चितवन प्रहरीले गर्‍यो राप्तीको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिम खेती नष्ट

चितवन, पुस २१
चितवन राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिम चितवन प्रहरीले नष्ट गरेको छ।

राप्तीको वडा नम्बर ११ र १२ मा व्यावसायिक रूपमा खेती गरिएको गाँजा र अफिम नष्ट गरिएको हो।

डिएसपी नरहरि अधिकारीको नेतृत्वमा रहेको प्रहरी टोलीले मंगलबार र बुधबार गाँजा नष्ट गरेको हो।

विभिन्न स्थानमा लागूऔषध गाँजा र अफिम खेती गरिएको सूचना प्राप्त भएपछि जिल्लाबाट प्रहरी टोली पहाडी गाउँमा पुगेको डिएसपी अधिकारीले बताए।

राप्ती-११ स्थित थाकलटार, बराइनटार, डिहीटार, रेवतीखोला, वडा नम्बर १२ स्थित तिरुवा, बड्याल पोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा २० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा र ७ कट्ठा क्षेत्रफलमा लगाइएको अफिम फडानी गरी नष्ट गरिएको अधिकारीले बताए।

दुई वर्षअघि पनि प्रहरीले राप्तीका विभिन्न क्षेत्रमा पुगेर गाँजा नष्ट गरेको थियो।

‘नेपालको कानुनले गाँजा खेती गर्नुलाई अवैध मान्छ। जिल्लाको पहाडी भेगमा गाँजा खेती गर्नेक्रम बढ्दै गएको सूचना पाएपछि ४० जनाको प्रहरी टोली खटेको थियो,’ डिएसपी अधिकारीले भने, ‘गाँजा लगायतका लागूऔषधको दुर्व्यसनीमा युवाहरू फस्नेक्रम बढिरहेको छ। यसलाई निरूत्साहित गर्न पनि अवैध खेती नियन्त्रण गर्नुपरेको हो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *