Blog

  • मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात

    मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात

    मुस्ताङ, २० माघः
    यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएको हो । मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिनुभयो । मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।

    यसअघि जारी सिजनको पहिलो हिमपात कात्तिक १० गते सुरु भएको थियो ।

    योसँगै जारी सिजनमा चौथो पटक हिमपात भएको समितिका सहव्यवस्थापक काफ्ले उल्लेख गर्नुभयो । यसअघि गएको मङ्गलबार राति मुस्ताङको मुक्तिक्षेत्र र कागबेनीदेखि माथिल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । गएको मङ्गलबार राति मुस्ताङको उच्चलेकमा पनि आंशिक हिमपात भएको थियो ।

    यहाँको मुक्तिनाथ क्षेत्रमा हिमपात भएसँगै त्यस आसपासका डाँडाकाँढा र रानीपौवा बजार पूरै हिमपातले सेताम्मे भइसकेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिनुभयो । केही घण्टा अगाडिदेखि निरन्तर हिउँ परिरहेको र रातभरि परेमा मुक्तिनाथ क्षेत्रका सबै बस्ती हिउँले ढाकिने पर्यटन व्यवसायी सुरज गुरुङको भनाइ छ ।

    मुक्तिनाथमा चौथौँ पटक हिमपात भएसँगै मुक्तिनाथ मन्दिर हिउँले ढाँकिएको छ ।

    मन्दिर परिसर, कुण्ड, १०८ धारा र अन्यस्थानमा हिउँ थुप्रिन थालेको छ । मुक्तिनाथमा रातभर हिउँ परेमा दुई फिट बढी हिउँ पर्ने अनुमान छ । मुक्तिनाथमा हिउँ पर्न थालेपछि मुक्तिनाथ पुगेका दर्शनार्थीहरू हिउँले समस्या पार्ने देखिएपछि हतारहतार जोमसोम झर्न थालेका छन् ।

  • मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

    मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

    नवलपरासी २० माघः
    नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।”

    कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताउनुभयो । अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले नै प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा जुट्न उहाँले आग्रह गर्नुभयो । समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देश नयाँ दिशातर्फ अगाडि बढ्नेमा आफू विश्वस्त रहेको   प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

    “शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छाँै, निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ”, उहाँले भन्नुभयो ।

    विशेष परिस्थितमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती आइपरे पनि समाधान गरेर निर्वाचन गराइने प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

  • महोत्तरीको उखु खेतमा आगलागी

    महोत्तरीको उखु खेतमा आगलागी

    २० माघ, महोत्तरी ।
    महोत्तरीको उखु खेतमा आगलागी भएको छ । औरही नगरपालिका–१ मा ६ बिघा बढी खेतको उखुमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    स्थानीय १० जनाको गरी कूल ६ बिघा ७ कठ्ठा खेतको उखु पूर्ण रूपमा जलेको एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज गौशालाका जेटिए अमिरी महतोले जानकारी दिए ।

    रामवृक्ष राय, नगिनादेवी यादव, रासदेवी यादव, हरिनारायण यादवलगायतको उखु खेतमा आगलागी भएको हो ।

    उनका अनुसार, आगलागीबाट करिब १४ लाख बराबरको उखुमा क्षति भएको हो । ‘आगलागी भएको उखु २४ घण्टाभित्र क्रसिङ गर्न सके दुई प्रतिशत मात्रै कट्टा हुन्छ । त्यसभन्दा ढिलो भए उखुलाई ल्याबमा पठाइन्छ । ल्याबको रिपोर्ट अनुसार कट्टा हुन्छ,’ उनले भने ।

    सम्सी, रामगोपालपुर, जलेश्वर र बर्दिबास नगरपालिकाको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    आगलागी भएको उखु आफूहरू काट्ने तयारीमा रहेको पीडित कृषक हरिनारायण यादवले जानकारी दिए ।

  • अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

    अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

    मध्यविन्दु (नवलपरासी), माघ २०
    प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गर्नु भएको छ ।

    नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी हुने बताउनुभयो ।

    “युवालाई विशेषरूपमा आग्रह र अनुरोध गर्न चाहन्छु की अनुशासनलाई जीवन शैली बनाउनु होस, कर्तव्य पालना र मर्यादालाई जीवन, पढाइ तथा दैनिक सेवामा निरन्तर अभ्यास गरिदिनुहोस, राष्ट्र प्रेमलाई कर्ममा उतार्नुहोस”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “व्यवहारमै इमान्दार, कर्तव्य निष्ठ र जिम्मेवार नागरिकको रूपमा आफूलाई प्रस्तुत गर्नुहोस । राष्ट्रिय एकता सामाजिक सद्भाव मजबुत बनाउनुहोस । विविध भाषा संस्कृति, जात जातिसहितको विविधतालाई सम्मान गर्दै म नेपाली हुँ भन्ने भावनालाई आत्मसात् गर्नुहोस ।”

    राष्ट्रिय सेवा दलमार्फत हरेक वर्ष प्रशिक्षित हुने विद्यार्थीको सङख्या आगामी वर्षदेखि वृद्धि गर्न प्राथमिकता दिइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवालाई कर्तव्य पालना र अनुशासन सिकाउन तालिम फलदायी भएको बताउनुभयो ।

    “एनसीसीले सिकाएको अनुशासन, समय पालन, नेतृत्व क्षमता र राष्ट्रप्रतिको भावना जीवनभर साथ दिने शिक्षा हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

    चालु आर्थिक वर्ष २०८२/८३ मा कुल सात हजार ७१० छात्र/छात्रा सहभागी भएका मध्य सिनियर डिभिजनमा एक हजार ८० र जुनियरतर्फ ६ हजार ६३० जना दीक्षित भएका राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी दिनेश चौलागाईँले बताउनुभयो । चार शिक्षालयमा ७७ जिल्लाका छात्र/छात्रा सहभागी हुने एनसीसी तालिममा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को कावासोती नगरपालिका–१ हात्तिखोरमा रहेको राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयमा ५३० छात्र/छात्रा दीक्षित भएका छन् ।

    एनसीसी तालिमले युवामा राष्ट्र सेवा, विपद् व्यवस्थापन, सामाजिक नेतृत्व, टोलीमा काम गर्ने क्षमता तथा नागरिक सरोकारप्रतिको जिम्मेवारी विकास गर्ने उद्देश्य राखेको छ । मध्य तालिम शिक्षालयले प्रत्येक वर्ष विद्यालय तहका सयौँ विद्यार्थीलाई नियमित तालिम प्रदान गर्दै आएको छ । रासस

  • मुस्ताङमा जनवरीमा पर्यटकको आगमन दोब्बरले वृद्धि

    मुस्ताङमा जनवरीमा पर्यटकको आगमन दोब्बरले वृद्धि

    मुस्ताङ, माघ २० –
    यहाँको प्रतिकूल चिसो याममा समेत पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका वर्षभन्दा यस वर्षको जनवरी पहिलो महिनामै यहाँ पर्यटकीय उभार आएको हो ।

    मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमका अनुसार चालु वर्षको सन् २०२६ को जनवरीमा १० हजार ८२२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । एक्याप प्रमुख राजेश गुप्तका अनुसार यहाँ जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट १० हजार ४५ र अन्य फरेनर विदेशी पर्यटक ७७७ जना मुस्ताङ भित्रिएका हुन् ।

    यसअघि सन् २०२५ को जनवरी पहिलो महिनामा चार हजार ३४६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप जोमसोम कार्यालयको पर्यटकीय तथ्याङ्कमा उल्लेख छ । सन् २०२५ को जनवरीमा भन्दा सन् २०२६ को जनवरीमा छ हजार ४७६ ले वृद्धि भएको एक्याप जोमसोमका कार्यालय प्रमुख गुप्तको भनाइ छ ।

    सन् २०२५ को जनवरी पहिलो महिनामा सार्क राष्ट्रबाट तीन हजार ८३० र अन्य फरेनर विदेशी पर्यटकको सङ्ख्या ५१६ रहेको थियो । एक्यापका अनुसार सन् २०२५ को जनवरीभन्दा सन् २०२६ को जनवरीमा सार्क राष्ट्रतर्फ छ हजार २१५ जना र अन्य राष्ट्रका फरेनर विदेशी पर्यटक २६१ जनाले वृद्धि भएको हो ।

    सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १४२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । विशेषगरी मुक्तिनाथ दर्शनका लागि भारतीय पर्यटकको आगमन सङ्ख्या उल्लेख्य वृद्धि भएको कार्यालय प्रमुख गुप्तले बताउनुभयो । राष्ट्रिय गौरवको बेनी–जोमसाम सडकमार्ग बर्सेनि सहज बन्दै जान थालेकाले विदेशी पर्यटकको सङ्ख्या अप्रत्याशित रुपमा वृद्धि हुँदै जान थालेको प्रमुख गुप्तको भनाइ छ । यहाँ सन् २०२६ मा दुई लाख विदेशी पर्यटक भित्रिने अनुमान रहेको एक्यापको ठम्याइ छ ।

    मुस्ताङमा हिउँदयामको प्रतिकूल मौसमकका बाबजुद पर्यटकको सङ्ख्या वृद्धि हुँदै जान थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएको पाइएको छ । मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले पर्यटकीय अफसिजनको समयमा समेत विदेशी पर्यटकको आगमन बढेकाले यहाँ पर्यटन व्यवसायीहरुलाई आशा जगाएको बताउनुभयो ।

    विगतका वर्षहरुमा पर्यटक अफसिजनका कारण बन्द हुने मुस्ताङका होटल सञ्चालनमा छन् । मुस्ताङमा सडकको विकाससँगै बाह्रै महिना पर्यटकको आगमन भइरहेकाले यहाँ व्यवसायीहरुलाई मौसम प्रतिकूलताले असर नपारेको अध्यक्ष गुरुङले बताउनुभयो ।

    पुस लागेसँगै यहाँको मौसमी तापक्रम माथिल्लो मुस्ताङमा २० डिग्री र तल्लो मुस्ताङमा माइनस १२ सम्म झर्ने गरेको छ । चिसोका कारण यहाँको स्थानीय जनजीवन आंशिक रुपमा प्रभावित रहे पनि पर्यटकको आगमनमा चिसोले बाधा पुगेको छैन । रासस

  • निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छः उपाध्यक्ष गुरुङ

    निर्वाचनमा कतिपय स्थानमा तालमेल हुन पनि सक्छः उपाध्यक्ष गुरुङ

    काठमाडौँ, माघ २० –
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरु आम रुपमा एक्लाएक्लै प्रतिस्पर्धामा रहेका तर कतिपय स्थानमा तालमेल हुन पनि सक्ने बताउनुभएको छ । उहाँले देश बनाउने नीति र विचारका आधारमा एमाले पहिलो पार्टी हुने जिकिर गर्नुभयो ।

    प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तालमेलबारे छलफल भएको भन्ने विषयमा पत्रकारहरुले गरेको प्रश्नमा उपाध्यक्ष गुरुङले बाहिर चर्चामा आए जस्तो अहिलेसम्म एमालेले तालमेलबारे कुनै निर्णय नगरेको तर राजनीतिमा छलफल र संवाद तथा सबै सम्भावना हुन सक्ने बताउनुभयो । गत भदौ २३ र २४ गतेको घटनालाई हेर्ने दृष्टिकोण एउटै नभएसम्म नेकपासँग तालमेल नहुने स्पष्ट पार्नुभयो ।

    उपाध्यक्ष गुरुङले निर्वाचनका लागि पार्टीले कार्यमूलक सुधारका विषयलाई समेटेर छरितो घोषणापत्र छिट्टै ल्याउने जानकारी दिनुभयो । रासस

  • खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

    खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ

    झापा, माघ २० –
    भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका–२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् ।

    भारतको कोलकातास्थित जापानिज रेस्टुरेन्टमा विगत दुई वर्षदेखि वेटरका रुपमा कार्यरत उनलाई विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले सोमबार अपराह्न ५ः३५ बजेतिर जाँच गर्दा सुरुवालको दुवै गोजीमा १४४ ग्राम ४०० मिलिग्राम खैरो हिरोइन लुकाएर राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

    हाल उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको र उनको बयानका आधारमा लागूऔषध कारोबारको गिरोहमा संलग्न थप दुई व्यक्तिलाई काठमाडौँमा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

    काठमाडौँस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी गाउँपालिका–६ का ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप जिल्ला दोरम्बा गाउँपालिका–५ का २१ वर्षीय थोर्मस तामाङलाई सोही कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको जनाइएको छ । रासस

  • फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

    फलोअपका लागि अस्पताल जाँदै रवि, चितवन– २ मा घरदैलो गर्ने तयारी

    काठमाडौं,माघ २० ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावी घरदैलोमा जाने तयारी गरेका छन् ।

    खुट्टाको समस्याका कारण केही दिन ढिलो गरी घरदैलो अभियान सुरु गर्न लागेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए ।

    उनका अनुसार, रवि आज फलोअपमा अस्पताल जाँदै छन् ।

    “आज सभापतिज्यू, फलोअपका लागि अस्पताल जाँदै हुनुहन्छ । अस्ति अस्पतालबाट डिस्चार्ज हुने बेलामा केही दिनपछि हिँडडुल गर्न मिल्छ भन्नुभएको थियो । सोहीअनुसार भोलिदेखि नै आफ्नो निर्वाचन
    क्षेत्रमा घरदैलो सुरु गर्ने तयारी गरेका छौँ,” आचार्यले भने ।

    माघ ५ गते पहिलो चुनावी घोषणा सभाका लागि जनकपुरमा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो ।

    औषधि सेवन गर्दा पनि निको नभएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । केही दिन अस्पताल बसाइपछि माघ १५ गते लामिछाने डिस्चार्ज भएका थिए ।

    लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । उनका अनुसार, देशभर रास्वपाका उमेदवारले घरदैलो सुरु गरिसकेका छन् ।

    लामिछाने चितवन क्षेत्र–२ का उमेदवार हुन् । कांग्रेसका तर्फबाट सो क्षेत्रमा मीना खरेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रताप गुरुङ उमेदवार छन् ।

    ०७९ को आम निर्वाचनमा लामिछाने पहिलोपटक सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

    तर, वैधानिकता सकिएको नागरिकता लिएको भन्दै सर्वोच्च अदालतको आदेशपछि उनको सांसद पद खारेज भएको थियो ।

    त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर पुनः नेपाली नागरिकता लिएपछि लामिछाने ०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि विजयी भएका थिए ।

    लामिछाने दुईपटक गृहमन्त्रीसमेत बनिसकेका छन् । उनीमाथि संगठित अपराध, सम्पति शुद्धीकरण र सहकारी ठगीको मुद्दा लागेपछि पदमुक्त बनेका थिए ।

  • मकवानपुरमा खोला किनारमा चितुवा मृत फेला

    मकवानपुरमा खोला किनारमा चितुवा मृत फेला

    बागमती, माघ २० –
    मकवानपुरको थाहा नगरपालिका–९ स्थित महालक्ष्मी खोला किनारमा चितुवा मृतावस्थामा फेला परेको छ ।

    खोला किनारमा स्थानीयले सोमबार साँझ मृत चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै चित्लाङ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मार्गिन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष, पदाधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहवरमा चितुवाको शव गोदामचौरमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिनुभयो ।

    चितुवाको के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

  • चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ३७ गोही प्रकृतिमा छाडियो

    चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ३७ गोही प्रकृतिमा छाडियो

    चितवन,माघ २० –
    चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका १३७ गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । पछिल्लो पटक सोमबार २० गोही छोडिएसँगै यस आर्थिक वर्षमा हालसम्म ती गोही प्राकृतिक बासस्थानमा छाडिएको हो ।

    ती गोही राप्ती नदीमा छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रजनन केन्द्रमा हुर्काइएका गोहीलाई प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ । यस पटक छोडिएका गोहीहरु सबै पोथी रहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार केन्द्रमा हुर्काएर दुई हजार २०७ गोही हालसम्म नदीमा छाडिएको छ । केन्द्रमा नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डा र केन्द्रमा नै रहेका गोहीबाट जन्मिएका बच्चाहरुलाई हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिन्छ ।
    अहिले केन्द्रमा ६३० गोही रहेका छन् । रासस