Category: Banner तल ताजा समाचार

  • युक्रेनमा रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

    युक्रेनमा रुसी हमलामा ४८ लाख बालबालिका विस्थापित

    किभ, ३१ चैत-

    युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन् । यो युक्रेनका बालबालिकाको कुल जनसंख्याको झन्डै दुई तिहाई हो ।

    राष्ट्रसंघीय बालकोष युनिसेफका आपतकालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले यति ठूलो संख्यामा बालबालिका विस्थापित भएको पहिलो पटक देखेको उनले टिप्पणी गरेका छन् ।

    शरणार्थी बालबालिकामध्ये २८ लाख देशभित्रै र २० लाख अन्य देशमा विस्थापित भएको उनले बताए । २४ फेब्रुवरीदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ । एजेन्सी

  • सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

    सार्वजनिक जग्गा अतिक्रमण रोक्न ठूलो चुनौती : मन्त्री झाँक्री

    काठमाडौं, २९ चैत-

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको बताएकी छिन् ।

    सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । अतिक्रमण हुँदा प्राकृतिक विपत्ती निम्तिएको अवस्थामा २०० जना मान्छेलाई आश्रय दिने ठाउँ नभएको पनि बताइन् ।

    सहर पनि कुरुप भएको र एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ ।

    त्यसो नगरिए सहरी बस्न मात्र नभइ देखाउन लायक पनि नहुने बताइन् । सोही कारण एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्ने क्रममा सहरीसँगै खानेपानी, ऊर्जा, सडक, सञ्चार, गृहलगायतका मन्त्रालयबीच सहकार्य र समन्वय हुनुपर्ने मन्त्री झाँक्रीले बताएकी छिन् ।
    न्युज कारखाना

     

  • महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

    महिला लिगमा एक सय गोल पूरा, उच्च गोलकर्ताको दौडमा सावित्रा

    रमेश सुवेदी
    काठमाडौं, २९ चैत-

    चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ । सारदानगरमा चलिरहेको लिगमा पहिलो चरणको खेल सकिन बाँकी रहँदा सय गोल पूरा भएको हो ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिगको दोस्रो संस्करण चितवन र विराटनगरमा आयोजना गर्दैछ । पहिलो चरणका खेल चितवनमा चलिरहेको छ । जसमा एक चरणका बाँकी खेल आज (मंगलबार) र भोलि (बुधबार)समाप्त हुँदै छन् ।

    दोस्रो चरणका खेलहरू विराटनगरस्थित सहिद रंगशालामा आयोजना हुनेछ । पहिलो चरणमा कुल २८ खेल हुनेछन् । जसमा २४ खेल समाप्त भइसकेको छ ।

    हालसम्म २४ खेल पुरा हुँदा एक सय १० गोल भएका छन् । लिगको सयौँ गोल गर्ने खेलाडी सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबकी मन्जली कुमारी योञ्जन बनिन् । मन्जलीले धनगढी उपमहानगरपालिकाविरुद्ध २५औँ मिनेटमा गोल गर्दै जारी लिगको सतक गोल गरेकी हुन् ।

    यसअघि लिगको पहिलो गोल त्रिभुवन आर्मी फुटबल क्लबकी रश्मि कुमारी घिसिङले गरेकी थिइन । लिगको ५०औँ गोल एपीएफकै सावित्रा भण्डारी (साम्बा)ले पूरा गरेकी हुन् । उनले चन्द्रपुरविरुद्ध ह्याट्रिक गर्ने क्रममा लिगको ५०औँ गोल गरेकी थिइन् ।

    जारी लिगमा उच्च गोलकर्ताको शीर्षस्थानमा एपीएफकै सावित्रा भण्डारी (साम्बा) रहेकी छिन् । उनले पाँच खेलमा १३ गोल गरेकी छिन् । जसमा तीन ह्याट्रिक रहेको छ ।

    चोटका कारण एक वर्षपछि मैदानमा पुनरागमन गरेकी साम्बाले वालिङ नगरपालिका र धनगढीविरुद्ध समान चार गोल गर्दा चन्द्रपुरविरुद्ध तीन गोल गरेकी छिन् । यस्तै, नेपाल पुलिस र ललितपुर महानगरपालिकाविरुद्ध समान एक गोल गरेकी छिन् ।

    उच्च गोलकर्ताको दौडमा आर्मीकी रश्मिकुमारी घिसिङ सात गोल, धनगढीकी चन्द्रा भण्डारी ६ गोल, शर्मिला थापा मगर पाँच गोल र मन्जलीकुमारी योञ्जन चार गोल गरी क्रमशः एकदेखि पाँचौ स्थानमा छन् ।

    तीन गोल गर्ने खेलाडीमा आठ जना छन् भने १२ खेलाडीले दुई गोल गरेका छन् । एक गोल गर्ने २६ खेलाडी छन् भने एक खेलाडीले आत्माघाति गोल गरेकी छिन् ।

    जारी लिगमा ६ खेल खेलेको एपीएफले सतप्रतिशत जितका साथ १८ अंक जोडेर शीर्षस्थानमा छ । दोस्रो स्थानको पुलिसको तीन जित र एक हार सहित १५ अंक बनाएर दोस्रो स्थानमा छ ।

    तेस्रो स्थानमा रहेको आर्मीको समान ६ खेलबाट चार जित र दुई हारसहित १२ अंक छ । विराटनगर चौँथो स्थानमा रहँदा धनगढी पाँचौँ स्थानमा छ । चन्द्रपुर छैँटौँ स्थानमा रहँदा ललितपुर सातौँ र वालिङ विनाअंक पुछारमा छ ।- न्युज कारखाना

  • स्थानीय र सर्वोच्च अदालतकै कारण ओझेलमा गौरवका आयोजना

    स्थानीय र सर्वोच्च अदालतकै कारण ओझेलमा गौरवका आयोजना

    विशाल बस्नेत
    महोत्तरी, २८ चैत-

    बर्दिबास नगरपालिकाभित्रका गौरवका दुई योजना ओझेलमा परेका छन् । स्थानीयवासीको विरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशले यी आयोजना ओझेलमा परेका हुन् ।

    सरकारको एक प्रदेश एक मेडिकल कलेज बनाउने योजना अघि सारेको थियो । सोहीअनुसार यहाँ कलेज निर्माण गर्ने तय भएको थियो । तर, उक्त स्थानका रुख काटिने भन्दै अदालतले तत्काल काम स्थगित गर्न अन्तरिम आदेश जारी भएको छ । यस्तै रेल्वे स्टेसन बनाउन मुआब्जा निर्धारण भैइसक्दा पनि स्थानीयको अवरोधले योजना अलपत्र परेको छ ।

    रेल्वे स्टेसन बनाउन अधिग्रहण गरेको जग्गाको मुआब्जा भन्दापनि स्थानीयले स्टेसन बन्न हुँदैन भन्ने विषयलाई प्राथमिकता दिनुले अनेकांै अडकलबाजी सुरू भएका छन् ।

    अधिग्रहण गरेको जग्गालाई विभिन्न ३५ शीर्षकमा विभाजन गरी न्युनतम सात लाखदेखि ८१ लाखसम्म मुआब्जा दिने निर्णय भएको भयो । तर, स्थानीयले निर्धारित मुआब्जा चलनचल्तीको मूल्यभन्दा निक्कै कम भएको र पुनरावलोकन गर्नुपर्ने माग राखिरहेको बेला अहिले भने रेल्वे स्टेसन नै बन्न नदिने अडान लिएका छन् ।

    स्थानीयको सहमतिसहित प्रस्तावित ठाउँमा रेल्वे स्टेसन बन्ने भएपछि २०७३ सालमा सरकारले करिब ६० बिगाहा जमीन अधिग्रहण गरेको थियो । बर्दिबासमा धेरै सरकारी जग्गा हुँदाहँुदै किसानलाई विस्थापित गर्नेगरी स्टेशनको औचित्य नभएको स्थानीयको आरोप छ ।

    सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै सात अर्र्ब २० करोड अनुदानसहित जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडगेज रेल्वेको पुर्वाधार निर्माण थालिएको थियो ।

    पाँच बर्षदेखि आफ्नो जग्गा भन्न नपाएका कतिपय स्थानीयले निर्धारित मुआब्जा लिएका पनि छन् । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले वितरण प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै वितरण हुने बताइरहेको बेला एक्कासी भएको पत्रकार सम्मेलनलाई अर्थपूर्ण ढंगले हेरिएको छ । निर्धारित मुआब्जालाई पुनरावलोकन गरिहाले पनि स्थानीयले रेल्वे स्टेशन नै जरूरी नभएको निष्कर्ष निकालेका छन् ।

    रेल्वे मुआब्जा पीडित संघर्ष समितिका डाकराज पोखरेलका अनुसार बर्दिबासमा नै स्टेशनका लागि वैकल्पिक ठाउँहरू प्रशस्त भएको बताउँछन् । यता १६ करोड खर्च भैइसकेको मेडिकल कलेजको फाइल मन्त्रालयमा विचाराधीन रहेको बेला सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि अर्काे ठूलो आयोजना पनि ओझेलमा परेको छ ।

    मेडिकल कलेज बनाउन त्यतिकै ढिला भैइरहेको बेला अदालतको आदेशले मेडिकल कलेज बन्छ कि बन्दैन भन्ने अन्योल बढेको छ । माटो परीक्षणदेखि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन समेत राखेर पठाइएको फाइललाई वन कार्यालयले सदर गरेर अनुमोदनको लागी मन्त्रालय पठाएको थियो ।

    संघीय सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणाअनुसार आर्थिक वर्ष २०७३/०७४ को बजेट वक्तब्यको प्रकरण नम्बर २२४ मा मधेश प्रदेशअन्तर्गत महोत्तरीको बर्दिबासमा, लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमामा र कर्णाली प्रदेशको सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उल्लेख थियो ।

    संघीय सरकारले मधेश प्रदेशको आठै जिल्लाको केन्द्र र अन्य जिल्लालाई समेत सहज हुने अध्ययन, अनुसन्धानले निष्कर्ष निकालेपछि बर्दिबास नगरपालिकालाई नै स्थान निर्धारण गरेको थियो ।

    बर्दिबास नगरपालिका–४ स्थित माइस्थान सामुदायिक वनभित्र करिब ४९ हेक्टर क्षेत्रमा मेडिकल कलेजको संरचना निर्माणको लागि डिपिआर तयार भैइरहेको थियो ।

    मेडिकल पुर्वाधार निर्माण सोही ठाउँमा सुनिश्चित भएपछि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन समेत सम्पन्न भएको छ । प्रतिवेदनअनुसार ४९ हेक्टर क्षेत्रफलमा संरचना निर्माण गर्दा १९ सय ६७ रूख काट्नु पर्ने उल्लेख छ । तर, डीपीआर निर्माणको लागि परामर्श सेवा प्रदायक संस्था जेभीले भने संरचना निर्माणस्थलमा दुई सयदेखि तीन सय रूख काटिन सक्ने उल्लेख छ ।

    नगरपालिकाले रूख काट्दा पर्यावरणमा असर पुग्ने जोखिमलाई ध्यान दिँदै यसै बर्ष ५० हजार बिरूवा रोपिसकेको जनाएका छ । ३ चैत २०७७ मा मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, डिभिजन वनका अधिकृतहरू, प्रदेश वन निर्देशनालयका निर्देशकलगायत मन्त्रालय, निर्देशनालयका अधिकृत र कर्मचारीहरू समक्ष मेडिकल कलेज निर्माणको लागि कन्सेप्ट रिपोर्ट समेत पेश भएको थियो ।

    मन्त्रालय र विज्ञहरूको सुझावअनुसार नै माइस्थान सामुदायिक वनको ५४/५८४ हेक्टर क्षेत्रमध्ये ४९ हेक्टर क्षेत्र पश्चिमपट्टि अटावे खोलाको नजिक जंगल नभएको ठाउँमा संरचना निर्माण गर्ने तयारी भएको स्थानीय शंकर फुँयाल वताउँछन् ।- न्युज कारखाना

     

  • आजबाट खोटाङमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु

    आजबाट खोटाङमा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु

    खोटाङ, २९ चैत-

    खोटाङका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजारभन्दा बढी बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप दिने अभियान सुरु गरिएकाे छ । मंगलबारदेखि आगामी ४ वैसाखसम्म सञ्चालन गरिने अभियानका क्रममा १० स्थानीय तहका १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार ८४० बालबालिकालाई टाइफाइड रोगविरुद्ध टाइफाइड कन्जुगेट भ्याक्सिन (टीसीभी) खोप दिनेगरी अभियान सुरु गरिएको हो ।

    मंगलबार दिक्तेलको माउण्ट एभरेष्ट बोर्डिङ स्कुल खोप केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रताप शाहले स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै खोप अभियान सुरु गरिएको हो । १५ महिनादेखि २३ महिनासम्मका दुई हजार ९८९ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार ५५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका ६ हजार ३०० जना बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    टाइफाइड रोगको संक्रमण तथा यसबाट हुने जटिलतालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय कार्यक्रमअन्तर्गत जिल्लामा खोप अभियान थालिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालनका लागि जिल्लामा ७११ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानका क्रममा एक हजार ४४२ स्वयंसेवक तथा ७२७ खोप कार्यकर्ता परिचालन गरिएको छ ।

    यस्तै, खोप लगाएकालाई कुनै समस्या देखिएमा समाधान गर्नका लागि १० जनाको टिम तयारी अवस्थामा राखिएकाे छ । न्युज कारखाना

     

  • प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई

    प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई

    काठमाडौं, २९ चैत-

    स्थानीय सरकार बलियो बनाउन संघीयताको वकालत गर्दै आएको नेकपा माओवादी केन्द्रले पार्टी भित्रका आफ्ना उम्मेदवारका छनौट भने केन्द्रिकृत गर्ने गरी विशेष परिपत्र जारी गरेको छ ।

    वडा अध्यक्ष र सदस्यका उम्मेदवार छनौटबाहेक अन्य उम्मेदवारको छनौटदेखी स्थानीय तहमा चुनावी तालमेलसम्मको निर्णय पालिका, जिल्ला र प्रदेश समितिहरूलाई नै नदिई केन्द्रीय कार्यालयमा केन्द्रिकृत गरेको हो ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष परिपत्र जारी गर्दै वडा अध्यक्ष र सदस्यको उम्मेदवारी छनौटको अधिकार प्रदेश समितिलाई दिए पनि अन्य सबै केन्द्रिकृत गरी २८ चैतमा ६ बुँदे विशेष परिपत्र पठाएका छन् ।

    ‘नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरूको सिफारिस सम्बन्धित् पालिका समितिहरूले गर्ने र सम्बन्धित जिल्ला समन्वय समितिहरूको सुझावसहित प्रदेश समितिले उम्मेदवारको अन्तिम टुंगो लगाउने’ परिपत्रमा उम्मेदवारबारे अध्यक्ष प्रचण्डले भनेका छन्, ‘जसको अनुमोदन केन्द्रीय कार्यालयबाट गराउने ।’

    महानगरबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एसलगायतका राजनीतिक दलले सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीलाई नै अधिकार दिएको बेला माओवादीले भने केन्द्रिकृत गरेको हो ।

    कांग्रेस र एमालेलगायतले औपचारिक निर्णय नै गरेर आवाश्यकताका आधारमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय कमिटीहरूलाई दिए पनि माओवादीले भने त्यो अधिकार पनि दिएको छैन ।

    ‘गठबन्धन तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने, केही स्थानमा तालमेल हुन नसक्ने अवस्था आएमा र गठबन्धनकै दलहरू बीचमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा केन्द्रको स्वीकृति लिई गर्नुपर्ने,’ विशेष परिपत्रको बुँदा ५ मा भनिएको छ ।

    ५ वैशाखभित्र उम्मेदवारको सिफारिस गरिसक्नु पर्ने भन्दै विशेष परिपत्र पठाएका अध्यक्ष प्रचण्डले महानगर र उपमहानगरको मेयर र उपमेयरका उम्मेदवारी भने केन्द्रले नै तोक्ने निर्देशन पनि दिएका छन् ।

    ‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरूको नाम पार्टी प्रदेश समितिहरूले सर्वसम्मत भए एक÷एक जना सर्वसम्मत नभए प्राथमिकतको क्रममा तीन जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेस गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केन्द्रीय कार्यालयले उम्मेदवारको अन्तिम निर्णय गरी पठाउनेछ ।’

    तर, वडा अध्यक्ष र सदस्यको हकमा भने स्थानीय तहलाई नै अधिकार प्रत्यायोजन प्रचण्डले गरिदिएका छन् । ‘वडा अध्यक्ष र सदस्यहरूको हकमा सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने’ भन्दै प्रदेश समितिलाई अधिकार दिएका छन् ।

    तर, माओवादीले ७७ जिल्लाबाटै महिला प्रतिनिधित्व गराउने भन्दै कम्तिमा एकजना पालिका प्रमुख वा अध्यक्षको नाम सिफारिस गर्नुपर्ने बाध्यकारी नियम भने पहिलोपटक लगाएको छ ।

    ‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयका सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्ष र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने’ प्रचण्डले जारी गरेको विशेष परिपत्रमा भनिएको छ ।- न्युज कारखाना

  • मेलम्ची नदीको पानी पुन : पथान्तरण

    मेलम्ची नदीको पानी पुन : पथान्तरण

    मेलम्ची, २९ चैत-
    मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

    सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

    परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो । (रासस)

  • मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

    मुगुमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

    खड्क सुनार
    मुगु, २९ चैत-

    मुगुमा नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरी महिलाको उद्धार गरिएको छ । छायानाथ रारा नगरपालिका-३ कि २३ वर्षका देवकी भामलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलवार उद्धार गरिएको हो ।

    उनलाई सेनाकाे हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत रिफर गरिएकाे स्वास्थ्य सेवा कार्यालय मुगुका स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले जानकारी दिए । अनुसार स्वास्थ्य सेवा कार्यालय मुगु ठिनीमा सुविधा सम्पन्न आईसीयु नहुनु र विशेषज्ञ चिकित्सककाे अभावमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको सक्रियतामा म‌ंगलबार भामलाई उ४ार गरी सुर्खेत रिफर गरिएको गौतमले जानकारी दिए ।

    उनका अनुसार सुत्केरी भामलाई बी नेगेटिभ रगत आवश्यक परेको हुँदा कतै पनि नभेटिएकाले सुर्खेतमा रिफर गरिएको हाे । अहिले सुत्केरी भामको अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए । – न्युज कारखाना

  • फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु

    फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु

    मनिला, २९ चैत-

    फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ । ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको र स्थानीय रूपमा अगाटनसमेत भनिने मेगी आँधीबाट पूर्वी तट प्रभावित छ । बाढीपहिरोमा केही घाइते भएका छन् । शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए ।

    मंगलबार उद्दारकर्ताका टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।

    भीषण वर्षा र हावाले विद्युत आपूर्ति अवरोध गर्नुका साथै घर तथा मैदान जलमग्न बनाएको थियो । बाढीका कारण गाउँमा पहिरो गएको थियो । उद्धारकर्ताहरू हिलोको दलदलमा हिंडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालरूमा सेयर गरिएका छन् ।

    बाढीपहिरोबाट लियती प्रान्त सबैभन्दा बढी प्रभावित छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ । ‘म रोइरहेको थिए, किनकी नजिकै मानिसहरू पुरिएका थिए’, लियतीका एक स्थानीयले भने ।

    आँधीपछिको बाढीपहिरोबाट दक्षिणी तटकाे डाभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ । एजेन्सी

  • जनता र राष्ट्रको समृद्धिको पक्षमा लाग्छु : मनोनीत राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहाल

    जनता र राष्ट्रको समृद्धिको पक्षमा लाग्छु : मनोनीत राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहाल

    काठमाडौं, २९ चैत-

    नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका नारायणप्रसाद दाहालले जनता र राष्ट्रको समृद्धिको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

    सरकारको वार्षिक नीति तथा कार्यक्रमसहितको बजेट पनि आउन लागेको भन्दै बजेटमा जनता र राष्ट्र दुवैको समृद्धिका लागि सुझाव दिने दिने बताए ।

    उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइभन्दा पार्टी र देशका लागि दिएको योगदानका आधारमा राष्ट्रियसभामा मनोनीत भएको दाबी गरे ।

    दाहाल पुनर्स्थापित संसद्‌मा माओवादीतर्फबाट डेढ वर्ष सांसद भएका थिए । त्यसपछि भने उनी दोस्रो संविधानसभामा सभासद् थिए । न्युज कारखाना