Blog

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

    प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

    काठमाडौँ, २३ माघ :
    पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ भएको निर्वाचन आयोगले जनाएको छ ।

    आयोगको साप्ताहिक पत्रकार सम्मेलनमा आज दिइएको जानकारीअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने जम्मा दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने छ । छपाइ भएको मतपत्रको सात हजार १३४ बाकस प्याकिङ भइसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बू, खोटाङ, धनकुटा, बागलुङ र गुल्मी गरी जम्मा ३२ जिल्लाको छपाइ तथा प्याकिङ्ग सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइ सकिएको आयोगले जनाएको छ ।

    गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीअन्तर्गत डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यका लागि हस्ताक्षर सम्पन्न गरेको छ । आयोगले मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रमसहित प्रत्येक वडास्तरमा स्वयंसेवक खटाउने तयारी गरेको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ जारी छ । अनुगमनमा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरुलाई सक्रिय पारिएको आयोगले जनाएको छ ।

  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट ,कतिमा हुदैँछ कारोबार ?

    सुनचाँदीको मूल्यमा सामान्य गिरावट ,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ, माघ २३ –
    स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ७१० कायम भएको छ ।

    बिहीबार सुनको मूल्य रु दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको थियो । गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो । गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

  • चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

    चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

    सङ्खुुवासभा,माघ २३ –
    चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१ याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियोे । रासस

  • सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

    सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

    काठमाडौँ, माघ २३ –
    राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

    गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

    राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो ।

    बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

    त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

    बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे हुँदैछ ।

    यसैबीच, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुने जानकारी समिति सभापति तुलसाकुमारी दाहालले राससलाई दिनुभयो । रासस

  • कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    आज वि.सं.२०८२ साल माघ २३ गते । शुक्रवार । इस्वी सन् २०२६ फेब्रुअरी ६ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन कृष्णपक्ष । तिथि–पंचमी, ५० घडी ५ पला, रातको २ बजेर ५२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–हस्त, ४८ घडी २१ पला, रातको २ बजेर १० मिनेट उप्रान्त चित्रा ।

    योग– धृती, ४६ घडी ५२ पला, रातको १ बजेर ३५ मिनेट उप्रान्त शूल । करण–कौलव, दिउसो २ बजेर २६ मिनेट उप्रान्त तैतिल, रातको २ बजेर ५२ मिनेट उप्रान्त गर । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कन्या ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४७ मिनेट । दिनमान २७ घडी २३ पला ।

    आजको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यले साथ नदिने हुनाले दौडधुप नगर्नु होला । व्यापारमा भनेजस्तो आम्दानी हुने छैन । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला नहुन सक्छ । माया प्रेममा अविश्वास वा धोका हुनेछ । अध्ययनमा मन नजाँदा वा अल्छी गर्नाले नतिजा अरूले नै हात पार्नेछन् । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । तरपनि राजनीतिक तथा सामाजिक काममा समय व्यातित हुनेछ ।

    वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने नयाँ योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आमा वा आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । आफन्त तथा इस्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूका लागि समय उत्तम रहेको छ । घरयजग्गा तथा सवारी साधनको खरिद बिक्रीबाट नाफा कमाउन सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गन्तव्य विहीन यात्राले समस्या निम्तिन सक्छ । आफन्त तथा दाजुभाइसँग मनमुटाब बढ्नेछ । प्रेममा मनमुटाब सिर्जना हुने हुनाले आफ्नो मानिससँग भेटमा कुरा गर्दा ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । कुनै पनि विवाद तथा अदालती पक्रियामा सामेल नहुनुहोला तपाईँको पक्षमा निर्णय नआउन सक्छ । तरपनि राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सबैको सहयोग पाइने हुँदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ । समय अनुसार विचार सिर्जना गर्न सकिने हुँदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन्। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलासिताका बन्तुहरुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने योग रहेको छ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तरपनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिनेछ । राजनीतिक तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाइने योग रहेको छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सीमित स्रोत साधनको प्रयोग मार्फत असीमित आवस्यक्ता परिपूर्ति गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । दाजुभाइको सहयोगमा भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । माया प्रेममा सामीप्य बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दिनभर श्रम गरे पनि उचित प्रतिफल नपाउँदा मन खिन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त समय लगानी गरे पनि भने जस्तो आम्दानी नहुँदा आर्थिक अवस्था नाजुक हुनेछ । कामको लागि धेरै समय दौडधुप गर्नु पर्नेछ भने दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेको छ । पैतृक सम्पत्तिको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तरपनि काम वा अध्ययनको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खोज तथा अनुसन्धानको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । आफन्त तथा दाजुभाइको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहनेछ । वित्तीय क्षेत्र, हार्डवयेर तथा निर्माण सामाग्रीमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा उत्साहजनक सहभागिता रहनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सङ्कट व्यवस्थापनमा चालिएका कदमहरू निरर्थक हुनेछन् । गोप्य योजनाहरू बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्ने छैनन् । अल्छी गर्ने बानिले काम बाकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्ययता बढेर जानेछ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ । तरपनि यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • चितवनमा अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५देखि २९ गतेसम्मःमुख्य आकर्षक गाई

    चितवनमा अन्तरराष्ट्रिय ‘डेरी एक्स्पो’ माघ २५देखि २९ गतेसम्मःमुख्य आकर्षक गाई

    चितवन, माघ २२ 

    यही माघ २५ गतेदेखि यहाँ हुन लागेको अन्तरराष्ट्रिय डेरी एक्स्पोको मुख्य आकर्षकको रुपमा गाई प्रदर्शनी हुने भएको छ । ‘डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि’ भन्ने मूल नाराका साथ सुरु गर्न लागिएको एक्स्पोमा उन्नत जातको गाई प्रदर्शनी हुन लागेको हो । व्यावसायिक रुपमा राम्रो नश्ल भएको गाई कहाँ पाइन्छ र यसबाट हुने फाइदा के हो भन्ने बारेमा किसानलाई जानकारी दिनका लागि गाई प्रदर्शनी गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।

    चितवनसहित अन्य जिल्लामा पालिएका राम्रो नश्ल भएका गाई ल्याएर प्रदर्शनी गरिनुका साथै ती गाईको बारेमा बुझाइने उहाँले बताउनुभयो । उहाँका अनुसार माघ २९ गतेसम्म चल्ने डेरी एक्स्पोका अन्य आकर्षणमा मानव स्वास्थ्यमा दुग्धजन्य पदार्थको आवश्यकता र महत्व विषयक वक्तृत्वकला प्रतियोगिता, दूध उत्पादनको वर्तमान अवस्था बजारको समस्या र सामाधानका उपायसम्बन्धी अन्तरक्रिया गरिने छ । यसमा पशुपालनमा देखिने रोग र उपचार विधि, दूधको गुणस्तरीय उत्पादन र उत्पादकत्व वृद्धिको लागि प्रविधिको प्रयोग, दुग्ध क्षेत्रको वर्तमान अवस्था र चुनौती तथा नीतिगत व्यवस्था र राज्यसँगको अपेक्षा लगायतका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।

    यस प्रदर्शनीमा नेपाल र भारत गरी १२० दुग्ध उत्पादक र प्रविधि कम्पनी सहभागी हुने आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीमा डेरी उत्पादन, प्रक्रिया र वितरणमा नविनतम प्रविधि र अभ्यासलाई प्रोत्साहित गर्दै साना किसान, उद्योगी र व्यापारीलाई व्यावसायिक सञ्जामा जोड्न टेवा पुग्ने अध्यक्ष बगालेले बताउनुभयो ।

    प्रदर्शनीमा ५० हजार दर्शकले अवलोकन गर्ने र रु पाँचदेखि सात करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । जिल्लामा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर जाने गरेको छ । ११५ दुग्ध उत्पादक सहकारीमा हाल ४० हजार बढी किसान आबद्ध रहेका छन् । रासस

  • चितवन मेडिकल सिटीका रुपमा विकास

    चितवन मेडिकल सिटीका रुपमा विकास

    चितवन, माघ २२-
    कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे । हिजोआज त्यो सङ्ख्या तीन/चार वटामा झरेको छ ।

    भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा एम्बुलेन्सको तथ्याङ्क लिँदा ६० एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएको विवरण सुनाउनुभयो । उहाँका अनुसार त्यसपछिका दिनमा क्रमशः बिरामी जाने क्रम घट्दै आएको छ ।

    उहाँले भन्नुभयो, “अहिले भरतपुरमा सबै खालका रोगको उपचार हुने भएपछि निकै कम मात्र बिरामी बाहिर जान्छन् ।” संयुक्त एम्बुलेन्स चालक सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछाने पहिले पहिले धेरै एम्बुलेन्स चितवनबाट बिरामी बोकेर काठमाडौँ जाने गरेको बताउनुहुन्छ । पछिल्ला दिनमा दैनिक तीन÷चारवटा एम्बुलेन्स मात्रै काठमाडौँ जाने गरेको उहाँले बताउनुभयो । टाउको, मिर्गौला, हार्डजोर्नीका गम्भीर समस्या भएका बिरामी फाट्टफट्ट जाने गरेको उहाँ बताउनुहुन्छ ।

    भरतपुरमा उपचार हुने भए पनि ठूलो अस्पताल खोज्दै र काठमाडौँमा आफन्त तथा घर भएकाहरु जाने गरेको उहाँले बताउनुभयो । यसका अतिरिक्त एक अस्पतालबाट चितवनकै अर्को अस्पतालमा रिफर गर्ने परिपाटी नहुँदा पनि काठमाडौँ बिरामी जाने गरेको उहाँ बताउनुहुन्छ ।

    काठमाडौँ पुगेर सेवा लिँदा हुने झन्झटका कारण पनि स्थानीयस्तरमै सकेसम्म उपचार गर्न धेरैले चाहना गर्ने गरेको लामिछाने बताउनुहुन्छ । जिल्लामा सङ्घीयस्तरको सरकारी भरतपुर अस्पताल, राष्ट्रियस्तरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई वटा ठूला मेडिकल कलेज, बागमती प्रदेशको बकुलहर रत्ननगर अस्पताल, पच्चीसभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल, निजीस्तरको सिएमसी क्यान्सर इन्स्टिच्यूटलगायतका स्वास्थ्य संस्था यहीं भएका कारण बिरामीलाई रोजीछानी उपचार गर्ने अवसर मिलेको छ ।

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल चितवनमा सेवा सुविधा र विश्वसनीयता बढेका कारण बिरामी बाहिर जाने घटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “क्यान्सरका धेरैजसो बिरामी काठमाडौँबाट यहाँ आउँछन् ।”

    दक्षजनशक्ति, आधुनिक प्रविधि सहितका अत्याधुनिक उपकरण, सरल सेवासुविधा, बिरामीमैत्री सेवा चितवनका अस्पतालमा उपलब्ध हुन थालेपछि बिरामीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । जिल्लामै रोबटिक सर्जरीसम्मको उपचार हुने हुँदा काठमाडौँका बिरामी चितवन आउन थालेपछि यहाँका बिरामी जान छाडेको उहाँले बताउनुभयो ।

    जिल्लामा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भएको छ । सरकारी अस्पतालमा मात्रै होइन, निजी क्षेत्रले पनि ठूलो लगानी अस्पतालमा गर्ने गरेको छ । चितवन मेडिकल कलेजका कार्यकारी अध्यक्ष प्राडा हरिश्चन्द्र न्यौपानेले डिएम र एमसिएच गरेका २७ विशेषज्ञ चिकित्सक अहिले सिएमसीमा मात्रै रहेको बताउनुभयो ।

    उहाँको भनाइमा राजधानी काठमाडौँबाट आफ्नो मेडिकल कलेजमा उपचारका लागि बिरामी आउने गरेका छन् । उहाँले भन्नुभयो, “रोबर्टिक सर्जरी, मुटु, क्यान्सर, न्यूरो लगायतका उपचारका लागि काठमाडौँबाट यहाँ बिरामी आउने गरेका छन् ।” उहाँले काठमाडौँमा नहुने क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्यूटमा हुन्छ । उहाँका अनुसार न्यूरोको ट्युमर, अर्लिस्टेजका ट्युमरको उपचार काठमाडौँमा नभइ चितवनमा हुन्छ ।

    क्यान्सरको केमोथेरापी, ब्राकीथेरापी, रेडियो थेरापीलगायत सबै खालको प्रविधि र उपचार आफूहरुले सरकारी सुविधा तथा दररेटमा गर्दै आएको उहाँको भनाइ छ । उहाँका अनुसार क्रिटिकल केयरको सुविधा नेपालमा हुनेमा सबैभन्दा राम्रो चितवनमा रहेको छ । रोबर्टिक सर्जरीमा नेपालमै सबैभन्दा बढी यही हुने गरेको उहाँले बताउनुभयो ।

    मुटुको सबै खालका शल्यक्रिया यहाँ हुने गरेको भन्दै उहाँले यहाँबाट बिरामी काठमाडाँैं नभएर काठमाडौँबाट धेरै बिरामी यहाँ आउने गरेको दाबी गर्नुभयो । चितवनमा उच्चस्तरका प्रयोगशाला, इमेजिङ्ग सेन्टर पनि रहेका छन् । त्यसका कारण रोग पहिचानमा पनि सहज हुने गरेको छ । आँखा उपचारका लागि नेपाल नेत्रज्योति सङ्घले भरतपुरमा सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा चितवन र छिमेकी जिल्लाका बिरामी आउने गर्दछन् । यहाँका अस्पतालहरुमा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गरेका छन् ।

    क्यान्सरका बिरामी देशैभर र भारतबाटसमेत आउने गर्दछन् । सरकारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा लामो पालो कुर्नुपर्दा बाहिर जाने बिरामी अहिले यही चितवन मेडिकल कलेजले सञ्चालन गरेको क्यान्सर इन्स्टिच्यूटमा त्यहीको दररेटमा उपचार पाउने भएपछि बाहिर जान छाडेका छन् ।

    केही वर्ष अघिसम्म बाल सघन उपचार कक्ष नहुँदा धेरै बालबालिकाको अकालमा ज्यान जाने गर्दथ्यो । त्यस्तै मुटु र टाउकोको उपचार नपाउँदा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था थियो । अहिले यी सबैको सेवा यहीं उपलब्ध भएसँगै धेरैको ज्यान बचेको छ ।

    नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा अनिलविक्रम कार्की एक दुई बाहेक सबै खालका उपचार चितवनमा हुने भएकाले बिरामी बाहिर जान रोकिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सघन उपचार कक्ष, आधुनिक प्रविधि र दक्षजनशक्ति थपिँदै जाँदा यहाँको सेवा विश्वसनीय बनेको छ ।” पछिल्ला दिनमा नेपाल सरकार र निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा यहाँ गरेको लगानीका कारण उपचार क्षेत्रमा फड्को मारेकै कारण बिरामी बाहिर जानेभन्दा आउने बढेको उहाँले बताउनुभयो । रासस

  • कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

    कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी

    गण्डकी, माघ २१-
    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् ।
    दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

    निर्वाचन आचारसंहिताको कार्यान्वयनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्व एवं प्रमुख जिल्ला अधिकारी सहसंयोजक रहनुभएको निर्वाचन आचारसंहिता अनुगमन समिति रहेको उहाँले जानकारी दिनुभयो ।

    उक्त समितिका सदस्यमा अनुगमन अधिकृतका रुपमा सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक एवं सुरक्षा निकायका प्रमुख रहनुभएको उहाँले बताउनुभयो । तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल ४९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    चुनाव प्रचारप्रसारका लागि आगामी फागुन ४ देखि १७ गतेसम्म तोकिए पनि दलहरूले आफ्नो आन्तरिक तयारीस्वरुप चुनाव प्रचारप्रसार समितिका कार्यालय स्थापना एवं मतदाता भेटघाट लगायतका कार्यक्रमलाई अघि बढाएका छन् ।
    निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि कार्यालयले आवश्यक गृहकार्यसँगै निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि पनि अनुगमन गरिरहेको जनाइएको छ । रासस

  • काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट

    काठमाडौँबाट इस्तानबुल उडेको टर्किस एयरको विमानमा समस्या, कोलकोता डाइभर्ट

    काठमाडौँ ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि भारतको कोलकातातर्फ डाइभर्ट गरिएको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उडान नम्बर टीएचवाई–७२७ को विमान उडान भर्ने क्रममा एउटा इन्जिन बिग्रिएको जानकारी चालकदलले काठमाडौं टावरलाई गराएका थिए।

    चालक दलले दुवै इन्जिनमा सुरक्षित रूपमा लामो दूरीको उडान गर्न नसकिने निष्कर्ष निकाल्दै विमानलाई भारतको कोलकातातर्फ डाइभर्ट गरेका थिए ।

  • चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

    चितवनका छ हजार बढी बालिकाहरुलाई एचपिभी खोप

    चितवन, माघ २१ –
    जिल्लाका छ हजार ७६८ बालिकाहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप लगाइने भएको छ । यहाँका ७२५ वटा विद्यालय र ११४ स्वास्थ्य केन्द्रबाट ती बालिकाहरुलाई खोप दिन लागिएको हो ।

    जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार खोपका लागि आवश्यक भ्याक्सिन आइसकेको छ । उहाँले भन्नुभयो, “खोप लगाउनका लागि आवश्यक सात हजार भ्याक्सिन आइसकेको छ”, १० देखि १४ वर्षका किशोरीहरुलाई यो खोप दिन लागिएको हो । कक्षा ७ देखि १० कक्षासम्मका किशोरी र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई ती खोप केन्द्रबाट खोप दिइने उहाँले बताउनुभयो । माघ २५ गतेदेखि फागुन १ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोपका लागि चितवनमा बाहिरी खोप केन्द्र सञ्चालन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो । खोप लगाउने अभियानको तयारीका सम्बन्धमा आज आयोजित जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले चितवनमा बाह्य खोप केन्द्र आवश्यक नभएको निष्कर्ष निकालिएको हो । घिमिरेका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहको वडास्तरमै खोप केन्द्र भएकाले बाह्य केन्द्र आवश्यक नभएको हो । उहाँले भन्नुभयो, “हामीसँग आफ्नै खोप केन्द्र छन् । हरेक विद्यालयमा गएर खोप दिने योजना छ । जिल्लामा बाह्य खोप केन्द्र आवश्यक छैन ।” अभियानमा ३२५ खोप कार्यकर्ता र ३२५ स्वयंसेवक परिचालन गरिने छ ।

    सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र बकुलर अस्पतालका प्रमुख डा अङ्कित पौडेलले नेपालमा पाठेघरको क्यान्सरका कारण मृत्यु हुने महिलाको सङ्ख्या बढ्दै गएको अवस्थामा यो खोप अनिवार्य रहेको बताउनुभयो । यस अभियानलाई सफल बनाउन सबैको हातेमालो आवश्यक रहेको उहाँहरुले बताउनुभयो । रासस