जाजरकोट भूकम्प : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

जाजरकोट मङ्सिर १२
कात्तिक १७ गते राति रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण चिसोले बिरामी पर्न थालेका छन् ।
अहिले यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको भीड नै लागेको छ । जिल्लास्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्यांकनुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसंख्या प्रभावित भएका थिए । ४२ जनाको मृत्यु भएको थियो भने ५५५ जना घाइते भएका थिए । पाँच वर्षमुनिका चार हजार ११५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ६७४ गर्भवती, २८२ सुत्केरी, दुई हजार ८३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र ४०८ अपांगता भएका व्यक्तिसहित नौ हजार ३८० जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

कुशे गाउँपालिकामा २५ हजार ८१५ जनसंख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । पाँच वर्षमुनिका दुई हजार ९४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ५१५ जना गर्भवती, २३० सुत्केरी, ९२० ज्येष्ठ नागरिक, २७७ दीर्घरोगी र ८८ अपांगता भएका व्यक्तिसहित चार हजार ९७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार ३५२ जनसंख्या प्रभावित भएका थिए । एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।

पाँच वर्षमुनिका ३७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ८६ गर्भवती, ६६ सुत्केरी, २०४ ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपांगता भएकासहित ७४३ जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ ।

नलगाड नगरपालिकामा २९ हजार २०९ जनसंख्या प्रभावित भएका थिए । ५२ जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए । पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए । ३३१ गर्भवती, ३७४ सुत्केरी, एक हजार ४८३ ज्येष्ठ नागरिक, २३४ दीर्घरोगी र २५० अपांगता भएका व्यक्तिसहित तीन हजार हजार ९४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन् । एक स्वास्थ्य संस्था पूर्णरूपमा र पाँचवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

बारेकोट गाउँपालिकामा १९ हजार ६७६ जनसंख्या प्रभावित भएका थिए भने दशजना घाइते भएका थिए । पाँच वर्षमुनिका एक हजार ४९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने १८१ गर्भवती, ७५ सुत्केरी, ४३९ ज्येष्ठ नागरिक, २२३ दीर्घरोगी र ४५ अपांगता भएका व्यक्तिसहित दुई हजार ४१७ जना भूकम्पको प्रभावबाट जोखिममा छन् ।

पूर्णरूपमा एक र आंशिकरूपमा चार स्वास्थ्य संस्था भत्किएका छन् । भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार ८४३ जना प्रभावित भएका थिए । दुई जना घाइते भएका थिए । पाँच वर्षमुनिका ४६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९ गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगतासहित ४४६ जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । दुईवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ ।

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा एक हजार ९५० जनसंख्या प्रभावित भएका थिए । पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपांगतासहित २८३ जनसंख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । १५ वटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएका छन् ।

भूकम्पबाट एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसंख्या २२ हजार २०६ रहेको छ । पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् । त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार ८३२ दीर्घरोगी, ८५० जना अपांगता भएका व्यक्ति पनि समस्यमा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।

विवरण अझै संकलन हुँदै

मंसिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन । पालिकाले भने मंसिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्यांक संकलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन् ।

पटक–पटक बदलिने कार्यविधिका कारण पनि तथ्यांक संकलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन् । अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए । रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *