Category: खैरहनी

  • सोनीलाफा कप भलिवल : कालिका सिर्जनशिललाई हराउँदै गोरखा युवा क्लव विजयी (फोटो/भिडियोसहित)

    सोनीलाफा कप भलिवल : कालिका सिर्जनशिललाई हराउँदै गोरखा युवा क्लव विजयी (फोटो/भिडियोसहित)

    – हिरालाल आचार्य ‘डायमण्ड’
    चितवन, माघ १० –
    चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिताको उपाधि गोरखा युवा क्लवले जितेको छ । कँकाली डाँडाको फेदिमा बिहीबार साँझ सम्पन्न फाइनल खेलमा कालिका सिर्जनशिल–ए लाई हराउँदै गोरखा युवा क्लवले उपाधि हात पारेको हो ।

    तीन सेटमा भएको खेलमा पहिलो सेट कालिकाले जित्यो भने दोश्रो र तेश्रो सेट गोरखाले जित्यो । तेश्रो सेटमा निकै कडा प्रतिस्पर्धा भएको थियो ।

    अन्तिम सेटमा कालिकाले १८ अंक ल्याउँदा गोरखा १२ अंकमा मात्र थियो । त्यसपछि लगातार अंक बढाउँदै लैजान गोरखा सफल भयो । र कालिकाको २१ अंक हुँदा गोरखा १८ को अवस्थामा आइपुग्यो । त्यसपछि फेरि कालिका २४ र गोरखा २१ को अवस्थामा आइपुग्यो । कालिकालाई उपाधि जित्न १ अंकमात्र बाँकि थियो । तर गोरखाले लगातार ३ अंक ल्याएर २४ को बराबरीमा आउन सफल बन्यो । फेरि गोरखाले १ अंक जोडेर २५ बनयो । त्यसपछि कालिकाले पनि १ अंक जोडि बराबारीमा आइपुग्यो । त्यसपछि गोरखाले लगातार २ अंक जोडेर २७ अंक बनाएपछि गोरखा विजयी भयो ।

    त्यसैगरी सायरा युवा क्लवलाई हराउँदै एपिएफ भण्डारा तेश्रो हुन सफल बन्यो । प्रतियोगिताको प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफि र मेडल पुरस्कार प्राप्त गरे भने दोश्रो र तेश्रो हुनले क्रमशः नगद ३० हजार र १५ हजारसहित ट्रफि र मेडल प्राप्त गरे ।

    ४ दिनसम्म चलेको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका क्लवका अध्यक्ष शेरबहादुर आले मगरले जानकारी दिए ।

    त्यसैगरी महिला भलिवलको मैत्रिपूर्ण खेलमा सोनीलाफा युवा क्लवलाई हराउँदै जनजागृति मावि विजयी भयो ।

    कालिका सिर्जनशिल–ए
    कालिका सिर्जनशिल–ए

    सोनीलाफा युवा क्लवको २९ औं वार्षिकोत्वसको अवसरमा एकल ब्यानरमा आयोजित सोनीलाफा कप खुल्ला भलिवल प्रतियोगिता एवम् सांस्कृतिक कार्यक्रम फागुन ७ गतेबाट सुरु भएको थियो । हिजो साँझ विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर ४ दिने कार्यक्रमको समापन गरिएको थियो ।

    एपिएफ भण्डारा
    एपिएफ भण्डारा

    सोनीलाफा युवा क्लवले वार्षिकोत्सवका अवसरका हरेक वर्ष भलिवल प्रतियोगिता गर्दै आइरहेको छ । पूर्वि चितवनको खैरहनीमा रहेको आन्तरिक पर्यटनको आकर्षणको केन्द्र कँकाली डाँडासँगै रहेको सोनीलाफा युवा क्लवले त्यस क्षेत्रको सामाजिक तथा खेलकुदको विकासमा स्थापनाकालदेखि नै अतुलनीय योगदान पुर्‍याउँदै आएको छ ।

    हेरौं भिडियो :

    हेरौं तस्विरहरु :

    गोरखा युवा क्लव
    गोरखा युवा क्लव

    कार्यक्रमको उद्घाटनको दिन प्रकाशित सम्बन्धित समाचार र भिडयो :

    चितवनको खैरहनीमा सोनीलाफाकप खुल्ला भलिवल प्रतियोगिता सुरु (फोटो/भिडियोसहित)

     

  • खैरहनीमा मोटरसाइकलले गोडा च्यापिएको अवस्थामा एक पुरुष मृत फेला

    खैरहनीमा मोटरसाइकलले गोडा च्यापिएको अवस्थामा एक पुरुष मृत फेला

    भरतपुर, ११ फागुन
    चितवनको खैरहनीमा मोटरसाइकलले गोडा च्यापिएको अवस्थामा एक पुरुष मृत फेला परेका छन् ।

    खैरहनी नगरपालिका १० बस्ने ३४ वर्षीय दिलिप चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

    आज बिहान करिब ५ः४५ बजे सुर्तनाबाट कठारतर्फ जाँदै गरेको ना ४५ प ७७९८ नम्बरको मोटरसाइकलले गोडा च्यापेको अवस्थामा चौधरीको शब फेला परेको चितवन प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घटना के कसरी हुन गएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

  • खैरहनीमा स्कूटर र बोलेरो दुर्घटना : एकजनाको मृत्यु

    खैरहनीमा स्कूटर र बोलेरो दुर्घटना : एकजनाको मृत्यु

    चितवन, २७ पुस
    खैरहनी नगरपालिका २ चैनपुरमा स्कूटर र बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका ८ ब्रम्हनगरका करण श्रेष्ठ रहेका छन् ।

    टाँडीबाट पर्सा तर्फ आउँदै गरेको बा प्र ०३-००१ च १७२७ नम्बरको बोलेरोले विपरित दिसाबाट जाँदै गरेको प्र ०३-०२-००६ प ९०६८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

    दुर्घटनामा घाइते भएका श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले स्कुटर र बोलेरोलाई नियन्त्रणमा लिएको छ भने बोलेरो चालक फरार छन् ।

  • पुस २८ गतेदेखि खिचरा महोत्सव सुरु

    पुस २८ गतेदेखि खिचरा महोत्सव सुरु

    चितवन, २१ पुस
    थारू संस्कृति जोगाउनका लागि यही पुस २८ गतेदेखि खिचरा महोत्सव आयोजना गर्न लागिएको छ । पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सवको तयारीलाई तीव्र पारिएको हो ।

    थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको उद्देश्य र तयारीका बारेमा जानकारी गराएको हो ।

    माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धधन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विगत नौ वर्षदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ ।

    महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० कक्ष रहनेछन् ।

    महोत्सवलाई चितवनबासी थारू समुदायले मात्र नभई सम्पूर्ण जातजातिले गर्वका रुपमा लिने गरेको चौधरीले बताउनुभयो । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला संस्कृतिको प्रवद्र्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न सङ्घसंस्थाका कक्ष रहनेछन् । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान समावेश गरिने उहाँले बताउनुभयो । महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ ।

  • खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च

    खैरहनी नगरपालिकाले घटायो प्रशासनिक खर्च

    चितवन, ७ पुस
    पूर्वी चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको समीक्षा गर्दै चालु खर्चको बजेट संशोधनसहित पारित गरेको छ । शुक्रबार सम्पन्न चौधौँ नगरसभाले चालु खर्चतर्फ रु एक करोड नौ लाख बजेट घटाएको हो ।

    नगरप्रमुख शशीकुमार खनियाका अनुसार चालु खर्चबाट घटाइएको रकमलाई पुँजीगत खर्चमा रकमान्तर गरी विभिन्न विकास निर्माणको योजनामा विनियोजन गरिएको छ । विकास निर्माणका कार्यक्रमलाई प्राथमिकता दिँदै नगरवासीको जनआकांक्षा सम्बोधन गर्न प्रशासनिक खर्च कटौती गरिएको नगरप्रमुख खनियाले बताउनुभयो ।

    नगरसभाबाट पारित भएका महत्वपूर्ण निर्णयको जानकारी गराउँदै नगरप्रमुख खनियाले खैरहनी नगरवासीले उपचारको लागि रगत लिन रक्त सञ्चार केन्द्रलाई बुझाउनुपर्ने शुल्क नगरपालिकाले भुक्तानी गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    चालु आवको साउन महिनामा सम्पन्न दोस्रो नगरसभाले चालु खर्चतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चको व्यय अनुमान रु ११ करोड ९९ लाख विनियोजन गरेकामा चौधौँ नगरसभाले सो अनुमानित बजेट घटाएर रु १० करोड ९९ लाख कायम गरेको छ । विभिन्न नगरस्तरीय कार्यक्रमको व्यय अनुमान रु ४९ लाख २५ हजारलाई रकमान्तर गरी रु ४० लाख २५ हजार कायम गरिएको नगर उपप्रमुख कविता उप्रेतीले  बताउनुभयो ।

    नगरसभामा उपप्रमुख उप्रेतीद्वारा पेस भएको तेह्रौँ नगरसभाबाट स्वीकृत आव २०८०/८१ को बजेट, योजना तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र विभिन्न राजस्वका दरहरूलाई संशोधनसम्बन्धी प्रस्तावसभासमक्ष पेश भई सर्वसम्मतरुपमा पारित गरिएको छ ।

    खैरहनी नगरपालिकाको चौधौँ नगरसभामा कार्यपालिकाले चालु आव साउनदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्नेसम्बन्धी प्रस्ताव, खैरहनी नगर अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले जानकारी दिनुभयो ।

  • चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल

    चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल

    नारायणगढ (चितवन), १४ कात्तिक
    चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ । चाडपर्वसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेकोे हो ।

    रक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगत अभाव भएपछि सोसाइटीका सभापति हरिप्रसाद पौडेल र मन्त्री राममणि खनालले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गर्नुभएको हो । जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पतालमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको तर चाडवाडमा रक्तदानका कार्यक्रम कम भएको अपिलमा उल्लेख छ ।

    अपिलमा भनिएको छ, “मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछौँ ।”

    प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले रक्तदान कार्यक्रममा विगतमा जस्तो रक्तदाताको उत्साहजनक सहभागिता नहुने गरेको बताउनुभयो । दसैँअघि रक्तदान कार्यक्रम भए पनि रक्तदाताको सङ्ख्या घट्दा हाल रगतको अभाव भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “रक्तदाताको सङ्ख्या घट्दै गएको छ, धेरै सङ्ख्यामा युवाहरू विदेश पलायन हुँदा रक्तदाताको सङ्ख्या घटेको हुनसक्छ ।”

    भरतपुरमा मात्रै दैनिक एक सय ५० युनिट हाराहारी रगतको माग हुने गरेको भन्दै मागअनुसारको रगत आपूर्ति गर्न कठिन भएकोे पौडेलले बताउनुभयोे । उहाँले भन्नुभयो, “भोलिबाटै विभिन्न स्थानमा रक्तदानका कार्यक्रम आयोजना हुँदैछन्, जस कारण रगतमा केही सहजता हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।” रासस

  • पूर्वी चितवन खैरहनीमा तटबन्ध अभियान

    पूर्वी चितवन खैरहनीमा तटबन्ध अभियान

    चितवन, १२ कात्तिक
    पूर्वी चितवनको खैरहनी नगरपालिकाको प्रमुख बजार क्षेत्र र पर्सासहित प्रायः सम्पूर्ण भाग वर्षात्को समयमा डुब्ने समस्या समाधान गर्न तटबन्ध अभियान सञ्चालन गरिएको छ । नगरपालिकाले आन्तरिकसहित सङ्घीय र अन्य निकायबाट समेत बजेट जुटाएर अभियानकै रूपमा तटबन्ध थालेको हो ।

    नगरप्रमुख शशिकुमार खनियाका अनुसार आगामी दिनमा मुख्य बजार क्षेत्रसहितका बस्ती डुबान रोक्ने गरी काम भइरहेको छ । नदी तटबन्ध गर्दैगर्दा नदी किनारका सडकसमेत निर्माण गरिएको छ । यो संरक्षण र पर्यटनका हिसाबले महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।

    उहाँका अनुसार पर्सा बजारमा हरेक वर्ष डुबान गर्ने लदरी, ढुङ्ग्रे, बुढीराप्ती, इचर्नी खोला र मगनी घोलमा तटबन्ध र आरसिसी पर्खालको काम भइरहेको छ । उहाँले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि सुरुमै प्राविधिक लिएर डुबान क्षेत्रको अध्ययन गरेर तटबन्ध थालेका हौँ ।” सुरुमा चतरा खोलालाई एक दशमलव पाँच मिटर गहिरो बनाएर पानी कटाएको उहाँले बताउनुभयो ।

    राष्ट्रिय योजना आयोगमा आग्रह गरेर कयर खोलाको तटबन्ध गरिएको छ । रु ४५ करोड हाराहारीमा खैरहनी र रत्ननगर नगरपालिकाको तीन दशमलव पाँच किलोमिटर तटबन्धको काम सम्पन्न भएको छ । त्यस्तै ढुङ्ग्रे खोलामा भारतीय राजदूतावासको सहयोगमा वडा नं ७ र १० को सीमा क्षेत्रमा करिब रु छ करोड ५० लाख लागतमा तटबन्धको काम अन्तिम चरणमा पुगेका प्रमुख खनियाले बताउनुभयो ।

    नगरपालिकाले आफ्नै स्रोतबाट रु साढे छ करोड व्यवस्था गरी चतरा खोला, लदरी खोला, बुढी राप्ती, पटेनी खोलाको तल्लो भाग, वडा नं ५ र ६ को बीचमा रहेको गौचरनको छेउमा तटबन्धको काम भइरहेको छ ।

    बुढी राप्ती खोलाको छेउमा अपाङ्गतामैत्री सडकसमेत निर्माण गरिएको छ भने डुङ्गा सञ्चालन गर्न मिल्ने गरी संरचना निर्माण भइरहेको छ । कयर, बुढी राप्ती, पटेनी, ढुङ्ग्रे खोला छेउछाउका ठाउँमा झण्डै पाँच हजार वृक्षरोपण गरिएको छ । यसले भू–क्षय रोक्न सहयोग पुग्ने उहाँको भनाइ छ । गत वर्षबाट थालिएका यी कामलाई यस वर्ष पनि निरन्तरता दिने उहाँको भनाइ छ ।

    नगर उपप्रमुख कविता उप्रेतीले खैरहनीको प्रमुख समस्याको रूपमा रहेको तटबन्धनलाई प्राथमिकता दिएको बताउनुभयो । बजार र ग्रामीण क्षेत्रमा हरेक वर्ष डुबानको समस्या हुँदै आएकामा आगामी दिनमा यो समस्या अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । विगतका वर्षहरूमा राप्ती नदीले दुःख दिने गरेको यस क्षेत्रमा राप्ती नदी तटबन्धनपछि त्यहाँका साना खोलाले वर्षात्मा दुःख दिने गरेका थिए । रासस

  • खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालनमा

    खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालनमा

    चितवन, १ कात्तिक
    चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल–टोलमा पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

    सबै प्रकारका जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको खैरहनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रशान्त कँडेलले बताउनुभयो । प्रयोगशाला सञ्चालनमा आएपछि खैरहनी नगर अस्पतालमै रोगको परीक्षण गर्न सहज भएको छ ।

    कार्यक्रममा उपप्रमुख कविता उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू, अस्पतालका चिकित्सक, प्रयोगशालालगायत अस्पतालका कर्मचारीको उपस्थिति थियो । यसअघि खैरहनीवासी प्रयोगशाला परीक्षणका लागि रत्ननगर अस्पताल वा भरतपुर आउनुपर्ने बाध्यता थियो । रासस

  • खैरहनी नगरपालिकाले गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क गर्ने

    खैरहनी नगरपालिकाले गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क गर्ने

    चितवन, २० असोज
    खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

    नगरपालिकाले ‘उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार’ कार्यक्रममार्फत यस्तो सुविधाको उपलब्ध गराएको हो । नगर प्रमुख शशीकुमार खनियाले उप-प्रमुखसँग गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रम मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रमको सफलता र निरन्तरताका लागि कर्मचारीलगायत सरोकारवाला सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक हुने बताउँदै नगर उहाँले आमाहरूको स्वास्थ्य र सुरक्षामा यो सेवा कोसेढुङ्गा सावित हुने बताउनुभयो ।

    नगर-उपप्रमुख कविता उप्रेतीले गर्भवतीको स्वास्थ्य र सुरक्षित मातृत्वका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । गर्भवती तथा सुत्केरी स्याहार कार्यक्रमलाई नगरपालिकाको वार्षिक कार्यक्रममा समेटेर कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ । नगरपालिका बजेटमा नै व्यवस्था गरेर कार्यक्रम अघि बढाएको हो । (रासस)

  • कठारमा स्वच्छ खानेपानी पुर्याउँदै खैरहनी नगरपालिका

    कठारमा स्वच्छ खानेपानी पुर्याउँदै खैरहनी नगरपालिका

    चितवन, ३ असोज
    खैरहनी नगरपालिकाले यस आर्थिक वर्षभित्र सम्पूर्ण नगरवासीलाई स्वच्छ खानेपानी पुर्याउने भएको छ । हाल पूर्ण रुपमा खानेपानीको पहुँच नपुगेको कठारमा खानेपानी पुर्याएसँगै सबै नगरवासीका लागि स्वच्छ खानेपानी पुग्नेछ ।

    खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाँका अनुसार साबिक कठार गाविस अहिलेको खैरहनी नगरपालिका–१० र ११ पर्दछ । त्यहाँ रहेका दुई हजार पाँच सय घरधुरीमध्ये पाँच सय परिवारले मात्र स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन् । जीवनपुर खानेपानी आयोजनामार्फत त्यहाँ पानी वितरण हुँदै आएको छ । प्रमुख खनियाँले भन्नुभयो, “यसै आर्थिक वर्षभित्र कठारका सबै घरधुरीमा स्वच्छ खानेपानी पुर्याउँदैछौँ ।” सो क्षेत्रमा खानेपानी पुर्याउन बागमती प्रदेश सरकारसँग सहकार्य गरेर नगरपालिकाले आयोजना अघि वढाउँदैछ ।

    अन्य क्षेत्रमा खानेपानीको पहुँच अधिकांश भागमा पुगेको छ । कुनै ठाउँमा छिटपुट नपुगेको भए त्यहाँसमेत खानेपानी पु¥याएर पूरै नगरलाई स्वच्छ खानेपानीको पहुँच पु¥याउने उहाँले बताउनुभयो । नगरपालिका–१ ज्यामिरेमा केही भागमा खानेपानी पुग्न बाँकी रहेको छ । खानेपानीको पाइप नपुगेका उपशाखाहरुमा खानेपानी उपभोक्ता समितिसँग सहकार्य गरेर पाइपलाइन विस्तार गरी पानी पुर्याइँदै छ ।

    कतिपय घरहरुमा मानिस नभएकाले खानेपानी जोड्न बाँकी रहेको छ । नगरभित्र अहिले ८० प्रतिशत घरमा स्वच्छ खानेपानी पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष सबै घरमा खानेपानी पुर्याएपछि हामी विपन्न परिवारलाई लक्षित गरी लिटर तोकेर निःशुल्क गर्नेछौँ ।” नगरभित्र रहेका खानेपानी आयोजनाहरुलाई समन्वय गर्ने गरी एउटा समिति निर्माण गरी खानेपानी वितरणलाई व्यवस्थित गरिँदै छ । नगरपालिकाभित्र खैरहनी, भुतिया, कङ्काली, पटिहानी, सुन्दर, सिद्धिपुर, जीवनपुर लगायतका खानेपानी आयोजना रहेका छन् । तीमध्ये खैरहनी सबैभन्दा ठूलो खानेपानी आयोजना हो । यसले करिब ६ हजार परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको छ । यसको पूर्ण क्षमता करिब १३ हजार घरपरिवार रहेको छ ।

    खैरहनी नगरपालिकामा ६७ हजारभन्दा बढी जनसङ्ख्या रहेका छन् । सो मध्ये ३५ प्रतिशत थारू समुदाय रहेका छन् । पछिल्ला वर्षहरुमा तीव्र विकास भइरहेको नगरमध्येको एक नगरपालिका खैरहनी हो । -(रासस)