चितवनको लंकुमा जारी प्राणप्रतिष्ठा महोत्सवमा भक्तजनहरूको भिड बढ्दै

माधव सापकोटा
फागुन ५, चितवन

चितवनको भरतपुर–४, धर्मचोक,लंकुमा फागुन २ देखि जारी श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८०को मध्यभाग चलिरहँदा भक्तजनहरूको उपस्थितिमा वृद्धि हुँदै गइरहेको छ।भोलिदेखि भगवान्का विग्रहहरूको प्राणप्रतिष्ठात्मक विशेष कार्यक्रमको सुरुवात हुने भएकाले भिड अझै बढ्न सक्ने प्रचार – प्रसार संयोजक ठाकुरप्रसाद कंडेलले बताउनुभयो।
महायज्ञमा अहिलेसम्म झन्डै ४० लाख रकम संकलन भएको मूल समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले जानकारी दिनुभयो।

महायज्ञका कार्यक्रमअन्तर्गतको लक्ष्मीनारायण पुष्पयाग कार्यक्रमप्रति भक्तजनहरूको विशेष आकर्षण बढिरहेको छ।महायज्ञका प्रधान अङ्गमध्येको यो यज्ञ दैनिकरूपमा बिहान ८:३० देखि १०:३० सम्म चल्ने र आफैं बसेर आफ्नै हातले अरिष्ट निवृत्ति, ग्रहशान्ति ,मनोकामना प्राप्ति र भगवत्प्रीतिका लागि गरिने यस आराधनामा भगवान्का सहस्र नामावलिले विविध फूल, तुलसी, बेलपत्र , दूबो आदिद्वारा अर्चना हुने र यसका लागि धूप, बत्ती, फूल, तुलसी आदि पूजासामग्रीहरूको व्यवस्था यज्ञस्थलमा उपलब्ध हुने मूल समितिका सचिव डा. गोपीनाथ कंडेलले जानकारी दिनुभयो।

महायज्ञमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायणका कार्यक्रमहरू चलिरहेका छन् ।

रंग मन्दिर वृन्दावनका पीठाधीश्वर गोवर्धन रंगाचार्य ‘बालक स्वामीको प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्वमा चलिरहेको महोत्सवमा डा. चक्रपाणि आचार्यले श्रीमद्भागवत प्रवचन गरिरहनुभएको छ।

महायज्ञ फागुन १० गतेसम्म चल्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *