिटी सदस्य गोविन्द कँडेल, एमाले राप्तीका कार्यवाहक अध्यक्ष राजकुमार कँडेल, अनेरास्ववियु केन्द्रीय सदस्य अमित गुप्ता, अनेरास्ववियु केन्द्रीय लेखा आयोग सदस्य लिलाराम पौडेल, अनेरास्ववियु बागमति प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य, अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्यहरु प्रशान्त सुवेदी, मेन्सिस भेटवाल, सुजन थापा, अस्मिता रेग्मी, अनेरास्ववियु चितवनका उपाध्यक्ष सरोज तिमिल्सिना, सचिव अमित आचार्य लगायतका अनेरास्ववियुका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

  • चितवनको राप्तीमा शिक्षक सरुवामा मनपरी : फिर्ता लिन अनेरास्ववियुको माग

    चितवनको राप्तीमा शिक्षक सरुवामा मनपरी : फिर्ता लिन अनेरास्ववियुको माग

    चितवन, साउन १८ –
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले राप्ती नगरपालिकामा भएको शिक्षक सरुवा फिर्ता लिन माग गरेको छ ।

    शैक्षिक सत्र शुरु भएको ३ महिना बितिसकेको अवस्थामा मनोमानी ढङ्गबाट शिक्षक सरुवा गरिएपछि फिर्ता लिन माग गरिएको अनेरास्ववियुले जनाएको छ ।

    राप्ती नगरपालिकाले असार ३० गतेको निर्णय अनुसार राप्ती नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सरुवा गरेको छ ।

    शैक्षिक सत्र शुरु भएको ३ महिना बितिसकेको अवस्थामा प्रचलित कानुनको शिक्षा नियमावली, शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ र राप्ती नगरपालिकाको शिक्षा ऐन २०७४ को दफा २० उपदफा ४ को नियम विपरित शिक्षकहरुलाई हतोत्साहीत हुने गरी साथै विद्यार्थीहरुको पठनपाठनमा समेत प्रभाव पार्ने गरी नियम विपरित शिक्षक सरुवा गरिएको भन्दै त्यो सरुवा अविलम्व फिर्ता लिई समस्याको समाधान गर्न अनेरास्ववियुले माग गरेको छ ।

    माग पूरा नभए अनेरास्ववियु चरणवद्ध आन्दोलनमा उत्रने र यसबाटे सिर्जना हुने परिणामको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

     

    उक्त विज्ञप्ति प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी र शिक्षा शाखा प्रमुख रगुना देउजालाई अनेरास्ववियुले बुझाएको छ । अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेती, अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्य, उपाध्यक्ष सरोज तिमिल्सिना, सचिव अमित आचार्य, प्रदेश कमिटी सदस्य सुमन पौडेल र अनेरास्ववियु राप्ती नगर कमिटी अध्यक्ष उमाकान्त कँडेल लगायतको टोली नगरपालिका पुगेर ध्यानाकर्षण गराउँदै विज्ञप्ति बुझाएको हो ।

    विज्ञप्ति बुझाउँदै अनेरास्ववियु बागमती प्रदेश कमिटी सचिव प्रकाश कालाखेतीले राप्ती नगरपालिकामा राजस्व तिर्न नपाउँदा जनताले पाउने सेवा सुविधाबाट वञ्चित हुनुपरेको भन्दै यो समस्या समाधान गर्न पनि माग गरेका छन् ।

  • पूर्वी चितवनको राप्तीमा ट्रक र बलेरो ठोक्किदा एक जना घाइते

    पूर्वी चितवनको राप्तीमा ट्रक र बलेरो ठोक्किदा एक जना घाइते

    चितवन, साउन ७

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिका–२ गड्यौली चोकमा ट्रक र बलेरो ठोक्किदा बलेरो चालक घाइते भएका छन् ।

    गएराति १२ः४० बजेको समयमा पूर्वबाट भरतपुरतर्फ आउँदै गरेको ना ६ ख २४२४ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ च २९५७ नम्बरको केरा बोकेको बलेरो आपसमा ठोक्किएका थिए ।

    दुई सवारी आपसमा ठोक्किदा बलेरो चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–३ बस्ने बर्ष २७ को प्रदिप तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

    घाइतेको मुख र ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको उनले बताए । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • चितवनको राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने

    चितवनको राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने

    मुग्लिन, १७ जेठ : 

    चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्रदेखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।

    नगरपालिका प्रमुख शमशेर लामाका अनुसार कक्षा सञ्चालन तयारी गर्न शिक्षकका लागि आजदेखि मातृभाषामा पढाइको तालिम दिन थालिएको छ । तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ तथा गैर तामाङ समुदायका शिक्षकलाई मातृभाषाको तालिम दिन थालिएको नगर प्रमुख  लामाले जानकारी दिनुभयो ।

    नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडामा  भाषाको समस्या भएकाले पठनपाठनमा  सहज  बनाउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषाको समस्याले बालबालिकालाई पठनपाठनमा समस्या हुदैँ आएको छ । कतीपय बालबालिकाले नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । सिकाइमा प्रभावकारीता ल्याउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको हो ।”

    यसअघि राती नगरपालिका र नेपाल तामाङ घेदुङ राप्तीको संयोजनमा तामाङ समुदायको स्थानीय भाषा नीति तथा मातृभाषासम्बन्धी अन्तरक्रियासमेत गरिएको थियो । लोप हुँदै गएको तामाङ भाषा संरक्षण र तामाङ विद्यार्थीमा देखिएको भाषागत समस्याको समाधानलगायतका विषयमा नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, शिक्षा समिति, विभिन्न सङ्घ संस्था तथा समाजिक व्यक्तिहरुसँग छलफल गरिएको नगर प्रमुख लामाले बताउनुभयो ।

    सुरुआतमा कक्षा १ मा तामाङ भाषामा पढाइ हुने नगारपालिकाले जनाएको छ । चालू शैक्षिक सत्रमा १० विद्यालयमा तामाङ भाषाको कक्षा सञ्चालन गरिने छ । आगामी शैक्षिक सत्रदेखि चेपाङको बाहुल्यता रहेका विद्यालयमा चेपाङ भाषाको कक्षा पनि सञ्चालन गरिने बताइएको छ । राप्ती नगरपालिकामा ४९  सामुदायिक विद्यालय छन् ।

  • चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

    चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

    चितवन, ३० वैशाखः

    चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही राप्ती नदीमा छाडिएको छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उहाँले बताउनुभयो । विसं २०३५ सालामा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ ५७ वटा गोही देशका विभिन्न नदीमा छाडिएको छ ।

    हालसम्म राप्ती नदीमा एक हजार दुई सय दुई वटा, नारायणी नदीमा चार सय १९ वटा, बबइमा एक सय १० वटा, सप्तकोशीमा एक सय १५ वटा, कालिगण्डकीमा ३५ वटा, कर्णालीमा ४१ वटा, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छाडिएको छन् ।

    घडियाल प्रजनन केन्द्रमा हाल छ सय २२ गोही रहेका उहाँले जानकारी दिनुभयो । अन्य नदीहरुमा गोही संरक्षण हुन नसकेपछि पछिल्ला वर्षहरुमा नारायणी र राप्ती नदीमा मात्रै गोही छाडिने गरिएको छ । अहिले राप्ती र नारायणी नदीमा तीन–तीन वटा भाले गोही छन् । घडीयाल प्रजनन केन्द्रमा हाल दुईवटा भाले गोही छन् ।

    प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको सङ्ख्या बढ्न सकेको छैन । मानवीय गतिविधि र नदीसँगै बगेर भारतको जलक्षेत्रमा पुगेपछि संरक्षण चुनौतीपूर्ण भएको हो ।

  • चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु

    चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु

    चितवन, वैशाख १३

    पूर्वी चितवनको राप्ती नगरपालिकामा आफै चढेर ओर्लिएको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० वर्षीय निमा कुमारी रिजाल रहेकी छन् ।

    आज बिहान ७ बजेको समयमा राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधाम तीर्थ गएर आएको बागमती प्रदेश-०३–००१ ख २७५३ नम्बरको बसमा सवार रिजाललाई ओर्लिने क्रममा सोहि बसले ठक्कर दिएको हो ।

    बसको ठक्करबाट गम्भिर घाइते भएकी रिजालको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

    ठक्कर दिने बस र बस चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१८ बस्ने बर्ष ४१ को कृष्ण सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • चितवनमा ट्रक र टिपर ठोक्किँदा चार जना घाइते, टिप्पर चालक फरार

    चितवनमा ट्रक र टिपर ठोक्किँदा चार जना घाइते, टिप्पर चालक फरार

    चितवन, ४ बैशाख
    चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र टिपर ठोक्किँदा चार जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा ट्रक चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीय साजन मगर, ट्रकमा सवार राप्ती–२ बस्ने ३० वर्षीय अमित थापामगर, ट्रकमा सवार हेटौंडा–१६ बस्ने ३० वर्षीय रमेश चौलागाँई र टिपरको सहचालक मनहरी गाउँपालिका–६ बस्ने ३२ वर्षीय पुकार राई रहेका छन् ।

    लोथरबाट भण्डारातर्फ आउँदै गरेको ना ७ ख ४५७८ नम्बरको टिपर र बिपरित दिशातर्फ जाँदै गरेको ना ८ ख ४०९३ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।

    दुवै सवारीसाधनमा क्षति भएको र टिप्पर चालक फरार रहेको चितवन प्रहरीले जनाएको छ ।घाइतेहरुको उपचारका नयाँ मेडिकल कलेजमा भइरहेको छ ।

  • पूर्वी चितवनमा मोटरसाइकल, ट्रयाक्टर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

    पूर्वी चितवनमा मोटरसाइकल, ट्रयाक्टर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

    भरतपुर, १६ चैत
    पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं-७, वीरेन्द्रनगरमा मोटरसाइकल, ट्रयाक्टर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलपछाडि सवार महोत्तरीको शम्शी गाउँपालिका-४ बस्ने २१ वर्षीय रूपेश पण्डित रहेका छन् ।

    पण्डितको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । सोहि ठाउँ बस्ने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

    भण्डाराबाट भरतपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००५ प १३९९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ३ त २८७२ नम्बरको ट्रयाक्टरमा ठोक्किई मोटरसाइकल अनियन्त्रित भई भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १५७७ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

    गम्भीर घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय दीपेन्द्र पण्डितको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • पूर्वी चितवनमा हावाहुरीका कारण ठूलो क्षति

    पूर्वी चितवनमा हावाहुरीका कारण ठूलो क्षति

    चितवन, १५ चैत
    वर्षासँगै आएको हावाहुरीले ठुलो क्षति भएको छ ।

    पूर्वी चितवनको खैरहनीका खैरहनी ३, ९ र राप्तीका ८, ९, ३, ४, ६ लगायतका अधिकांश वडामा हावाहुरीले क्षति पुर्‍याएको हो ।

    हावाहुरीले घर, बिजुलीबत्ती र खेतीबालीमा क्षति पुर्‍याएको खैरहनी नगरपालिका ४ का वडाध्यक्ष वेदबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार ३० भन्दा बढी घरको छाना उडेको छ भने मकै र तरकारी खेतीमा ठुलो क्षति पुगेको छ ।

    क्षतिको विवरण आउन बाँकी रहेको वडाध्यक्ष अधिकारीले बताए ।