Category: Banner तल ताजा समाचार

  • राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई तीन हजार रुपैयाँ मासिक भत्ता

    राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई तीन हजार रुपैयाँ मासिक भत्ता

    काठमाडौं, ७ वैशाख-

    राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक प्रतिबद्धतापत्रमा कक्षा १२ सम्म पूर्ण निःशुल्क बनाउने उल्लेख छ । साथै सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने र एक एक प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने सार्वजनिक पत्रमा उल्लेख छ ।

    यसैगरी, सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँका दरले सुत्केरी भत्ता दिने पनि राप्रपाले प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    हरेक वडामा प्रसूति सेवा दिने र किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने राप्रपाले प्रतिबद्धता जनाएको छ । छात्राहरूलाई निःशुल्क स्यानेटरी प्याड उपलब्ध गराउने पनि उल्लेख छ ।-  न्युज कारखाना

     

  • ‘युवासँग म’मा एमाले अध्यक्ष ओली

    ‘युवासँग म’मा एमाले अध्यक्ष ओली

    ललितपुर, ७ वैशाख-

    ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवायुवतीको प्रश्न र समस्या सुनिरहेका छन् । कार्यक्रमको सुरुमा उनले अब हरेक वर्ष ७ वैशाखलाई यसरी नै युवाहरूको अनुभव र प्रश्न सुन्ने कार्यक्रमका मनाउने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका युवा व्यवसायी, खेलाडी, कलाकार, विद्यार्थी लगायतको सहभागिता छ । उनीहरूले आफ्ना समस्यामाथि यदि फेरि पनि केपी शर्मा ओली प्रधानमन्त्री भए कसरी सम्बोधन गर्नुहुन्छ भनेर प्रश्न गरिरहेका छन् ।- न्युज कारखाना

  • राप्रपाको चुनावी प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने

    राप्रपाको चुनावी प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने

    काठमाडौं, ७ वैशाख-

    राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

    पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक प्रतिबद्धतापत्रमा भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख छ ।

    राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, स्थायित्व र समृद्धिका लागि देशमा सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई राप्रपाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । न्युज कारखाना

  • सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे

    सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे

    भैरहवा, ७ वैशाख-

    नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् । सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

    स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर पदमा पराजित भएका उनले दोस्रोपटक पनि आकांक्षा देखाएका थिए ।एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असुन्तष्टि व्यक्त गर्दै उनले राजीनामा दिएका हुन् ।

    यादवले राजीनामा पत्रमा मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकाेमा उनले आपत्ति जनाएका छन् ।

    ‘म ४० वर्षदेखि कांग्रेसमा आबद्ध छु, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

    यादव संस्थापन इतर पक्षका हुन् । कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उनी असन्तुष्ट भएका हुन् । इस्तियाक राप्रपाबाट नेपाली कांग्रेसमा आएका थिए, उनी संविधानसभा सदस्यसमेत हुन् ।- न्युज कारखाना

     

  • गणेशमान स्मृति रोड रेस १७ वैशाखमा

    गणेशमान स्मृति रोड रेस १७ वैशाखमा

    काठमाडौं, ७ वैशाख

    गणेशमान सिंहको स्मृतिमा १७ वैशाखमा तेस्रो संस्करणको रोड रेस आयोजना हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने रोड रेसमा १० किलाेमिटर र ५ किलाेमिटरका दुई स्पर्धा हुनेछन् ।

    १० किलाेमिटर दौडमा महिला तथा पुरुष तर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । दोस्रो हुनेले ३० हजार रुपैयाँ , तेस्रो हुनेले १५ हजार रुपैयाँ, चौंथो हुनेले १० हजार रुपैयाँ र पाँचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    रेस दरबारमार्गबाट सुरु भई यहि सम्पन्न हुनेछ । संस्करणमा पुरुष र महिला दुवै तर्फ पाँच किलाेमिटर दौड थप गरिएको छ ।

    प्रतियोगितामा रेकर्ड कायम गर्ने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।-न्युज कारखाना

  • महोत्तरीको भँगाहा ४ मा एमालेका उम्मेद्वार महत्तो : जसले चुनावअघि नै सुरु गरे मुसहर वस्तीका २५ बालबालिकालाई पढाउन

    महोत्तरीको भँगाहा ४ मा एमालेका उम्मेद्वार महत्तो : जसले चुनावअघि नै सुरु गरे मुसहर वस्तीका २५ बालबालिकालाई पढाउन

    महोत्तरी, बैशाख ७ –
    महोत्तरीको भँगाहा नगरपालिका ४ मा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेद्वार गंगाराम महत्तोले मुसहर वस्तीका २५ भन्दा बढी बालबालिकालाई पढाउन सुरु गरेका छन् ।

    महत्तोले बिहीबार एक कार्यक्रमको आयोजना गरी बालबालिकालाई किताब, कापी, कलम वितरण गर्नुका साथै उनीहरुलाई पढ्नका लागि एक शिक्षक सहित पढ्ने ठाउँको व्यवस्था गरिदिएका हुन् ।

    कार्यक्रममा बोल्दै उम्मेद्वार महत्तोले बालबालिकालाई घर नजिकै नै कखरा सिकाउनका लागि शिक्षकसहितको सानो विद्यालय जस्तो स्थापना गरिदिएको बताए ।
    एकदमै पिछडिएको समुदाय मुसहर वस्तीका अधिकांश बालबालिका कमजोर आर्थिकलगायत विभिन्न कारणले गर्दा पढ्न जान पाएका छैनन् ।

    वडाध्यक्षका उम्मेद्वार महत्तोले आफूले चुनाव जितेपछि सबै वडाबासीका बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने बताएका छन् ।

  • भक्तपुरमा नेकपा एसको आज उम्मेदारी घोषणा

    भक्तपुरमा नेकपा एसको आज उम्मेदारी घोषणा

    भक्तपुर, ७ वैशाख-

    नेकपा एकीकृत समाजवादीले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सतारुढ गठबन्धनको नेकपा एसले बुधबार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेकाे हाे ।

    जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीयस्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा एमाललेलगायतका दलहरूले उम्मेदार हुन चाहनेका सूची संकलन गरी केन्द्रमा पठाएकाे छ । नेपाल मजदुर किसान पार्टीले भने अरू दलको उम्मेदवार तोकेपछि मात्रै अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएकाे छ ।

    जिल्लामा चार नगरपालिका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका मेयर सोमपसाद मिश्रले आठ हजार पाँच सय १२, उममेयर बीना बास्तोलाले आठ हजार सात सय ७९, भक्तपुर नगरपालिकामा नेकपा एमालेका मेयर विष्णुप्रसाद सुवालले चार हजार दुई सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले चार हजार ६ सय ३१, सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएका थिए ।

    मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो । एमालेबाट नै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काटने अनुमान गरिएको छ । एमालेको भोट काटेर एमाले हराउने अभियानमा नेकपा एस लागेको बताइन्छ ।- न्युज कारखाना

  • कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

    कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक

    मोहन जोशी
    धनगढी, ७ वैशाख-

    कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौति पनि बढ्न थालेको हो ।

    नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी-५ का ईश्वर जोशीले भने, ‘यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’

    तर, विद्युत् प्राधिकरणले लाेडसेडिङ नगरेकाे दाबी गरेकाे छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै अहिले कुनै समस्या नरहेको बताए । प्राधिकरणकाे दाबीलाई अस्वीकार गर्छन् । ‘ कैलालीभरि नै दैनिकजसो अघोषित रूपमा हुने लोडसेडिङ भइरहेको छ,’ गोदावरी नगरपालिका–२ का लालबहादुर सुनारले भने, ‘नियमित विद्युत् सुचारु नभएको १५-२० दिन भइसक्यो ।’

    उनका अनुसार ‘आघा घण्टा बत्ती आउने र १५–२० मिनेट विद्युत कटौती हुने गरेको छ । ‘यो विद्युत प्राधिकरणको अघोषित लोड सेडिङनै हो, जनतालाई त्यसको सूचना लुकाइएको छ,’ सुनारले भने ।

    धनगढी–२ का सुशील जोशीले विद्युत प्राधिकरण व्यापारीसँग मिलेको आरोप लगाउँछन् । व्यापारीका इन्भर्टर बिकाउन प्राधिकरणले गर्मी बढेपछि अघोषित लोडसेडिङ गर्ने गरेको उनको आरोप छ ।

    ‘गर्मीमा झ्याप्प- झ्याप बत्ती कटौती गरेर नागरिकलाई इन्भर्टर किन्न बाध्य पारिँदै छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले व्यापारिलाई फाइदा पुग्ने गरी काम गरिरहेको छ ।’

    पटक-पटक बिजुली जाने र आउने हुन थालेपछि वैकल्पिक उपकरणको समेत बिक्री बढ्ने र त्यसबाट विद्युत्‌का कर्मचारीले कमिसन खानेगरेको उनको आराेप छ ।

    विद्युत प्राधिकरणले गर्मी सुरु भएपछि सधैँ अघोषित लोडसेडिङ गर्ने गरेको धनगढी–५ का अनिल बोहरा पनि बताउँछन् । ‘यसअघिका वर्षहरूमा पनि गर्मी सुरु भएपछि अघोषित लोडसेडिङ हुनेगरेको थियो,’ बोहराले भने, ‘यस वर्ष पनि त्यो समस्या दोहोरिएको छ । कर्मचारीको प्रलोभन र लापरबाहीका कारण यस्तो समस्या आइरहेको छ ।’

    बिजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको धनगढीका स्थानीय देवराज अवस्थीले बताए । बिजुली आउने र जाने भइरहँदा पंखा, फ्रिज, बिजुलीका बल्बमा क्षति पुग्ने गरेको उनि बताउँछन् । ‘पछिल्लो समयमा बत्ती आउने–जाने धेरै भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थी लगायत अन्य सबै नगरबासीको दैनिक कष्टकर भएको छ ।’

    प्राधिकरणले विभिन्न बाहना बनाएर विद्युत् कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरूले समस्या झेल्नु परेको छ भने विद्युत् नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्किल परिरहेको छ ।

    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख मण्डल भने विद्युत नियमित सुचारु भएको र कुनै लोडसेडिङ नरहेको बताउँछन् । ‘ठाउँठाउँमा सडक निर्माण भइरहेका कारण लाइनविच्छेद गर्नु पर्ने अवस्था आइरहेको छ,’ उनले भने, ‘कतै फ्यूज जाने हुँदा मर्मत गर्नु पर्दछ, त्यसबेला बिजुली गएको हुन सक्दछ, तर लोड सेडिङ भने छैन ।’

    उनले कहिलेकाहिँ चमेलिया विद्युत् आयोजनाबाटै बिजुली कटौती हुने गरेको भन्दै त्यस्ताे अवस्थामा भने केही समस्या हुने गरेको बताए । तर, चमेलियामा पनि मर्मतका लागि मात्र विद्युत् अवरुद्ध हुने गरेको वितरण केन्द्र प्रमुख मण्डलले बताए ।- न्युज कारखाना

     

  • काममा फर्किएका गभर्नर महाप्रसाद अधिकारीले भने :  कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं

    काममा फर्किएका गभर्नर महाप्रसाद अधिकारीले भने : कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं

    काठमाडौं, ७ वैशाख-

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन् । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि उनी आजबाट काममा फर्किएका हुन् । सरकारलाई असहयोग गरेको भन्दै मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको थियो । सरकारको उक्त निर्णयविरूद्धमा अधिकारी सर्वोच्च अदालत गएका थिए । न्यायाधीश हरि फुयालको एकल इजलासले अधिकारीलाई पदबाट हटाउने निर्णय कार्यान्वय नगर्न र पदमा रहेर काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    सर्वोच्चको आदेशसँग उनी आज राष्ट्र बैैंकको कार्यालयमा गएर हाजिर भएका हुन् । काममा फर्किएका गभर्नर अधिकारीले सर्वोच्चको आदेश आफ्नो लागिभन्दा पनि समग्र सिस्टमको लागि आएको बताए ।

    ‘यो समग्र सिस्टमको लागि आएको आदेश हो । यहाँहरूले पनि मेरो लागिभन्दा पनि सिस्टमको लागि भनेर लागि पर्नु भएको छ,’ गभर्नर अधिकारीले भने, ‘त्यसका लागि सबैलाई धन्यवाद र आभार प्रकट गर्दै म आफ्नो जिम्मेवारीमा फर्किन चाहन्छु ।’

    कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने उनले प्रतिबद्धता जनाए । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा समन्वय गरेरै अघि बढ्ने उनको भनाइ छ । ‘हामी व्यक्तिभन्दा पनि एउटा संस्था हौं । गर्भनर, राष्ट्र बैंक र अर्थ मन्त्रालय व्यक्ति होइनन् । यी संस्था हुन्,’ गभर्नर अधिकारीले भने, ‘विभिन्न घटना परिघटनाले यस्तो अवस्था ल्याउँछ । तर, हामीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा गर्नुपर्ने समन्वय हामी गर्छौ । त्यसमा कुनै आग्रह पूर्वाग्रह राखेर काम गर्ने भन्ने विषय हुदैन् । हामी त्यसमा सतर्क रहन्छौं ।’

    आफूमाथि पूर्वाग्रही भएर अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आयोगमा उनको परिवारका सदस्य तथा पार्टी सदस्यहरू राखेको भन्दै अधिकारीले सो प्रक्रिया नै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    अर्थमन्त्री जनार्दन शर्माले आफूलाई सहयोग नगरेको तथा अति गोप्य सूचना बाहिर पठाएको भन्दै गत २४ चैतमा मन्त्रिपरिषद् बैठकमार्फत गभर्नर अधिकारीलाई निलम्बन गराएका थिए ।

    मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गर्दै अधिकारीमाथि जाँचबुझका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरूषोत्तम भण्डारीको अध्यक्षतामा न्यायिक समिति बनाएको थियो । यो विषयमा छलफलका लागि दुवै पक्षलाई १३ वैशाखमा बोलाएको छ ।- न्युज कारखाना

     

  • भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव

    भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव

    कुलप्रसाद काफ्ले
    चितवन, ७ वैशाख-

    ३० वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले चितवनले प्रचारप्रसारसँगै सुझाव संकलन गर्न थालेको छ । नागरिकको अपेक्षालाई आफ्नो एजेण्डामा समेट्नका लागि सुझाव संकलन गरिएको छ ।

    एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उमेद्‌वारी दिने तयारी गरेका विजय सुवेदीले बुधबार सरोकारवालासँग सुझाव लिएका छन् । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गरेका हुन् ।

    भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको मेयरका उमेदवार सुवेदीले बताए । महानगरबासी सबै नागरिकको अभिभावकत्व लिनेगरी नमुना महानगर बनाउन व्यवस्थित गुरुयोजना बनाएर काम गरिने उनले बताए ।

    नागरिकलाई क्षमताअनुसारको रोजगारी दिन सुरुको वर्ष नागरिकको अभिलेखिकरण गर्ने, अनुसन्धानका लागि आविस्कार केन्द्रको स्थापना गर्ने र विकास निर्माणमा निश्पक्ष सक्रियताको अभ्यास गर्ने उनको प्रतिबद्धता छ ।

    ‘व्यवस्था परिवर्तन भयो भनियो तर अझै पनि अव्यवस्थाको निरन्तरता छ । हामी भरतपुरबाट व्यवस्थाको सुरुवात गर्छाैँ’, उनले भने ।

    प्राध्यापक कपिल सुवेदीले संघ र प्रदेशको बजेटको भरमा भरतपुरमा विकास भइरहेको बताए । यहाँको विकासका लागि वैदेशिक लगानी भित्राउन पनि सकिने भन्दै उनले त्यसका लागि पहिला वैदेशिक लगानी नीति बनाउन आवश्यक रहेको बताए । ‘वैदेशिक लगानी भित्राउन सक्नुपर्छ । महानगरमा त्यस्तो लगानीको लागि ऐन नै बनेको छैन’, उनले भने ।

    उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भरतपुरलाई आर्थिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । यहाँबाट १५० किमीको दुरीमा देशका ठूला शहरहरु रहेको भन्दै उनले भने, ‘यहाँबाट निर्यात हुने वस्तुलाई प्रवर्द्धन गर्नुपर्छ । आयात प्रतिस्थापन गर्नुपर्छ । त्यसको लागि आर्थिक कुटनीति बनाउन जरुरी छ ।’

    सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भन्ने कुरामा जनतालाई प्रत्याभुति दिलाउन उनले आग्रह गरे । त्यस्तै, महानगरको अहिलेको संरचनाले आगामी १० वर्षमा कति जनसंख्यालाई धान्न सक्छ त्यसको विश्लेषण गर्नुपर्ने उनले सुझाए ।

    अधिवक्ता राजकुमार श्रेष्ठले महानगरले ऐन कानुन बनाउँदा विज्ञसँग सल्लाह नगरेको बताए । शहरी क्षेत्रका केहि वडा हेरेर सबै ठाउँमा एकै किसिमको कर लगाउने नीति गलत भएको उनले बताए । सुकुमबासीलाई एक/दुई कठ्ठा जग्गा बाँडेर मात्र नहुने भन्दै उनले स्थायीत्वका लागि रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

    पर्यटन विज्ञ विश्व सुवेदीले पर्यटन क्षेत्रको विकासमा पर्याप्त लगानी हुन नसकेको बताए । भरतपुर महानगरमा ३० वटा पर्यटकिय गन्तव्य स्थल पहिचान भएका छन् । ‘पर्यटनको छुट्टै प्लानिङ गरौँ । पर्यटनलाई धेरै पक्षसँग जोडेर विकास र आर्थिक उन्नती गर्न सकिन्छ’, उनले भने ।

    पर्यटन क्षेत्रको प्रवर्द्धनमा चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वन, २०३४ सालमा बनेको होटल सञ्चालन सम्बन्धि ऐन बाधक रहेको उनले बताए ।- न्युज कारखाना