Blog

  • माझठाना पोखरा सम्पर्क समाजको भित्तेपात्रो लोकार्पण

    माझठाना पोखरा सम्पर्क समाजको भित्तेपात्रो लोकार्पण

    गण्डकी, २३ चैत-
    माझठाना पोखरा सम्पर्क समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण गरिएको छ ।

    समाजका संरक्षक एवम् ज्येष्ठ नागरिक गङ्गादेवी लामिछानेले पोखरामा आयोजित एक समारोहबीच भित्तेपात्रो लोकार्पण गर्दै नयाँ वर्षले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो ।

    उर्वर भूमि माझठानको टारी, वेगनास ताललगायत सो क्षेत्रमा भए गरेका विकास निर्माण, महत्वपूर्ण प्राकृतिक सम्पदा तथा धार्मिक क्षेत्रलाई प्रकाशित भित्तेपात्रोमा समेटिएको समाजका अध्यक्ष दयाराम तिवारीले जानकारी दिनुभयो ।

    प्रकाशित भित्तेपात्रोमा सौर्यस्थित मनकामना मन्दिर, किरातेश्व महादेव बसाहढुङ्ग, स्याङखुदीस्थित शिव मन्दिर, पात्ले देउराली शिव मन्दिरका तस्बिर समावेश गरिनाका साथै संस्थाले एक वर्षको अवधिमा गरेका गतिविधिसमेत समेटिएको उहाँको भनाइ छ ।

    लोकार्पण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने र निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, समितिका उपाध्यक्षद्वय शारदा लामिछाने र भोलानाथ ओझा, सचिव रामकृष्ण तिवारी लगायतले समाजले सबैलाई समेट्दै माझठानाको विकास निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । – रासस

  • बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

    बारामा ट्रयाक्टरले किच्दा बालकको मृत्यु, चालक फरार

    काठमाडौं, २३ चैत-
    बाराको निजगढ नगरपालिका–१० मा बुधबार बिहान ट्रयाक्टरमा जोडेको रोटाभेटरले किचेर एकजना बालकको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय बुद्धिलाल बम्जनका ९ वर्षीय छोरा बिपास बम्जन रहेका छन् ।

    प्रदेश २ ०३ ००१ त १३१३ नम्बरको ट्रयाक्टरमा जडान गरेको रोटाभेटरमा आज बिहान ८ बजे चढ्ने क्रममा उनलाई किचेको थियो ।

    ट्रयाक्टर चालक भने फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय निजगढ बाराले जानकारी दिएको छ । – न्युज कारखाना

  • सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट

    सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट

    काठमाडाैं, २३ चैत-
    नेपाली सेयर बजार नेप्से बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ । नेप्से २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेकाे छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमामा बजार बन्द भएको छ।

    बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको काराेबार भएको छ । बजार लगातार घटे पनि होटेल इन्डेक्स २ दशमलब ०२ प्रतिशत र अदर्श शून्य दशमलब ३२ प्रतिशतले बढेको छ ।

    बुधबार नेश्डो लघुवित्त १० प्रतिशतले बढेर १५ सय ४५ दशमलव ५ रुपैयाँ, साेल्टी होटेल ३ दशमलब ९९ प्रतिशत बढेर २ सय ३७ र तारागाउँ ३ दशमलब ९४ प्रतिशतले बढ्दा अन्तिम कारोबार तीन सय ६९ रुपैयाँमा भएको छ।

    इमर्जिङ नेपालकाे नकारात्मक सर्किट लागेर ११ सय ९० दशमलव ७, ५ दशमलव ४७ प्रतिशतले घट्दा राष्ट्र उत्थान १६६० र बुद्धभूमि ४ दशमलक ०७ प्रतिशत घटेर अन्तिम कारोबार ५६६ रुपैयाँ भएको छ ।- न्युज कारखाना

  • राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति, कंगोमा मारिएका सैनिक जवानको परिवारलाई सहयोग गर्ने आश्वासन

    राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति, कंगोमा मारिएका सैनिक जवानको परिवारलाई सहयोग गर्ने आश्वासन

    काठमाडौं, २३ चैत-
    संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

    भेटघाट बुधबार प्रधानसेनापति शर्माको जंगी अड्डास्थित कार्यकक्षमा भएको थियो ।

    ‘भेटघाटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत अन्य विविध विषयहरुमा छलफल भएको थियो,’ नेपाली सेनाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    भेटवार्तामा होवार्डले शान्ति स्थापनार्थ विभिन्न मुलुकहरुमा खट्टिरहेका नेपाली शान्ति सैनिकहरुले पु¥याएका योगदानको प्रशंसा गरेका थिए ।

    भेटमा उनले बीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा संचालन हुने तालिमको अन्तराष्ट्रिय मान्यताको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

    उनले कंगो मिशनमा अपरेशन ‘बाली’ को दौरान मंगलबार विद्रोहीले चलाएको गोली लागि मृत्यु भएका सिपाही अनिल गुरुङ्ग प्रति संवेदना व्यक्त गरेका थिए ।
    मृतकका परिवारलाई संयुक्त राष्ट्रसंघबाट उपलब्ध हुने सहयोगको लागि आवश्यक पहल गर्ने आश्वासन उनले दिएका थिए । – न्युज कारखाना

     

  • नेपालबाट थप ३२५ मेगावाट विजुली खरिद गर्न भारतले दियो अनुमति

    नेपालबाट थप ३२५ मेगावाट विजुली खरिद गर्न भारतले दियो अनुमति

    काठमाडौं, २३ चैत-
    भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी दिइन् ।

    आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिइन् । भारतले यसअघि ३९ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति दिएको थियो भने नेपालले थप विजुली किन्न भारतलाई आग्रह गर्दै आएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाकाे भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विजुली किनबेचको विषयमा छलफल भएको थियो । सोही छलफलपछि भारतको उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट विजुली भारतीय बजारमा बिक्री गर्ने अनुमति दिएको हो ।

    अहिले नेपालले भारतबाट विजुली किनिरहेको छ । बर्खा याममा भने नेपालबाट आवश्यकताभन्दा बढी विजुली उत्पादन हुँदै आएको छ । सो विजुली भारतीय बजारमा बेच्ने अनुमति भारतले दिएको हो । – न्युज कारखाना

     

  • कविता सुनुवार हत्या : घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारकाे अडान

    कविता सुनुवार हत्या : घटनामा संलग्न सार्वजनिक नगरेसम्म शब नबुझ्ने परिवारकाे अडान

    उदयपुर, २३ चैत-
    टयुसन पढ्न विद्यालय जाँदै गरेकी कविता सुनुवारकाे हत्यामा संलग्नहरूलाई सार्वजनिक गर्न पीडित परिवारले माग गरेकाे छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरको कक्षा १० मा अध्यायनरत १६ वर्षीया सुनुवारको शब मंगलबार स्थानीय यशाेदाखोलामा विभत्स रूपमा हत्या गरिएकाे अवस्थामा फेला परेकाे थियो ।

    शब फेला परेकाे २४ घन्टा बितिसक्दा पनि परिवारले जिम्मा लिएका छैनन् । उनीहरूले घटनामा संलग्नलाई सार्वजनिक नगरेसम्म शब जिम्मा नलिने अडान लिएका छन्। हत्या आशंकामा प्रहरीले उनकै केही सहपाठीलाई नियन्त्रणमा लिएकाे छ ।

    हत्याको विरोधमा बुधबार बिहानैदेखि मदन भण्डारी लोकमार्ग स्थानीयवासी तथा विद्यार्थीले अवरुद्ध पारेका छन् । उनीहरूले हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्नु पर्ने र उनीहरूलाई सार्वजनिक पनि गर्नु पर्ने माग गरेका छन् ।

    कोशी जनता माध्यामिक विद्यालय रामपुरका विद्यार्थीहरू आन्दोलित भएका हुन् । उनीहरूले रामपुर, लालबजार, बुद्ध चोकमा प्रर्दशन गरिरहेका छन् । सुनुवारको हत्या आशंकामा सोही ठाउँ बस्दै आएका कक्षा १० मा पढ्दै गरेकी सहपाठी एक किशोरी र किशाेरलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा भारत सिक्किम राज्य बियुङ स्थायी घर भई बेलका नगरपालिका–३ स्थित जितबहादुर ढकाल (खत्री)को घरमा बस्दै आएका १९ वर्षीय विनोद ढकाल र जितबहादुरकै १५ वर्षीया छोरी सरिता ढकाल (खत्री) रहेको प्रहरीले जनाएको छ ।

    बेलका नगरपालिका–६ किराँत चोकका कृष्ण सुनुवारकी छोरी कविता मृत अवस्थामा भेटिएको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नियन्त्रणमा लिएका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान थालिएको छ ।

    घटनास्थल विद्यालयदेखि करिब सात सय मिटर र घरबाट करिब दुई किलोमिटर पर रहेको स्थानीयवासीले बताए । उनलाई बियरको बोतल र ढुंगाले हिर्काएर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलबाट बियरका बोतर र रगत लागेको ढुंगा बरामद भएकाे छ । मृतक किशाेरीको टाउकोमा गहिराे चोट लागेकाले कुटपिटपछि हत्या गरेको हुन सक्ने प्रहरीकाे अनुमान छ । उनी अध्यायनरत विद्यालयले बुधवार शोक सभा आयोजना गरेको छ । न्युज कारखाना

     

  • ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले र माओवादीबाट यी हुन् आकांक्षी

    ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा कांग्रेस, एमाले र माओवादीबाट यी हुन् आकांक्षी

    ललितपुर, २२ चैत-
    स्थानीय तहकाे निर्वाचनको सरगर्मी सुरु भएसँगै ललितपुरको बागमती गाउँपालिका अध्यक्षमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट काे काे उम्मेदवार बन्लान् भन्ने चर्चा सुरु भएको छ ।

    बगमती गाउँपालिकामा हाल नेपाली कांग्रेसका वीरबहादुर लोप्चन अध्यक्ष छन् । उनले फेरि अध्यक्ष बन्ने इच्छा देखाएका छन् । अध्यक्षमा स्थानीय नेता माधव दुलाल र पालिका उपाध्यक्ष रञ्जना घिमिरे तिमल्सिना, वडा नम्बर ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दाबी गरेका छन् ।

    ‘गाउँपालिका अध्यक्षमा मेरो पनि दाबी हो । म कुनै मूल्यमा आफ्नाे दबी छोड्दिन,’ तिमल्सिना भन्छन्, ‘मैले टिकट पाए जित्ने अवस्था छ ।’

    एमालेबाट पालिका अध्यक्षमा नवराज सञ्जेलको पनि चर्चा छ । सञ्जेलले आफूलाई पार्टीले टिकट दिने बताउँदै आएका छन् । उनी भन्छन्, ‘निर्वाचनमा को उठ्ने भन्ने भन्दै हिँड्ने कुरा होइन । पार्टीले निर्णय गर्ने कुरा हो । तर म स्वाभाविक प्रतिस्पर्धी हुँ ।’

    एमालेबाटै साजन दर्लामीले पनि अध्यक्षमा दाबी गरेका छन् । भन्छन्, ‘वडाध्यक्ष बनेर विकासको काम गर्न सकिने रहेनछ । ठूला बजेट पालिकामा हुन्छ । वडाले पाउने २०-३० लाख बजेट हात्तीको मुखमा जिरा जस्तो हुँदो रहेछ ।’

    माओवादी केन्द्रबाट निसान दर्लामी मगरले अध्यक्षमा इच्छा राखेका छन् । उनीहरूको चर्चा स्थानीय क्षेत्रमा भए पनि गठबन्धनले कसलाई उठाउँछ र कस्तो समीकरण बन्छ भन्ने अझै अन्याेलमै छ ।

    कांग्रेसमा वीरबहादुर र विष्णुमध्ये काे अध्यक्ष उठ्ने भन्ने दाउपेच चलिरहेको छ । नेपाली कांग्रेसको राम्रो प्रभाव रहेको याे पालिकामा एमालेका आकांक्षीहरू नै कांग्रेसको उम्मेदवारीअनुसार आफूहरु अघि बढ्ने योजना बनाइरहेका छन् । केही समयअघिसम्म विष्णु र पालिका अध्यक्ष वीरबहादुरबीच राम्रो सम्बन्ध थियाे । तर पछिल्लो समय उनीहरूबीच निकै प्रतिस्पर्धा चलेको छ ।

    पालिकामा राजनीतिक दाउपेचका आधारमा कसले निर्वाचन जित्छ भन्ने निर्धारण हुने स्थानीय नेता रमेश गौतम बताउँछन् । उनी भन्छन्, ‘यहाँ गठबन्धन कसरी हुन्छ भन्ने सबैको चासो छ । कांग्रेससँग जसले गठबन्धन गर्छ, नतिजा उसैको पोल्टोमा पर्ने सम्भावना छ ।’ उनका अनुसार कांग्रेसबाहेकका सबै शक्ति मिलेर गए अर्को नतिजा आउने सम्भावना पनि छ । उनी भन्छन्, ‘तर यसो हुने सम्भावना ज्यादै कम छ ।’

    एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहसंयोजक अमृतनाथ तिमल्सिना पार्टीले अहिलेसम्म कसलाई उठाउने भन्ने विषयमा गृहकार्य सुरु नगरेको बताउँछन् । उनी भन्छन्, ‘केन्द्रमा गठबन्धन गर्ने निर्णय भएको छ । जिल्लास्तरमा समेत गठबन्धनको संयन्त्र बनेको छ । तलसम्म यसको संरचना बनेपछि तालमेल गरेर मात्र उम्मेदवार उठाइन्छ ।’ – न्युज कारखाना

  • नगरकोटबाट १३ जुवाडे पक्राउ

    नगरकोटबाट १३ जुवाडे पक्राउ

    भक्तपुर, २३ चैत-
    भक्तपुरको चागुँनारायण नगरपालिका -६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन गरेको न्यु गन्तव्य रेस्टुरेन्ट एन्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    सूचना प्राप्त हुनासाथ परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमान्डमा खटिएको टोलीले कौडा खेल्ने १३ जनालाई आठ लाख २२ हजार ६० र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ । – न्युज कारखाना

  • केन्द्रकाे सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा

    केन्द्रकाे सर्कुलरले कांग्रेस महोत्तरीका नेता कार्यकर्ता अलमलमा

    महोत्तरी, २३ चैत-

    कांग्रेसले उम्मेदवार छान्ने समयतालिका बनाएर मातहतमा सर्कुलर जारी गरेपछि महोत्तरीका पालिकाहरूमा वडा अध्यक्ष उम्मेदवार छान्ने प्रक्रियाले निकै फड्को मार्‍यो । बर्दिबास नगरपालिकाका-६ वडामा कांग्रेसले आफ्ना उम्मेदवार घोषणा पनि गर्‍यो । तर, कांग्रेसको केन्द्रीय कमिटीले उम्मेदवार छान्ने प्रक्रिया स्थगित गर्न अर्को सर्कुलर जारी गरेपछि अलमल सिर्जना भएको छ ।

    आइतबार नै कांग्रेस बर्दिबासले वडा न.३ मा यज्ञ प्रसाद ढुंगेल, वडा न.१ मा भोला खड्का, वडा न.२ मा चोलाराज प्याकुरेल र वडा न.७ का भोरिल यादवलाई उम्मेद्‌वारमा सिफारिस गरेको थियो । सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारीअघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको हो । योसँगै नेपाली कांग्रेसले टुंगो लगाइसकेका उम्मेदवारहरू विषयमा समेत अलमल सिर्जना भएको छ ।

    नगरले उम्मेदवारले टुंगो लगाएको बताए पनि जिल्ला सभापति नागेश्वर यादवले भने यो पूर्ण आधिकारिक नभएको बताए । तर, नगरस्थित कांग्रेसका नेता तथा कार्यकर्ताहरूले उम्मेदवार सर्वसम्मति भएको भन्दै सामाजिक सञ्जालबाट बधाई र शुभकामना व्यक्त गरिरहेका छन् । पार्टीको स्पष्ट निर्देशन नआएसम्म नाम सिफारिस भएका उम्मेद्‌वारलाई आधिकारिक मान्न नसकिने सभापति यादवको भनाइ छ ।

    यता, केन्द्रीय कमिटीको निर्णयले तल्लो तहमा समस्या बनिरहेको नेता शंकर फुयाल बताउँछन् । निर्णय मान्नै पर्ने बाध्यताले स्थानीय तहमा जसरी अगाडि बढनुपर्ने हो त्यसरी बढन सकिएको छैन,’ उनले भने ।

    तर, कतिपय नेताहरूले भने केन्द्रको निर्देशनमा नै अटेर गर्नु पार्टीको लागि दुर्भाग्य बनेको बताइरहेका छन् । पाटी गठबन्धनको पक्षमा रहँदारहँदै तल्लो तहमा आफुखुसी निर्णयसमेत भइरहेको बताउँदै युवा नेता शैलेश थापा सहमतिमा जानुको विकल्प नरहेको बताए ।

    ‘अहिलेको परिवेशमा गठबन्धनको जरुरी छ । गठबन्धन हुनैपर्छ,’ उनले भने ।

    यता बर्दिबास नगरपालिकाका केही वडामा उम्मेदवार छानिसके पनि स्थगित गर्ने निर्णयसँगै नगर तथा वडा कमिटी पछाडि हटेको नगर सभापति युवराज पोखरेलले बताए । -विशाल बस्नेत/ न्युज कारखाना

  • ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ

    ठमेलमा पाँच तोलाको सुनको सिक्री लुटपाट गर्ने एक जना भारतीय पक्राउ

    काठमाडौं, २३ चैत-
    काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।

    उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ । न्युज कारखाना