गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

– हिरालाल आचार्य ‘चितवन’
चितवन, भदौ ४
चितवनको टिकौली जंगलमा गत साउन ३१ गते ठूलो दुर्घटना गराएको अक्सफोर्ड कलेज गैंडाकोटका चालकले गाँजा खाएर बस चलाएको पाइएको छ ।

चालकमाथि गरिएको मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँचका क्रममा चालकले गाँजा खाएको पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् सूचना अधिकारी विजयराज पण्डितका अनुसार चालकको रगत परीक्षण गर्दा गाँजामा पाइने तत्व भेटिएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा उक्त परीक्षण गर्दा गाँजा खाएको पुष्टि भएको हो ।

चालक नवलपुरको गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियार (भरत) रहेका छन् ।

गत साउन ३१ गते दिउँसो पूर्व–पश्चिम राजमार्गको  टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले शव बोकेको बोलेरो र ६ वटा मोटरसाइकललाई ठक्कर दिएको थियो । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको गैँडाकोटको अक्सफोर्ड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । साथै अन्य ६ वटा दुईपाङ्ग्रे सवारी साधन पनि त्यही दुर्घटनमा परेका थिए ।

दुर्घटनामा २० जना घाइते भएकोमा केहीको अझै उपचार जारी छ । घटनाको प्रकृति हेर्दा निकै खतरनाक रहेको थियो । प्रहरीले तीव्र गतिका कारण बसले नियन्त्रण गुमाई दुर्घटना गराएको जनाएको छ । घाइते सबैको अक्सफोर्ड कलेजले नै उपचार गर्ने भनी जिम्मा लिइसकेको छ ।

उनीहरुको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भएको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोमा क्रमशः स्वास्थ्य सुधार हुँदै आएको प्रहरीले जनाएको छ । दुर्घटनाका कारण दाहसंस्कारमा सहभागिता जनाउने र क्रिया बस्नुपर्नेहरु नै अस्पतालमा भर्ना हुनुपरेको हो ।

अहिले चालकले गाँजा खाएर सवारी चलाएको कुरा प्रशारण गर्ने विभिन्न सञ्चारमाध्यमहरुमा अक्सफोर्ड कलेजले गुण्डागर्दी पारामा धम्काउने काम गरिरहेको छ । चितवन पोष्ट दैनिक, नारायणी अनलाइनको समाचार कक्षमै पुगि अक्सफोर्ड कलेजबाट खटिएका ८/१० जना युवाहरु मिलेर धम्काएका हुन् । यसको विरोधमा ती सञ्चार गृहहरुले विज्ञप्ति निकालेर विरोध गरिसकेका छन् ।

( चितवन आज मिडिया हाउस प्रालि कलेजको यस्तो कदमप्रति खेद प्रकट गर्दै कसैका डर र धम्कीका अगाडि कायर नबन्ने स्पष्ट पार्न चाहन्छ । )

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *