Category: कला

  • वरिष्ठ कलाकार सुनिल थापाको निधन

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    काठमाडौँ माघ २४
    वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

    हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

    शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

  • शान्ति श्री परियार र गोपाल सापकोटाको  “काली गङ्गा सलल” गीत सार्वजनिक

    शान्ति श्री परियार र गोपाल सापकोटाको  “काली गङ्गा सलल” गीत सार्वजनिक

    भरतपुर । लोकप्रिय कलाकार शान्ति श्री परियार र गोपाल सापकोटाको आवाजमा रहेको नेपाली लोकदोहोरी गीत “काली गङ्गा सलल” सार्वजनिक भएको छ ।

    उक्त गीत सङ्गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    प्रेम रसमा आधारित यस गीतमा सङ्गीत गोपाल सापकोटाले गरेका छन् भने शब्द अमृत गौतमले लेखेका हुन् । गीता ढुङ्गाना, सुरेश कोली, सम्पदा अम्गाई, अमृत गौतम र प्रवीन सुवेदीको नृत्य तथा अभिनय  रहेको यस गीतलाई छायाँङ्कन रजेश घिमिरेले र निर्देशन स्मृति तिमिल्सिना “गुरुआमा” ले गरेका हुन् ।

    गायक सापकोटाका एक दर्जन  हाराहारीमा गीतहरू बजारमा आएका छन् । जस मध्ये यस भन्दा आगाडि बजारमा आएका तोरी पेले तेल, गोजी रित्तै छ, हजार जुनी जुनी, रैछेउ रनैपनि, तिम्रो याद आउँदा लगायतका गीतहरू लोकप्रिय बनेका छन् ।

  • स्वरसम्राट् नारायणगोपालकाे ३५ औँ स्मृति दिवस आज

    स्वरसम्राट् नारायणगोपालकाे ३५ औँ स्मृति दिवस आज

    काठमाडौँ १९ मङ्सिर
    प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।

    उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट नारायणगोपाल सम्मानित भएका थिए ।

    ‘लौ सुन म भन्छु, मेरो रामकहानी’ ‘पर्खी बसेँ आउला भनीँ’ ‘तिम्रो जस्तो मुटु मेरो पनि’ ‘ए ! कान्छा ठट्टैमा, स्वर्गकी रानी,‘ बिछोडको पीडा, जाग, लम्क, चम्क’ ‘गल्ती हजार हुन्छन्…’, ‘अल्झेछ क्यारे पछ्यौरी…’, ‘ईश्वर तैँले रचेर फेरि’ उनले स्वर र सङ्गीत दिएका गीत जनजिब्रोमा झुन्डिएका छन् ।

    मूर्धन्य कलाकार नारायणगोपलको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल सङ्गीत कोषले आज विविध कार्यक्रम गरेर उनको स्मरण गर्दैछ ।

     

  • जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    चितवन, १४ मङ्सिर :
    चितवनका दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र ‘बिगुल’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टरसँगै प्रदर्शन मिति पनि घोषणा भएको छ । रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्र बिगुल माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

    आज सार्वजनिक भएको चलचित्रको तीन पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा देखिएकी छन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा बेनीशा,अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशीत मुद्रामा छन भने तेस्रोमा ‘बिगुल’ का सबै प्रमुख कलाकार समेटिएका छन् ।

    चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ । जेन्जी पुस्ताले आन्दोलनमा उठाएका मागसँग मेल खाने बिषय समेटेर आफूले पहिले नै चलचित्रको कथा लेखेको निर्माता तथा लेखक दिनेश कोइरालाको भनाइ छ । पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ ।

    बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको उनले बताए । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको उनको भनाइ छ । चलचित्रले आम नेपालीको समृद्ध र बिकसीत नयाँ नेपालको चाहनालाई सम्बोधन गरेकोले हरेक नेपालीलाई यो चलचित्र हेर्नु उनले आह्वान गरेका छन् ।

    निर्देशक कोइरालाले पारिवारिक,सामाजीक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास ‘बिगुल’ मार्फत पर्दामा देखाउन खोजेको बताए । फिल्मले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ ।

    म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशाका साथमा नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

    प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्वाद,शिब ढकालको छायाङकन रहेको चलचित्रमा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत,तारा थापा किम्भेको सम्पादन रहेको छ । सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको चलचित्रलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र मोफसलको श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।

  • ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र

    ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र

    काठमाडौँ, कात्तिक २९-
    लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।”

    उहाँले चलचित्रले मङ्गलबारसम्म रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताउनुभयो । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिनुभयो ।

    “हामी गाईघाटबाट भ्रमण सुरु गर्दैछौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिनेछौँ, उहाँहरुको मायाले हामी मात्र नभइ नयाँ निर्मातालाई पनि हौसला मिलेको छ”, निर्माता पौडेलले भन्नुभयो ।

    उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत हुनुहुन्छ । यो चलचित्रले एकै दिन रु तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ । यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले रु २३ करोड ५० लाखको व्यापार गरेको बताइएको छ । रासस

     

  • गण्डकी प्रदेश महोत्सवमा आज रचना रिमाल आउने

    गण्डकी प्रदेश महोत्सवमा आज रचना रिमाल आउने

    गैँडाकोट, २९ कात्तिक
    नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवमा आज बिहीबार कलाकार रचना रिमाल आउने भएकी छिन् । महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालकाअनुसार आज दिउँसो ४ बजेपछि कलाकार रिमालले महोत्सवमा गीत गाउने छिन् ।

    रिमालले करिब एक घण्टा आफ्ना चर्चित गीतहरुबाट महोत्सवमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिने लम्सालको भनाइ छ । आज रिमालसँगै कलाकार दीपक खड्का, सृष्टि पौडेललगायतको प्रस्तुती रहने लम्सालले बताए ।

    महोत्सवमा दैनिकरुपमा स्थानीय कलाकाहरुसहित रत्ननगर कला केन्द्रका कलाकारहरुको प्रस्तुती रहेको छ । महोत्सवमा मुख्य आकर्षणको रुपमा अन्डरवाटर फिस टनेल रहेको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचले जानकारी दिनुभयो । नेपालमा नै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा राखिएको भट्टचनले बताउनुभयो ।

    यससँगै महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् । सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।

     

     

     

     

  • चितवनका हलमा आमाको सङ्घर्षपूर्ण कथामा बनेको फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’ लाग्ने

    चितवनका हलमा आमाको सङ्घर्षपूर्ण कथामा बनेको फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’ लाग्ने

    चितवन, २५ कात्तिक
    चितवनमा आमाको सङ्घर्षपूर्ण कथामा बनेको नेपाली फिल्म ‘मीरा : स्याडो अफ अ रेन्बो’ लाग्ने भएको छ । मङ्सिर ६ गते भरतपुरको जलमा हलमा फ्लिम प्रदर्शन गर्न लागिएको हो ।

    अनिता पण्डितले निर्देशन गरेको उक्त चलचित्रमा बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) र एक आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ ।

    पण्डितको समेत मुख्य भूमिका रहेको फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको अभिनय देख्न सकिन्छ । फिल्म आश्वि फिल्मसले निर्माण गरेको हो ।

  • छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

    छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा

    पर्सा, कात्तिक २१-
    छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाउनुभएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहनुभएकी ७२ वर्षीया गायिका सिन्हाको मङ्गलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उहाँले गाउनुभएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा,भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् । वीरगञ्जका कलासाहित्य क्षेत्रमा अनुरागीहरुले पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकगायिका सिन्हालाई भोजपुरी गीतका उज्जवल नक्षेत्रको रुपमा स्मरण गर्नुभयो ।

    “सिन्हाले लोकआस्थाका रुपमा मनाइने पर्व छठको गीतलाई आफ्नो सुुमुधुर आवाजमार्फत जनस्तरमा पु¥याउनुभएको छ । उहाँले गाउनुभएका छठका गीत अहिले पनि वीरगञ्जका विभिन्न छठ घाटहरुमा गुञ्जिरहेका छन्”, उहाँले भन्नुभयो, “लोकगायिका सिन्हाले भोजपुरीसँगै चर्चित हिन्दी गीतहरु पनि गाउनुभएको छ ।”

    प्रतिष्ठानका पूर्वसचिव उपाध्यायले लोकगायिका सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले अपूरणीय क्षति बेहोरेको बताउनुभयो । “सिन्हा जस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “गीत, साहित्य, सङ्गीतले भूगोल र सीमालाई हेर्दैन । साहित्य, कला र सङ्गीत विश्वसँग जोडिएका विषय भएकाले पनि उहाँको निधनले हामी स्तब्ध भएका छौँ ।” पूर्वसचिव उपाध्यायले सिन्हा भोजपुरी कला र गीतप्रति रुचि र लगाव राख्ने अनुरागी भएको स्मारण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

    लोकगायिका सिन्हाको जन्म भारतको विहार राज्यमा भएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य एवं नेपाल भोजपुरी समाजको सहसचिव अजमत अली अन्सारीले भारतीय लोकगायिक सिन्हाको निधनले भोजपूरी गीतले महान श्रष्ठा गुमाएको बताउँदै उहाँलाई स्मरण गर्नुभयो ।

    “भारतीय हिन्दी गीत, सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, त्यस्तै गरी भोजपुरी गीतका क्षेत्रमा शारदा सिन्हालाई चिन्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सिन्हाले छठका गीत गाएर प्रसिद्धि कमाउनुभयो । छठकै समयमा उहाँको निधन भएकाले गीतका अनुरागीहरुलाई मर्माहत बनाएको छ ।” भारतीय लोकगायिका सिन्हाले भारतको लब्धप्रतिष्ठित पद्यश्री र पद्यभुषण अवार्डसमेत प्राप्त गर्नुभएको छ । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । लोकगायिका सिन्हाको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । रासस

  • ‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा

    ‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा

    काठमाडौँ, कात्तिक ९-
    निश्चल बस्नेत र स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओभर द टप (ओटीटी) मा रिलिज भएको छ। यो फिल्म ओटीटी प्लेटफर्म एमएसएस भिडिओमा स्ट्रिमिङ भएको छ।

    एमएसएम भिडिओ गुगल प्ले र प्ले स्टोर एपमा उपलब्ध छ। दर्शकले डाउनलोड गरेर यसलाई प्रयोग गर्न सक्छन्।

    घटस्थापनाका अवसरमा असोज १७ गते रिलिज भएको यस फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। पहिलो साताभर साढे तीन करोड कमाएको थियो। तर, दोस्रो साता तीन स्वदेशीसहित एक विदेशी फिल्म हुँदा पर्याप्त शो पाउन सकेन।

    कम शो पाएपछि निश्चलले सामाजिक सञ्जालमा आफ्नो फिल्ममा अकुपेन्सी हुँदा पनि हिन्दी सिनेमा आएपछि हलवालाले सो घटाएको भन्दै असन्तुष्टि पोखेका थिए। साथै आफूले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका थिए। त्यसपछि उनले फिल्मलाई हलबाट निकाले।

  • ‘१२ गाउँ’ को एकसाताको कमाइ १० करोड बढी

    ‘१२ गाउँ’ को एकसाताको कमाइ १० करोड बढी

    चितवन,कात्तिक २-
    विराज भट्टको फिल्मले ‘१२ गाउँ’ पहिलोसाता आक्रामक व्यापार गरेको छ। विराजका छोरा समीर भट्टको डेब्यु फिल्मले एकसातामा १० करोड ५ लाख कमाइ गरेको हो।

    फिल्मका वितरक गोविन्द्र शाहीले फिल्मले एकसातामा १० करोडको व्यापार गरेको जानकारी दिए।

    ‘फिल्मलाई दर्शकहरुले निकै मन पराएका छन्। एकसातामा फिल्मले १० करोड ५ लाख ग्रस कलेक्सन गरिसकेको छ। हिजो पनि नेपालभरि हाउसफुल थिए। आज नी बिहानैदेखिकै शोहरुमा शतप्रतिशत अकुपेन्ची छ,’उनले भने।