चितवनको माडीमा नेपालकै अग्लो चक्रशिला स्थापना

चितवन मङ्सिर १०
चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।

बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताए ।

उक्त शिला मङ्सिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताए । उनले पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको बताए ।

शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा थप टेवा पुग्ने स्थानीय पुजारी केदारनाथ सापकोटाले बताए । उनका अनुसार कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उहाँले चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढेको बताए ।
स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशिला स्थापना गरिएको बताए । उनले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमशः अन्य संरचना निर्माण हुने जानकारी दिए । उनले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्ने बताए । माडीमा एक दर्जन बढी धार्मिक क्षेत्र रहेका छन् । पछिल्लो समय माडीमा राम मन्दिरसमेत स्थापना भएपछि धार्मिक पर्यटक बढेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *