Category: Banner तल ताजा समाचार

  • मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु

    मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु

    मकवानपुर, ७ वैशाख-
    मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो । (रासस)

  • आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

    आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

    काठमाडाैं, ७ वैशाख-

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएकाे हाे ।
    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएका हुन् ।
    घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेकाे छ ।

    नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

    स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा हुँदैछ, दलहरु पालिका उम्मेदवार टुंग्याउन व्यस्त छन् ।-न्युज कारखाना

  • आज दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

    आज दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

    काठमाडाैं, ७ वैशाख-
    नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

    बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ ।

    दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।- न्युज कारखाना

     

  • विश्वकै धनाढ्य एलन मस्क भन्छन् :  मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

    विश्वकै धनाढ्य एलन मस्क भन्छन् : मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

    न्युयोर्क, ७ वैशाख-

    विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् ।

    ‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा बसिरहेको छु’, उनको भनाई उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

    ‘खाडी क्षेत्रमा यात्रा गर्दा म मूलतः साथीहरूको खाली सुत्ने कोठामा घुम्छु’, अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका सीईओसमेत रहेका मस्कले भने ।
    उनले अगाडि थपे, ‘मसँग समुद्री डुंगा याच छैन । म बिदा लिन्न । ’

    विश्वभर सम्पत्तिको असमानता र अर्बपतिहरूले खर्च गर्ने रकमको बारेमा सोधिएका प्रश्नहरूको मस्कले जवाफ दिएका थिए ।‘मलाई लाग्छ कि त्यहाँ स्वयंसिद्ध त्रुटिहरू छन्, जसले त्यो निष्कर्षमा पुर्‍याइरहेको छ । म व्यक्तिगत उपभोगमा वार्षिक अरबौं डलर खर्च गर्छु भने यो धेरै समस्याग्रस्त हुनेछ तर त्यस्तो छैन’, मस्कले भने ।

    एक प्रसँगमा मस्कले आफूले विमान प्रयोग नगर्दा काम गर्ने समय थोरै हुने बताए ।- एजेन्सी

     

  • विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

    विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

    हेमन्त केसी
    सुर्खेत, ७ वैशाख-

    नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेकाे छ ।

    कांग्रेसले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षकाे उम्मेदवारमा सिफारिस गरेकाे हाे ।

    खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए ।

    उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको कांग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।

    कांग्रेसले बाँफीकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ ।

    यसअघिकाे निर्वाचनमा कांग्रेसले रुकुम पश्चिममाबाट कुनै पनि पालिका जितेको थिएन ।- न्युज कारखाना

  • गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

    गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

    पोखरा, ७ बैशाख-
    गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ ।

    अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

    पोखरा महानगरपालिका- ३२ खुदीमा दुर्घटना भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतिको भने अवस्था सामान्य छ । गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।- न्युज कारखाना

  • नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

    नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

    काठमाडौं, ६ वैशाख-

    नेकपा एस (एकीकृत समाजवादी)ले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ ।

    नेकपा एसले मंगलबार सार्वजनिक गरेको चुनवाी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो ।

    ‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक छ,’ घोषणापत्रमा भनिएको छ, ‘यसैले सङ्घ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढङ्गले अगाडि बढाउने छन् ।’

    नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेकोले यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु आवश्यक रहेको घोषणापत्रमा औंल्याइएको छ ।

    ‘यस कामबाट आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास हुने र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ ।- न्युज कारखाना

     

  • चुनाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

    चुनाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

    काठमाडौं, ६ वैशाख-

    स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले उक्त प्रावधानका विषयमा परेको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको हो ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहितामा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको थियो । उक्त प्रावधान खारेज गर्न माग गर्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च‍मा गत ७ चैतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै ८ चैतमा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    निर्वाचन आयोगले अल्पकालीन अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो । न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरेको प्रावधान कार्यान्वय गर्ने बाटो खुलाएको हो ।

    योसँगै अब बहालवाला जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्र उम्मेदवारी दिन पाउनेछन् । आयोगले सबै उम्मेदवारलाई समान मैदान तयार गर्न यस्तो प्रावधान ल्याइएको प्रष्ट पारेको थियो । न्युज कारखाना

  • यस्ता छन् अपाङ्गता भएका व्यक्तिहरुको हकहितका सम्बन्धमा नेकपा एसले गरेको प्रतिवद्धता

    यस्ता छन् अपाङ्गता भएका व्यक्तिहरुको हकहितका सम्बन्धमा नेकपा एसले गरेको प्रतिवद्धता

    काठमाडौं, ६ वैशाख-

    नेपका एस (एकीकृत समाजवादी)ले मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा अपाङ्गता भएका व्यक्तिहरुको हकहितलाई प्राथमिकता दिएको छ ।

    ‘शारीरिक अपाङ्गता भएका मानिसलाई उहाँहरूको क्षमताबमोजिम तालिम र सो पश्चात रोजगारी उपलब्ध गराउने कार्यक्रम स्थानीय सरकारको तहबाट सञ्चालन गर्नुपर्दछ भन्ने बारेमा हाम्रो पूर्ण प्रतिवद्धता छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।

    हरेक पालिकाहरूले आफ्नो भूगोलभित्र रहेका शारीरिक रूपमा अपाङ्गता भएका मानिसहरूलाई रोजगार बनाउनका लागि आवश्यक तालिम उपलब्ध गराउनुका साथै व्यवसाय गर्नका लागि निव्र्याजी ऋण प्रदान गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

    ‘बौद्धिक अपाङ्गता भएका मानिस र बालबालिकाको स्याहार– सुसार र संरक्षणका लागि सम्बन्धित परिवारलाई मासिक रूपमा भत्ता दिने व्यवस्था गरिने छ,’ नेकपा एसको घोषणापत्रमा लेखिएको छ ।

    ‘अपाङ्ग मैत्री गाउँ–सहर’ भन्ने नाराका साथ अपाङ्ग मैत्री संरचना, खासगरी अपाङ्ग मैत्री विद्यालय, कार्यालय एवं सामुदायिक भवन तथा अपाङ्ग मैत्री शौचालय निर्माण गरिने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको छ ।- न्युज कारखाना

  • हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गर्ने नेकपा एसको प्रतिबद्धता

    हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गर्ने नेकपा एसको प्रतिबद्धता

    काठमाडौं, ६ वैशाख-

    नेकपा एस (एकीकृत समाजवादी) पार्टीले बालबालिकाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ ।

    मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नेकपा एसले उक्त प्रतिबद्धता जनाएको हो ।

    ‘हरेक टोलमा बालउद्यान निर्माण गरिने छ । यस्ता उद्यानमा बालबालिका खेल्ने, रमाउने साधनहरूको व्यवस्था गरिने छ,’ घोषणापत्रमा नेकपा एसले भनेको छ, ‘बालबालिका समाजको उत्तरदायित्व भन्ने मर्मलाई हृदयंगम गर्दै हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गरिनेछ ।’

    काममा जाने श्रमजीवि अभिभावकलाई बालबालिका रेखदेख गर्ने सामाजिक केन्द्रका रुपमा स्थानीय सरकारले बाल स्याहार केन्द्र संचालन गर्ने समेत घोषणापत्रमा उल्लेख छ ।

    बालबालिकाहरूलाई सानै उमेरदेखि साहित्य र कलाप्रति आकर्षित गर्नका लागि हरेक वार्डस्तरमा स्थानीय विद्यालयहरूलाई अग्रसर गराई वार्षिकरूपमा बालसाहित्य तथा कला मेलाको आयोजना गर्ने प्रतिवद्धता पनि नेकपा एसले गरेको छ ।

    ‘बालबालिकाहरू आफ्नो घर र समाजमा सुरक्षित रहुन् भन्ने उद्देश्यले आवश्यक अनुगमनको व्यवस्था गरिने छ । यसका लागि स्थानीय प्रहरी कार्यालयसँग आवश्यक समन्वय गरिने छ,’ घोषणापत्रमा लेखिएको छ ।- न्युज कारखाना