Category: Banner तल ताजा समाचार

  • गोरखा नगरपालिकामा अवैध धन्दा : ठेकेदारसँग १० लाख घुस लिएर राजश्व छल्न सहयोग !

    गोरखा नगरपालिकामा अवैध धन्दा : ठेकेदारसँग १० लाख घुस लिएर राजश्व छल्न सहयोग !

    अश्विन दानी
    गोरखा, ६ वैशाख-

    गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत र मेयरले रौताहा पि.के गोरखा जेभीसँग १० लाख रुपैयाँ घुस लिएर राजश्व छलीमा सहयोग गरेको तथ्य फेला परेको छ । नारेश्वर, निवेल हुँदै उल्टेसम्मको सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीसँग रकम लिएर राजश्व छली गर्न नगरपालिकाले मद्दत गरेको हो ।

    गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको २५ करोड ६३ लाख रुपैयाँमा निर्माण कम्पनीले सो सडकखण्डको १० किलोमिटर कालोपत्रे गर्ने जिम्मा लिएको थियो । यो सडक ठेक्का दिएको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै १४ फागुन २०७६ मा पूर्वाधार बिकास कार्यालय गोरखासँग ठेकेदार कम्पनीले सम्झौता गरेको थियो ।

    सो बाटोमा प्रयोग हुने ग्राभेल, ढु‌गा गिट्टी, बालुवाका लागि ठेकेदार कम्पनीले गोनपा-३ कुमाल गाउँस्थित दरौँदी फाँटबाट केही निजी व्यक्तिको जग्गा र सार्वजनिक जग्गाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्‍याे ।

    निर्माण कम्पनीका ठेकेदारले विनाठेक्का, वातावरण मूल्यांकन प्रतिवेदनविनै ढुंगा, गिट्टी, बालुवाको उत्खनन् गरेको थियो । निर्माण कम्पनीकै स्रोतका अनुसार त्यहाँबाट २७ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरिएको थियो । जसमध्य दुई तिहाइभन्दा बढी सार्वजनिक जग्गाबाट उठाइएको हो । ठेकेदारले महिनौ लगाएर अवैध उत्खनन् गरेको नदीजन्य पदार्थ रुद्रबहादुर कुमाल, भीम कुमाल, रवि कुुमाल, सन्दीप कुुमालको जग्गामा डम्पिङ गरेर राखेको थियो ।

    गत जेठ दोस्रो साता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र प्राविधिक कपिल कोइराला डम्पिङ गरेको ठाउँमा अनुगमन गर्ने भन्दै पुगे । उनीहरू अनुुगमनबाट फर्किएपछि आर्थिक लेनदेनको बार्गेनिङ सुरु भएको स्रोत बताउँछ ।
    ‘नगरपालिकाबाट अधिकृत र इन्जिनियर अनुगमनमा आएपछि दुईपटक राति भेटेर पैसाको बार्गेनिङ भयो । अनि १० लाखमा टुंगिएपछि असार १४ गते १० लाख रुपैयाँ दिइएको हो’, स्रोतले भन्यो ।

    ‘पानीमाथिको ओभानो’ बन्न घुस लिएपछि छानबिन समिति खडा

    नगरपालिकाका अधिकृतले ठेकेदारसँग घुस लिएपछि ठेकेदारले अवैध उतखनन् गरेको नदीजन्य पदार्थ निर्धक्क ओसारपोसार गरिरहेको थियो । तर, आर्थिक चलखेल भएको तथ्य बाहिर आएमा आफूहरू फस्ने सम्भावना देखेपछि अधिकृत दिनेशराज पन्त र मेयर राजनराज पन्तले गोनपा-३ का वडाध्यक्ष रामबाबु बोगटीको संयोजकत्वमा, गोनपा-४ का वडाध्यक्ष खोप बहादुर अधिकारी, गोनपा-१० का वडाध्यक्ष देवीबहादुर बस्नेत, गोनपा-१३ का वडाध्यक्ष हरिबहादुर खनाल र सिभिल इन्जिनियर प्रकाश ढकालसहित पाँच सदस्यीय अनुगमन समिति बनायो ।

    समितिले गत ५ फागुनमा फिल्डमा अवैध उत्खनन् गरिएको २१ हजार एक सय ७५ घनमिटर नदीजन्य पदार्थ रहेको प्रतिवेदन पेस गर्‍याे । तर, आफूहरू फस्ने डरले ‘पानीमाथिको ओभानो’ बन्न अनुगमन समिति खडा गरेको नगरपालिकाले अवैध उत्खनन् गर्ने ठेकेदारलाई आवश्यक कारबाही, जरिवाना केही पनि गरेन ।

    सार्वजनिक खरिद नियमावलीविपरीत ओसारपोसारको अनुमति

    अवैध उत्खनन् गरेको ठेकेदारलाई अनुगमन समितिले पेस गरेको प्रतिवेदनका आधारमा नगरपालिकाले आवश्यक कारबाही गर्नुपर्ने हो । तर, घुसबापत रकम लिएकै कारण नगरपालिकाले कारबाही गर्नुको साटो सार्वजनिक खरिद नियमावली मिचेर ओसारपोसारको अनुमति दिएको छ ।

    निर्माण कम्पनीले अवैध उत्खनन् गरेको नदीजन्य पदार्थ नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएर सार्वजनिक खरिद नियमावलीअनुसार प्रतिस्पर्धामा बेच्नुपर्ने थियो । तर, नगरपालिकाले अवैध उत्खनन् गर्ने ठेकेदारको सामान्य मागपत्रका आधारमा विनाप्रतिस्पर्धा, विना ठेक्का, सार्वजनिक खरिद नियमावली मिचेर ओसारपोसारको जिम्मा दिएको हो । अनुमति विना, वातावरण प्रभाव मूल्यांकनविना नदीजन्य पदार्थको उत्खनन् गरेको निर्माण कम्पनीलाई नगरपालिकाले नियमावली मिचेर अनुमतिको पत्र दिनुले पनि आर्थिक चलखेल भएको कुरा पुष्टि गर्न थप मद्दत पुर्‍याउँछ ।

    ठेकेदारको अवैध धन्दामा निगरानी नराखोस् भनेर वडालाई नगरपालिकाको क्रस

    नगरपालिकाले नियमावली मिचेर निर्माण कम्पनीलाई गत १५ फागुनमा एक महिनाभित्र तीन हजार घनमिटर मात्रै नदीजन्य पदार्थ ओसारपोसार गर्न भन्दै अनुमति दियो । नगरपालिकाले दिएको म्याद अनुसार १५ चैतसम्ममा निर्माण कम्पनीले तीन हजार घनमिटर मात्रै नदीजन्य पदार्थ ओसार्नुपर्ने थियो । तर, अनुमति प्राप्त म्याद सकिँदासम्म पनि ठेकेदारले अहिलेसम्म निर्वाध रूपमा तोकिएको भन्दा बढी मात्रा ग्राभेल ओसारपोसार गरिरहेको छ ।

    ‘हामीले कारबाही गर्ने हैन । नियमन पनि गर्ने हैन । म्याद पनि सक्किसक्यो, तोकिएको भन्दा तेब्बर बढी ग्राभेल ठेकेदारले बोकिसके । तर, त्यसलाई नियमन गर्ने अधिकृत, मेयर सावले नजरअन्दाज गरिराख्नुभएको छ । केही न केही चलखेल नभए किन यस्तो हुन्छ र ?’, नगरपालिकाका एक कर्मचारी भन्छन् ।

    नगरपालिकाले निर्माण कम्पनीलाई दिएको अनुमतिपत्रमा वडाका प्राविधिकको प्रत्यक्ष निगरानीमा मात्रै नदीजन्य पदार्थ ओसारपोसार गर्नु भनिएको छ । तर, वडाका प्राविधिकलाई भने नगरपालिकाले त्यहाँको निगरानीका लागि लिखित या मौखिक रूपमा कुनै पनि जानकारी गराएको छैन ।

    गोनपा-३ का वडा प्राविधिक सुकमान तामाङ भन्छन्, ‘मलाई नगरपालिकाले त्यहाँको विषयमा कुनै जानकारी नै गराएको छैन । त्यसैले मैले त्यहाँ गएर अनुगमन गर्ने, निगरानी गरेको छैन ।’ वडा कार्यालयलाई पनि औपचारिक रूपमा कुनै परिपत्र नआएको वडाध्यक्ष रामबाबु बोगटी बताउँछन् । यद्यपि ठेकेदारलाई नगरपालिकाले दिएको अनुमतिपत्रमा भने वडा कार्यालय र वडाका प्राविधिक दुवैलाई बोधार्थ दिइएको छ ।- न्युज कारखाना

  • ‘नैतिकता’ भन्दै एन्फाबाट राजीनामा दिएका शर्मा फर्किए

    ‘नैतिकता’ भन्दै एन्फाबाट राजीनामा दिएका शर्मा फर्किए

    काठमाडौं, ६ वैशाख-

    दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) हुने निश्चित भएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटी संयोजकबाट राजीनामा दिएकाका विज्ञानराज शर्माले राजीनामा फिर्ता लिएका छन् ।

    २० फागुनमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई सम्बोधन गर्दै ‘लिग कमिटीको संयोजकबाट राजीनामा पेश’ गरेका शर्माले सोमबार (हिजो) भएको कमिटीको बैठकमा भने अध्यक्षता गरे ।

    स्थगित भएकाे सी डिभिजन लिग र हालै सम्पन्न बी डिभिजन लिगबारे छलफलका लागि बसेको बैठकमा शर्माले अध्यक्षता ग्रहण गरेका हुन् । ‘उहाँ (शर्मा) को राजीनामा फिर्ता भएको छ र उहाँकै अध्यक्षतामा हिजो बैठक सम्पन्न भयाे ।’ लिग कमिटीका एक सदस्यले न्युज कारखानासँग भने ।

    जुन बैठकले बी डिभिजन लिगका क्रममा भौतिक सामग्री तोडफोड गरेको भन्दै नयाँ वस्ती युथ क्लबलाई तीन लाख जरिवाना साथै खेलाडी, अफिसियल र व्यवस्थापकलाई फुटबल गतिविधिमा केही समय संलग्न हुन नपाउने गरी कारबाही गरेको थियो ।

    चौधरी ग्रुपकाे स्वामित्वमा रहेको एनएसएलमा शर्माले काठमाडौं रेजर्सबाट प्रतिनिधित्व गरेका छन् । पहिलो संस्करणका क्लब च्याम्पियन बन्दा नै शर्मा क्लबको डाइरेक्टर थिए ।

    यसपछि उनले दोस्रो संस्करणमा भने दोहोरो भूमिकामा रहन नहुने भन्दै नैतिकताको आधारमा राजिनामा दिएका थिए ।

    ‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्लबको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अप्ठयाराहरू आउन सक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरू पनि जोडिन जाँदा राजिनामा पेश गरेको छुँ ।’ शर्माले पत्रमा लेखेका थिए ।

    तर, २५ चैतबाट हुने तय भएको एनएसएल विवादका कारण अनिश्चित बनेको छ । एनएसएल आयोजना र यसको अस्तित्वको विषयमा प्रश्न उठेपछि एनएसएस आयोजनाबाट पछि हटेको हो ।

    पछि शीर्ष डिभिजन क्लबले समेत एन्फालाई प्रश्न गरेपछि शर्माले एन्फाबाट हात झिकेर एनएसएललाई सहयोग गरेका थिए । तर, दोस्रो पटक आयोजना हुने तयारीमा रहेको एनएसएल अक्सनपछि अनिश्चित बनेकाे छ ।

    एनएसएलमा जोडिएसँगै एन्फाबाट हात झिकेका शर्माको यो प्रवृत्तिलाई एन्फाभित्रैबाट देखावटी राजीनाकाे आरोप लागेको छ ।- न्युज कारखाना

  • माधव नेपालले भने : गठबन्धनभित्रबाटै अपमान भयाे, अपमान सहदैनौँ विद्रोह गर्छाैँ

    माधव नेपालले भने : गठबन्धनभित्रबाटै अपमान भयाे, अपमान सहदैनौँ विद्रोह गर्छाैँ

    काठमाडौं, ६ वैशाख-

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न जिल्लाबाट समाजवादीलाई अपमान गर्ने काम भइरहेको बताए ।

    ‘कतिपय ठाउँमा अरूको शक्तिको अवमूल्यन गर्दै अलि अपमानपूर्ण व्यवहार भएकाे छ भन्ने रिपोर्ट पनि आइरहेको छ,’ नेपालले भने, ‘हामी अपमान सहनका लागि जन्मिएका होईनौं । अपमानको विरूद्धमा विद्रोह गर्दै जन्मिएका हौँ । हामीलाई आफ्नो शक्ति र सामर्थमा विश्वास छ ।’

    सबै दलभित्र उम्मेदवार बन्न तानातान भइरहेको भन्दै चुनावमा पराजित हुने स्थिति भएकाहरूले समेत गजबले जित्छु भन्दै घुर्की लगाइरहेको बताए ।

    समाजवादीले अरूले भनेको आधारमा नभएर त्यहाँको वस्तुस्थितिको राम्रोसँग अध्ययन गरेर उम्मेदवार छनोट गर्ने उनले बताए । ‘त्यहाँको कमिटीले जनताको भावनालाई बुझेर अनि पार्टीको प्रभावलाई ध्यानमा राखेर, व्यक्तित्वलाई ध्यानमा राखेर, यसले पुर्‍याएको योगदानलाई ख्याल गरी, उसको लोकप्रियताको पनि ध्यान दिएर मात्रै अघि बढ्नु पर्छ ।’ नेपालले भने ।

    पाँच दलभित्र जतिमा सहमति हुन्छ त्यही सहमतिको आधारमा र नभएको खण्डमा मित्रताको आधारमा स्वस्थ प्रतिस्पर्धामा जाने बताए । ‘जति सहमति हुन्छ त्यही आधारमा जान्छौँ । हामीले सहमति गरिसकेका छौँ की पाँच दलकोबाहेक अरु दलहरूसँग सहमति नगर्ने । पाँच दलभित्र नै गर्ने । सहमति हुन सकेन भने मित्रताको आधारमा स्वस्थ्य प्रतिस्पर्धामा जाने भन्ने टुंगो लगाएका छौँ ।’ अध्यक्ष नेपालले भने ।- न्युज कारखाना

  • नेकपा एसले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनको घोषणापत्र

    नेकपा एसले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचनको घोषणापत्र

    काठमाडौं, ६ वैशाख-

    नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

    घोषणापत्रमा समाजवादीले २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई समावेस गरेको छ । घोषणापत्र अनुसार प्रत्येक घर परिवारलाई मासिक दुई सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गर्नेसम्मका कार्यक्रम छन् ।

    नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गरेको समाजवादी पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको छ । यसअघि एमालेबाटै निर्वाचन लडेको समाजवादी यस पटक भने सत्तारूढ पाँच दलीय गठबन्धनबाट अघि बढिरहेको छ ।- न्युज कारखाना

     

  • मतपत्र छाप्न अब बढीमा १० दिन लाग्ने

    मतपत्र छाप्न अब बढीमा १० दिन लाग्ने

    काठमाडौं, ६ वैशाख-

    निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । काठमाडौंमा आज आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

    उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ ।

    मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ । आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ ।

    आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।- न्युज कारखाना

  • अफगान विद्यालयमा विस्फोट

    अफगान विद्यालयमा विस्फोट

    काबुल, ६ वैशाख-

    पश्चिम काबुलको एउटा विद्यालयमा तीन ओटा विस्फोट भएका छन् । विस्फोटमा धेरै मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ ।

    ‘माध्यामिक विद्यालयमा तीनवटा विष्फोट भएका छन् । विस्फोटमा शिया समुदायका मानिसहरू हताहत भएका छन्’, समूहका खालिद जद्रानले भने । विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    विस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् ।- एजेन्सी

  • भाजपा कसरी भारतीय महिलाको रोजाइको पार्टी बन्यो ?

    भाजपा कसरी भारतीय महिलाको रोजाइको पार्टी बन्यो ?

    नयाँ दिल्ली, ६ वैशाख-

    पुरुषको हरेक सफलताका पछाडि महिलाको हात हुन्छ । तर, हालै सम्पन्न विधान सभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) को सफलताको पछाडि लाखौँ महिलाको हात रहेको विश्वास गरिन्छ ।

    हालैका दुई अध्ययनअनुसार फेब्रुवरी–मार्चमा भएका चुनावमा भाजपाले जितेका राज्यहरुमा पुरुषभन्दा बढी महिलाहरूले मतदान गरेका थिए ।

    सन् १९६२ देखि धेरै महिलाहरूले सधैं राष्ट्रिय स्तरमा कांग्रेस पार्टीलाई मतदान गरेका थिए । तर, सन् २०१९ मा भाजपा पहिलो पटक सबैभन्दा धेरै महिलाको मत प्राप्त गर्ने पार्टी बन्न सफल भएको थियो ।

    अन्य राजनीतिक दलहरूजस्तै भाजपामा पनि मुश्किलले नारीको बाहुल्यता छ र धेरै महिलाहरूलाई मन नपर्ने विश्व दृष्टिकोण छ ।

    पार्टीका नेताहरू प्रायः आपत्तिजनक टिप्पणीका कारण समाचार बनेका छन् र बलात्कारका घटनाहरूको कमजोर व्यवस्थापनका कारण केही राज्य सरकारहरू समाचारका शीर्षक बनेका छन् ।

    सरकारले ल्याएको नागरिकतासम्बन्धी विवादास्पद कानूनको विरोधमा भएका प्रदर्शनको नेतृत्व पनि महिलाहरूले गरेका छन् । तर, यसकाबाबजुद धेरै महिलाले भाजपालाई मतदान गरेको तथ्यांकले देखाएको छ ।

    त्यसो भए भाजप कसरी भारतीय महिलाको रोजाइको पार्टी बन्यो ?

    ‘मोदीको कारण’, दिल्लीस्थित सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटी (सीएसडीएस) का दिल्लीस्थित थिंक ट्यांकका सञ्जय कुमारले भने, ‘पार्टी महिलाहरूका लागि आकर्षक भएको यो अचानक होइन । मोदी प्रमुख कारक हुन् ।’

    द न्यु बीजेपीका लेखक नलिन मेहताका अनुसार पार्टीले महिला ‘विङ’ गठन गरेपछि सन् १९८० मा भाजपाले महिलामा पहुँच बढाएको छ ।

    ‘भाजपामा त्यसबेला केही महत्वपूर्ण र शक्तिशाली महिला नेतृ थिए । पार्टीले महिलाका मुद्दामा महत्वपूर्ण वाचाहरू गरेको थियो । तर, धेरै महिलाहरूले दशकौंसम्म भाजपालाई भोट दिएनन् । पार्टीलाई धेरै हदसम्म पितृसत्तात्मक पुरुषहरूको प्रभुत्वको रूपमा हेरिएको थियो । ’

    उनका अनुसार सन् २०१९ मा राष्ट्रिय स्तरमा ठूलो परिवर्तन भएको थियो । पहिलो पटक मोदीप्रति महिलाको क्रेज बढेको थियो ।- एजेन्सी

  • उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

    उपचारको क्रममा अस्पतालबाट फरार भएका थुनुवा पक्राउ

    काठमाडौं, ६ वैशाख-

    प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले प्यारालाइसिस भएको भन्ने बहाना बनाई वीर अस्पतालमा भर्ना भएका थिए । उपचारत रहेको अवस्थामा गत चैत २९ गते राति अस्पतालबाट फरार भएका थिए ।

    जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फेला पारी पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको छ ।- न्युज कारखाना

  • ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

    ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत

    ललितपुर, ६ वैशाख

    ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले महाङ्काल गाउँपालिका–६ ठुला दुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति पक्राउ गरेको छ ।

    सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।- न्युज कारखाना

  • ६७ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ

    ६७ करोडको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन जना पक्राउ

    काठमाडौं, ६ वैशाख-

    प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा झापा बिर्तामोड नगरपालिका–९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काभ्रेपलाञ्चोक पनौति नगरपालिका–१ ठेगाना भएका २४ वर्षीय दिपेश थापा र काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने २७ वर्षीय राहुल चचान रहेका छन् ।

    प्रहरीले उनीहरूलाई आइतबार र सोमबार काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म जम्मा ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रूपैयाँ रकम बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको खुल्न आएको छ ।

    उनीहरूमाथि बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।- न्युज कारखाना