Category: Banner तल ताजा समाचार

  • श्रीलंकामा औषधि अभावले ‘विनाशकारी मृत्यु’ हुन सक्ने चिकित्सकहरूको चेतावनी

    श्रीलंकामा औषधि अभावले ‘विनाशकारी मृत्यु’ हुन सक्ने चिकित्सकहरूको चेतावनी

    कोलम्बो, २९ चैत-

    लोडसेडिङ र जीवन बचाउने औषधि अभावमा श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीले यस्तो चेतावनी दिएका हुन् ।

    लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई विरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको छ ।
    स्थिति यति भयावह छ कि धेरै अस्पतालहरूले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् ।

    प्रयोगशाला परीक्षणमा कमी आएको छ । औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् । कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेका छन् ।

    ‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा. सेनल फर्नान्डोले भने, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै कारबाही नगरे मानिस मर्न थाल्छ ।’

    औषधि अभावकै कारण बिरामीको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने उनले चेतावनी दिएका छन् । सरकार संकटप्रति गम्भीर हुन र पारदर्शी बन्न असफल भएको उनले बताए । एजेन्सी

  • कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक २ वैशाखमा

    कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक २ वैशाखमा

    काठमाडौं, २९ चैत-

    नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ ।

    आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् । न्युज कारखाना

  • कैलालीमा एमाले र जसपाबीच चुनावी तालमेलको प्रयास

    कैलालीमा एमाले र जसपाबीच चुनावी तालमेलको प्रयास

    मोहन जोशी
    धनगढी, २९ चैत-

    आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ ।

    केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट छ । सरकारका मन्त्री हेरफेर गर्दा आफ्नो पार्टीसँग कुनै समन्वय नगरेको भन्दै जसपा रुष्ट बनेको हो ।

    शनिबार मात्रै गठबन्धनबाट बाहिरिने घोषणा गरेको जसपाले लगत्तै कैलालीमा चुनावी तालमेलका लागि एमालेसँग छलफल गरेको हो । सोमबार जसपा र एमालेले जिल्लामा मिलेर चुनावमा जान सकिने सम्भावनाबारे छलफल गरेका हुन् ।

    संघीय सरकारमा गठबन्धनमा आबद्ध दलहरूले सुदूरपश्चिम प्रदेशमा आफूहरूलाई नटेरेपछि जिल्लामा अन्य शक्तिहरूसँग छलफल सुरु भएको जसपाका कैलाली जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मीले बताए । ‘उहाँहरू (कांग्रेस, माओवादी र एकीकृत समाजवादी) ले हामीलाई सुदूरपश्चिम सरकारमा सहभागी गराउने विषयमा कुनै छलफल गर्नु भएको छैन,’ अध्यक्ष कुश्मीले भने, ‘सत्ताका बारेमा छलफल नगर्नेसँग चुनावका बारेमा मात्र गठबन्धन गरिराख्न आवश्यक भएन, त्यसैले हामीले अरुसँग पनि छलफल सुरु गरेका छौं ।’

    जिल्लामा गठबन्धन निर्माणका लागि जसपाका अध्यक्ष कुश्मी, एमाले केन्द्रीय निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्द र घोडाघोडी नगरपालिका प्रमुख ममता चौधरीबीच धनगढीमा छलफल भएको हो । छलफलमा जिल्लामा गठबन्धन गरेर जानका लागि छलफललाई अघि बढाउने सहमति भएको छ ।

    ‘एमालेका साथीहरूले जिल्लामा सम्मानजनक सहभागिताका आधारमा गठबन्धन गरेर जाने प्रस्ताव गर्नु भयो,’ अध्यक्ष कुश्मीले भने, ‘सम्मानजनक रूपमा सीट बाँडफाँट गरेर जाने कुरामा हाम्रो पनि सहमति छ ।’ एमालेसँग थप छलफल गरेर चाँडै टुँगोमा पुग्ने अध्यक्ष कुश्मीले बताए ।

    एमाले निर्वाचन परिचालन समितिका सदस्य रणबहादुर चन्दले जसपासँग गठबन्धनको सम्भावनका बारेमा गरिएको छलफल सकारात्मक रहेको बताए । ‘एक चरणको छलफल सकारात्मक बनेको छ,’ चन्दले भने, ‘आगामी दिनमा थप छलफल गरेर तालमेलको विषयलाई टुंगाेमा पुर्‍याइने छ ।’

    सुदूरपश्चिम सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराएपछि जसपा गठबन्धनप्रति रुष्ट बनेको छ । सुदूरपश्चिम सरकारमा का‌ग्रेसलाई सहभागी गराइएको दुई दिनपछि पत्रकार सम्मेलन गर्दै सत्ता साझेदारी नगरिए वर्तमान गठबन्धन छोड्ने जसपाका सुदूरपश्चिम अध्यक्ष कृष्ण चौधरीले बताएका थिए । सरकारमा सहभागी नगराइए आफूहरू प्रदेशमा गठबन्धनको विकल्प खोज्ने वा एक्लै चुनाव लड्ने अध्यक्ष चौधरीले बताएका थिए । सरकारका बारेमा गठबन्धनमा छलपल नहुने तर निर्वाचचनका बारेमा मात्र गठबन्धनमा छलफल हुने कुरा आफूहरूलाई माान्य नभएको चौधरीले बताए । दुई मन्त्री र एक राज्यमन्त्रीसहित कांग्रेसलाई मात्र सहभागी गराएपछि जसपा रुष्ट बनेको छ ।

    केन्द्रमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चाबीच गठबन्धन बनेको छ । त्यही गठबन्धनले आगामी ३० वैशाख हुन लागेको पालिकाहरूको निर्वाचनमा गठबन्धन कायमै राखेर जान अहिले प्रदेश, जिल्ला र पालिका स्तरमा छलफल भइरहेको छ । कैलाली जिल्लामा हुने गठबन्धनका बारेमा २७ चैतमा गठबन्धनबीच छलफल भए पनि सहमति बनिसकेको छैन । जसपाका अध्यक्ष कुश्मीले पालिकास्तरमा दुवै दलको अवस्था मूल्यांकन गरेर गठबन्धन निर्माणको प्रयास गरिने बताए ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, जसपाका वरिष्ठ नेता अशोक राई र जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेलले सोमबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै आपसी मतभेदलाई पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जानएका छन् ।- न्युज कारखाना

  • दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट इन्दिरा निरौलाको दाबेदारी

    दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट इन्दिरा निरौलाको दाबेदारी

    सिन्धुली, २९ चैत-

    सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा कोइरालाले दाबी गरेकी छन् । स्थानीय तहमा राम्रो छवि बनाएकी उनले आसन्न स्थानीय तह निर्वाचनमा दुधौलीको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

    आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा महिलाले प्रमुखमा दाबी नगरेको भन्दै देशभर चर्चा भइरहेका बेला निरौलाले मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् । गत मंसिरमा पार्टीको सम्पन्न १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत रहेकी उनले आफू स्थानीय तहमै रहेर जनताको सेवा गर्ने उद्देश्यले मेयरमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिइन् ।

    राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यको जिम्मेवारी पाएलगत्तै उनी भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरणमा जुटेकी छन् । दुधौली-९ बाट अभियान सुरु गरेर सो क्षेत्रका १०६ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको नेतृ निरौलाले बताइन् । दुधौलीलाई स्मार्टसिटीको रूपमा विकास गर्ने लक्ष्य लिएकाे उनले न्युज कारखानालाई बताइन् ।

    सत्तारुढ दलबीच स्थानीय तहकाे निर्वाचनमा तालमेल गरेर जाने सहमति भएकाे छ । तर सबै ठाउँमा हाेइन । सिन्धुली जिल्लामा सत्तारुढ गठबन्धनले अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएकाले सबै दलले आ-आफ्ना उम्मेदवार उठाउने तयारी गरेका छन् ।- न्युज कारखाना

  • इन्धन आयातमा वृद्धि

    इन्धन आयातमा वृद्धि

    पर्सा, २९ चैत-
    वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रु ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रु १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो ।

    आव २०७७÷७८ को साउनदेखि फागुनसम्ममा रु ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालु आवको सोही अवधिमा रु एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जनाएको छ ।

    यो समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा १००.४६ प्रतिशत बढी मूल्यको ११६.५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो । चालु आवमा सङ्क्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यपार समान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा देखापरेकोे बताउनुभयो ।

    गत आवको आठ महिनामा वीरगञ्जनाका प्रयोग गरी नेपालका लागि भएको इन्धन आयातबाट रु ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा रु १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रु ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व सङ्कलन नभएको भन्सार कार्यालयले जनाएको छ । (रासस)

  • सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

    सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

    काठमाडौँ, २९ चैत-

    सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ ।

    यसअघि, सोमबार सुन तोलाको एक लाख एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय निर्धारण भएको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।- न्युज कारखाना

  • पहिलो महिला मुख्यमन्त्री शाक्यको पुस्तक ‘संघर्षशील योद्धाहरू’ विमोचन गर्दै ओली

    पहिलो महिला मुख्यमन्त्री शाक्यको पुस्तक ‘संघर्षशील योद्धाहरू’ विमोचन गर्दै ओली

    काठमाडौं, २९ चैत-

    एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पुस्तक ‘संघर्षशील योद्धाहरू’ मंगलबार विमोचन हुँदै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे काठमाडौंको कालिमाटी बैंक्वेटमा विमोचन गर्ने भएका छन् ।

    पुस्तकमा ३० जना योद्धाहरूको जीवनी समेटिएका छन् । पुस्तकमा जनपक्षीय सांसद भएर संसद्बाट पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाउने सांसद्हरू पद्मरत्न तुलाधर, सोमनाथ अधिकारी ‘प्यासी’, जागृत भेटवाल र द्रोणप्रसाद आचार्यको जीवनी समेटिएको छ ।

    नेपाली कम्युनिस्ट आन्दोलनमा चर्चित रहेको ‘पिस्कर काण्ड’ मा सहिद भएका जगत बस्नेत, जगत बोहरा, छत्रबहादुर बोहरासहित चार जनाको जीवन पनि पुस्तकमा समेटिएको छ ।

    चर्चित ‘नख्खु जेल ब्रेक’ घटनाका योजनाकार पूर्वसांसद स्वर्गीय वीरबहादुर लामा, गोपाल शाक्य र ठूलो कान्छा लामाको पनि जीवन पुस्तकमा रहेको लेखक शाक्यले बताइन् । शाक्य पहिलो महिला मुख्यमन्त्री हुन् ।- न्युज कारखाना

  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, २९ चैत्र-

    नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २३ पैसा र बिक्री दर १२१ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ १० पैसा र बिक्री दर १५८ रुपैयाँ ८८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८० पैसा मात्र र बिक्री दर १३० रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३२ पैसा र बिक्री दर ९० रुपैयाँ ७६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८० पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६७ पैसा र बिक्री दर नाै रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ३३ पैसा र बिक्री दर ३२ रुपैयाँ ४९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १० पैसा र बिक्री दर ३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८० पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८२ पैसा र बिक्री दर नाै रुपैयाँ ८७ पैसा कायम भएको छ ।- न्युज कारखाना

     

  • भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

    भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

    काठमाडौं, २९ चैत-

    भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।

    मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

    उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

    बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भएको छ ।- न्युज कारखाना

     

  • थप २२ जनामा सङ्क्रमण पुष्टि

    थप २२ जनामा सङ्क्रमण पुष्टि

    काठमाडौँ, २८ चैत-
    देशभर पछिल्लो २४ घण्टामा २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार १४४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५९३ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५० रहेको छ । पछिल्लो समय थप ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७४ पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । त्यसैगरी पछिल्लो समय १५ हजार ३५५ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५३६ रहेको छ ।

    अहिले होम आइसोलेशनमा ५४४ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् । रासस