एक महिनामा २६ हजारले चढे मौलाकाली केबलकार

चितवन,असार २

जेठ महिनाको अबधिमा २६ हजारले मौलाकालिका केबलकार चढेका छन् । जेठ महिनामा २६ हजारले केबलकार चढेर मौलाकालीका मन्दिरको दर्शन गरेका हुन् ।

केबलकार चढेर दैनिक ८०० जना मन्दिरको दर्शन गर्न जाने गरेको मौलाकाली केबलकार प्रा.लि.का म्यानेजर सुरज पौडेलले जानकारी दिए ।

फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ । केबलकारमा दुइतर्फी मूल्य (आउन र जान) रु ५५० कायम गरिएको छ ।

केबलकारले ३ देखि ४ फिटसम्मका बच्चाबच्चीहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ ज्येष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको लागि रु २७५ को टिकट दर रहेको छ ।

बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो । केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १४ डब्बा छन् । एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ ।

नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सुरु गरिएको मौलाकाली केबलकारमा दैनिक जस्तो दर्शनार्थीहरुको उपस्थिति बढ्दो क्रममा रहेको उनले बताए । विहान ६ बजेदेखि सञ्चालन हुँदै आएको मौलाकाली केबलकारले साँझ ६ बजेसम्म सेवा दिदै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *