Category: Banner तल ताजा समाचार

  • अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

    अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढ्यो

    लमजुङ, २८ चैत-
    कोरोना भाइरस र बाढीपहिरोको बितण्डामा ढप्प भएकाे लमजुङकाे पदयात्रा क्षेत्रमा चहलपहल सुरु भएकाे छ । झण्डै दुई वर्षपछि यहाँ पदयात्रा गर्ने पर्यटक आएका हुन् ।दैनिक दुई सयभन्दा बढी पर्यटकले अचेल यहाँ पदयात्रा गर्ने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने वाह्य पर्यटक केही समययता बढ्दै गएको हो ।

    पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायीमा उत्साह छाएकाे छ। मंसिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

    पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । दुई वर्षसम्म कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको पर्यटन व्यवसायी पारु गुरुङ बताउँछिन् ।

    अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी आउने गरेका छन् । अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख गौतमले बताए । बेंसीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगत हुँदै मनाङको बगरछाप पुगेर चामे हुँदै थोराङपास हुँदै मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीको बाटो भएर पोखरा पुगिन्छ ।- न्युज कारखाना

  • एकल महिला र विधुरलाई मासिक भत्ता

    एकल महिला र विधुरलाई मासिक भत्ता

    काभ्रेपलाञ्चोक, २८ चैत-
    यहाँका दुई स्थानीय तहले एकल महिला तथा विदुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै तहले चैतदेखि लक्षित वर्गलाई रु दुई हजारका दरले मासिक भत्ता दिइने जनाएका छन् ।

    पनौती नगरपालिकाले मासिक भत्तास्वरुप एकल महिलालाई दिइसकेको छ । पैंतीस वर्ष नाघेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई मासिक रु दुई हजारका दरले भत्ता प्रदान गर्न थालिएको नगर कार्यालयले जनाएको हो ।

    नगरबाट मासिकरुपमा विशेष सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरी एकल महिलालाई चैतदेखि भत्ता दिन थालिएको उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । उहाँका अनुसार विभिन्न कारण एकल महिलाका रुपमा रहेका नगरका १९३ महिलालाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो । “दैनिक गुजारा गर्न अप्ठ्यारोमा परेका एकल महिलालाई भत्ता दिन थालेका हौँ”, बञ्जाराले भन्नुभयो ।

    पनौतीमा अविवाहित महिला १४९ हुनुहुन्छ भने सम्बन्ध विच्छेद भएका २० र पति बेपत्ता भएका २४ महिला हुनुहुन्छ । वितरित रु दुई हजारले दैनिक गुजारा गर्न सहयोगी बन्ने अपेक्षा गरिएको बञ्जाराले बताउनुभयो । नगर उपप्रमुख बञ्जारा आफैँ अविवाहिता महिला हुनुहुन्छ ।

    यस्तै तेमाल गाउँपालिकाले विदुर (एकल पुरुष)लाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार विदुर भत्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ ।

    यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ११० पुरुषले मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन् । “एकल पुरुषलाई पनि सहायता आवश्यक रहेको देखिएपछि यस्तो निर्णय गरेका थियौँ”, पालिका प्रमुख सलामसिंह तामाङले भन्नुभयो । उहाँका अनुसार चैतदेखि भत्ता वितरण गर्ने योजनाअनुसार यही हप्ता भत्ता दिने कार्यक्रम गरिनेछ ।

    उक्त गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी बनेको कार्यविधि–२०७८ को दफा ३ बमोजिम भत्ता पाउने भएका हुन् । पत्नी बितेका तथा अविवाहित ६० देखि ७० वर्षसम्मका पुरुषले विदुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

    कार्यविधिअनुसार यसअघि सम्पूर्ण वडा कार्यालयमार्फत विदुरमा सूचीकृत पुरुषलाई भत्ता वितरण गर्न लागिएको हो । सङ्घीय सरकारले दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ६५ वर्ष नाघेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । (रासस)

  • उदयपुरमा श्रीमानद्वारा श्रीमतीको हच्या, कैलालीमा श्रीमतीद्वारा श्रीमानको हत्या

    काठमाडौं, २८ चैत-

    उदयपुरमा आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई पत्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कटारी नगरपालिका–५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाल छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    पोष्टराजले बसिरहेको अवस्थामा चिर्पटले प्रहार गर्दा नानुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस्तै, कैलालीमा आफ्नै ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्ने महिलामा मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने ३३ वर्षीया थुमा थापामगर रहेकी छन् । उनलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।

    घरायसी बिबादको क्रममा हसियाले प्रहार गरी नारायणको हत्या पश्चात आफै ईलाका प्रहरी कार्यालय पण्डौनमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।- न्युज कारखाना

     

  • स्थानीय निर्वाचन : उम्मेदवार छनोट गर्दै दल

    स्थानीय निर्वाचन : उम्मेदवार छनोट गर्दै दल

    तम्घास, २८ चैत-
    आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुङ्गाउन दलहरु व्यस्त भएका हुन् ।

    जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिका छन् । हालसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले छ पालिकामा अध्यक्ष एवं प्रमुखको उम्मेदवार छनोट गरेका छन् । कुनै पनि पालिकामा कुनै पनि पार्टीले उपाध्यक्षको उम्मेदवार भने छनोट गरेका छैनन् ।

    जिल्लामा सबैभन्दा पहिले नेकपा (माओवादी केन्द्र)ले चन्द्रकोट गाउँपालिकामा अध्यक्षको उम्मेदवार छनोट गरेको थियो । पार्टीले प्रदेश कमिटी सदस्य युवराज केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । गठबन्धनबाट पालिका उपाध्यक्षमा कांग्रेसको उम्मेदवार हुने भनिए पनि कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छैन ।

    धुर्कोट गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पोखरेलको नेतृत्वमा भएको जनप्रिय कामले गर्दा उहाँलाई नै अध्यक्षको उम्मेदवार बनाइएको गाउँ कमिटी अध्यक्ष गोपाल कुँवरले जानकारी दिनुभयो । धुर्कोटमा अझैसम्म पनि गठबन्धनको टुङ्गो नलाग्दा माओवादीले अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।

    मुसिकोट नगरपालिकामा नेकपा (एमाले)ले जीवन खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीभित्र योगदानका आधारमा सर्वसम्मत नगरप्रमुख पदको उम्मेदवार बनाइएको पार्टीका पालिका अध्यक्ष प्रकाश काफ्लेले बताउनुभयो । मुसिकोटमै कांग्रेसका तर्फबाट हरिनारायण सापकोटालाई नगरप्रमुखको उम्मेदवार बनाइएको छ । सापकोटा पार्टीका पूर्वजिल्ला सचिव हुनुहुन्छ । कांग्रेसले आइतबार सर्वसम्मत उम्मेदवारको टुङ्गो लगाएको हो । माओवादी केन्द्रले भने नगरप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छैन । कालीगण्डकी गाउँपालिकामा एमालेले रामजी ढकाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । ढकाल हाल पार्टीको गाउँ कमिटी अध्यक्ष हुनुहुन्छ ।

    जिल्लामा सबैभन्दा बढी एमालेले वडाध्यक्षका उम्मेदवार टुङ्गाएको छ । जिल्ला सचिव गणेश श्रीपालीका अनुसार हालसम्म २५ वडामा वडाध्यक्षको उम्मेदवारको टुङ्गो लगाइएको छ । एमालेले धुर्कोट गाउँपालिका–३ हाडहाडेमा विष्णुबहादुर श्रीस र वडा नं ६ रजस्थलमा कृष्ण नेपालीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । उनीहरु दुवै वडाध्यक्ष छन् । कांग्रेसले पनि हालसम्म १५ वडामा वडाध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ । मुसिकोट र रेसुङ्गा नगरपालिका, धुर्कोट लगायतका पालिकाका केही वडामा वडाध्यक्षको उम्मेदवारको छनोट गरिसकेको छ ।

    माओवादी केन्द्रमा धुर्कोट, चन्द्रकोट र मालिकाबाहेक अन्य पालिकामा अध्यक्षका उम्मेदवार घोषणा भएका छैनन् । रुरुक्षेत्र गाउँपालिकामा यदु ज्ञवालीलाई अध्यक्षको उम्मेदवार बनाउने भने पनि अहिलेसम्म औपचारिकता प्रदान गरिएको छैन । पार्टीले हालसम्म जिल्लाका कुनै पनि वडामा वडाध्यक्षको छनोट गरेको छैन । सबै वडामा उम्मेदवार तयारी अवस्थामा राखिएकाले केही दिनभित्रै घोषणा गर्ने जिल्ला संयोजक बुद्धि जिसीले बताउनुभयो । जिल्लाको रेसुङ्गा, मदाने, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र र सत्यवती गाउँपालिकाका लागि कुनै पनि दलले अध्यक्ष पदको उम्मेदवार टुङ्गाएका छैनन् ।

    पालिकामा गठबन्धन

    जिल्लाको मालिका गाउँपालिकामा पाँच दलीय गठबन्धन भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसले उम्मेदवार बनाउने गरी चुनावी तालमेल गरिएको छ । अध्यक्षमा माओवादीका तर्फबाट देवीराम अर्याल उम्मेदवार हुनुहुन्छ । उपाध्यक्षमा कांग्रेसले उम्मेदवार छनोट गरिसकेको छैन । कूल आठ वडा रहेको मालिकामा वडा नं ३ ह्वाङ्दी र वडा नं ८ मर्भुङ्गमा माओवादी र अन्य छ वडामा कांग्रेसले वडाध्यक्षको उम्मेदवार बनाउने गरी सहमति भएको कांग्रेस मालिकाका सभापति उपेन्द्र अर्यालले जानकारी दिनुभयो ।

    त्यस्तै नेकपा (एकीकृत समाजवादी)लाई केही वडा सदस्यमा उम्मेदवारी दिनेगरी सहमति भएको अर्यालले बताउनुभयो । ह्वाङ्दीमा अर्जुन बुढा मगर र मर्भुङ्गमा सूर्यबहादुर जिसी वडाध्यक्षका उम्मेदवार छनोट भएका छन् । कांग्रेसको भागमा परेका वडाध्यक्षका उम्मेदवार पनि केही दिनमै टुङ्गो लगाइने सभापति अर्यालको भनाइ छ । (रासस)

  • ग्याष्ट्रिक, बाथदेखि पेटसम्बन्धी समस्या निको पार्न पुग्छन् भोताङको अमिलोपानी

    ग्याष्ट्रिक, बाथदेखि पेटसम्बन्धी समस्या निको पार्न पुग्छन् भोताङको अमिलोपानी

    सिन्धुपाल्चोक, २८ चैत-

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँचपोखरी भन्नेवित्तिकै यहाँको धार्मिक आस्था महत्वप्रति सबैको विश्वास छ । जसमध्ये यही ठाउँमा पर्छ भोताङ । भोताङकै आँगनमा पर्दछ अमिलोपानी ।

    पाँचपोखरी थाङपाल गाउँपालिका-३ भोताङमा रहेको अमिलोपानीको ऐतिहासिक महत्व छ । यहाँको पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्ने र विभिन्न रोगहरू न्युनीकरण हुने जनविश्वास छ । भोथाङका वडाध्यक्ष निमा छिरिङ लामा भन्छन्, ‘यहाँको पानी पिउँदा ग्यास्ट्रिक निको हुन्छ । यसकारण यस क्षेत्रको स्थानीयले मात्रै नभएर विभिन्न क्षेत्रका सर्वसाधारणले यहाँको पानी पिउन आउने गरेका छन् ।’

    प्राचीनकालदेखि नै ‘अमिलोपानी’ रहिआएको र यो पानी पिउँदा विशेषगरी ग्यास्ट्रीक, जिउ दुख्ने जस्ता रोग निको हुने जनविश्वास छ ।

    अमिलोपानीको तीनपटक ल्याब टेष्ट भइसकेको छ । एन्फोमा ल्याब टेष्टको रिपोर्टले अमिलो पानी मानव शरीरलाई अति आवश्यक भएको पृष्टि गरिसकेको स्थानीय रत्नप्रसाद श्रेष्ठले बताए ।

    हरेक वर्ष चैते दशैकाे तीन दिन यहाँ भव्य मेला लाग्छ । मेलामा टाढादेखिका स्थानीय बाथ, ग्याष्ट्रिकदेखि पेटसम्बन्धी समस्या निको हुने भन्दै मेला भर्न आउने गरेका छन् । मेला भर्न आउनेले साथमा सक्खर, मिश्री साथमा दुई पाथीसम्म पानी पिउने गर्छन् । यो वर्ष एक हजारभन्दा बढी मेलामा पुगेका थिए ।

    मेलम्ची, चौतारादेखि काभ्रेसम्मका स्थानीय मेला भर्न पुग्ने गरेका छन् । अहिले सडक मार्गबाट आधा घन्टा ओरालो हिँडेपछि अमिलोपानी स्थल पुग्न सकिन्छ । जात्रालाई पछिल्लो समय स्थानीय सरकारले मौलिक कला संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ डम्फू सेलो सांस्कृतिक कार्यक्रमसमेत हुने गरेको छ । यसका लागि स्थानीय कलाकार, ताम्बाहरूले स्थानीय भाषामा डम्फू सेलोहरूसमेत प्रस्तुत गरेका छन् ।- न्युज कारखाना

  • पाँच दलीय गठबन्धनको संयुक्त वक्तव्य : आपसी मतभेद पन्छ्याउँदै स्थानीय निर्वाचनमा एकअर्कालाई सहयोग गर्ने

    पाँच दलीय गठबन्धनको संयुक्त वक्तव्य : आपसी मतभेद पन्छ्याउँदै स्थानीय निर्वाचनमा एकअर्कालाई सहयोग गर्ने

    काठमाडौं, २८ चैत-
    सत्तारूढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । आपसी मनमुटावलाई पर पन्छ्याउँदै स्थानीय तह निर्वाचनमा तालमेल गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको बैठकमा पाँच दलीय गठबन्धनको बैठकले सहकार्य र सहयोगको भावनाअनुसार नै स्थानीय तह निर्वाचनमा जाने निर्णय गरेका हुन् ।

    हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेका छन् । बैठकपछि पाँच दलले संयुक्त विज्ञप्ती जारी गर्दै लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरूको कठिनाई हटाउदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका हुन् ।

    विज्ञप्तीमा भनिएको छ,– ‘पाँच दलीय गठबन्धनको अपिल अनेकौं शहीदहरुको वलिदान र अनगिन्ती सपूतहरुको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षों देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको छ । नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ। समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढेको छ ।’

    परिवर्तलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरू परिवतर्नका विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै त्यसकाविरुद्ध लड्न अघि बढिरहेको उल्लेख गरेका छन् ।
    देशै भर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न उनीहरूले सबैलाई आग्रह गरेका छन् ।
    व्यापक सहभागितासहित अगामी स्थानीय तहको निर्वाचन सफल पार्नका लागि पाँचदलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी बनाउन हुन समेत सबैमा अनुरोध गरेका छन् ।

    विज्ञप्तीमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।- न्युज कारखाना

  • पूजा र आकाश फेरि सँगै

    पूजा र आकाश फेरि सँगै

    काठमाडौं, २८ चैत-
    पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । निमेष प्रधान निर्देशित फिल्मको गीतमा अञ्जु पन्त र निर्देशक निमेषको स्वर छ । पूजा र आकाश फिचर्ड गीतको शब्द र संगीत पनि निर्देशक निमेषकै हो ।

    आगामी ६ जेठमा प्रदर्शन हुने फिल्मको प्रस्तुतकर्ता अद्वितीय प्रधान हुन् भने निर्मातामा रेबिका प्रधान छिन् । निर्देशक निमेषले आफ्नो फिल्ममा नौलो प्रेमकथा प्रस्तुत गरिएको बताए । गायक, गीतकार र संगीतकारसमेत रहेका निमेषले आफ्नो फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने दावी पनि गरे ।

    फिल्मका प्रस्तुतकर्ता अद्वितीयले आफूहरू निरन्तर नेपाली फिल्म निर्माण गर्ने योजनामा रहेको बताउदै ‘सम्झना बिर्सना’ ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

    अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ टिमसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताइन् । उनले अभिनेता आकाश आफूलाई सहज लाग्ने बताउँदै दर्शकले आफूहरूलाई यो फिल्ममा पुनः एकपटक संगै देख्न पाउने बताइन् ।

    ‘मलाई आकाश र पलसँग काम गर्न निकै सहज लाग्छ । दर्शकले पनि म र आकाशलाई फेरि एकपटक पर्दामा हेर्न चाहनु भएको छ । त्यसकारण पनि मलाई यो फिल्मप्रति निकै मोह छ,’ उनले भनिन् । फिल्म निकै राम्रो बनेकाले फेरि पनि सबैको माया पाउनेमा ढुक्क रहेको उनले बताइन् ।

    अभिनेता आकाशले ‘सम्झना बिर्सना’ सम्झन लायक फिल्म भएको बताउँदै कोरोनापछि यही फिल्ममार्फत आफू पर्दामा आउन लागेकोमा दर्शकको माया पाउने विश्वास व्यक्त गरे । कार्यक्रममा निर्मात्री रेबिकाले आफूहरूले निकै मिहिनेतका साथ फिल्म बनाएकाले सबैको साथ, हौसला र मायाको आशा राखेको बताइन् । छायांकार शिव ढकालले दर्शकको मनोरञ्जनका लागि निकै मिहिनेतका साथ फिल्म निर्माण गरिएकाले सफल हुनेमा सतप्रतिशत विश्वस्त रहेको बताए । कोरियोग्राफर कमल राईले हरेक वर्गका दर्शकलाई यो फिल्म मन पर्ने दावी गरे ।

    आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा पूजा र आकाशका साथमा सुनील थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ, सिलिगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्मको कथा र पटकथा निर्देशक निमेषकै हो भने संवाद लेखनमा उनलाई शिशिर राणाले साथ दिएका छन् ।

    फिल्ममा राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राईको कोरियोग्राफी रहेको फिल्मको प्रोडक्सन राम कार्की र कृष्ण प्रधानले सम्हालेका छन् ।- न्युज कारखाना

  • बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै, २० किमी नदी सौन्दर्यीकरण यसै बर्ष सकिने

    बागमती नदीको २० बर्षे ‘एक्सन प्लान’ बन्दै, २० किमी नदी सौन्दर्यीकरण यसै बर्ष सकिने

    काठमाडौं, २८ चैत-

    बागमती नदीलाई व्यवस्थित बनाउन वीस बर्षे ‘एक्सन प्लान’ बन्ने भएको छ ।

    मानविय कारणले प्रदुषित बन्न पुगेको बागमती नदीको संरक्षण र विकास गर्ने उदेश्यसहित सरकारले वीस बर्षे ‘एक्सन प्लान’ बनाउन लागेको हो ।

    यसअघि बनाएको पाँच बर्षे ‘एक्सन प्लान’ अपुरो भएको भन्दै प्रदुषित भएको नदीलाई सफा र ढलमुक्त बनाउन एक्सन प्लान निर्माण प्रक्रिया अघि बढेको छ ।

    बागमती नदीको संरक्षण र विकास गर्ने मुख्य उदेश्यसहित सुरु भएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वीस बर्षभित्र नदीलाई पुरानै अवस्थामा फर्काउने योजनासहित काम अघि बढाउने नीति लिएको छ ।

    नदीलाई सफा बनाउन ५ जेठ २०७७ देखि निरन्तर रुपमा बागमती सरसफाईको अभियान सञ्चालन भइरहेको छ । बागमती नदी सरसफाई अभियान ४६६ औ हप्ता पुरा गरेको छ ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलल े नदीको संरक्षर र विकास गर्ने उदेश्यसहित वीस बर्षे कार्ययोजना (एक्सन प्लान) तयार पर्ने कामलाई अघि बढाएको बताए । उनका अनुसार एक्सन प्लान यस आर्थिक बर्षभित्र नै तयार भएर आगामी आर्थिक बर्षबाट कार्यान्वयमा जानेछ एक्सन प्लानबाट हालसम्मको उपलब्धी र भावी कार्यदिशा तय गरेर काम गर्ने योजना बनाएको बताउदै प्याकुरेलले सरकार दातृ निकायको सहयोगबाट नदीको सौन्दर्यकरणसँगै पूर्वाधार निर्माणको काम भइरहेको बताए ।

    ‘प्रत्येक बर्ष आवश्यक बजेट प्राप्त हुन नसक्दा लक्ष्य अनुसारको काम हुन सकेको छैन’, उनले भने,‘कोरिडोर निर्माण, ढल निकास र सौन्दर्यकरणको काम भने सन्तोषजक रुपमा छन, बाँकी कामलाई पनि योजनाबद्ध रुपमा अघि बढाउँछौं ।’ प्लानमा नदीको मापदण्ड कायम गर्ने, वहाव क्षेत्र निर्धारण गर्ने,नदीको स्वच्छता बढाउन थप ढल प्रशोधन निर्माणको काम अगाडि बढाउने विषय समावेश गरिने भएको छ ।

    समितिले सुन्दरीजलदेखि गुहेश्वरीसम्मको क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम गरिरहेको बताएको छ । नदीको स्वच्छता कायम गर्न धाप ड्याम निर्माणको काम सम्पन्न गरेको समितिले यस बर्षबाट बर्षाको समयमा पानी संकलन गर्ने भएको छ ।

    समिति मार्फत बागमती नदी र यसका सहायक नदीहरुमा गरी ६२ किलोमिटर नदी नियन्त्रण, ५३ किलोमिटर कोरिडोर सडक र ९० किलोमिटर ढलको पाइन विछ्याउने काम सम्पन्न भएको छ । जस अन्तर्गत बागमती नदीमा मात्र दायाँबायाँ १६/१६ किलोमिटर गरी ३२ किलोमिटर क्षेत्रमा ढल विछ्याउने काम सम्पन्न भएको छ भने गोकर्णदेखि गेहेश्वरीसम्म सात किलोमिटर क्षेत्रलाई ढलमुक्त बनाउने गरी काम भएको समितिले जनाएको छ ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेनाले काठमाडौं उपत्यकामा बढदा ट्राफिक जाम घटाउने गरी बागमती नदीसहित अन्य सहायक खोलामा कोरिडोर निर्माणको कामलाई तीब्रता दिएको बताए ।

    समितिले निजी क्षेत्रेसहितको सहभागीता नदी किनारामा ३१ वटा हरियाली प्रबद्र्धन तथा उद्यानहरु निर्माण गर्नुको साथै सरकार र एसियाली विकास बैंकको लगानीमा बागमती नदीमा २ वटा प्याकेजमा करिब २० किलोमिटर क्षेत्रमा नदी सौन्दर्यकरणको काम यसै बर्षभित्र सम्पन्न गर्ने बताएको छ ।

    हाल गोकर्णदेखि गुहेश्वरी, तिलगंगा क्षेत्र, युएनपार्कदेखि बल्खु पुलसम्मको क्षेत्रमा नदी सौन्दर्यकरणको काम भइरहेको छ ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकाका प्रवक्ता कमल अर्यालले बागमती नदी क्षेत्रमा अधिकाशं स्थानमा कोरिडार निर्माणको काम सम्पन्न भएको बताए । नदी किनारामा रहेको अस्थायी बसोबासको कारण केही क्षेत्रमा कोरिडोर निर्माणको काम हुन नसकेको बताउदै उनले नदीको मुहान बाग्द्धारदेखि चोभारसम्म ४४ किलोमिटर क्षेत्रफलमा फैलिएको बताए । उनका अनुसार समिति स्थापना भएको २७ बर्षको अवधिमा हालसम्म नदीको संरक्षण र विकासमा १५ अर्ब रुपमा खर्च भएको छ ।- न्युज कारखाना

  • नेपालगन्जको बीपीचोकमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

    नेपालगन्जको बीपीचोकमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु

    काठमाडौं, २८ चैत-
    बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपिचोकमा आइतबार राति कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय कलिम ईद्रिसी र ५ बर्षकै अली अन्सारी रहेका छन् ।

    कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा रातीनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार कारकादोबाट गणेशमान चोकतर्फ जादै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारले पैदल हिडिरहेका उनीहरुलाई गएराती पौने १२ बजे एकैसाथ ठक्कर दिएको थियो ।

    कार सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।- न्युज कारखाना

  • पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

    पाँच लाख घुससहित मालपोतका प्रमुख पक्राउ

    जनकपुर, २८ चैत-
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।

    आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उहाँमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । (रासस)