Category: कला

  • सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

    सुन्दर खवास र बिपना आङ्बुहाङको ‘जालहारी’ सार्वजनिक

    काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

    मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, लिला राई, तुरेम्पा हाङ, सुरेश राईको पनि आवाज रहेको छ ।

    ‘जालहारी’को भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् । यस भिडियोमा सुन्दर खवास र बिपना आङ्बुहाङ फिचर्ड छन् ।

  • बाइस वर्षपछि शशि गुरुङको नयाँ गीत सार्वजनिक

    बाइस वर्षपछि शशि गुरुङको नयाँ गीत सार्वजनिक

    काठमाडौँ, २० पुस
    गायक शशि गुरुङले २२ वर्षपछि नयाँ गीत सार्वजनिक गर्नुभएको छ । आज सुन्धारास्थित एक चलचित्र भवनमा उहाँले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘तिमीले हेर्न चाहे’ को श्रव्यदृश्य सार्वजनिक गर्नुभएको हो ।

    गुरुङले आगामी दिनमा गायनलाई निरन्तरता दिने बताउनुभयो । “म सरकारी जागिरे भएकाले गीतसङ्गीतलाई निरन्तरता दिन पाइन् । अब निरन्तररुपमा आफूलाई यस क्षेत्रमा प्रस्तुत गर्नेछु”, उहाँले भन्नुभयो, “धेरै गीत गाएर स्थापित वा चर्चित भइदैन भन्ने मैले बुझेको छु । थोरै तर स्तरीय गीतमार्फत आफ्नो दर्शकसँग साक्षात्कार हुन सकिन्छ ।” गुरुङले आफूलाई मामाको प्रभावले गीतसङ्गीतमा अगाडि बढ्न प्रेरणा मिलेको बताउनुभयो ।

    उक्त गीत प्रकाश सायमीले रचना गर्नुभएको हो भने सङ्गीत सिर्जना प्रविन बराइलीले गर्नुभएको छ । गीतको श्रव्यदृश्यमा कुशल केसी र मुना भूर्तेलले अभिनय गर्नुभएको छ ।

    गीत हेर्दा आँखालाई शितलता दिएको र सुन्दा कर्णप्रिय लागेको वरिष्ठ गीतकार नगेन्द्र थापाले बताउनुभयो । “म चलनचल्तीका गीतको सम्पर्कमा छैन । अहिले आइरहेका गीतमध्ये सशक्त शब्द र कर्णप्रिय सङ्गीत भएको गीत यो हो । यो गीत बाचिरहने किसिमको बनेको छ”, उहाँले भन्नुभयो, “उहाँको गायन शैलीको ताजगी उस्तै छ । उहाँलाई निरन्तरता दिनुस् र यस्तै बाच्ने गीतसङ्गीत सिर्जना गर्नुहोस् भन्न चाहन्छु ।”

    अमेरिकामा रहनुभएका गायक ओमविक्रम विष्टले श्रव्यदृश्य सन्देश पठाउँदै गायक गुरुङलाई शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, “उहाँ (गायक गुरुङ) सँग गीत गाउने मौका पाएको छैन । उहाँले गर्नुभएको सुरुआतले गीतसङ्गीतमा नयाँ आयाम थप्नेमा विश्वस्त छु । यो स्रोतासँगै सर्जकलाई पनि मनपर्ने गीत बनेको छ ।”

    उक्त अवसरमा ‘बितेका पलहरु’ बोलको लिरिकल भिडियोसमेत देखाइएको थियो । उक्त गीतमा भूषण खरेलले शब्द रचना र शक्ति बल्लभले सङ्गीत भर्नु भएको छ । कार्यक्रममा गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल, सङ्गीतकार राजुसिंहलगायत सङ्गीतकर्मीको उपस्थिति थियो ।

  • मेनुका पौडेलले गाएको भारतीय फिल्म ‘सलार’को गीत सार्वजनिक

    मेनुका पौडेलले गाएको भारतीय फिल्म ‘सलार’को गीत सार्वजनिक

    काठमाडौं । नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत युट्युवमा सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत रिलिज गरेको हो ।

    पौडेलले केही दिनअघि यो गीत रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ ।

    ‘सलार : पार्ट वन सिसफायर’ नाम दिइएको यो फिल्म डिसेम्बर २२ मा समेत प्रदर्शन तयारीमा छ ।

  • ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

    ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

    काठमाडौँ, ३ मङ्सिर
    ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २: भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो ।

    निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अहिले नै चलचित्र बनाउने मनस्थितिमा थिएनौँ । यद्यपि दोस्रो शृङ्खलाले उब्जाएका प्रश्नलाई सम्बोधन गर्न पनि घोषणा गरेका हौँ । यो आउँदो वर्ष नै प्रदर्शनमा आउँछ ।”

    लेखक खगेन्द्र लामिछानेले तेस्रो शृङखला शीर्ष भूमिका निर्वाह गर्दै हुनुहुन्छ । “कथा लेखन र अभिनयमा मात्र म व्यस्त छु । दोस्रो शृङ्खलाको क्रममा चलचित्र भवन पुग्दा पशुपति प्रसाद कहिले हेर्न पाइन्छ ? भन्ने दर्शकले जिज्ञासा राख्नु हुन्थ्यो । त्यसैले हामीले यसलाई निरन्तरता दिने योजना अनुरुप घोषणा गरेका हौँ”, अभिनेता लामिछानेले भन्नुभयो ।

    रोजिना सिटौलाले निर्माण गर्नुहुने उक्त चलचित्रमा शृङ्खलाका कलाकारसँगै नयाँ पनि थपिने उहाँले जानकारी दिनुभयो । यसअघि यो समूहले ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘पशुपति प्रसाद २ ः भष्मे डन’ निर्माण गरेको थियो । रासस

  • एमाले नेतृ कोमल ओलीलाई मातृ शोक

    एमाले नेतृ कोमल ओलीलाई मातृ शोक

    काठमाडौँ, २ मङ्सिर
    चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ ।

    उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो । उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले घोषणा गरेका हुन् ।

    हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

    १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।

    दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

    दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अन्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् ।

    उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

  • चलचित्र ‘दिमाग खराब’ मंगलबारसम्म प्रदर्शन नरोकिने

    चलचित्र ‘दिमाग खराब’ मंगलबारसम्म प्रदर्शन नरोकिने

    काठमाडौं । चलचित्र ‘दिमाग खराब’ र हल सञ्चालकहरुबीचको विवाद तत्कालका लागि मिलेको छ ।

    आज उक्त चलचित्रको निर्माण समूह र चलचित्र हलहरुको संस्था चलचित्र संघबीच एक सहमति भएसँगै विवाद मिलेको हो ।

    प्रदर्शकको तर्फबाट दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेपछि निर्माण समूह पनि त्यसमा सहमत भएको छ भने फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा भने सहमति नजुटेको बताइएको छ ।

    यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ ।

  • अभिनेत्री दिपाशा बीसीको निधन

    अभिनेत्री दिपाशा बीसीको निधन

    काठमाडौँ, २३ कात्तिक
    अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

    चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो ।

    झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।

  • नेपाली चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक

    नेपाली चलचित्र ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक

    काठमाडौँ, १० कात्तिक
    आगामी कात्तिक २४ गते तिहारमा प्रदर्शनमा आउन लागेको बहु- प्रतिक्षित फिल्म ‘दिमाग खराब’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हितैको माया’ बोलको गीतमा जयन जे सुब्बाको शब्द रचना तथा संगीत र सुगम पोखरेल र इन्दकला राईको स्वर रहेको छ ।

    अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्का र रमा थपलियालाई सार्वजनिक गीतको भिडियोमा फिचर्ड गरिएको छ, जुन हेर्दा र अडियो सुन्दापनी निकै मार्मिक लाग्छ । भिडियोको अन्तिममा हामीले खगेन्द्रलाई बोकेर हिँडेका दयाहाङ राईले देखाएको गहिरो मित्रताको आभास पनि पाउँछौ । श्रीमान श्रीमतीको भूमिकामा देखिएका अभिनेत्री स्वस्तिमा र अभिनेता खगेन्द्र बिच जीवनमा आईपरेका सङ्घर्षलाई एकसाथ भोगेका कुरा भिडियो प्रस्तुत गर्दछ ।

    फिल्मको यसअघि सार्वजनिक पोस्टर, टिजर, गीत र ट्रेलरले दर्शकमाझ निकै राम्रो हाइप बनाईसकेकोले पनि दर्शकमाझ फिल्म प्रिय बन्ने देखिन्छ । फिल्मलाई एमएसएम इन्टरटेनमेन्ट सिनेमालाई विश्वभर रिलिजको जिम्मेवारी लिएको छ ।

    सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ । निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् ।

    आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । तिहारको अवसर पारेर प्रदर्शनमा आउने सिनेमामा रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

    सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

  • दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

    दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

    काठमाडौँ, ७ कात्तिक
    नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दसैँ विशेष हुने बताउनुभयो ।

    “अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ । यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्”, वितरक श्रेष्ठले भन्नुभयो । उहाँले वितरण गरिरहनु भएको ‘पशुपति प्रसाद २: ‘भष्मे डन’ ले पहिलो दिन रु दुई करोडको हाराहारीमा व्यापार गरेको जानकारी दिनुभयो ।

    “नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ । त्यसैले त्यस्ता चलचित्र दसैँको समयमा प्रदर्शन गर्नु उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो ।

    ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको सङ्ख्या घट्ने अनुमान गरिएको थियो । तर अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताउनुभयो ।

    “नेपालको मौलिक विषयमा चलचित्र निर्माण गर्नसके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ । किनकि व्यापारमा रेकर्ड बनाउन सफल चलचित्रमा मौलिकता पाइन्छ”, कार्यकारी निर्माता बानियाँले भन्नुभयो । उहाँले नेपाली चलचित्रहरू विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताउनुभयो ।

  • यसरी मनाए कलाकारले दसैँ

    यसरी मनाए कलाकारले दसैँ

    काठमाडौँ, ८ कात्तिक
    विजयादशमी कलाकारले धुमधामले मनाएका छन् । अभिभावकबाट बडादसैँको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन् ।

    हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैँलाई लिएको बताउनुभयो । दसैँलगत्तै ‘महाजात्रा’ को छायाङ्कनमा जानुपर्ने भएकाले पनि दसैँलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उहाँले जानकारी दिनुभयो ।

    यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाउनुभएकोे छ । सपरिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उहाँले दसैँलगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताउनुभयो ।

    यो दसैँ अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्वको भएको छ । उहाँले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैँ परिवारसँग बसेर मनाइरहेको बताउनुभयो ।

    अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ । अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सन्जोग कोइरालासँग सिन्धुली पुगेर टीका ग्रहण गर्नुभएको छ ।

    यस्तै आमाबाट टीका र जमरा ग्रहण गर्नुभएका हास्य कलाकार शिवशङ्कर रिजालले भन्नुभयो, “तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ ।”

    यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गर्नुभएको छ ।

    अभिनेता खगेन्द्र लामिछानेले आफूद्वारा निर्मित तथा लिखित चलचित्र ‘पशुपति प्रसाद–२ ः भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौँ उपत्यकाको विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिनुभयो । “यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि दर्शकसँग साक्षात्कार गर्दै दसैँ मनाईरहेको छु”, उहाँले भन्नुभयो ।

    दसैँलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारले जानकारी गराए ।