Category: विदेश

  • इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

    इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

    काठमाडौँ, माघ ५ –
    इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो ।

    न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ ।

    आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

    रेजिनीको सन् १९९८ मा पनि हत्याको प्रयास भएको थियो । हमलाकारीले उनको गाडीमा चुम्बकीय बम जोड्दा सो आक्रमणमा उनी घाइते भएका थिए । – एजेन्सी

  • गाजामा आइतबार बिहान ८ः३० बजेदेखि युद्धविराम

    गाजामा आइतबार बिहान ८ः३० बजेदेखि युद्धविराम

    गाजा, माघ ५ –
    आइतबार बिहान ८ः३० बजेदेखि गाजामा युद्धविराम हुने भएको छ। कतारी विदेश मन्त्रालयले सो जानकारी दिएको हो। कतारले युद्धविराम सम्झौता गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

    यसअघि शनिबार अबेर बेन्यामिन नेतन्याहुको क्याबिनेटले सो सम्झौता अनुमोदन गरेको थियो। यससँगै ४६० दिनदेखि जारी युद्ध थामिने भएको हो।

    यो लडाइँमा इजरायली सेनाको हातबाट ४६ हजार ७८८ प्यालेस्टिनी मारिएका छन् भने १ लाख १० हजार ४५३ जना घाइते भएका छन्।

    युद्धविराम तीन चरणको हुने छ। पहिलो चरण ६ हप्ताको हुने छ, जुन अवधिमा ३३ बन्धक छुट्ने छन्। इजरायलले पनि कैदी छाड्ने छ भने इजरायली सेना गाजाको घना आबादी भएको क्षेत्रबाट पछि हट्ने छ।

    युद्धविरामको १६ औँ दिन दोस्रो चरणका लागि छलफल सुरु हुने छ। जुन चरणमा हमासले बाँकी बन्धक छाड्ने छ भने इजरायली सेना पनि फिर्ता हुने छ।

    तेस्रो चरणमा मृत बन्धकको शव फिर्ता हुने र गाजाको पुनर्निर्माणको कुरा छ, जसका लागि वर्षौं लाग्छ।

    तर, बन्धकहरुको अवस्था जानकारीमा छैन। – एजेन्सी

  • इजरायलको मन्त्रिपरिषद्‌बाट युद्धविराम सम्झौता अनुमोदन

    इजरायलको मन्त्रिपरिषद्‌बाट युद्धविराम सम्झौता अनुमोदन

    काठमाडाैं, माघ ५ –
    इजरायल सरकारले हमाससँगको युद्धविराम र बन्धक मुक्ति सम्झौतालाई अनुमोदन गरेको छ । इजरायलको मन्त्रिपरिद्‌ले अनुमोदन गरेसँगै अब आइतबारदेखि सम्झौता लागू हुने छ ।

    राति अबेरसम्म चलेको लामो छलफलपछि सम्झौता अनुमोदन गरिएको बीबीसीले जनाएको छ ।

    दुई मन्त्रीहरूले भने सम्झौताको विरुद्धमा मतदान गरेका छन्। यसअघि सुरक्षा मन्त्रिपरिषद्ले पहिले सम्झौतालाई अनुमोदन गर्न सिफारिस गरेको थियो ।

    सम्झौता अनुसार युद्धविरामको पहिलो चरण ४२ दिनको हुनेछ। पहिलो चरणमा हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। बदलाम, इजरायलले २५० हमास कैदीहरूलाई पनि रिहा गर्नेछ। साथै, इजरायली सेना गाजा सीमाबाट ७०० मिटर फर्कनेछ।

    पहिलो चरणको बन्धक रिहा भएको १५ दिनपछि हमासले बाँकी बन्धकहरूलाई रिहा गर्नेछ। यसैबीच, दुवै पक्षले स्थायी युद्धविरामबारे छलफल गर्नेछन् ।

    कतारको राजधानी दोहामा विगत केही हप्तादेखि युद्धविरामको लागि वार्ता भइरहेको थियो। यस वार्तामा इजिप्ट र अमेरिका पनि संलग्न थिए।

  • भारतमा साँढे जुधाईः सात जनाको मृत्यु, ४०० घाइते

    भारतमा साँढे जुधाईः सात जनाको मृत्यु, ४०० घाइते

    भारत, माघ ५ –
    दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन्।

    दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन्।

    छुट्टाछुट्टै घटनामा दुई साँढको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ।

    अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् । साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौड पछि आफ्नो साँढेहरू सङ्कलन गर्छन्।

     

  • अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?

    अमेरिकामा कहिलेदेखि बन्द हुन्छ टिकटक ?

    वासिङ्टन डिसी, माघ ५ –
    चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कदम नउठाए आइतबारदेखि देशमा आफ्ना गतिविधि बन्द गर्ने बताएको छ । टिकटकले विज्ञप्तिमा जो बाइडेन, ह्वाइट हाउस र न्याय विभागले आफूहरूलाई स्पष्टता र आश्वासन दिन असफल भएको बताएको हो।

    अमेरिकी सरकारले आश्वासन नदिए जनवरी १९ मा टिकटकका सबै गतिविधि बन्द गर्न बाध्य हुने टिकटकले जनाएको छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो।

    यदि यसको मूल कम्पनी बाइटडान्सले आइतबारसम्म यसलाई बेच्यो भने टिकटकलाई यस प्रतिबन्धबाट बचाउन सकिनेछ । टिकटकले यस कानुनविरूद्ध सर्वोच्च अदालत पुगेको थियो र यो अमेरिकामा आफ्ना लाखौँ प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भएको बताएको थियो।

    सर्वोच्च अदालतको निर्णयको अर्थ टिकटकको अमेरिकी संस्करणलाई एप स्टोर र वेब होस्टिङ सेवाहरूबाट हटाइने छ।

  • इमरान खानलाई सरकारी जग्गा हिनामिना प्रकरणमा १४ वर्ष जेल सजाय

    इमरान खानलाई सरकारी जग्गा हिनामिना प्रकरणमा १४ वर्ष जेल सजाय

    काठमाडौं, माघ ४ –
    पाकिस्तानको एक अदालतले सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै १४ वर्ष जेल सजाय सुनाएको छ । यसैगरी उनकी पत्नी बुशरा बीबीलाई सात वर्ष जेल सजायँ सुनाइएको छ । उनीहरूले राज्यकोषमा ५० अर्ब पाकिस्तानी रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    अल कादिर ट्रस्टको जग्गा हिनामिना प्रकरणमा न्यायाधीश नासिर जावेद राणाले इमरान खानलाई १४ र उनकी पत्नी बुशरालाई ७ वर्ष जेल सजायँको फैसला सुनाएको द डनको अनलाइन संस्करणले जनाएको छ । यो मुद्दाको सुनुवाइ यसअघि तीन पटकसम्म स्थगित हुँदै आएको थियो ।

    ट्रस्टको जग्गा हिनामिना आरोपमा खान ९ मेमा पक्राउ परेका थिए । उनी अदिआला जेलमा बन्द छन् । सजायँ सुनाउँदा उनीहरूलाई अदालत उपस्थित गराइएको थियो । त्यसपछि उनीहरूलाई पुनः जेलमा पठाइएको थियो ।

    यो मुद्दामा अदालतले खानलाई १० लाख र उनकी श्रीमतीलाई ५ लाख रुपैयाँ जरिवाना समेत सुनाएको छ । यदि यो रकम बुझाउन नसके उनीहरूले थप ६ महिना जेलमा बस्नु पर्ने छ ।

    सरकारको आरोप अनुसार खान प्रधानमन्त्री बनेपछि जग्गा व्यवसायी रियाजलाई सम्पत्ती शुद्धीकरण मुद्दामा फसाइएको थियो । लण्डनबाट उनीबाट ४० अर्ब रुपैयाँ जफत गराइएको थियो । यो रकम बेलायत सरकारले पाकिस्तान सरकारलाई दिलाएको थियो । तर इमरान खानले त्यसको जानकारी मन्त्रिपरिषदलाई नगराएको र इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई)को खातामा गोप्य तरिकाले पठाएको आरोप छ ।

    त्यसपछि इमरान खानले अल कादिर ट्रस्ट बनाएका थिए । यसमार्फत् तालिम दिका लागि अल कादिर विश्वविद्यालय बनाइएको थियो । त्यसका लागि अरबौं मूल्य बराबरको जग्गा व्यवसायी रियाजले दिएको बताइएको छ । उनले इमरान पत्नी बुशरालाई हिराको औंठी पनि दिएका थिए । त्यसपछि रियाजविरुद्धका मुद्दा खारेज गरिदिएको आरोप इमरान माथि लगाइएको छ ।

    पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले भनेका छन्, ‘यसबाट सरकारी ढुकुटीमा ५० अर्ब रुपैयाँ नोक्सान भएको छ । चार वर्ष भइसक्दा पनि यो विश्वविद्यालयमा केबल ३२ विद्यार्थी छन् ।’ – एजेन्सी

  • ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

    ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

    इरान, माघ २ –
    इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिनुभएको छ ।

    ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ता अघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले भन्नुभयो, “मलाई आशा छ कि ट्रम्पले यस क्षेत्र र विश्वमा शान्ति कायम गर्नुहुनेछ।”

    वासिङ्टनले तेहरानसँग करिब ४५ वर्षदेखि औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छैन र ट्रम्पले हालै आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी सहयोगी इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको थियो ।

    इरानको आणविक स्थलमा अमेरिकासमर्थित इजरायली सैन्य आक्रमणको सम्भावनाबारे पेजेस्कियानले भन्नुभयो, “हामी कुनै पनि कदमको जवाफ दिनेछौं । ‘हामी युद्ध चाहँदैनौँ अनि युद्धसँग डराउँदैनौँ पनि’ ।”

    इरानका विदेशमन्त्री अब्बास अराघचीले युरोपेली शक्तिहरू आणविक कार्यक्रम पुनः सुरु गर्न गम्भीर रहेको बताउनुभएको छ ।

    सन् २०१५ मा इरान र फ्रान्स, बेलायत र जर्मनीलगायत विश्वशक्तिराष्ट्रबीच तेहरानको आणविक कार्यक्रममाथिको प्रतिबन्धको बदलामा तेहरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई खुकुलो बनाउने सम्झौता भएको थियो ।

    ट्रम्पको पहिलो कार्यकालमा संयुक्त राज्य अमेरिकाले एकतर्फी रूपमा सन् २०१८ मा सम्झौताबाट पछि हटेको थियो र आर्थिक प्रतिबन्धहरू पुनः लागू गरेको थियो।

    तेहरानले आणविक सम्झौताबाट वासिङ्टनको बहिर्गमनसम्म सम्झौताको पालना गरेको थियो तर त्यसपछि उसले आफ्नो प्रतिबद्धताबाट क्रमशः पछि हट्दै जाँदा अहिले सम्झौता कायान्वयनमा छैन ।”

    पेजेस्कियानले भन्नुभयो, “हामी आणविक हतियार वा अन्य हतियार बनाउन चाहँदैनौं तर उनीहरूले हामीमाथि आणविक बम बनाउन खोजेको आरोप लगाएका छन् ।”

    एनबीसी न्यूजकी प्रस्तोता लेस्टर होल्टले ट्रम्प सत्तामा फर्किएपछि उहाँसँग वार्ता गर्न सकिने सम्भावनाबारे सोधेको प्रश्नमा इरानी नेताले यो सम्भावना अहिलेसम्म नदेखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रो समस्या संवादमा छैन, प्रतिबद्धतामा छ । यो वार्ता र संवादका क्रममा हुने प्रतिबद्धताहरूमा निर्भर हुन्छ।’

    अमेरिकालाई सङ्केत गर्दै पेजेस्कियानले भन्नुभयो, “वार्ताको अर्को पक्षले आफ्नो वाचा र दायित्वहरू पूरा नगरेपछि इरान पनि पछि हट्न बाध्य हुनुपरेको हो।” – रासस

  • बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या

    बेंगलुरुमा नेपाली बालिकाको यौन दुर्व्यवहारपछि हत्या

    बेंगलुरु, माघ २ –
    भारतको बेंगलुरुस्थित होयसाला नगरमा एक छ वर्षीया नेपाली बालिकालाई निर्माणाधीन भवन भित्र यौन दुर्व्यवहार र हत्या गरिएको समाचार छ । इन्डिया टुडेमा प्रकाशित समाचार अनुसार बेंगलुरु प्रहरीले उक्त अपराधमा बिहारका एक जनालाई पक्राउ गरेको हो ।

    बाबुआमा नेपाली मूलको भएको र घटनास्थलमा सुरक्षा कर्मचारीको रूपमा काम गर्ने गरेको समाचारमा उल्लेख छ । सोमबार साँझ ७ः३० बजे बालिकाका अभिभावक काममा गएका बेला उक्त घटना भएको बताइएको छ ।

    अभिषेक कुमार भनेर चिनिने अभियुक्त बिहारबाट आएका मजदुर थिए । बालिकालाई सुनसान क्षेत्रमा लगेर बलात्कार गरेपछि उनले हत्या गरेका थिए ।

    स्थानीयले बालिकालाई फेला पारेर आरोपीलाई पक्राउ गरेपछि घटनाको खुलासा भएको हो । प्रहरीलाई जिम्मा दिनुअघि उनीहरुले अभियुक्तलाई कुटपिट समेत गरेका थिए ।

    प्रहरीका डीसीपी डी देवराजले अभियुक्त पक्राउ परेको पुष्टि गरेका छन् । राममूर्ति नगर प्रहरीले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐन र भारतीय न्याय संहिता (बीएनएस) को सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।

  • भारतमा १८ पुगे एचएमपीभी सङ्क्रमित

    भारतमा १८ पुगे एचएमपीभी सङ्क्रमित

    नयाँ दिल्ली, माघ २ –
    भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । पुडुचेरीमा अर्को बच्चाको पनि भाइरसको परीक्षण पोजेटिभ आएपछि देशभरमा सङ्क्रमितको सङ्ख्या १८ पुगेको हो ।

    यसअघि पोडुचेरीमा ३ र ५ वर्षका दुई बालबालिकामा एचएमपीभीको संक्रमण भेटिएको थियो । बच्चालाई ज्वरो र खोकी लागे पछि अस्पतालमा भर्ना गरिएको तर अहिले निको हुँदै गइरहेको बताइएको छ ।

    भारतमा सबैभन्दा धेरै एचएमपीभी सङ्क्रमित गुजरातमा भेटिएका छन् । त्यहाँ यो सङ्ख्या ४ रहेको छ । त्यस्तै, महाराष्ट्रमा ३, कर्नाटक र तमिलनाडुमा २/२, र उत्तर प्रदेश, राजस्थान, आसाम र बंगालमा १/१ एचएमपीभी सङ्क्रमित भेटिएका छन् ।

    एचएमपीभी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि राज्यहरूले सतर्कता बढाएका छन् । पञ्जाबमा वृद्धवृद्धा र बालबालिकाहरूलाई मास्क लगाउन सल्लाह दिइएको छ । गुजरातका अस्पतालहरूमा धमाधम आइसोलेसन वार्डहरू बनाउने काम भइरहेका छन् । हरियाणामा पनि स्वास्थ्य विभागलाई एचएमपीभी संक्रमितहरूमाथि नजर राख्न आदेश दिइएको छ ।

  • दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ

    दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ

    काठमाडौं, माघ २ –
    महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् ।

    उनका समर्थक र विरोधीहरू उनी पक्राउ पर्नुअघि युन सुक–योलको घरबाहिर जम्मा भएका थिए । समर्थकहरूले युन सुक–योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरिरहेका थिए ।

    प्रहरीले यसअघि पनि युन सुक–योललाई पक्राउ गर्ने प्रयास गरेको थियो ।

    युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा ‘मार्सल ल’ लगाउने घोषणा गरेका थिए । विरोधका कारण केही घण्टापछि उनले उक्त ल लगाउने निर्णय फिर्ता लिएका थिए ।

    डिसेम्बर १४ मा युन सुक–यो विरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसदमा पारित भएको थियो । तर, उनलाई त्यहाँको संवैधानिक अदालतले मात्रै राष्ट्रपति पदबाट हटाउन सक्छ ।

    डिसेम्बर ३१ मा दक्षिण कोरियाली अदालतले युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो ।