भारतीय नागरिकलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

सिरहा, १० साउनः 

जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो ।

आज दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बिआर ३२ एम ७३३८ नं को मोटरसाइकललाई जाँचका लागि रोकेको समयमा चालकले मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरेको थियो । गोली प्रहारपछि मोटरसाइकल नियन्त्रणमा लिई चालक पासवानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो ।

पक्राउ परेका पासवानको साथबाट प्रहरीले ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *