Blog

  • संसदीय व्यवस्था संकटग्रस्त, व्यवस्थाको चुनाव गरौँ भाग लिन्छौँ : विप्लव

    संसदीय व्यवस्था संकटग्रस्त, व्यवस्थाको चुनाव गरौँ भाग लिन्छौँ : विप्लव

    कुलप्रसाद काफ्ले

    चितवन, २४ चैत-
    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले संसदीय व्यवस्था संकटग्रस्त भएको बताएका छन् । जनआन्दोलन दिवसको अवसरमा आज (बिहीबार) भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले संसदीय व्यवस्था असफल भइसकेको दाबी गरे ।

    ‘आज पनि जनताको जीवनमा खास परिवर्तन भएको छैन । जनताले अनुभूति गर्नेगरी परिवर्तन भएको छैन’, उनले भने, ‘संसदीय व्यवस्था मुठिभरका पुँजीपति वर्गको व्यवस्था हो । देशलाई टाट पल्टाउने व्यवस्था हो । जनताको पक्षमा काम गर्न नसकेकाले यो व्यवस्था असफल भएर संकटग्रस्त भएको छ ।’

    जनता जागरुक हुँदै गएपछि संसदीय व्यवस्था ढल्न फेरि पनि जरुर २४ चैत आउने उनले बताए । राजसंस्थाविरुद्ध नेपालमा २४ चैत २०६२ मा जनआन्दोलन सुरु भएको थियो । १९ दिन चलेको जनआन्दोलनले राजसंस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था ल्याएको थियो ।

    संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको व्यवस्था भएको भन्दै उनले जनताले शासन गर्न पाउने व्यवस्था ल्याउन वैज्ञानिक समाजवादको व्यवस्था लागू गर्नुपर्ने बताए । नेकपाले कहिल्यै पनि संसदीय व्यवस्थालाई स्वीकार नगर्ने भन्दै उनले यो व्यवस्था दलाल र पुँजीपति वर्गको मात्रै व्यवस्था भएको बताए ।

    ‘यदि चुनाव नै गर्नुपर्छ भने ठिक छ । संसदीय व्यवस्थाको चुनाव होइन । संसदको चुनाव होइन । जनमत संग्रह गरौँ । व्यवस्थाको चुनाव गरौँ । नेपालमा संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक । हामी त्यसका लागि तयार छौँ’, उनले भने ।

    २०३६ सालमा पञ्चायत र बहुदलबीच जनमतसंग्रह गरेजस्तै अहिले संसदीय व्यवस्था र बैज्ञानिक समाजवादको बीचमा जनमतसंग्रह गर्नुपर्ने उनले बताए । ‘हामी चुनौती दिन चाहन्छौँ । व्यवस्थाको चुनाव गरेर देखाउ । हामी त्यो चुनावमा लड्न तयार छौँ । भाग लिन तयार छौँ’, उनले भने ।

    ‘संसदीय व्यवस्थाको चुनाव लुटेराको चुनाव हो । ठेकेदारको चुनाव हो’, उनले भने, ‘दलाल पुँजीपति वर्गहरु संसदीय व्यवस्थामा कालो धन थुपार्छन् र त्यही कालो धनको बलमा फेरि चुनाव जित्छन् ।’ कांग्रेस, एमाले र माओवादी केन्द्रको अक्षमताका कारण देशमा चरम महंगी बढेको र आर्थिक संकट निम्तिन लागेको उनले बताए । त्यस्तै, एमसिसी परियोजना ल्याएर दलहरुले देश नै बेच्न लागेको उनले आरोप लगाए ।

    दुई वर्षको प्रतिबन्धमा नेकपाले १२ जना नेता गुमाउनुपरेको उनले बताए । ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा एमसीसी सम्झौता पास गर्ने, देशलाई बेचेर खाने पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिन उनले आग्रह गरे ।-न्युज कारखाना

  • संविधानमाथि आक्रमण र च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड

    संविधानमाथि आक्रमण र च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड

    सिरहा, २४ चैत-
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

    सिरहाको मिर्चैयामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार नरहेको बताएका हुन् ।

    संविधानमा धेरै विषय समेट्न बाँकी रहेको भन्दै उनले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको बताए । नागरिकतासम्बन्धी समस्या मधेसमा रहेको बताउँदै उनले अध्यादेशमार्फत भए पनि नागरिकताको समस्या समाधान गरिने बताए ।

    एकअर्काे प्रसंगमा उनले पार्टीभित्र अल्पमतमा परेपछि तत्कालीन प्रधानमन्त्री र साविक अध्यक्ष केपी ओलीले संसद विघटनको प्रयास गरेको बताए । तर, ओलीको प्रतिगमनलाई गठबन्धनले परास्त गरेको प्रचण्डको भनाइ छ ।- न्युज कारखाना

  • चौतारा दारेगौंडामा बन्यो ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क

    चौतारा दारेगौंडामा बन्यो ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क

    सिन्धुपाल्चोक, २४ चैत-
    चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्क बनेको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजनाअनुरुप नगरपालिकाको नगर गौरवको योजनाअनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क बनेको हो ।

    सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्धमूर्ति ६७ फिट अग्लो छ । अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना रहेको नगरपालिका मेयर अमानसिंह तामाङले बताए । सो बुद्धपार्कबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ ।

    समुद्र सतहबाट दुई हजार एक सय ५० मिटरको उचाइमा रहेका पर्यटकीय हिमाली गाउँ ओखरेनीमा रहेको चिया बगानसम्म पर्यटक लैजाने बुद्ध मूर्तिको प्रतिमाले महत्व राख्दछ । सदरमुकामबाट बुद्धपार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ ।

    बिहीबार सो निर्मित भ्यु टावरसहितको बुद्धपार्कको सभामुख अग्निप्रसाद सापकोटाले समुद्घाटन गरेका छन् । -सम्झना कार्की/न्युज कारखाना

  • भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड तीस लाख भन्दा बढी

    भारतमा कोरोना सङ्क्रमितको संख्या चार करोड तीस लाख भन्दा बढी

    नयाँ दिल्ली, २४ चैत-
    भारतमा बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख ३१ हजार ९५८ पुगेको छ ।

    ती मध्ये पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ नयाँ घटनाहरू दर्ता भएका संघीय स्वास्थ्य मन्त्रालयको जनाएको छ ।

    गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ४३ जनाको मृत्यु भएपछि कुल मृत्यु हुनेको संख्या पाँच लाख २१ हजार ५३० पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २३२ सक्रिय सङ्क्रमितमा कमि आएपछि हाल भारत ११ हजार ६३९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यो विवरण सङ्क्रिय सङ्क्रमितहरुको सङ्ख्या लगातार घट्दै गएको ७२ औं दिनको हो ।

    हालसम्म ४ करोड २४ लाख ९८ हजार ७८९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये एक हजार २२२ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्र भएको अधिकारीहरुले जनाएका छन् । (रासस÷सिन्ह्वा)

  • बुडापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका राष्ट्रपतिको आग्रह

    बुडापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न हङ्गेरीका राष्ट्रपतिको आग्रह

    बुडापेस्ट २४ , चैत-
    हङ्गेरीका प्रधानमन्त्री भिक्टर अर्वानले हङ्गेरीमा आएर युक्रेनसँग वार्ता गर्न रुसका राष्ट्रपतिलाई आग्रह गर्नु भएको छ । युक्रेनसँगको युद्ध तत्काल रोकेर बुडापेस्टमा आएर वार्ता गरेर विवाद अन्त्य गर्न आफूले आग्रह गरेको उहाँको भनाई छ ।

    अत्याधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएपछि विदेशी सञ्चार माध्यमहरुका लागि पहिलो पटक आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले आफ्नो आग्रहलाई रुसी राष्ट्रपति पुटिनले स्विकार गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । गत अप्रिल ३ मा भएको संसदीय निर्वाचनबाट उहाँ नेतृत्वको गठवन्धनले दुई तिहाइ मत प्राप्त गरेको छ । आफ्नो गठवन्धनले धेरै सिट जितेपछि राष्ट्रपति पुटिनले बधाइ दिन आफूलाई फोन गरेको पनि उहाँले जानकारी दिनुभयो ।

    राष्ट्रपति अर्वानले युक्रेन र फ्रान्सका राष्ट्रपति र जर्मन चान्सलरलाई पनि जाति सक्दो चाँडो बुडापेस्टमा आएर रुस—युक्रेन युद्ध अन्त्य गर्न आह्वान गर्नु भएको छ ।रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आफूले बुडापेस्टमा अन्तर्राष्ट्रिय शिखर सम्मेलन गर्न चाहेको उहाँको भनाई छ ।

    “दुई देशबीचको युद्ध अन्त्य गर्न र गराउन उहाँहरुले यहाँ आएर वार्ता र छलफल गर्न सक्नुहुन्छ, म त्यसका लागि सबैलाई आग्रह गर्छु,” उहाँले भन्नु भएको छ ।उहाँले शान्ति वार्तामार्फत् नै विवाद र युद्धको अन्त्य गर्न सकिने भएकाले त्यसतर्फ नै लाग्नु पर्नेमा जोड दिनुभयो । (रासस÷सिन्ह्वा)

  • विश्व बैंकको वित्त निगम र गण्डकीका अर्थमन्त्रीबीच भेटवार्ता, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन छलफल

    विश्व बैंकको वित्त निगम र गण्डकीका अर्थमन्त्रीबीच भेटवार्ता, अन्तर्राष्ट्रिय लगानी भित्र्याउन छलफल

    पोखरा, २४ चैत-
    विश्व बैंकअन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकीका अर्थमन्त्री रामजी बरालसँग भेट गरेको छ । निगमका म्यानेजर सेल्मा, आईएफसी नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानीको टोलीले गण्डकीमा लगानी भित्र्याउने विषयमा छलफल गरेका हुन् ।

    उनीहरूले प्रदेशको प्राथमिकता पर्यटन भएकोले यही क्षेत्रमा निगमले लगानीका लागि आह्वान गर्ने र विभिन्न कार्यक्रम सन्चालन गर्ने बताए । ‘हामीले लगानीको अवसर खोजेका छौं । गण्डकीको ऊर्जा र पर्यटनमा लगानी धेरै आउन सक्छ,’ सेल्माले भनिन्, ‘अहिले यहाँको पर्यटन जोखिममा परेको छ । यसलाई पुनरुत्थानका लागि निगमले केही गर्ने कि भन्ने सोचेको छ । तर, सरकारको सुझाव आवश्यक पर्छ ।’

    सरकारकै प्राथमिकतामा आफुहरू योजना बनाउने सेल्माले बताइन् । अहिलेको अवस्थामा नेपाललाई अन्तर्राष्ट्रिय लगानी अति आवश्यक रहेको भन्दै त्यसअनुकुल व्यवस्था गर्न उनको सुझाव छ । अर्थमन्त्री रामजी बरालले सरकार निजी क्षेत्रसँग साझेदारी गर्न तयार रहेको बताए ।

    ‘प्रदेश सरकार लगानीको वातावरण विकास गर्ने क्रममा नै रहेको छ । त्यसका लागि आवश्यक नीति र कार्यक्रम तयार गर्दै छौँ,’ उनले भने, ‘आधुनिक कृषि प्रणालीको विकासका लागि निजी क्षेत्रसँग साझेदारी गरेर जाने सोचेको छ । स्वास्थ्य र शिक्षाको सुविधा विस्तार, जलविद्युत् निर्माण र बजारीकरणमा सरकारले चासो दिएको छ ।’

    उनले सरकारको व्यवसायिक प्रबर्द्धनमा आईएफसीको सहयोग पाउने विश्वास राखे । आउँदो वर्षको बजेट निर्माणमा यसलाई प्राथमिकताका साथ अघि बढाउने बरालको भनाइ छ ।- न्युज कारखाना

     

  • बेवारिसे अवस्थाका सात वटा बुलेट बाइक बरामद

    बेवारिसे अवस्थाका सात वटा बुलेट बाइक बरामद

    काठमाडौं, २४ चैत-
    प्रहरी बेवारिसे अवस्थामा रहेका सात थान रोयल ईन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न करिब २१ लाख मूल्य बराबरका बुलेट बाइक बरामद गरेको हो ।

    भारतीय नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखि कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सात थान बुलेट बाइक बरामद गरेको हो । बरामद मोटरसाइकललाई आवश्यक कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको महाशाखाले जनाएको छ ।
    सबै बाइकमा नक्कली नेपाली नम्बर राखिएको थियो ।- न्युज कारखाना

     

  • कानुन मन्त्रीमा शर्मा नियुक्त

    कानुन मन्त्रीमा शर्मा नियुक्त

    काठमाडौँ, २४ चैत-
    राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइरालालाई नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गर्नुभएको हो ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । (रासस)

  • संघले शिक्षाको कानुन पारित नगरेसम्म प्रदेश सरकारले कानुन बनाउन मिल्दैन : मन्त्री हिमबहादुर शाही

    संघले शिक्षाको कानुन पारित नगरेसम्म प्रदेश सरकारले कानुन बनाउन मिल्दैन : मन्त्री हिमबहादुर शाही

    सुर्खेत ,२४ चैत-
    आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मा पाएपश्चात् मन्त्रालयका गतिविधिहरू निरन्तर रूपमा अघि बढेका छन् । नौवटा विधेयकहरू सदनमा पेस भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयमा भएका गतिविधि र आगामी योजनाबारे आन्तरिक मामिला तथा योजनामन्त्री माननीय हिमबहादुर शाहीसँग न्युजकारखानाकर्मी जितेन्द्र थापाले गरेको कुराकानीः

    मन्त्रालयको पदभार ग्रहण गरिसकेपछि के कस्ता समस्याहरु झेल्नुपर्‍यो ?

    आन्तरिक मामिला तथा योजना मन्त्रालयकोे पदभार ग्रहण गरिसकेपछि आन्तरिक समस्याहरू रहेको पाएँ । जनशक्तिको अभावका कारण जति समयमा हुनुपर्ने हो त्यत्ति मात्रमा हुन सकेको छैन र म अहिले पनि अफ्ट्यारोमा परिरहेको छु । जिम्मेवारी समालेपछि मन्त्रालयले निरन्तर गति पाइरहेको छ । नौवटा विधेयकहरू सदनमा पेस गरेर प्रमाणीकरण भइसकेको छ । पेस गरिएका सात विधेयकहरू छलफलमा छ ।
    त्यसैगरी स्थानीय तहसँग विपत् व्यवस्थापनसम्बन्धीको गोष्ठी, प्रदेश सुरक्षा गोष्ठी र चारवटा प्रहरी चौकीहरूको पनि निर्माण भइसकेको छ । अहिले यस मन्त्रालयको जिम्मेवारी इमान्दारी र निरन्तर लगनशीलताका साथ अघि बढाइरहेको छु ।

    कानुन निर्माणमा कत्तिको अभ्यास गर्नुभएको छ ?

    कानुन बनाउने विषयमा कर्णाली प्रदेशले नौलौ अभ्यास गरेको छ । कानुन निर्माणमा कानुनविद र विज्ञहरूसँग मात्र छलफल गरेका छैनौँ । नागरिक समाज, साधारण जनताको आवश्यकता र भनाइहरू लिन जिल्ला जिल्लामा गएर छलफल गरी कार्य अगाडि बढाएका छौँ ।

    निर्माणकाे जिम्मा लिएर बीचमै काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कडाइका साथ कार्य गराउनका लागि मन्त्रलयले कदमहरू चाल्न सक्दैन ?

    तपाईं विश्वास गर्नुस् । निर्माण कार्यको लागि वर्तमान सरकारले प्रतिवद्धताका साथ पहल कदमहरू चालिएका छन् । प्रदेशअन्तर्गत भएका निर्माण भएका कार्यहरुलाई सम्पन्न गराउनका लागि सम्पूर्ण निर्माण कम्पनीहरूलाई चैत मसान्त भित्रमा प्रतिबद्ध गर्न लगाएका छौँ । चैत मसान्तसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरुलाई कालो सूचीमा सुचिकृत गर्ने निर्णय गरिसकेका छौँ । सुर्खेतकै वरिपरि हेर्ने हो भने एकदम तीव्रताका साथ विकास निर्माण कार्य भइरहेका छन् । श्रम मन्त्री स्वयं नै प्रत्येक निर्माण स्थलमा पुगेर अनुगमन गर्ने कार्य पनि भइरहेको छ ।

    तपाईंहरूको प्राथमिकताहरू विकास निर्माणमा मात्र छ की, सुशासनमा पनि ध्यान छ ?

    सुशासनमा ध्यान नहुने त कुरा नै भएन । देशको लागि चाहिने सबैभन्दा महत्वपूर्ण शान्ति र अमनचयन हो । विकास भनेको दोस्रो पाटो हो । शान्ति र अमनचयनका लागि सरकार सधै गम्भीर सतर्क हुनु नै पर्छ । यसको लागि कुनै किसिमको शंका गर्नु आवश्यक छैन ।

    स्रोत र साधनको अभावले सामुदायिक विद्यालयहरु गुणस्तरीय हुन सकेका छैनन् । के प्रदेश सरकारले कानुन बनाएर अगाडि बढ्ने अधिकार छैन ?

    एकदमै आवश्यक र अपरिहार्य प्रश्न गर्नुभयो । संविधानअनुसार संघले शिक्षाको कानुन पारित नगरेसम्म प्रदेश सरकारले कानुन बनाउन मिल्दैन । विश्वविद्यालयस्तरीय प्रदेश सरकारको जिम्मा र मावि तहदेखि बालविकाससम्म स्थानीय तहको जिम्मा भनेर संविधानमा उल्लेख गरेको छ । तर, संघीय सरकारले कानुन नबनाउँदा शिक्षा विधेयकको निर्माण कार्य छायाँमा परेको छ । शिक्षाको कानुन किन बनाएन भनि संघीय सरकारलाई मिडियाहरूले स्वतन्त्र रुपमा लेखिदिनका लागि अनुरोध गर्दछु । संघले कानुन नबनाएसम्म शिक्षाको क्षेत्र स्वस्थ्य हुँदैन । शिक्षाको क्षेत्र अहिले पनि गैरजिम्मेवारी पूर्वक अल्झिएको छ ।

    कर्णाली प्रदेशलाई सम्वृद्ध बनाउन सत्ता पक्ष र प्रतिपक्षदलहरु बिच के कस्तो समन्वय छ ?

    वर्तमान गठबन्धनको सरकारले ११ महिनासम्म चल्न नसकेको विवादग्रस्त रहेको सदनलाई सञ्चालन गर्न सफल भयौँ । कर्णाली प्रदेशको सम्वद्ध यात्राका लागि सत्ता पक्ष र प्रतिपक्ष दलका नेताहरूबीच छलफल गरेर गरिबी, बेरोजगार, अशिक्षा, भ्रष्टचारलाई निर्मूल पार्न सदनको १६औँ बैठक सम्पन्न गरेका छौँ ।- न्युजकारखाना

  • एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनायो नास्टले

    एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनायो नास्टले

    काठमाडौँ, २४ चैत-
    नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ ।

    त्यसमाथि सहर तथा सहरोन्मुख क्षेत्रमा आफ्नै सवारीसाधन चलाउनेको सङ्ख्या पनि वर्सेनि बढ्दै गएको छ । हरेक १५ दिनमा इण्डियन आयल कर्पोरेशनले पठाउने मूल्यसूची र त्यसैका आधारमा निगमले निर्धारण गर्ने मूल्यका आधारमा आफ्ना सवारीसाधन चलाउने हरेक नागरिकले थप खर्चको जोहो गर्नुपर्ने अवस्था आएको छ ।

    कोरोना कहरका कारण आर्थिक उपार्जनका क्षेत्र क्रमशः कमजोर बन्दै गएको तर इन्धनको मूल्यवृद्धि लगातार भइरहँदा त्यसले पारेको प्रभाव आफैमा हरेक घरका लागि आर्थिक सङ्कटको कारक बन्दै गएको छ । पेट्रोलियम पदार्थको प्रयोग हुने सवारीसाधनको विकल्प खोल्न नागरिक बाध्य हुँदै गएका छन् । त्यसो त, सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिँदै आएको छ । चालु आवको बजेटमा विद्युतीय सवारीसाधन आयात गर्दा एक प्रतिशत मात्रै भन्सार शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

    क्रमशः नागरिकले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिन थालेका छन् । तर, उपयुक्त स्थानमा चार्जिङ स्टेशन नहुँनु तथा पेट्रोलियम पदार्थ प्रयोग हुने जस्तै सवारीसाधन उपलब्ध नहुनुले पनि बाधा उत्पन्न गरिरहेको छ । हरेक सामान बिक्री गर्ने बजार मात्रै नेपाल भइरहेको सन्दर्भमा सरकारी तहबाटै विद्युतीय स्कुटरको अध्ययन गरेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले तार्किक निष्कर्षमा पु¥याएको छ । नेपालका अधिकांश प्रतिष्ठानले प्रभावकारी काम गर्न नसकेको तथा खोजी अनुसन्धानमा नलागेको भन्ने गुनासोकाबीचमा विद्युतीय स्कुुटर निर्माण गरेर नयाँ सन्देश दिन खोजेको छ ।

    नेपालको माटो र बाटो सुहाउँदो मोडल बनाएको दाबी गर्दै प्रतिष्ठानले व्यावसायिक रुपमा कारखाना नै स्थापना गरेर स्कुटर उत्पादन गर्न चाहनेलाई मार्ग प्रशस्त गरिएको छ । प्रतिष्ठानले तयार पारेको विद्युतीय स्कुटर प्रतिष्ठानका उपकूलपति डा सुनिलबाबु श्रेष्ठ, लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीलगायतले आफै प्रयोग गरेर हेरिसक्नु भएको छ । प्रतिष्ठानले ऊर्जा, जलस्रोत तथा सिँचाइ मनत्रालयलाई समेत सो स्कुटरका बारेमा जानकारी गराइसकेको छ । केही दिनभित्रै ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितीमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा एक पटक चार्ज गर्दा एक हजार किलोमिटर गुड्ने विद्युतीय सवारीसाधन उपलब्ध भइसकेको छ । विद्युतीय सवारीसाधनको निर्माणमा चीन र भारत दुवै देशले ठूलो प्रगति गरिसकेका छन् । नेपालका सडकमा पनि विभिन्न मोडलका विद्युतीय सवारीसाधन गुडन थालिसकेका छन् । पेट्रोलिम पदार्थको लगातार मूल्यवृद्धि भइरहने हो भने उपभोक्ताले बाध्य भएर नै विकल्प खोज्न थाल्छ । बजार अब सोही दिशातर्फ केन्द्रीत भइरहेको छ ।

    प्रतिष्ठानका प्रविधि शङ्काय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो मोडलको विकास गरिएको छ । प्रतिष्ठानले हाल प्रोटोटाइप (नमूना) निर्माण गरेको हो । यस्तै प्रतिष्ठानले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा समेत सम्भाव्यता अध्ययन गरिरहेको छ । सो कार्यका लागि लुम्बिनी प्रदेश सरकारले सहकार्य गरिरहेको छ ।

    प्रतिष्ठानको परिसरमा नै विद्युतीय स्कुटरको प्रयोगशाला निर्माण गरिएको छ । हाल बनाइएको स्कुटरको नाम ‘सारथी’ राख्ने बारेमा तयारी भइरहेको ढकालले जानकारी दिनुभयो । नेपालमा नै उत्पादनका लागि सहयोग पु¥याउने उद्देश्यका साथ जनशक्तिसमेत तयार भएको छ । प्रतिष्ठानले आवश्यक अध्ययनसहित सात महिनामा परिणाम निकालेको हो ।

    एउटा स्कुटर बनाउन प्रतिष्ठानले रु तीन लाखभन्दा बढी खर्च गरेको छ । ठूलो मात्रामा उत्पादन गर्ने अवस्था आउँदा नेपालभित्रै न्यूनतम रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्ममा विद्युतीय स्कुटर बनाउन सकिन्छ । सबै सामान विदेशबाट आयात गर्नुपर्ने भएकाले केही महँगो भने हुन जाने प्रतिष्ठानको बुझाइ छ ।

    नेपाल बजार मात्रै होइन, उत्पादनको थलो पनि बन्नुपर्छ भन्ने सोच राखेर आफूहरुले यसमा अध्ययन गरेको उल्लेख गर्नुहुँदै ढकालले विद्युतीय स्कुटर नेपालमा नै बनाउन सकिनेमा आफू आशावादी रहेको बताउनुभयो । प्रतिष्ठानले उहाँकै संयोजकत्वमा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्ने अध्ययन पनि गरेको थियो । भारतको अघोषित नाकाबन्दीको समयमा गरिएको सो अध्ययन अवस्था सामान्य भएपछि त्यत्तिकै हराएर गयो । सो स्कुटर निर्माणमा टिम लिडरका रुपमा प्रह्लाद गुप्ताले विशेष भूमिका निर्वाह गर्नुभएको हो ।

    प्रतिष्ठानले हाल तयार पारेको स्कुटरमा दुई किलोवाट क्षमताको लिथियम आयन ब्याट्री राखिएको छ । ब्याट्रीको क्षमता बढाउन सकिन्छ । हाल तयार भएको स्कुटर एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्न सक्छ । ढकालका अनुसार ब्याट्री र मोटरको क्षमता बढाउँदै जाँदा थप किलोमिटर गुड्ने बनाउन सकिन्छ ।

    विशेष गरी, अधिकांश विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीको समस्या देखिने गरेको छ । नेपालमा नै लिड सेल ब्याट्रीको अनुसन्धान भइरहेको छ । प्रतिष्ठानले त्यसमा प्राविधिक तथा प्राज्ञिक सहयोग गरिरहेको छ । विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिन जताततै चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता छ । नेपाल विद्युत् प्राधिकरणले देशभर पहिलो चरणमा ५० चार्जिङ स्टेशन निर्माण गर्ने भने पनि हालसम्म ठोस प्रगति हुनसकेको छैन ।

    यस्तै, निजी क्षेत्रबाट हुण्डाईले ४० वटा चार्जिङ स्टेशन निर्माण गर्दैछ । पछिल्लो पटक सरकारले पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनलाई विद्युतीय बनाउनका लागि कानुनी प्रबन्धसमेत गरिदिएको छ । यो काम गर्न पनि ढिलो भएको केहीको बुझाइ छ ।

    प्राधिकरणले विद्युतीय सवारीसाधनको चार्जिङका लागि विद्युत् महसुल पनि कम गरेको छ । रातिको समयमा चार्ज गर्दा झनै सस्तो पर्न जान्छ । यद्यपि, सबै स्थानमा चार्जिङ स्टेशन निर्माण हुनसकेको छैन । स्कुटर, मोटरसाइकल चार्ज गर्न भने घरमै पनि सकिन्छ ।

    काठमाडौँ उपत्यकामा निजी क्षेत्रले आफ्नै पहलमा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । यसलाई थप विस्तार गर्नुपर्ने आवश्यकता छ । प्राधिकरणले आन्तरिक रुपमा बिजुलीको खपत बढाउनका लागि विभिन्न योजना अगाडि सारेको भए पनि केही कानुनी जटिलताका कारण सोचेजति प्रगति हुन सकेको छैन ।

    प्रतिष्ठानका वरिष्ठ वैज्ञानिकसमेत रहनुभएका ढकाल सरकार र उद्योगीले देशभित्रै विद्युतीय सवारीसाधन निर्माण र प्रयोगका सन्दर्भमा साझा दृष्टिकोण बनाएर काम गर्नुपर्ने बताउनुहुन्छ । नयाँ कामका लागि केही न केही जोखिम लिनैपर्ने उहाँको भनाइ छ । प्रतिष्ठानले मोबाइल एपबाटै मोटरसाइकल स्टार्ट गर्ने प्रविधिकोसमेत विकास गरेको छ ।

    पेट्रोलियम पदार्थको खपत क्रमशः कम गर्दै जानुपर्ने छ । एकातिर वातावरणीय जोखिम बढ्दै गएको छ भने अर्कोतर्फ ठूलो धनराशि विदेशिएको छ । यसबाट जोगिनका लागि विद्युतीय सवारीसाधनको प्रयोग नै उपयुक्तविधि हुन जान्छ । वरिष्ठ वैज्ञानिक ढकालले समयले नै मानिसलाई क्रमशः विद्युतीय सवारीसाधनको प्रयोग गर्नेतर्फ अभिप्रेरित गर्ने र त्यसमा प्रतिष्ठानले प्राविधिक र प्राज्ञिक तहबाट सहयोग गरेको बताउनुभयो ।

    बजारमा हस्तक्षेप गर्नका लागि सरकारको तर्फबाट पहल हुनुपर्ने उहाँको भनाइ छ । देशभित्र नै विद्युतीय सवारीसाधन निर्माण हुनसक्छ भन्ने आत्मविश्वास जगाउन पनि आवश्यक छ । त्यसका लागि प्रतिष्ठानले पहल गरेको ढकालले जानकारी दिनुभयो । (रासस)