चितवन महोत्सव भोलि समापन गरिने

चितवन, ३ माघ –
नारायणगढको नारायणी नदी किनारमा सञ्चालन भइरहेको १४औँ संस्करणको चितवनको महोत्सवको भोलि बिहीबार समापन गरिने भएको छ ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठकाअनुसार बिहीबार दिउँसो २ः३० बजे महोत्सवको समापन गरिँदैछ । विसं २०५३ सालदेखि हरेक दुई वर्षमा चितवन महोत्सव आयोजना हुँदै आएको छ । चितवन महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

पुस २५ देखि सुरु भएको यस संस्करणको महोत्सवमा मेड इन नेपाल, रेष्टुराँ, इलेक्ट्रोनिक उत्पादनसँगै सातवटा विशेष डोमसहित ४५० वटा स्टल राखिएको थियो । महोत्सवको चौबीसै घण्टा सिसि टिभी क्यामेराबाट निगरानी गरिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सबै स्टलको बीमा गरिएको जानकारी दिनुभयो । यसपटकको महोत्सवमा तोरी र महको उत्पादनलाई प्रवद्र्धन गर्ने परिसरमा मौरीको मस्कटसहितको तोरी बारी राखिएको भन्दै अध्यक्ष श्रेष्ठले तोरीको उत्पादन र मह सम्बन्धी गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

महोत्सव प्रवद्र्धन समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका द्वितीय उपाध्यक्ष राजेन्द्र ओलीले महोत्सव अवधिभर खेल पर्यटन सम्बन्धी सेमिनार, साहित्यिक गोष्ठी, कृषि गोष्ठी, सांस्कृतिक कार्यक्रम, विभिन्न प्रतियोगितात्मक खेलकुद आयोजना गरिएको बताउनुभयो । ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क महोत्सव प्रवेशको व्यवस्था गरिएको उल्लेख गर्दै ओलीले सर्वसाधारणका लागि ६० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको बताउनुभयो । १० दिनसम्म सञ्चालन हुने महोत्सवको पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *