काठमाडौँ, १२ असार
जिल्ला निर्वाचन कार्यालयलाई यथावत राख्ने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिबद्धतापछि प्रतिनिधिसभाको बैठक सुचारु भएको छ ।
मंगलवार बसेको दोस्रो बैठकको शुरूमै अर्थमन्त्री महतले जवाफ दिएपछि बैठक सुचारु भएको हो । त्यसअघि मंगलवारको पहिलो बैठकमा नेकपा एमाले र रास्वपाले विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।
जवाफका क्रममा मन्त्री महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व समाप्त पार्ने सरकारको कुनै नियत नरहेको स्पष्ट गरे ।
‘निर्वाचन आयोगको सन्दर्भमा कार्यालय खारेजी भनेका थिएनौं, शब्द त्यस्तो पर्न गयो । तत्कालको अवस्थामा जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासनमा इकाइ रहने भन्ने थियो,’ महतले भने, ‘जिल्ला निर्वाचन कार्यालय अहिले जसरी रहेको छ, त्यसरी नै रहने छ । अझ सबल बनाउन के प्रबन्ध गर्नुपर्छ र स्वतन्त्र अस्तित्वका लागि के गर्नुपर्छ, गर्छौं । खारेजी हुँदैन, जसरी निर्वाचन आयोगले राख्न चाहन्छ, त्यसरी नै रहने छन् । निर्वाचन आयोगको स्वतन्त्रतालाई अन्तिम समयसम्म कम्परमाइज हुन दिँदैनौं ।’
महतको जवाफपछि सांसदहरूले अन्य विषयमा बोलिरहेका छन् ।

Leave a Reply