Category: Banner तल ताजा समाचार

  • राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

    राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

    काठमाडौँ, २८ चैत-
    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

    राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका राजदूत क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी, क्यामरुन डीन म्याके र डेभिड पुइगले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । उहाँहरू सबैजना भारतका लागि तत् देशका आवसीय राजदूत हुनुहुन्छ र नयाँदिल्लीबाटै नेपाल मामिला सम्हाल्नुहुन्छ ।

    त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो । रासस

  • भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार

    भक्तपुर औद्योगिक तथा व्यापार मेलामा एक करोडको कारोबार

    भक्तपुर, २८ चैत-

    औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्यान्डले भक्तपुरको सल्लाघारीमा गरिरहेको मेलामा एक करोडको कारोबार भएको छ । मेलाको पाँंचौ दिन सोमबारसम्म साे रकम बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

    मेलामा उपभोक्तालाई चाहेका हरेक सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराइने मेला संयोजक दीपक थापाले बताए । यसबाट सांस्कृतिक पर्यटन तथा व्यापार मेला गर्न लागिएको उनकाे भनाइ छ ।

    मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्रीका स्टल राखिएका छन् ।

    ‘फेसन तथा नृत्य, औद्याेगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामीण प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी रहेको छ,’ संयोजक थापाले भने ।

    भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले मेलामा भाग लिने आयोजकले बताएको छ । मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई ४० र अन्यका लागि ५० प्रवेश शुल्कको तोकिएको छ ।

    नयाँ वर्षको पूर्वसन्ध्यामा २४ चैतदेखि सुरु भएको मेला ४ वैशाखसम्म हुनेछ । जसमा दुई सयभन्दा बढी स्टल छन् । १० दिने मेलामा तीन लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अनुमान गरिएको छ । करिब आठ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । न्युज कारखाना

     

  • कोरोना महामारीले डिलु गुरुङलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो

    कोरोना महामारीले डिलु गुरुङलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो

    जितेन्द्र थापा
    सुर्खेत, २८ चैत-

    दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिड्नै आटेको बेला सुरु भयो कोरोना महामारी । अनि उनी गाउँमै रोकिए ।

    विदेश जाने सबै तारतम्य मिलाएका उनलाई कोरोनाले रोकेपछि केही समय के गर्ने भनेर गाउँमा भौतारिए । पाँच वर्षसम्म निजी स्रोतमा स्थानी भगवती आधारभुत विद्यालयमा पनि पढाए । यसपछि उज्यालो साना किसान सहकारी संस्थामा पनि काम गरे । सहकारीमा जोडिएपछि कृषिसम्बन्धी तालिम दिन आफै गाउँमा पुग्थे । तालिम दिने क्रममा एकाएक उनमा अर्काे सोच आयो किसानलाई तालिम दिने म आफै किन तरकारी व्यवसाय नगरौँ । आफैबाट तरकारी व्यवसाय सुरु गर्नु पर्छ भनेर आफै तरकारी व्यवसायमा होमिए ।

    दैलेखको भैरवी गाउँपालिका–७ कुसापानी सिम्सेर कुसापानीका डिलु गुरुङले विदेश जाने पैसा गाउँमै लगानी गरे । १० रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गरेका उनी अहिले भने यसैले चिनाइरहेको छ ।

    आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ तरकारी खेती सुरु गरेका डिलुले बारीमा टमाटर, काउली, आलु, बन्दालगायत तरकारी लगायका छन् ।

    केही समयअघि घरको लागि समेत बाहिरबाट तरकारी किनेर ल्याउने उनी र उनको परिवार अहिले आफ्नै बारीमा फलेको ताजा तरकारी बेच्छन् । उनी भन्छन्– त्यही तरकारी बेचेको पैसाले सहजै घरखर्च चलाउन पुग्छ । तरकारी बेच्न उनलाई अहिले बजारको कुनै समस्या पनि छैन । गाउँमा फलाएको तरकारी घरबाटै बिक्री भइरहेको छ ।
    बीएडसम्म अध्ययन गरेका उनले भनेजस्तो काम नपाएपछि गाउँमै व्यावसायिक रूपमा तरकारी खेतीमा लागेका हुन् । मिहिनेत गरेपछि आफ्नै गाउँठाउँमा प्रशस्त सम्भावना रहेको उनको भनाइ छ । उनले भने, ‘जहाँ मिहिनेत र लगनशीलता, त्यही सफलता ।’

    डिलुको कृषिमा प्रगतिको सिको गर्दै गाउँमै दर्जन बढी कृषक व्यवसायीक तरकारी खेतीमा
    व्यवसायिक तरकारी खेतीमा रमाएका ३१ वर्षीय डिलु गाउँका लागि पनि उदाहरणीय पात्र बनेका छन् । उनले सुरु गरेको व्यवसायिक कृषि खेती देखेर उनकै टोलका एक दर्जनभन्दा बढी कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

    उक्त गाउँमा भैरवी गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनालगायतका संघ–संस्थाले स्वच्छ खानेपानीका धारा, सिंचाइ पोखरी, टनेललगायत सहयोग गरेको छ । सहयोग पाएपछि यहाँका किसानमा व्यावसायिक कृषिमा अग्रसर बनेको अर्का स्थानीय मानबहादुर बरालले बताए । तरकारी व्यवसायबाटै सबै खर्च धानेर बचत समेत हुने गरेको बराल बताउँछन् ।

    सोही गाउँकी सीता गुरुङको पनि घरछेउको बारीमा लटरम्म तरकारी फलाएकी छन् । अहिले उनको बारीमा काउली, टमाटरलगायतका विभन्न तरकारी फलाएर राम्रो आम्दानी गरेको उनी सुनाउँछिन्  । आफ्नै गाउँमा रोजगारीका अवसरहरू सिर्जना भए कुनै पनि नेपाली नागरिक रोजगारीको लागि भौतारिनु नपर्ने उनी बताउँछिन् । युवाहरूलाई विभिन्न सीपमूलक तथा व्यावासायीमा जोड्न स्थानीय सरकारले पनि जोड दिनुपर्ने उनको भनाइ छ ।

    भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले पालिकाभित्रका किसानहरूलाई प्रोत्साहनका लागि गाउँपालिकाले कृषि र पशुपालनजस्ता व्यवसायलाई महत्व दिएको जानकारी दिए । कृषि कार्यक्रमअन्तर्गत भैंसीपालन, गाईपालन, डेरी सञ्चालनजस्ता व्यवसायमा पालिकाले विशेष ध्यान दिएको उनको भनाइ छ ।

    ‘हामीले तरकारी तथा फलफूल खेतीका लागि पनि काम गरिरहेका छौँ,’ उनले भने, ‘कृषि र पशुपालनजस्ता व्यवसायको लागि गाउँपालिकाले कृषि विकास कार्यालय र पशु सेवा कार्यालयसँग समन्वय गर्दै अघि बढिरहेका छौँ ।’-न्युज कारखाना

  • निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालासँग माग्यो जवाफ

    निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालासँग माग्यो जवाफ

    काठमाडौं, २८ चैत –

    नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको छ ।

    ‘विभिन्न सञ्चार माध्यम मार्फत कोइरालाले दिनुभएको अभिव्यक्ति अनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले त्यसप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यस विषयमा के कसो भएको हो सात दिन भित्र आयोगमा जवाफ पठाउन आयोगले ध्यानाकर्षण गराएको छ ।’

    केही दिनअघि कोइरालाले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको बताएका थिए । त्यसपछि उनी विवादमा तानिएका थिए ।

    २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।

    उक्त प्रतिनिधि सभा निर्वाचनमा कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

    निर्वाचित भएपछि उनले आयोगमा पेश गरेको आफ्नो निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको प्रवक्ता पौडेलले जनाए ।- न्युज कारखाना

  • सेयर बजार ४४ अंकले घट्यो

    सेयर बजार ४४ अंकले घट्यो

    काठमाडौं, २८ चैत-

    नेप्से परिसूचक सोमबार एकै दिन ४४ अंकले गिरावट आएको छ । सोमबार बजार ४४ दशमलव ६५ ले घटेर २४ सय १९ दशमलव ७१ अङ्कले गिरावट आएको हो ।

    नेप्सेमा ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर कारोबार हुँदा दुई अर्ब २६ करोड सात लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा कारोबार रकम बढे पनि बजारमा एक दशमलव ८१ प्रतिशतले गिरावट आएको छ । आइतबार सार्वजनिक बिदापछि खुलेको बजारमा १७ कम्पनीले नाफा कमाउँदा एक सय ७६ कम्पनीका सेयर धनीले गुमाए ।

    नेसडो, समृद्ध लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय ७० रुपैयाँ बढेर एक हजार आठ सय ७० रुपैयाँ र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४४ रुपैयाँ ६० पैसा बढेर चार सय ९१ रुपैयाँमा कारोबार भएको छ ।- न्युज कारखाना

  • जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी छ : प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

    जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी छ : प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

    चितवन, २८ चैत-
    गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताउनुभएको छ । तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले यो समुदाय पछि परेको धारणा राख्नुभयो ।

    जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो । उहाँले भन्नुभयो, “यो समुदायले राजनीतिमा पहँुच बढाउन आवश्यक छ ।” राजनीतिक दलभित्र रहेर सङ्घर्ष गर्नुपर्ने उहाँले बताउनुभयो । राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति खोज्न उहाँको आग्रह थियो ।

    सो अवसरमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे लामा शेर्पा, तमु प्ये ल्हु सङ्घ नेपालका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    महाधिवेशन मङ्गलबारसम्म चल्ने छ । महाधिवेशनमा सहभागी हुन ६५ जिल्लाका झण्डै एक हजार प्रतिनिधि चितवन आएका छन् । महाधिवेशनले तीनवर्षे कार्यकालका लागि ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ । (रासस)

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

    काठमाडौं, २८ चैत-

    महोत्तरी, बारा, प्यूठान, रुकुम (पश्चिम), झापा, बाँके र दाङका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

    महोत्तरीको महोत्तरी गाउँपालिका–६ गोरिगामामा प्र.२–०२–००१ त ००६४ नम्बरको ट्रयाक्टर आइतबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेरा बस्ने १८ वर्षीय सरोज डोम छन् ।

    बाराको पचरौता नगरपालिका–८ लंगडाचोक डोर पुलमा प्रदेश नम्बर २–०३–०१४ प ४०१६ नम्बरको मोटरसाइकलबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट ईशनाथ नागरपालिका–२ औरैया टोल बस्ने ३० वर्षीया मिना देवी रहेकी छन् ।

    प्यूठानको प्यूठान नगरपालिका–४ बिजुवारमा रा.१ क ८८१ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने १५ महिने बालक युनिक कार्कीको आइतबार दिउँसो मृत्यु भएको छ ।

    रुकुम (पश्चिम)को आठबिकोट नगरपालिका–४ तिलमा भे.२ त ५४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक सोही नगरपालिका–६ बस्ने ३९ वर्षीय मोति प्रसाद खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

    झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ना.६ ख ६४५५ नम्बरको ट्रकले बा.१५ प ८२०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–२ बस्ने २९ वर्षीय संयम बजगाईँ रहेका छन् ।

    बाँकेको नेपालगन्ज उपमहानगरपालिका–११ बिपि चोकमा प्रदेश नम्बर ३–०१–०२३ च ८४८१ नम्बरको कारको ठक्करबाट ३ जना पदैलयात्रीको आइतबार राति मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही उपमहानगरपालिका–११ सोनारमण्डी बस्ने ६५ वर्षीया समिना ईद्रिसी, ५ वर्षीय अली अन्सारी र ५ बर्षीय कलिम ईद्रिसी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

    दाङको घोराही उपमहानगरपालिका–७ नागडाँडामा रा.५ प ५१८५ नम्बरको मोटरसाइकल रा.१ त ४६७८ नम्बरको ट्रयाक्टरमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१६ बयरडाँडा बस्ने २२ वर्षीय निसान्त चौधरी रहेका छन् ।- न्युज कारखाना

  • नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम

    नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीलाई अभिमुखीकरण तालिम

    काठमाडौं, २८ चैत-

    नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँंगुनारायण भक्तपुरमा स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन आएका विद्यार्थीको लागि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । कलेजमा इन्जिनियरिङका विभिन्न विधामा पहिलो सेमेष्टरमा भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलगायतले अभिमुखरीकरण गरेका हुन् ।

    भर्ना हुन आएका विद्यार्थीलाई कलेजका प्रिन्सिपल श्रेष्ठ, भाइस प्रिन्सिपल एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर एसोसिएट प्रोफेसर बाबुराम भट्टराईलगायतले अभिमुखीकरण दिएका थिए । त्यसक्रममा परिचयात्मकका साथै कलेजबारे, विद्यार्थीहरूले पढ्नुपर्ने कोर्सबारे जानकारी गराइएको थियो ।

    चार वर्षको बीचमा ध्यान दिनुपर्ने विषय, इन्जिनियरिङका भविष्य तथा उपयोगितालगायतका विषयमा पनि विद्यार्थीलाई जानकारी गराइएको थियो । विषय शिक्षकहरूले पनि आ-आफ्ना विद्यार्थीलाई कोर्सका साथै अन्य विविध विषयमा जानकारी दिएका थिए ।

    अत्यधिक विद्यार्थी भएका कारण एउटै हलमा कार्यक्रम नगरी फरकफरक विधाका विद्यार्थीलाई फकरफरक ठाउँंमा राखेर कार्यक्रम गरिएको थियो । त्यसअनुसार नौवटा कक्षाकोठामा कार्यक्रम भएको थियो । यसमध्ये सिभिलको तीन समूहमा र कम्प्युटरका दुईवटा समूहमा कार्यक्रम भएको थियो । इन्जिनियरिङमा आर्किटेक्चर पाँंच वर्षे हुन्छ भने बाँंकी सबै चार वर्षे हुन्छ ।

    कलेजमा सिभिल, आर्किटेक्चर, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विधामा पढाइ हुने गर्छ ।- न्युज कारखाना

  • लमजुङमा वर्षेनी थपिन्छन् तीन हजार टाइफाइडका बिरामी

    लमजुङमा वर्षेनी थपिन्छन् तीन हजार टाइफाइडका बिरामी

    लमजुङ, २८ चैत-

    लमजुङमा शुक्रबार देखि टाईफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान ३० चैतसम्म संचालन हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

    लमजुङमा पानी र खानाजन्य रोगको संक्रमणमध्ये २० प्रतिशत टाइफाइड हुने गरेको छ । तीन वर्षको तथ्याङ्कअनुसार यहाँ वर्षेनी करिब तीन हजारमा टाइफाइड हुने गरेकाे कार्यालयकाे तथ्यांक छ । देशभरी एकै चरणमा २५ चैत ०७८ देखि १८ वैशाख ०७९ भित्र सम्पन्न गर्ने भए पनि लमजुङमा भने २५ देखि ३० चैतसम्म अभियान सञ्चालन गरिएकोे स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एक मात्रा खोप लगाइनेछ ।

    ४१ हजार दुई सय १६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको उनको भनाइ छ । नियमित खोप मार्फत१५ महिनाका सबै बालबालिकालाई एक मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन भएकोे दवाडीले बताए । नेपालमा पाँच वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेका छन् ।- न्युज कारखाना

  • अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

    अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

    वासिङ्टन, अमेरिका
    २८ चैत-
    अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
    गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ः२७ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।

    गोली लागेर दुई जनाको मृत्यु भएको छ । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ ।(रासस–एएनआई÷स्पुतनिक)