Blog

  • नीति तथा कार्यक्रम पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका

    नीति तथा कार्यक्रम पुस्तिकाको छपाइमा आर्थिक अनियमितताको आशंका

    सुर्खेत , २५ चैत-

    दैलेख नारायण नगरपालिकाको आर्थिक वर्ष ०७८/०७९ को वार्षिक नीति तथा बजेट कार्यक्रम पुस्तिकाको छपाईमा आर्थिक अनियमितताको आशंका गरिएको छ । एउटै किताब छपाईको मूल्य एक हजार तीन सय ४५ रुपैयाँ राखिएपछि अनियमितताको आशंका गरिएको हो ।

    नगरपालिकाले मागेको कोटेशनमा सबैभन्दा कम मूल्य प्रतिकिताब एक हजार तीनसय ४५ रुपैयाँ कवोल भएको भन्दै एक छापाखानालाई दुई सय ३० वटा किताब छाप्न दिएको छ ।

    किताब छाप्नका लागि प्रतिकिताब एक हजार तीन सय ४५ का दरले तीन लाख नौ हजार तीन सय पचास रुपैयाँ भुक्तानी गरेको पाइएको हो ।

    यो विषयमा परेको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा विचाराधीन अवस्थामा छ । -न्युज कारखाना

  • साइक्लिङ म्याराथन प्रतियोगिता चितवनमा चैत २६ गते हुने

    साइक्लिङ म्याराथन प्रतियोगिता चितवनमा चैत २६ गते हुने

    चितवन, २५ चैत-
    प्रज्ञा–स्मृति प्रतिष्ठान नेपालको आयोजना र खेलकुद विकास परिषद् बागमती प्रदेशको साझेदारीमा यही चैत २६ गते साइक्लिङ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

    प्रतियोगिताका संयोजक सन्तकुमार दरैले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । नारायणी नदी किनारमा प्रतिष्ठानका संरक्षक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सो प्रतियोगितामा हालसम्म ८६ जनाले नाम दर्ता गराएका छन् । तीमध्ये १२ जना महिला रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ताका लागि आज साँझसम्म समय तोकिएको छ ।

    प्रतियोगिता पाँच विधामा हुनेछन् । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् । १९ वर्ष माथिका साइकल चलाउन जान्ने जो कोही सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०÷२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा १०औँ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भरतपुर महानगरमा निर्माणाधीन रिङगरोडसहितका सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पु¥याउने साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ ।

    करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी रहेको छ । नारायणी नदी किनारबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, ¥यालीसहित पुनः नारायणी किनारमा आई समापन हुनेछ । प्रतियोगितामा विजेता खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ ।

    साथै विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पीडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको कूल बजेट रकम रु ४२ लाख ७३ हजार ३३५ रहेको छ । तीमध्ये विजेता खेलाडीलाई नगद पुरस्कारमा मात्रै रु पाँच लाख ९५ हजार खर्च हुने संयोजक दरैले बताउनुभयो ।

    प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफबाट समेत सहभागिता रहनेछ । बिहान ७ बजे प्रतियोगिता सुरु हुनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएपछि उहाँहरुको स्मृतिमा प्रतिष्ठान बनाएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

    शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएकोसमेत उहाँले बताउनुभयो । भरतपुरको रिङरोड अहिले ६६ किलोमिटर रहे पनि चाँडै ८८ किलोमिटर रिङरोडमा म्याराथन हुने पनि उहाँले बताउनुभयो । खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उहाँको भनाइ छ ।(रासस)

  • चितवनका मतदानस्थललाई  तीन तहमा वर्गीकरण

    चितवनका मतदानस्थललाई तीन तहमा वर्गीकरण

    चितवन, २५ चैत-
    जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थललाई वर्गीकरण गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी अस्मान तमाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको बताउनुभयो । समितिको बैठकले ३१ स्थललाई अति संवेदनशील, ८२ लाई संवेदनशील र ४८ स्थललाई सामान्यरुपमा लिइएको छ । प्रमुख जिल्ला अधिकारी तमाङका अनुसार निर्वाचनस्थलको निरीक्षणपछि सो सङ्ख्यामा वर्गीकरण गरिएको हो । अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको वर्गीकरण गरिएको बताइएको छ ।

    जिल्लाका सात पालिकामा ४५१ मतदान केन्द्र रहेको छ । केन्द्रमा निर्वाचनका लागि दुई हजार २५५ कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउनेछ भने प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरुपमा नै नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको छ । यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा वैशाख ३ र ४ गते अधिकृतलाई तालिम दिइनेछ । वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो । यही वैशाखमा हुने निर्वाचनमा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । (रासस)

  • नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्यबीमा सेवा सुचारु

    नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्यबीमा सेवा सुचारु

    भक्तपुर, २४ चैत-
    मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनः स्वास्थ्यबीमा सेवा सुरु भएको छ ।

    सरकारले स्वास्थ्यबीमा वापतको रु नौ करोडको भुक्तानी गर्न ढिलाइ गरेपछि गत असोज १ गतेबाट बन्द भएको स्वास्थ्यबीमा सेवा ६ महिनापछि आजबाट पुनः सुचारु भएको हो ।

    आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्वास्थ्यबीमा सेवा शुभारम्भ गर्दै अब यस अस्पतालमा सेवा लिँदै आएका बिरामीले उपचार र बीमाको सेवा प्राप्तिका लागि अन्त भौतारिनु नपर्ने बताउनुभयो । अस्पतालले ६ महिना अगाडि बिरामीलाई दिँदै आएको सम्पूर्ण सेवा र सुविधा आजदेखि पुनः सुचारु गरिएको बताउनुभयो ।

    उहाँले स्वास्थ्य बीमा कार्यक्रम सरकारको एकदमै राम्रो र प्रभावकारी कार्यक्रम भए पनि रकम भुक्तानीमा हुने ढिलाइले समस्या आएको भन्दै अस्पताललाई बीमा बोर्डले तिर्नुपर्ने रु नौ करोड बाँकी भए पनि बाध्य भएर सेवा बन्दगर्नु परेको बताउनुभयो । यहीँ चैत ११ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले नेपाल कोरिया मैत्रीनगरपालिका अस्पतालको अनुगमन गरी बीमावापतको बाँकी रकम भुक्तानी गर्ने तथा बीमा सेवा छिटो सुरु गराउने बताउनुभएको थियो ।

    नगर प्रमुख श्रेष्ठले स्वास्थ्यमन्त्रीले अनुगमन गरेपछि बाँकी रकम आएको र बीमा बोर्डले अब एकतर्फी रुपमा सेवा बन्द नगर्ने सहमति बनेपछि आजबाट सेवा सुरु गर्नुभएको बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रममा (नेकपा समाजवादी)भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतले स्वास्थ्यबीमा सूचारु गराउने स्वास्थ्यमन्त्रीलाई ल्याएर अनुगमन गराएर यहाँका बिरामीले पाएको समस्यका बारेमा जानकारी गराएरपछि बीमा सूचारु गराउन सफल भएको बताउनुभयो ।

    यसअघि बीमा सुचारु गराउन माग गर्दै (नेकपा माओवादी) केन्द्र मध्यपुरथिमिका सभापति विजय श्रेष्ठको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको थियो भने नेकपा समाजवादीका अध्यक्ष श्यामसुन्दर बस्नेतले स्वास्थ्य मन्त्रालयमा बीमा सेवा सुचारु गर्न पहलगर्नु भएको थियो । आज अस्पतालमा नगर प्रमुख श्रेष्ठ, समाजवादीका जिल्ला अध्यक्ष बस्नेत र माओवादी केन्द्रका नगर समिति अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । बीमा सेवा सुरु भएपछि आजैदेखि बिरामीको चाप पनि अस्पतालमा बढेको छ ।

    दैनिक कम्तीमा ६०० देखि बढीमा ७०० जनासम्म बीमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउने गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्र्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवा लिँदै आएका छन् ।

    हाल १०२ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसीयु, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् ।आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसिआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालका रुपमा चिनिएको थियो । अस्पतालले सिटीस्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथल्याब, मिर्गौलाका बिरामीका लागि छ वटा डायलायसिस मेसिन सञ्चालन तयारी गरेको उहाँले बताउनुभयो ।

    स्वास्थ्य बीमा कार्ड भएका बिरामीको प्रथमबिन्दु अर्थात् सिफारिस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्रवाहगर्दै आएको छ । (रासस)

  • समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

    समृद्ध नेपाल निर्माणमा सहयोग गर्न निजी क्षेत्रलाई मन्त्री भुसालको आग्रह

    ललितपुर, २४ चैत-
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध नेपाल निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

    ललितपुर चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले ठूलो राजनीतिक परिवर्तनपछि सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे अर्थनीति अवलम्बन गरी देशको आर्थिक विकास गर्न सकिन्छ भन्ने लक्ष्य लिइएको स्मरण गर्नुभयो ।

    चेम्बर अफ कमर्सले देशको आर्थिक विकासमा पु¥याएको योगदानको कदर गर्दै मन्त्री भुसालले भन्नुभयो, “अर्थतन्त्रमा चेम्बरले पु¥याएको योगदान सराहनीय छ, आगामी दिनमा देशको आर्थिक विकासमा सफलता मिलोस् ।” उहाँले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने निजी क्षेत्रको सङ्गठन भए उपयुक्त हुन्थ्यो भन्ने आफूलाई लागेको बताउनुभयो ।

    मन्त्री भुसालले निजी क्षेत्रका जति संस्था भए पनि देशको आर्थिक विकासमा मिलेर र समन्वय गरेर आफ्ना क्रियाकलाप बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सबै संस्था मिलेर आपसी सहकार्य गरेर अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास राखेको छु ।”

    सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सरकारसँग निरन्तर सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । संस्थाका ललितपुर अध्यक्ष पुष्परत्न शाक्यले स्थानीय र केन्द्रीय सरकारका एकाइमा चेम्बरको प्रतिनिधित्व हुनुपर्ने माग गर्नुभयो । (रासस)

  • खानेपानीको सङ्कट बढ्दैः स्थानीयवासी चिन्तित

    महोत्तरी, २४ चैत-
    मुलुकमा स्थानीय तह निर्वाचनको राप बढिरहेकै बेला महोत्तरीको उत्तरीक्षेत्रमा भने सर्वसाधारण खानेपानी नपाइने चिन्तामा छन् ।

    चैत सकिँदै गर्दा नै जिल्लाको उत्तरीक्षेत्रमा खानेपानीको सङ्कट बढेको छ । पानीका मुहान धमाधम सुक्न थालेपछि जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो ।

    नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको यहाँका बासिन्दाले बताएका हुन् । सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्यचैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् । अब असारमा राम्रो वर्षा नहउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताउँछन् ।

    “देशमा ठूलावडालाई चुनावी रन्को छ, हामीलाई पानी खान नपाइने हो की भन्ने चिन्ता छ”, भङ्गाहा नगरपालिका–४ टोका बस्तीका राजकुमार दासले भन्नुभयो, “इनारको पानी रसातलमा पुगिसक्यो, राम्ररी डोल (बाल्टिन डुब्न खोज्दैन, चापाकलले त मध्य चैतअघि नै जवाफ दिईसके ।” चैत नबित्दै पानीको यो हाहाकारले वैशाख÷जेठ कसरी टर्ने हो, सम्झेरै अत्यास लाग्ने उहाँले बताउनुभयो । भङ्गाहा नगरक्षेत्रका ४ र ५ नं वडा बस्तीमा वर्षेनि गर्मीयाममा खानेपानीको सङ्कट पर्दै आएको छ । “हामीले थाहा पाउँदै १५ हातभन्दा बढी इनार खन्न सकिदैनथ्यो, पानीको मुल भेटिन्थ्यो, अब त ती पुराना इनार सबै सुके”, भङ्गाहा–४ कै ६० वर्षीय हरिदेव साहले प्रश्न तेस्र्याउँदै भन्नुभयो, “किन होला पानीका मुहान गहिरिएका ?”

    चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछवासी बताउँछन् । चुरे पहाडी काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्बर वडामा ३० भन्दा बढी बस्ती छन् । पाखाबस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ । “एक दशकअघिसम्म यहाँका जरुवा कहिल्यै सुक्दैन्थें, पछिल्ला केही वर्षयता नदी, पाखा र बगरपर्ति जग्गामा बालुवा ढुङ्गा झिक्न ठूलठूला यन्त्र चल्न थालेपछि मुहान सुक्दै गएका हुन्”, बर्दिबास–१० खयरमाराका सामाजिक, राजनीतिक कार्यकर्ता प्रेमध्वज लामाले पानीका मुहान सुक्दै जानुको कारणबारे भन्नुभयो, “वन उजाडिँदै जानु र अवैध उत्खनन नियन्त्रण हुन नसक्दा पानीका मुहान चाँडै सुक्ने गरेका हुन् ।”

    बर्दिवास–१, २, ३ र १४ का सघन सहरी बस्तीमा धाराबाट पनि खानेपानी झर्न निकै कम भएको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले बताउनुभयो । “हाम्रो यताका धारामा पानी कहिल्यै सुक्दैनथ्यो”, केही वर्ष पहिलेको अनुभव प्रष्ट्याउँदै उहाँले भन्नुभयो, “पछिल्ला तीन÷चार वर्षदेखि गर्मीयाममा पानी झर्न कम भएको छ ।” त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने विजयबस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् ।

    यस बाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा होमबहादुर श्रेष्ठले बताउनुभयो । बर्दिवासकै किसाननगर, विजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगरसहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा पिरोलो बढेको छ ।

    यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, भूचक्रपुर, धतियाटोल र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैत अन्तिम नहुँदै खानेपानीको सङ्कट बढेको हो । बर्दिवास–८ हाथीलेटको विजयबस्तीमा ५५ घरकाबीच रहेको एउटा इनार पनि चैतको दोस्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् । “पहिले÷पहिले पनि इनार त सुक्थे”, विजयबस्तीकी गृहिणी मनमायाले भन्नुभयो, “जेठसम्म पानी नपर्दा इनार सुक्ने त ब्यहोरिएको थियो, पछिल्ला दुई÷तीन वर्षदेखि त चैतमै इनार सुक्न थालेका छन् ।”

    बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन) पानीमा डुब्न छाडेको सो बस्तीका गृहिणी बताउँछन् । “बाल्टिनभरि पानी आउँदैन, बाल्टिनमा तानिएको आधाउधी पानी पनि एकैपटक इनारभित्र झारिएका १५÷१६ वटा डोल ठोक्किँदा अलिकति पानीमाथि आइपुग्छ”, बस्तीकै अर्की गृहिणी सुभग्यादेवीले भन्नुभयो, “चैतमै यो हालत छ, जेठसम्म के होला ?”

    पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीनवटै नगरपालिका (बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका) बस्तीका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सँम्झदै बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता राजु महतोले पाँच वर्षयताभने इनार चैतमै सुक्न थालेका बताउनुभयो । आफ्ना वरिपरिका इनारहरु धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढा–टाढा पुग्नु परेको छ । सरदर ५० फिट गहिराइका ५० प्रतिशत इनारको पानी तल्लो गोल (इनार बनाउँदा लगाइने सिमेण्ट, छड लगाएर बनाइएको रिङ्ग) मा पुगी सकेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहाले बताउनुभयो ।

    बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई न्वाइध्वाइसँगै बस्तुभाउलाई पानी ख्वाउनसमेत निक्कै सकस परेको भङ्गाहा–४ का बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोबास रहेका रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकी सकेका सो बस्तीका भरत यादबले बताउनुभयो । इनारहरु धमाधम सुकेपछि सिचाइँको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर बस्तीकै अर्का किसान नारायण दाहालको दुखेसो छ ।

    यसपालि राम्ररी हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा वालुवा ढुङ्गा उत्खनन् गर्नेहरुले ठूलठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैतमध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरु बताउँछन् । “हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापर्वाही गयौं”, महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिँदै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेब यादवले भन्नुभयो, “नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।”

    स्थानीय तहको निर्वाचन सम्पन्न भएर २०७४ यता जनप्रतिनिधिहरुले काम गर्न थालेपछि खानेपानीका थुप्रै योजना बनेर धमाधम इनार खनिएपनि खानेपानीको समस्या भने झन्झन् बढ्दै गएको छ । इनार धमाधम खनिएपनि खानेपानीका स्रोत र मुहानको संरक्षण हुन नसक्दा नयाँ खनिएका इनार पनि चैतमध्यमै सुक्दै गएका विज्ञ बताउँछन् । चुरे क्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र , नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवम् उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने भङ्गाहा–७ का बासिन्दा वन, वातावरण र चुरे विज्ञ डा. विजयकुमार सिंहले बताउनुभयो ।

    विगतमा राष्ट्रपति चुरे संरक्षण अभियानमा संलग्न रहनु भएका डा. सिंहले यस भेगका सबै स्थानीय तहको नेतृत्वलाई प्राकृतिक सम्पदाको उपयोग र संरक्षण नीति स्पष्ट बनाउन अपिल पनि गर्नुभयो । यसपालि हुन लागेको स्थानीय तह निर्वाचनमा मुख्य मुद्दा यो बन्नुपर्नेमा उहाँको जोड छ । पछिल्ला केही वर्षयता रातु, बडहरीसहितका नदीबाट वालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पहाडको दोहन र वन विनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिदा खोपानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरुको भनाइलाई स्थानीय तहले भने वास्ता नगरेका सर्वसाधारणको गुनासो छ ।

    यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाउन बेखबर नभएको बताएका छन् । “हामी प्राकृतिक सम्पदाको संरक्षण र यसको दीर्घकालीन उपयोेग कसरी गर्न सकिन्छ भन्ने कुरामा गम्भीर भएका छौं”, बर्दिबास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले भन्नुभयो, “विकास र पूर्वाधार निर्माणका योजनामा प्राकृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ ।”

    स्थानीय तहले खानेपानीका समस्या समाधान हुने बताउँदै आए पनि प्राकृतिक सम्पदाको उपयोग नीति स्पष्ट नपारेसम्म समस्या समाधान हुन नसक्ने विज्ञहरु बताउँछन् । (रासस)

  • वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

    वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

    बागमती, २४ चैत-
    मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुँमागार्इंले उद्घाटन गर्नुभयो ।

    कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । सो अवसरमा मन्त्री हुमागार्इंले वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

    कार्यक्रममा निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो । (रासस)

  • नेप्सेमा दोहोरो अंककाे सुधार

    नेप्सेमा दोहोरो अंककाे सुधार

    काठमाडाैं, २४ चैत-
    यस हप्ता लगातार चार दिन घटेको बजार पाँँचाैं दिन बिहीबार भने दोहोरो अंकले उकालो लागेको छ । ३५ दशमलब ६९ अंकले बजार उकालो लाग्दा २४ सय ६४ दशमलब ३६ बिन्दुमा आएर बजार बन्द भएको छ ।

    बजार उकालो लागे पनि कारोबार रकममा भने खासै उल्लेखनीय सुधार आएको छैन । २२४ वटा कम्पनीको सेयर कारोबार हुँदा कारोबार रकम भने दुई अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२४ वटा कम्पनीमध्ये १९० वटा हरियो २७ वटा रातो र सातवटा भने स्थिर रहेका छन् ।

    बजार उकालो लाग्दा नेश्डो लघुवित्त र हिमालयन पावर दुई कम्पनी सर्किट लेबलमा कारोबार भएका छन् । नेश्डो लघुवित्तको अन्तिम कारोबार १७ सयमा र हिमालयनको भने ४६२ रुपैयाँमा भएको छ । यसैक्रममा नेपाल दूरसञ्चारको शेयर मूल्य भने ६२ अंकले बढ्दा अन्तिम कारोबार ११३० मा भएको छ ।

    अत्याधिक घट्नेमध्ये राष्ट्रिय उत्थान ७ दशमलव ७१ प्रतिसतले घट्दा १५ सय ३२ मा कारोबार भएको छ भने इमजिन नेपाल ६ दशमलव ६१ प्रतिशतले घट्दा १११२ मा अन्तिम कारोबार भएको छ ।

    बजारमा सबैभन्दा धेरै कारोबार हुनेमध्ये नबिल बैंक ७ करोड ३८ लाख बराबरको भने प्राइम बैंक ६ करोड ७१ लाख बरबरको सेयर कारोबार भएको छ । अत्याधिक बढ्ने क्रममा भने ३ दशमलब ५९ प्रतिशतले अन्य इन्डेक्स र १ दसमलब ७ प्रतिसतले डेभलपमेन्ट बैक इन्डेक्स उकालो लागेको छ ।- न्युज कारखाना

  • नम्रता श्रेष्ठ भन्छिन्- विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ

    नम्रता श्रेष्ठ भन्छिन्- विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ

    काठमाडौं, २४ चैत-
    सन् २००८ मा बनेको फिल्ममार्फत विनय श्रेष्ठ र नम्रता श्रेष्ठले नेपाली फिल्ममा पाइला टेके । डिजिटल फर्म्याटमा निर्माण भएको दोस्रो फिल्म भएकाले पनि यसले राम्रो चर्चा पायो । म्युजिक भिडियोमा निकै नाम कमाएका आलोक नेम्वाङले निर्देशन गरेको फिल्मले सहर केन्द्रीत हलमा सन्तोषजनक नै व्यापार गर्यो ।

    विशेषतः नेपालभर डिजिटल प्रविधि नभएकाले पनि धेरै स्टेसनमा फिल्म प्रदर्शन भएन । तर, विनय र नम्रताको राम्रै चर्चा भयो । उनीहरूसँगै कार्मको पनि प्रशंसा भयो । तर, त्यसपछि यो जोडीलाई दर्शकले देख्न पाएका छैनन् । आउँदो वर्षसम्म विनय र नम्रतालाई भने ‘ग्रहण’ फिल्ममा दर्शकले देख्न पाउनेछन् ।

    ‘हामीले किन काम गरेनौ भन्दा पनि साइत जुरेन । हामीलाई लिएर केही फिल्म अफर भएका थिए, तर त्यो विविध कारणले बनेनन्,’ नम्रताले भनिन्, ‘म विनय दाईसँग फिल्म गर्दैछु तर कर्मासँग पनि फिल्म भएको छैन । विनयसँग यसपटक कथा मिलेको छ । मैले आफ्नो क्यारेक्टरको बारेमा धेरै खुलाउन मिल्दैन । मेरो क्यारेक्टर एरियल योगा इन्स्ट्रक्टरको हो ।’

    विनय फिल्ममा कलाकारसँगै कार्यकारी निर्माता पनि छन् । ‘राजीवजी (निर्देशक) को कुरा सुनेर म पनि फिल्ममा अनुबन्धित भएको हुँ । उहाँ नयाँ हुनुहुन्छ केही गर्छु भनेर आउनु भएको छ । हामीले सघाउनुपर्छ,’ विनयले भने । उनले फिल्ममा आफू नम्रताको लभ इन्ट्रेस्ट भएको बताए । ‘राजीवजीले कथा लेख्दा नै मलाई र नम्रतालाई हेरेर कथा लेख्नु भएको रैछ । र, हामी पनि मन परेर जोडिएका हौँ,’ विनयले भने ।

    फिल्ममा सारुक ताम्राकार पनि छन् । उनले नम्रताको ब्वाईफ्रेन्डको क्यारेक्टर निर्वाह गर्नेछन् । ‘म प्रोटागोनिस्टको ब्वाइफ्रेन्डको क्यारेक्टरमा छु । उहाँहरूसँग प्रोजेक्टमा जोडिन पाउँदा निकै उत्साहित छु । प्रोजेक्ट प्लानिङमै पनि मैले राम्रो उहाँहरूबाट सिकिरहेको छु,’ उनले भने ।

    राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा यसै साता मात्र घोषणा गरिएको थियो । ‘फिल्मको कथा सिक्किमसँग जोडिएकाले नै सिक्किममै पुगेर घोषणा गरेका हौँ । फिल्मका लागि सिक्किमकै एउटा लिड क्यारेक्टर खोजिरहेका छौँ,’ राजीवले भने । अमेरिकाबाट फिल्मसम्बन्धी अध्यन गरेर नेपाल फर्किएका राजीवले फिल्मलाई स्तरीय बनाउन र कथा सुहाउँदो पात्र छनोट गर्दा विनय, नम्रता र सारुक परेको बताए ।

    थ्रिलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने भएको छ । भारतको सिक्किम र नेपालमा छायांकन हुने फिल्मले दुवैै देशको पर्यटनमा सघाउने विश्वास उनको छ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने भएका छन् । फिल्ममा हरि हुमागाईंको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन, विशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनप्ले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको छ ।- न्युज कारखाना

     

  • सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

    सर्लाहीमा छिमेकीको सेप्टिक ट्यांकीमा भेटियो बालकको शव

    मलङ्गवा, २४ चैत-
    सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ ।

    मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो ।

    आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

    घटना अनुसन्धानमा खटिएको प्रहरी टोलीले जगदीश ठाकुरसहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको मलङ्गवा–१२ गम्हरीयाका वडा अध्यक्ष रामदरश रायले जानकारी दिनुभयो । जगदीशका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै आफ्नै घरको माथिल्लो तलामा हत्या गरेर बोराभित्र शव राखेर सेफ्टी ट्याङ्कीभित्र लुकाएको वडाध्यक्ष रायले बताउनुभयो ।

    बालकको शव सेफ्टी ट्ययाङ्कीभित्र लुकाएर माटोले लिपिएको अवस्थामा फेला परेको उहाँले जानकारी दिनुभयो । ‘मृतक बालकका परिवारसँग रु १५ लाख फिरौतीसमेत माग गरिएको थियो”, वडाध्यक्ष रायले भन्नुभयो, “फिरौतीका लागि बालकको अपहरण गरिएको थियो तर पोल खुल्ने डरले बालकको हत्या गरिएको रहेछ ।”

    छोरो हत्याको घटना सुनेर उनको आमा अहिले बेहोस भएकी छिन् । उनको मलङ्गवास्थित ओम अस्पतालमा उपचार भइरहेको छ । (रासस)