Category: Banner तल ताजा समाचार

  • कुलमान घिसिङले प्रचण्डकाे सचिवालयलाई भने : पोस्टरमा मेरो तस्वीर राख्न मिल्दैन, हटाउनोस्

    कुलमान घिसिङले प्रचण्डकाे सचिवालयलाई भने : पोस्टरमा मेरो तस्वीर राख्न मिल्दैन, हटाउनोस्

    काठमाडौं, ३० चैत-

    नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् ।

    माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार विहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्वीर राखिएको थियो ।

    पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् ।

    ‘ यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन । थाहा पाउने वित्तिकै हटाउन भनेको छु,’ प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले न्युज कारखानासँग भने ।- न्युज कारखाना

     

  • वर्ष समीक्षाः अब्दुल्लाहमय नेपाली फुटबल

    वर्ष समीक्षाः अब्दुल्लाहमय नेपाली फुटबल

    रमेश सुवेदी
    काठमाडौं, ३० चैत-

    कोरोना भाइरसका कारण नेपाली खेलकुद चल्न सक्ने अवस्थामा थिएन । लथालिंग थियो । कुनै संघ आफ्ना कार्यक्रम अगाडि बढाउन सक्ने अवस्थामा थिएनन् । तर यस्तो अवस्थामा नेपाली खेलकुदको सबैभन्दा ठंलो र चलायमान रहने अखिल नेपाल फुटबल संघ (एन्फा)ले भने प्रशिक्षक विभागमा रहने गरी कुवेत नागरिक अब्दुल्लाह अल्मुताइरीलाई नेपाल झिकायो ।

    अब्दुल्लाहलाई एन्फाका तत्कालीन प्रवक्ता किरण राईले सातदोबाटोस्थित मुख्यालयमा २२ चैत २०७७ मा मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गरे । यो त भयो वर्ष २०७७ को कुरा । अहिले हामी वर्ष २०७८ को अन्त्यमा छौं । याे वर्ष नेपाली फुटबलमा देखिएका, भएका समसामयिक विषयलाई प्रस्तुत गर्नेछौं ।

    कोरोनाका कारण ०७८ वर्षको सुरुआतमा सरकारले अत्यावश्यकबाहेक अन्य कार्य गर्न नदिने निर्णय गर्‍याे । यस्तो अवस्थामा पहिलो पटक भएको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) भने जारी रह्यो । सात टोली सहभागी रहेको एनएसएलमा वैशाख र जेठमा आयोजना भएको थियो ।

    एसएसएस समाप्तिसँगै प्रशिक्षक अब्दुल्लाहले कतार फिफा विश्वकप-२०२२ छनोटको दोस्रो चरणका लागि ३२ खेलाडीलाई प्रारम्भिक छनोटमा स्थान दिए । जसमा त्यसअघिका नियमित र नयाँ १३ खेलाडी टिम बाहिर रहे । ६ नयाँ खेलाडीलाई पहिलो पटकअवसरसमेत दिए । यसपछि उनले आफ्नो पहिलो भ्रमणका रूपमा इराकतर्फ लागे । जहाँ टोलीले सुधारिएको खेल प्रदर्शन गर्दै घरेलु टोलीलाई ६-२ को नतिजा सुम्पियो ।

    यो त भयो वर्षको सुरुआत र नेपालले अब्दुल्लाहको प्रशिक्षणमा खेलेको पहिलो प्रतियोगिता । पहिलो खेलसँगै प्रशिक्षक अब्दुल्लाहको चर्चा चुलिँदै गयो । यसपछि नेपाली टिमले कुवेतमा दोस्रो चरणका खेल खेल्यो । २० जेठमा चाइनिज ताइपेइलाई २-० ले पराजित गर्याे । २४ र २८ जेठमा नेपाल क्रमशः जोर्डन र अष्ट्रेलियासँग समान ३-० अन्तरले पराजित भयो ।

    यी भए मैदानभित्रका कुरा । मैदान बाहिरसमेत प्रशिक्षक अब्दुल्लाह सधै चर्चाको शिखरमा रहे । १० साउनमा उनले अप्रत्यासित निर्णय गरे । एन्फाको बैठक चलिरहँदा एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले आफूलाई बरम्बार तनाव दिएको र आफू मुख्य प्रशिक्षक पदबाट राजीनामा दिन एन्फा गइरहेको फेसबुकमा ‘स्टाटस’ राखे । यसरी यो विवाद एक्कासि समाजिक सञ्जालमा त भरियो भरियो । एन्फा बैठकसमेत प्रभावित भयो ।

    यसपटक आमसमर्थकको गाली पाएका वरिष्ठ उपाध्यक्षले फेसबुक बन्द गर्नसम्म पुगे । यसरी यो घटनाले आमसर्वसाधारणलाई तताइरहेको बेला प्रशिक्षक अब्दुल्लाहले भने एन्फामा कुनै राजीनामा पत्र बुझाएका थिएनन् ।

    आगामी १५ जेठ हुँदै ६ असारलाई सरेको एन्फा निर्वाचनलाई प्रभावित पार्दै आफूविरुद्ध षडयन्त्र रचिएको पंकजले तत्काल पत्रकार सम्मेलन गर्दै बताएका थिए । जुन विषयमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासमेत मुछिए । जसलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समिति नै बनाएर छानबिन गर्ने निर्णय गर्‍याे । तर त्यसले कुनै आधार पाउन सकेन ।

    बेलाबेला समाजिक सञ्जालमा आफ्ना समर्थकलाई मख्ख बनाउन विभिन्न उपाय अपनाउने अब्दुल्लाह सधै चर्चाको विषय बनिरहे । यो चर्चा र यस्ता घटना माल्दिभ्समा भएको १३औं साफ च्याम्पियनसिपमा समेत उनले देखाए ।

    नेपाल टिम पहिलो पटक साफ इतिहासमा फाइनल पुग्दा उनले नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको घोषणा गरे । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल चिरपरिचित भारतसँग ३-० अन्तरले पराजित भयो । यसपछि उनले आफू नेपाल नफर्कने र घर जाने निर्णय लिए । तर एन्फासँग उनले पुन: कर्मथलो फर्कने र अर्काे एक वर्षका लागि सम्झौता गर्ने निर्णय गरे । सोहीअनुसार नेपाल फर्किए र दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एक वर्ष नेपालमै बिताउने निर्णय लिए ।

    प्रशिक्षक अब्दुल्लाह नेपालमा कुनै पनि समय गुमनाम रहेनन् । नेपाल आएपछि नै सामाजिक सञ्जाल खोलेर चलेका र चर्चामा आएका खेलकुद पत्रकारलाई साथी बनाएका उनी हाल करिब एक लाख हाराहारी मानिसहरूले पछ्याउने (फलो गरिएको) मा रहेका छन् ।

    उनको नेतृत्वमा नेपालले हालसम्म १६ खेल खेलेको छ । जसमा केही आधिकारिक प्रतियोगिता, आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण, केही गुपचुप मैत्रीपूर्ण र केही आधिकारिक नभएका खेल छन् । नेपालले खेलेको १६ खेलमध्ये आधा अर्थात नौ खेलमा हार बेहोरेको छ । पाँच खेलमा जित निकाल्दा दुई खेलमा हार बेहोरेको छ । यस्तै ३६ गोल बेहोर्दा १६ गोल गरेको छ ।

    यस बीचमा नेपालले कतार फिफा विश्वकप-२०२२ छनोटअन्तर्गत दोस्रो चरणका खेल खेल्यो । यस्तै साफ च्याम्पियनसिपको फाइनलसहित पाँच खेल खेल्दा आठ मैत्रीपूर्ण खेल खेल्यो ।

    यस वर्ष एन्फाले राष्ट्रिय टिमको खेलसँग सँगै आफ्नो तालिकामा रहेको ए डिभिजन लिग र बी डिभिजन लिगसमेत आयोजना गर्‍याे । मछिन्द्र फुटबल क्लब लगातार सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेर महादेशीय कप खेल्न छनोट भयो । यस्तै ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबले शीर्ष डिभिजन लिगको हैसियत गुमाए ।

    यता, बी डिभिजन लिग च्याम्पियन बन्दै चर्च ब्वाईज युनाइटेड र उपविजेता बन्दै खुमलटार युथ क्लबले शीर्ष डिभिजन लिगको हैसियत बनाए ।

    यस वर्ष पुरुष फुटबलको तुलनामा महिला खेल कम भयो र प्रदर्शनसमेत खस्कियो । महिला टिमले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो भने एक एएफसी महिला एसियन कप छनोट खेल्यो । समग्रमा महिला टोलीले चार अन्तर्राष्ट्रिय खेल खेल्यो ।

    यस्तै उमेर समूहमा महिला टोलीले यु-१९ र यु-१८ साफ च्याम्पियनसिप खेले । जहाँ युवा टोली सफल हुन सकेनन् । वर्ष २०७८ को अन्त्यमा महिला लिग चलिरहेको छ भने सहिद स्मारक सी डिभिजन लिग हुने तय थियो । तर पुनः एन्फा भित्रको विवादका कारण यो प्रतियोगिता छायाँमा परेको छ र १० दिन पर थकेलिएको छ ।

    वर्षको अन्त्यको कुरा गर्दै गर्दा आगामी चुनावले माहोल तातिएको छ । अध्यक्षका प्रत्यासी देखिएका हालका अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङबीच ठूलो रस्साकस्सी चलेको छ ।

    यस वर्ष फुटबल टोलीले खेलेको १६ खेल
    १. नेपालविरुद्ध इराकः २-६
    २. नेपालविरुद्ध चाइनिज ताइपेइ २-०
    ३. नेपालविरुद्ध जोर्डनः ०-३
    ४. नेपालविरुद्ध अष्ट्रेलियाः ०-३
    ५. नेपालविरुद्ध भारतः १-१
    ६. नेपालविरुद्ध भारतः १-२
    ७. नेपालविरुद्ध ओमानः २-७
    ८. नेपालविरुद्ध माल्दिभ्सः १-०
    ९. नेपालविरुद्ध श्रीलंकाः ३-२
    १०. नेपालविरुद्ध भारतः ०-३
    ११. नेपालविरुद्ध बंगलादेशः १-१
    १२. नेपालविरुद्ध भारतः ०-३
    १३. नेपालविरुद्ध मौरिससः १-०
    १४. नेपालविरुद्ध मौरिससः १-०
    १५. नेपालविरुद्ध थाइल्यान्ड ०-२
    १६. नेपालविरुद्ध चोनबुरी एफसीः १-३
    – न्युज कारखाना

  • सुनको मूल्य ६ सयले बढ्यो

    सुनको मूल्य ६ सयले बढ्यो

    काठमाडौँ, ३० चैत-

    नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
    मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।- न्युज कारखाना

     

  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, ३० चैत्र-

    नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५२ पैसा र बिक्री दर १२२ रुपैयाँ १२ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ नौ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ६ पैसा र बिक्री दर १५८ रुपैयाँ ८४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ २३ पैसा र बिक्री दर १३० रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३४ पैसा र बिक्री दर ९० रुपैयाँ ७८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ एक पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४८ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ६८ पैसा र बिक्री दर नाै रुपैयाँ ७२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ आठ पैसा र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २९ पैसा र बिक्री दर ३३ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ८७ पैसा र बिक्री दर नाै रुपैयाँ ९२ पैसा कायम भएको छ ।- न्युज कारखाना

     

  • बागमती प्रदेशले जारी गर्‍याे चार अध्यादेश

    बागमती प्रदेशले जारी गर्‍याे चार अध्यादेश

    राजन कटुवाल
    हेटौंडा, ३० चैत

    बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ ।

    प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेको छ ।

    जारी अध्यादेशलाई प्रदेश सभाको आगामी बैठक सुरु भएको ६० दिनभित्रप्रतिस्थापनविधेयक पेश गरी प्रदेश सभा बैठकबाट पारित गर्नुपर्नेछ । चारै अध्यादेश २४ चैतमै प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकण गरेका थिए ।

    प्रदेश प्रमुखको कार्यालयकाअनुसार २२ चैतमा बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका अध्यादेश प्रदेश प्रमुख शर्माले २४ चैतमा प्रमाणीकरण गरेका हुन् ।

    बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थापना गरेको प्रदेशकै गौरवको योजनाको रुपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको हेटौंडा अस्पताललाई अलग गर्ने गरी अध्यादेश जारी भएको छ । अहिले उक्त विधेयकको विभिन्न राजनीतिक दल तथा संघ संस्थाले विरोध गरिरहेका छन् ।

    चिकित्सा शिक्षा अध्यापन गराउने गरी हेटौंडा अस्पतालमा अहिले संरचना निर्माणको काम भइरहेको छ । प्रदेश सरकारले प्रतिष्ठानको आफ्नो अलग्गै अस्पताल बनाउने भन्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने गरी कानुन ल्याएको हो ।- न्युज कारखाना

  • भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

    भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

    भोजपुर, ३० चैत-

    भोजपुरको रामप्रसादराई गाउँपालिका–५ कावाखोलामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका–७ बासिखोराका २० वर्षीय जेबि राई रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्याक्टर गएराती १० बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।

    ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी मानेभङज्याङले जनाएको छ ।- न्युज कारखाना

  • शाहवंशीय राजाहरूको उद्गमस्थलको रुपमा परिचित लमजुङ दरबार ओझेलमा

    शाहवंशीय राजाहरूको उद्गमस्थलको रुपमा परिचित लमजुङ दरबार ओझेलमा

    लमजुङ ३० चैत-

    पर्यटकीय गन्तव्यको रूपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित गाउँशहर दरवार र सँगै रहेको कालिका मन्दिर सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । गाउँशहरमै रहेको काउलेपानी पछिल्लो समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भएको छ ।

    मन्दिरमा आउने भक्तजन र होमस्टेमा दैनिक पर्यटकको घुँचो लागे पनि पर्यटकको रोजाइमा दरबार नपर्दा प्रवर्द्धनको कमि भएको सरोकारवालाहरूको बुझाइ छ । फष्टाउँदो पर्यटन व्यवसाय र प्रशस्त सम्भावना भएकोले अब स्थानीय सरकारले दरबारको सम्वर्द्धन र प्रवर्द्धन गर्नुपन स्थानीय देवप्रसाद गुरुङको धारणा छ । २०५४ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिए पनि गुरुयोजना तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पहल भएको पाइँदैन ।

    १६औं शताब्दीतिर मुलुक बाइसे चौबिसे राज्यमा विभाजित हुँदा लमजुङमा यशोब्रम्ह शाहले राज्य गर्थे । गाउँशहरस्थित लमजुङ दरबारबाट विस्तार भएको शाह राजाहरूको शासन मुलुकमा गणतन्त्र आउनुअघि राजा ज्ञानेन्दसम्म आइपुग्यो । शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार पर्यटकीय क्षेत्रको रुपमा विकास हुने प्रशस्त सम्भावना भए पनि सम्बन्धित निकायले यसको विकासमा वास्ता नगर्दा ओझलमा परेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।- न्युज कारखाना

  • पूर्व प्रधानाध्यापकसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

    पूर्व प्रधानाध्यापकसहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं, २९ चैत-

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको नरसिंह–५ स्थित श्री प्राथमिक विद्यालयका पूर्व प्रधानाध्यापक (हाल अवकास प्राप्त) सिद्धिनाथ लाल दाससमेत ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनीहरुमाथि सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेका अन्यमा महाविर प्राथमिक विद्यालय सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोज कुमार चौधरी र तारणी प्रसाद खतिवडा रहेका छन् ।

    उनीहरुले ५ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ । न्युज कारखाना

     

  • स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

    स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृति

    काठमाडौं, २९ चैत-

    राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

    राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् ।

    नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उनले सेना परिचालनको लागि स्वीकृति दिएकी हुन् । ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।- न्युज कारखाना

  • जुम्लामा जिप दुर्घटना १० घाइते

    जुम्लामा जिप दुर्घटना १० घाइते

    दिलमाया शाही

    जुम्ला, २९ चैत-

    जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जुम्ला सदरमुकाम खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको जिप दुर्घटना हुँदा सबै १० जना यात्रु घाइते भएकाे बताए ।

    घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको छ । ‘अहिले घाइतेको उद्धार भइरहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट एम्बुलेन्स घाइते ल्याउन गइरहेको छ,’ डीएसपी चन्दले भने ।

    तीव्र गतिमा आएको भ्यान सिधै सडकबाट खोलामा खसेकाे स्थानीय लोकबहादुर दमाइले जानकारी दिए ।- न्युज कारखाना