Blog

  • निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

    निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

    दोधारा चाँदनी (कञ्चनपुर), माघ २०-
    छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा फैलिन नदिन भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ ।

    भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ ।

    “नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ”, जोशीले भन्नुभयो– “हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखिकरण समेत ग राइएको छ ।” उहाँले कोभिड–१९ को समयमा बनाइएका आइसोलेस वार्ड समेत तयारी अवस्थामा राखिएको बताउनुभयो ।

    भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण देखिएकाले यसको जोखिम पश्चिम नेपालभन्दा पूर्वी नेपालका नाकामा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रसिंह रावलले नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताउनुभयो ।

    “नाकाबाट नेपाल भित्रिने क्रममा ज्वरो आएका र संकास्पद व्याक्तिमाथि हेल्थ डेस्कका कर्मचारीले निगरानी राख्दै छन्”, प्रमुख रावलले भन्नुभयो– “सङ्क्रमणको शङ्का भएका व्यक्तिको स्वाव सङ्कलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँछौ ।”

    महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि अव्यवस्था मिलाइएको प्रमुख रावलले बताउनुभयो । निपाह भाइरस चमेरो, सुँगुर र सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको उहाँले बताउनुभयो । रासस

  • जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा

    जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा

    काठमाडौँ , माघ २० –
    जेन–जी आन्दोलनका शहीदको सम्झनामा क्षमायाचना पूजा गरिएको छ ।

    मंगलवार नयाँ बानेश्वर संसद भवन अगाडी क्षमायाचना पूजासहित होम धूप–धूमार आत्मशान्ति सत्याग्रह पुण्य कार्यक्रम गरिएको हो । जेन–जी सुशासन योद्धा परिवारले उक्त कार्यक्रम आयोजना गरेको हो । भदौ २३ गते भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दा संसद भवन अगाडी प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने दर्जनौ घाईते भएका थिए ।

    भदौ २३ गते संसद भवन अगाडी युवाहरुमाथी गोली प्रहार भएपछि भदौ २४ गते संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत देशभरका सार्वजानिक तथा निजी भवनमाथी आगजानी भएको थियो । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ ।

    सुशासनको मुख्य माग राखेर युवाहरुले आन्दोलन गरेपनि आन्दोलनपछि गठित सरकारले उनीहरुको माग सम्बोधन गर्न ठोस कदम भने चाल्न सकेको छैन ।

  • इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

    इच्छाकामनामा केबुलकार गेटअगाडि बसको ठक्करबाट मृत्यु

    चितवन, माघ २० –
    पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

    गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई बिहान ८ः५३ बजे ठक्कर दिएको थियो । घाइते परियारलाई उपचारका लागि भरतपुर लगिएकामा १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    कैलाली लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय चालक सुभाष विश्वकर्मा र बसलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । रासस

  • झापामा बालेनले भने– काठमाडौंका सुकुमवासीको ज्यान जोगाउन डोजर चलाइएको हो

    झापामा बालेनले भने– काठमाडौंका सुकुमवासीको ज्यान जोगाउन डोजर चलाइएको हो

    २० माघ, काठमाडौं ।
    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले झापाका सुकुम्वासीसँग भेटेका छन् । झापा–५ मा उम्मेदवार रहेका बालेनले मंगलबार बिहान झापाको कमल गाउँपालिकामा रहेको बस्ती पुगेर सुकुमवासीसँग भेटघाट गरेका हुन् ।

    बालेन आफ्नो बस्ती पुग्दा स्थानीय सुकुमवासीले काठमाडौंको सुकुमवासी बस्तीमा डोजर चलाएको प्रसंग उठाएका छन् । यस्तै ‘बालेन आएपछि झापामै बसिरहेका सुकुमवासीलाई पनि उठाइदिन्छ’ भन्ने कुरा आफूले सुनेको भन्दै बालेनसमक्ष चिन्ता प्रकट गरेका छन् ।

    जसको जवाफमा बालेनले सुकुमवासीको ज्यान जोगाउन डोजर चलाएको दाबी गरेका छन् । ‘काठमाडौंमा खोला छेउको सार्वजनिक जग्गा हो । उहाँहरू जहाँ बस्नुभएको छ, बाढी आउँदा त्यहाँ डुबान हुन्छ। त्यहाँभन्दा माथिसम्म नै पुग्छ । असारमा बाढी आउँदा उहाँहरूलाई त्यहाँबाट उठाएर अन्यत्र लैजानुपर्छ नि त,’ सुकुमवासी समुदायको जिज्ञासामा बालेनले भनेका छन्,‘त्यसैले उहाँहरूलाई त्यहाँबाट सेफ(सुरक्षित) ठाउँमा राख्नुपर्‍यो भनेर गरेको हो । तर, त्यसको गलत न्यारेटिभ गरेर डोजर जस्तो देखिएको हो । खास त उहाँहरूको ज्यान जोगाउन खोला छेउबाट हटाउन खोजेको हो ।’

    तर झापाका सुकुमवासी वास्तविक रहेको बालेनले बताए । ‘यहाँको त रियल हो नि त । ४०–५० वर्षदेखि बसेको,’ बालेनले अगाडि भनेका छन् ।बालेनसँगै सुकुमवासी बस्तीमा पुगेका उनका सल्लाहकार कुमान व्यञ्जनकार(कुमार वेन)ले २०४८ देखियता २३ वटा आयोग बन्दा पनि सुकुमवासीको समस्या समाधान नभएको बताए ।

    त्यसपछि एक सुकुमवासीले आफ्नो गुनासो सुनाएका थिए । ‘लगत उठाउँदै जान्छन्, कर लैजान्छन् । अस्ती नै पनि आयोगले सबै लगेको छ । तर, अहिलेसम्म केही भएको छैन,’ ती सुकुमवासीले भने ।
    भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती हुने र वास्तविक सुकुमवासीले लालपूर्जा नपाउने समस्या देखिएकाले त्यसो नहोस् भन्ने आफूले चाहेको बालेनले बताए ।

  • केही दिनयता लगातार घटिरहेको सुनको मूल्य आज फेरी बढ्यो

    केही दिनयता लगातार घटिरहेको सुनको मूल्य आज फेरी बढ्यो

    काठमाडौं ,माघ २० –
    नेपाली बजारमा केही दिनयता लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ ।

    मंगलबार सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन (सोमबार) प्रतितोला दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३३५ रुपैयाँ कायम भएको छ ।

    हिजो चाँदी पाँच हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

  • ‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

    ‘जरा उद्यान’ बनाउँदै सामुदायिक वन

    चितवन, माघ २०-
    स्यहाँको सामुदायिक वनले रुखका जराहरूमा विभिन्न किसिमका आकृति कुँदेर ‘जरा उद्यान’ निर्माण सुरु गरेको छ । भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले वनभित्रका जराहरूमा आकृति कुँदेर जरा उद्यान बनाउन लागेको हो ।

    नवज्योति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद तिमिल्सिनाका अनुसार अहिले सुरुआती समयमा चारवटा जरामा आकृति कुँदिएको छ । जसमा शिव, गणेश, गौतमबुद्धको आकृति छन् भने एउटामा विभिन्न किसिमका जनावरको आकृति रहेको छ । हामीले १६ वटा जारामा आकृति दिएर राख्ने योजनासहित काम गरिरहेका छौँ ।

    अन्य जराहरूलाई सफा गरेर रङ लगाएर राख्ने योजना रहेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार जरामा कुर्सी बनाउने, ढिकी, रङ्गटे पिङ, चिप्लेटी, पिर्के पिङलगायत काठका सामान निर्माण गरिनेछ । यस्तै जरामा बाघ, गैँडा, जरायो, चित्तल, विभिन्न किसिमका चराको आकृति निर्माण गरी आकर्षक बनाइनेछ ।

    रुखका जरालाई सदुपयोग गर्दै पर्यापर्यटनसँग जोड्ने काम गर्न लागिएको उहाँले बताउनुभयो । यही सामुदायिक वनभित्र रहेका किङफिसर तालको संरक्षण गर्दै वन, वन्यजन्तु र वातावरणलाई प्रभाव नपार्ने गरी पर्यटनसँग जोड्ने योजनाका साथ काम गरिएको उहाँले जानकारी दिनुभयो । यस वनका उपभोक्तालाई आयआर्जनसँग जोड्न टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बीच काम अघि बढाएका छौँ । ‘स्टोन पार्क’को मोडलमा यसलाई विकास गर्ने योजना छ ।”

    अहिले जरामा आकृति निर्माणका लागि स्थानीय कालिगढहरूले काम गरिरहनुभएको छ । अहिले दैनिक चार जना कालिगढले जरामा विभिन्न किसिमका आकृति बनाउने काम गरिरहनुभएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मनोरञ्जन लिन मिल्नेगरी जरा पार्क निर्माण गर्न लागिएको हो ।

    यहाँका मध्यवर्ती सामुदायिक वनहरूले पार्क निर्माण गरेर आयआर्जनका काम गर्दै आएका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकसमेत यस्ता पार्कमा रमाउने गरेका छन् ।रासस

  • रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

    रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते

    बुटवल,माघ २०-
    रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर जुध्दा २१ जना विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर भएको दुर्घटनामा मणिग्रामको शान्ति नमूना माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थी घाइते भएका हुन् ।

    आज मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये १३ जना युनिभर्सल मेडिकल कलेज भैरहवामा, ४ जना भीम अस्पताल भैरहवामा यपचार गराइरहेका छन् भने ४ जना डिस्चार्ज भएर घर फर्केका छन् । नवलपरासीबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ८६७५ नम्बरको बस र लु३त ३५३० नं को ट्याक्टर रुपन्देहीको ओमसतिया गाउँपालिका(४ बसन्तपुरमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले बताए ।

    बिहानपख बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी सापकोटाले बताए । बस र ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

  • आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान

    आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान

    काठमाडौँ माघ २०
    हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ ।

    देशका तराई भू–भागमा हुस्सु÷कुहिरोको प्रभाव रहने साथै सबै हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले ती भूभागमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनहुन महाशाखाले अनुरोध गरेको छ ।

  • आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

    आज सोमबार कुन राशिका लागि शुभ ? हेर्नुस आजको राशीफल

    आज मिति वि.सं. २०८२ साल माघ २० गते । मंगलबार । ईश्वी सन् २०२६ फेब्रुअरी ३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि– द्वितीया, ४८ घडी ३२ पला, रातको २ बजेर ४ मिनेट उप्रान्त तृतीया । नक्षत्र– मघा, ४२ घडी ४५ पला, बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– शोभन, ५४ घडी ३३ पला, रातको ४ बजेर २९ मिनेट उप्रान्त वणिज अतिगण्ड । करण– तैतिल, दिउँसो २ बजेर २४ मिनेट उप्रान्त गर, रातको २ बजेर ५५ मिनेट उप्रान्त । आनन्दादिमा– काल योग । चन्द्रराशि– सिंह ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५२ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १२ पला ।

    आजको राशिफल

    मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ): बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यतीत हुनेछ ।

    वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो): घर परिवार तथा आफन्तका बीच देखिने तित्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । विलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ । पढाइ लेखाइमा मन जाने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ । राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन पाइनेछ ।

    मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा): आँट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, ब्रोकर सम्बन्धी काम तथा सेयर बजारबाट नाफा कमाउन सकिनेछ ।

    कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो): बोलीको प्रभाव बढ्ने हुनाले काउन्सिलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यापार तथा सेयर बजारमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे): नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन् । समाजसेवामा जनतासँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आत्मविश्वास बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।

    कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो): खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला, काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने योग रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यतीत हुनेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): स्रोत साधन जुट्नाले कार्यक्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरू सम्पादन हुने तथा कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिनेछ । व्यापार व्यवसाय फस्टाउनाले आम्दानी बढ्नेछ । अध्ययनमा सुधार हुने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू): राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार तथा सेयर बजारको लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिए पनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

    धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे): खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति-पत्नी बीच विश्वास बढेर जानेछ । नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । सेयर बजार, खाद्यान्न, निर्माण सामग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

    मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी): कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाइ लेखाइ तपाईंकै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रसङ्गबाट टाढै रहनुहोला, प्रिय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । विधिविधान तथा कानुनसम्मत काम गर्नुहोला, दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।

    कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा): शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, सेयर बजार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यतीत हुनेछ ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची): इष्टमित्र तथा आफन्तका साथ रमाइलो यात्राको अवसर जुर्ने तथा मीठा-मीठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ । अदालती निर्णयहरू तपाईंकै पक्षमा आउने तथा शत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरू किनारा लाग्नेछन् । व्यापार व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउँदै लान सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यतीत हुनेछ ।

    तपाईंको दिन शुभ रहोस् ।

  • बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्छः महामन्त्री पौडेल

    बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्छः महामन्त्री पौडेल

    काठमाडौँ, १९ माघः 
    नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्ने बताउनुभएको छ ।

    काठमाडौँ क्षेत्र नं ५ का मतदातासँग आज आयोजित भेटघाट कार्यक्रममा उहाँले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताउनुभयो । महामन्त्री पौडेलले नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधार गरिएको बताउनुभयो ।

    “नेपाली कांग्रेससँग नागरिकका धेरै गुनासा र अपेक्षा छन्, नागरिकका गुनासा सम्बोधन गर्न कांग्रेसलाई निर्वाचित गराउन आवश्यक छ”, उहाँले भन्नुभयो । आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएका घोषणा पत्र तयार गरिँदै गरेको उहाँको भनाइ थियो । सो घोषणापत्रले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्गचित्र तय गर्ने महामन्त्री पौडेलले बताउनुभयो ।

    “नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौँ, तपाईँहरु सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।