मृतकको सुनको ब्रास्लेट चोरी गर्ने भरतपुर अस्पतालका गार्ड कृष्ण राई पक्राउ

चितवन, पुस २१–

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिले हातमा लगाएको सुनको ब्रासलेट चोरी गर्ने सुरक्षागार्ड पक्राउ परेका छन् ।

उनले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिको हातबाट ब्रासलेट चोरी गरेर भागेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने भरतपुर–२९ केराबारीमा पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँ भानु नगरपालिका–२ घर भई भरतपुर–१ बस्ने बर्ष ३७ को सञ्जिव बहादुर रायमाझीको मृत्यु भएको थियो । रायमाझीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

मृतकको लास अस्पतालकै आकस्मिक कक्ष नजिक रहेको पुनरुत्थान कोठामा राखिएकोमा अस्पतालका गार्ड राईले मृतकले हातमा लगाएको सुनको ब्रासलेट चोरी गरेका थिए । चोरीको घटनाको अनुसन्धानका क्रममा राईलाई पक्राउ गरी चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान गर्ने काम भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *