Blog

  • ‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

    ‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

    काठमाडौँ, २४ चैत-
    नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्र्याजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो ।

    काठमाडौँको होटल सोल्टीमा आयोजित उक्त शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए । नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो ।

    उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गर्नुभएको थियो । अद्वितीय प्रतिविम्ब नाम दिइएको सो फेसन सो करिब तीन घण्टाको थियो । (रासस)

  • प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिन्छौँ : महेश बस्नेत

    प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिन्छौँ : महेश बस्नेत

    चितवन, २४ चैत-
    नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने चेतावनी दिएका छन् । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नेतले गठबन्धनलाई धम्क्याउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको तर त्यो सजिलो नभएको बताए ।

    ‘प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम यात्राको टिकट काटिदिने भन्ने छ’, उनले भने । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पिँध नभएको लोटा जस्तै भएको उनले टिप्पणी गरेका छन् ।

    छोरीलाई मेयर र बाबुलाई सांसद बनाएर नेपाली कांग्रेस नारायणी नदीमा क्रुजसिप चढ्न खोजेको भनि उनले व्यंग्य गरे । गठबन्धनलाई धम्काउन एमालेलाई प्रयोग गर्न सजिलो नभएको भन्दै उनले चुनावमा बाबु छोरी मिलेर आएपनि साइजमा राख्ने बताए ।

    एमालेलाई एक्लै हराउन सकिँदैन भन्ने भएपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) एक ठाउँमा आएको भन्दै उनले त्यहि डरले सत्तागठबन्धन चुनावसम्म जान लागेको बताए । एमालेले एक्लै चुनावमा जाने बताएपनि स्थानीय तहको आवश्यकताका आधारमा अन्य दलसँग पनि तालमेल हुन सक्ने उनले बताए ।  -न्युज कारखाना

     

  • तनहुँका अधिकांश स्थानीय तह प्रमुखकाे दाेहाेरिने चाहना

    तनहुँका अधिकांश स्थानीय तह प्रमुखकाे दाेहाेरिने चाहना

    तनहुँ, २४ चैत-
    आसन्न स्थानीय तहको निर्वाचनले जिल्लामा राजनीतिक सरगर्मी बढाएको छ । यतिबेला देशभर स्थानीय तहका प्रमुखदेखि वडा सदस्य बन्ने उम्मेदवारको चर्चा भइरहेको छ । दलहरू आकांक्षीको सूची बनाइरहेका छन् ।

    यही क्रममा तनहुँमा कांग्रेसले आकांक्षीहरूको आवदेन नै मागेको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राप्रपालगायतका दल पनि उम्मेदवार छनोटको गृहकार्यमा छन् ।

    उम्मेदवारी दिने र उम्मेदवारीम आकांक्षा राख्नेमा अधिकांश स्थानीय तहको प्रमुख नै छन् । सबै जसो स्थानीय तहका प्रमुखले दोहोरिने चाहना राखेका छन् । टिकट कसकाे पोल्टामा पर्ने हो त्यो उम्मेदवारी दर्तापछि मात्रै टुंगो लाग्नेछ ।

    व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले फेरि दोहोरिने इच्छा देखाएका छन् । उनले नेपाली कांग्रेस व्यास नगर कार्य समितिमा मेयर बन्ने आकंक्षा देखाउँदैैँ आवदेन दिएका छन् । उनीसँगै मेयर बन्ने दौडमा कांग्रेसका १५ जना छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेदेखि पत्रकार डम्मरबहादुर अधिकारी व्यासको मेयर बन्ने दौडधुपमा छन् ।

    शुक्लागण्डकीका मेयर किसान गुरुङले पनि फेरि एक पटक मेयर हुने आकांक्षा देखाएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट शुक्लागण्डकीको मेयरमा बलियो दाबेदार भएको राजनीतिक वृत्तमा चर्चा छ ।

    भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले पनि एक कार्यकाल दोहोर्‍याउने मनस्थिति बनाएर लबिङ गरिरहेका छन् । आफू बलियो उम्मेदवार भएकाले यसपालि टिकट पाउनु पर्ने मेयर थापाको माग छ । ‘कोरोना महामारीले धेरै काम गर्न पाइएन् । दुई वर्षको समय कोरोनाले नै खायो । एक पटक फेरि मलाई दिनुपर्छ भन्ने छ उहाँको माग,’ नेकपा एमाले भिमाद स्रोतले भन्याे ।

    भानु नगरपालिकाका मेयर उदयराज गौलीले भने दोहोरिने इच्छा देखाएका छैनन् । भानु नगरपालिबाट प्रमुख र उपप्रमुखको आकांक्षीहरूको नामावली संकलनमा उनले भने बुधबार नाम दर्ता नै गराएनन् । उनको चाहाना जिल्ला समन्वय समितिमा जाने बुझिन्छ । भानु नगरपालिका–११ को वडा सदस्य हुँदै जिल्ला समन्वयमा जाने तयारीमा लागेको चर्चा छ ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पनि फेरि इच्छा देखाएकी छिन् । उनी जिल्लाको १० स्थानीय तहमा एक मात्र महिला प्रमुख हुन् । म्याग्देमा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको पनि यसपालि अध्यक्ष बन्न जोडबल गरेका छन् ।

    ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको फेरि दोहोरिने इच्छा छ । नेपाली कांग्रेसको पकड मानिएको ऋषिङमा उनी मात्रै नभएर संविधानसभा सदस्य झुलबहादुर आलेसहित १३ जनाले अध्यक्षमा इच्छा जाहेर गरेका छन् ।

    घिरिङ गाउँपालिका अध्यक्ष रनबहादुर रानाको पनि दोहोरिने इच्छा छ । उनले पार्टीमा दावी पनि गरेका छन् । ‘फेरि अध्यक्ष हुने आफूमा मात्रै भर पर्दैन् । पार्टीले, जनताले अनुमोदन गर्नुपर्‍यो,’ उनले भने । पार्टीले जिम्मेवारी दिएमा फेरी अध्यक्ष बन्न तयार रहेकाे उनको भनाइ छ । ‘रोएर पद लिने हाेइन्’, उनले सुनाए । कोरोनका कारण अपेक्षित काम गर्न नपाएकाले पार्टी र जनताले एक पटक अवसर दिए विकास गरेर देखाउने उनको भनाइ छ ।

    देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा पनि दोहोरिनलाई पार्टीमा दावी गरिरहेका छन् । उता आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा पनि फेरि एक पटक दोहोरिने मनस्थितिमा छन् । ‘फेरि पनि अध्यक्ष बनेर जनताको सेवा गरु भन्ने हो’, उनले संक्षिप्त प्रतिकृया दिए ।

    बन्दीपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा पनि दोहोरिन चाहन्छन् । उनले आफू दोहोरिनलाई माहोल पनि बनाइरहेका छन् । तर, दोहोरिने नदोहोरिने पार्टीको निर्णयमा भर पर्ने उनको प्रतिक्रिया छ । ‘नेतृत्वमा दोहोरिने मेरो व्यक्तिगत चाहनामा भर पर्दैन् । हामी राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने भएकाले दलको दिशानिर्देश पालना गर्नुपर्ने हुन्छ । आगामी दिनमा कसरी अगाडि बढ्ने पार्टीको निर्णयमा नै भर पर्छ,’ उनले भने ।

    २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेस ठुलो दल बनेको थियो । पाँच स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै पदमा जित हासिल गरेको कांग्रेसले एक एक स्थानीय तहमा प्रमुख र उपप्रमुखमा जित हासिल गरेको हो ।

    व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले प्रमुख उपप्रमुख दुवै पदमा जितेको हो । शुक्लागण्डकी नगरपालिकामा प्रमुख र देवघाट गाउँपालिकामा उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भए थिए । ८५ मध्ये ५० वडाको वडाध्यक्षमा पनि कांग्रेसका उम्मेदवारको पल्लाभारि भएको थियो ।

    एमालेले भिमाद र घिरिङ गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै जित्यो । देवघाटमा प्रमुख र शुक्लागण्डकीमा उपप्रमुख मात्र जित्न सफल भयो । ३० वडामा वडाध्यक्ष एमालेले जितेकोमा तीन जना वडाध्यक्षले पार्टी विभाजनसँगै नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

    माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको प्रमुख उपप्रमुख सहित जिल्लाका पाँच वडामा वडाध्यक्ष जितेको थियो । यसपालि जिल्लामा चार दलिय गठबन्ध मिलेर स्थानीय तहको निर्वाचन लड्ने निर्णय गरेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर स्थानीय तहको निर्वाचन लड्नलाई कार्यदल नै बनाउने सहमति गरेका छन् । – विनोद ढुंगाना/न्युज कारखाना

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं, २४ चैत-
    देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    काठमाडौं महानगरपालिका–१३ सोल्टि दोबाटोमा बा.१७ च ४९०३ नम्बरको भ्यानले प्र.३ ०२–०२८ प ७५२१ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका–२ बस्ने ३० वर्षीय किसोर सुबेदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    ललितपुरको माहालक्ष्मी नगरपालिका–८ लुभुमा बा.१६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।

    चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ झुवानी बस्ने ४० वर्षीय मलाहा महतो रहेका छन् ।

    झापाको दमक नगरपालिका–१० जहदा टोलमा ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने सोही नगरपालिका–८ बस्ने २३ वर्षीय विकास ताजपुरिया रहेका छन् ।

    पर्साको संखुवाप्रसौनी गाउँपालिका–२ गुल्बरियामा प्रदेश नं.२–०३–००१ त ४०९४ नम्बरको ट्रयाक्टरको टेलरबाट खसेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने धनिलाल यादवको ५ वर्षीय छोरा रितेश कुमार यादव रहेका छन् ।

    काभ्रेको रोशी गाउँपालिका–९ चिउरीबासमा प्रदेश ३–०२–००१ प ३६४८ नम्बरको मोटरसाइकल बा.४ ख ५८०१ नम्बरको बसमा ठोक्किदा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक म्याग्दी बेनी नगरपालिका–२ बस्ने २४ वर्षीय सरोज कुवँर रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । – न्युज कारखाना

  • चीनमा कोभिडः रातमा दम्पत्ति अलग्गै सुत्नू, चुम्बन पनि नगर्नू भन्दै सडकमा स्वास्थ्यकर्मीको उर्दी

    चीनमा कोभिडः रातमा दम्पत्ति अलग्गै सुत्नू, चुम्बन पनि नगर्नू भन्दै सडकमा स्वास्थ्यकर्मीको उर्दी

    सांघाइ, २४ चैत-
    कोभिड–१९ का कारण लकडाउनमा परेको सांघाईका स्थानीय बासिन्दा निकै कष्टकर जीवन बिताइरहेका छन् । प्रतिबन्धको समयमा सहरका सर्वसाधारणले झेल्नु परेका समस्या र उनीहरूलाई दिइएका निर्देशनका झलकहरू सामाजिक सञ्जालहरूमा पोष्ट हुन थालेका छन् । कतिपय पोस्ट भाइरल बनेका छन् ।

    सांघाई कोभिड १९ को हटस्पट बनेको छ । पछिल्लो केही दिनयता दैनिक संक्रमितको संख्यामा कमी आए पनि अन्य देशको तुलनामा संक्रमण दर उच्च छ । सहरका २ करोड ६० लाख मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ ।

    सांघाईका बासिन्दाहरूले पोस्ट गरेका भिडियोहरूमा ड्रोनहरूले सूचना दिएको देखिन्छ । ड्रोनहरू आकाशमा देखा परेपछि बासिन्दाहरू आफ्नो बार्दली बाहिर निक्लिएर आपूर्तिको अभावमा विरोध गरेका देखिन्छन् ।

    चीनको सामाजिक सञ्जाल विबोमा पहिलो पटक सेयर गरिएको सो भिडियोलाई पछि ट्विटरमा राखिएको थियो ।

    ड्रोनहरूले मानिसहरूलाई कोभिड प्रतिबन्ध पालना गर्न र ‘स्वतन्त्रताको लागि आफ्नो इच्छालाई नियन्त्रण गर्न’ निर्देशन दिएका छन् । मानिसहरूलाई झ्याल नखोल्न र गीत नगाउन भनिएको छ ।

    यस्तै अर्को भिडियोमा स्वास्थ्यकर्मीहरूले सांघाईको सडकमा सार्वजनिक घोषणा गर्न मेगाफोन प्रयोग गरेका देखिन्छन् । ‘आज रातिदेखि जोडीहरू छुट्टै सुत्नु पर्छ । चुम्बन गर्नु हुँदैन । अंगालो हाल्न अनुमति छैन । छुट्टै खाना खानु पर्छ । तपाईंको सहयोगका लागि धन्यवाद’, स्वास्थ्य कार्यकर्ताहरूले स्थानीय बासिन्दाहरूलाई भने । – एजेन्सी

     

     

  • पर्यटन पुनरुत्थानका लागि पोखरामा ‘फेवा नववर्ष महोत्सव’ हुने

    पर्यटन पुनरुत्थानका लागि पोखरामा ‘फेवा नववर्ष महोत्सव’ हुने

    काठमाडौँ, २४ चैत –
    नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ ।

    ‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोकसम्मको मुख्य सडकमा महोत्वसव सञ्चालन हुने आयोजक होटल सङ्घ पोखराले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

    कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि महोत्सव गर्न लागिएको होटल सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपनका साथ करिब तीन किलोमिटर खुला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो ।

    नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको लक्ष्य रहेको छ ।

    महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइटमा स्टेजमार्फत लाइभ म्युजिक, लोकदोहोरी गायन, हाँस्यव्यङ्ग्य प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

    महोत्सवको अवसरमा सङ्घले सदस्य होटलहरूको प्रकाशित दररेटमा ३० प्रतिशत छुट दिनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवको प्रचारप्रसारका लागि सङ्घले हालै बुटवल, हेटाँैडा र वीरगञ्जमा ‘आउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो । महोत्सवको अन्नपूर्ण केबलकार प्रालि र गोर्खा ब्रुअरी प्रालिको टुबोर्ग वियर मुख्य प्रायोजक रहेको छ । पोखरा पर्यटन परिषद्लगायत अन्य छभन्दा बढी सङ्घसंस्थाले महोत्सवलाई सहयोग गर्नेछन् ।

    महोत्सवको प्रमुख आकर्षणका रूपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी प्रस्तुति, ख्यातिप्राप्त कलाकार एवं स्थानीय कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, दोहोरी आदि प्रस्तुत गरिनेछ । कूल रु ३५ लाख खर्च हुने महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

    पत्रकार सम्मेलनमा होटल सङ्घ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाहले कोभिड त्रासको दुई वर्षपछि पर्यटन क्षेत्र विस्तारै जुर्मुराउँदै गएको र यस्ता मेला महोत्सवले पर्यटक आगमन बढ्ने बताउनुभयो । उहाँले महोत्सवको उद्देश्य महामारीपछि आन्तरिक र विदेशी पर्यटकलाई स्वागत गर्न पोखरालगायत पर्यटकीय क्षेत्र तयारी अवस्थामा छन् भनेर सन्देश दिनु पनि हो भन्नुभयो ।

    कार्यवाहक अध्यक्ष शाहले आगामी सिजनका लागि आइरहेको इन्क्वायरी उत्साहवद्र्धक रहेको र यसले आउने दिनमा पर्यटनका लागि सुखद् रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । अध्यक्ष सुवेदीका अनुसार पोखरामा अहिले पर्यटकदेखि पाँचतारेसम्म गरी एक हजार २०० होटल छन् । ती होटलमा ४० हजार बेड रहेका छन् । निकट भविष्यमै सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने विदेशी पर्यटकको व्यवस्थानका लागि आवश्यक पूर्वाधार थपिँदै गरेको पनि व्यवसायीको भनाइ छ ।

    होटल सङ्घका केन्द्रीय सदस्य एवं होटल व्यवसायी भरत पराजुलीले पोखराको प्राकृतिक सुन्दरतालाई उत्सवमय बनाएर पर्यटकलाई आकर्षण गर्न महोत्सव उपयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लाखौँ काठमाडौँवासीलाई पोखरा लगेर आर्थिक गतिविधि थप चलायमान बनाउन पनि मेला महोत्सव गरिँदै आएको बताउनुभयो । (रासस)

  • मोरङमा ४८ वर्षीया महिला बलात्कृत

    मोरङमा ४८ वर्षीया महिला बलात्कृत

    मोरङ, २४ चैत –
    मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । – न्युज कारखाना

  • गहना लुटपाटपछि महिलाको हत्या

    गहना लुटपाटपछि महिलाको हत्या

    उदयपुर, २४ चैत –
    उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे गयराति हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।

    मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएकाे श्रीमान बच्चुलाल चौधरीले बताए । घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ ।

    श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् ।

    घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेकाे छ ।

    घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । – न्युज कारखाना

  • चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    चितवन, २४ चैत –

    चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् ।

    दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनी सवार रहेको बागमति प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो । – न्युज कारखाना

  • कांग्रेस चितवनका नेताले रामचन्द्र पाैडेललाई भेटेर भने : भरतपुर प्रमुख कांग्रेसले छोड्दैन

    कांग्रेस चितवनका नेताले रामचन्द्र पाैडेललाई भेटेर भने : भरतपुर प्रमुख कांग्रेसले छोड्दैन

    – कुलप्रसाद काफ्ले

    चितवन, २४ चैत –
    भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि नेपाली कांग्रेस चितवनले दबाब बढाउँदै लगेको छ । महानगर प्रमुखको उम्मेदवार कुन दलको हुने भनेर सत्ता गठबन्धनमा बहस चलिरहँदा चितवन कांग्रेसका नेताहरूले केन्द्रीयस्तरमा आफ्ना नेताहरूमाथि दबाब बढाउन थालेका छन् ।

    चितवन कांग्रेस सभापतिसहितका नेताहरूले बिहीबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको प्रमुख कांग्रेसले नछाड्ने बताएका छन् । स्थानीय स्तरको आवश्यकता र औचित्यका आधारमा पनि भरतपुर कांग्रेसले पाउनुपर्ने भन्दै उनीहरूले कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन् ।

    वरिष्ठ नेता पौडेल सत्ता गठबन्धनको स्थानीय तहको निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत हुन् । वरिष्ठ नेतालाई भेटेर केन्द्रीय समितिको निर्णयअनुसार नै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने र यो नै अन्तिम बटमलाइन भएको कुरा सुनाएको चितवन कांग्रेसका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले बताए ।

    ‘उहाँले यसलाई गम्भीर रूपमा लिएको छु भन्नुभयो । चितवनको सन्दर्भमा धेरै जानकार पनि राख्छु र यसलाई अन्य दलसँग पनि परामर्श गर्छु । पार्टी सभापतिसँग पनि परामर्श गर्छु भन्नुभएको छ’, श्रेष्ठले भने । केन्द्रीय नेताहरूलाई भेट्न चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, पूर्वसभापति टेकप्रसाद गुरुङ, नेता दिनेश कोइरालालगायतका नेता काठमाडौँ पुगेका छन् ।

    पौडेलसँगको भेटपछि चितवन कांग्रेसका नेताहरूले पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई भेट्दै छन् । देउवालाई पनि भेटेर चितवन कांग्रेसले गरेको निर्णयबारे जानकारी गराइने श्रेष्ठले बताए ।

    ‘भरतपुर महानगरमा मेयर पद कुनै पनि हालतमा छाड्न सकिँदैन । गठबन्धनको हामी विरोधी होइन’, उनले भने, ‘केन्द्रीय समितिकै निर्णय छ नि आवश्यकता र औचित्यका आधारमा निर्णय गर्ने भनेर । चितवनको आवश्यकता भनेकै भरतपुरको मेयर हो । गठबन्धन गर्दै गर्दा मेयर हामीलाई छोड्न पर्‍यो भन्ने अन्तिम बटमलाइन हो ।’

    जिल्लाका सातवटै पालिकामा सत्ता गठबन्धनका दलहरूबीच तालमेलका लागि संयन्त्र बनाएर छलफल भइरहेको छ । महानगर प्रमुख कांग्रेसले पाउनेगरी तालमेल गर्ने पक्षमा चितवन कांग्रेस छ । माओवादी केन्द्र पनि महानगर प्रमुख आफूले पाउने गरी तालमेल गर्ने बताइरहेको छ । महानगर प्रमुखको पदलाई माओवादी केन्द्र र कांग्रेसले प्रतिष्ठाको विषय बनाइरहेका छन् । – न्युज कारखाना