गैँडाकोटका विद्यालय बिहान खोल्न निर्देशन

नवलपुर जेठ २६
तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

नगर शिक्षा अधिकारी डा बालकृष्ण चापागाईंले गर्मीका कारण बन्द भएका विद्यालय बिहानी सत्रमा खोल्न सार्वजनिक सूचना जारी गरेको हो ।

“बर्खे बिदामा मिलान हुने गरी जेठ २१ देखि जेठ २६ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गरिएको थियो”, उनले भने, “जेठ २८ गतेदेखि विकल्प खोज्दै बिहानी सत्रमा विद्यालय खोल्न नगरकार्यपालिकाबाट निर्देशन आएकाले सोहीअनुसार गर्न सूचना जारी गरिएको हो ।”

विद्यालयको भौतिक अवस्था हेरी दिवा सत्र वा बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन भएको उनले जानकारी दिए । दिवा सत्रको कक्षा सञ्चालन समय नियमानुसार तथा बिहानी सत्रको कक्षा सञ्चालनको समय विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गर्न चापागाईंले आग्रह गरे ।

आइतबारदेखि बिहानी सत्रमा सञ्चालन गर्ने विद्यालयले पनि गर्मी कम भएपछि दिवा सत्रमा कक्षा सञ्चालन गर्नेगरी पठनपाठन गराउन उनले आग्रह गरेका थिए । जेठ २५ गते नवलपुरमा नेपालकै सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो ।

जिल्लाको दुम्कौलीमा बुधबार ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । देवचुली नगरपालिकामा पर्ने दुम्कौली गैँडाकोट नगरपालिकासँगै जोडिएको छ । रासस

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *