Blog

  • गाउँपालिका अध्यक्ष यादवले लाखौं आन्तरिक राजश्व हिनामिना गरेको खुलासा मुकेश कुमार यादव

    गाउँपालिका अध्यक्ष यादवले लाखौं आन्तरिक राजश्व हिनामिना गरेको खुलासा मुकेश कुमार यादव

    सिरहा, २५ चैत-
    सिरहाको एक पालिका अध्यक्ष र कर्मचारीको मिलेमतोमा लाखौं आन्तरिक राजश्वबाट उठेको रकम हिनामिना भएको पाइएको छ ।

    विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादव र नायव सुब्बा महेन्द्रप्रसाद यादवले आर्थिक वर्ष २०७७/७८ मा संकलन गरेको ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ हिनामिना गरेको खुलेको हो ।

    करार सेवामा कार्यरत कर्मचारीलाई गाउँपालिका अध्यक्षले राजस्वको रकम कुम्ल्याउनकै लागि राजस्व शाखाको जिम्मेवारी दिइएको पाइएको छ । राजस्व शाखामा कार्यरत यादवले २०७७ साउन १ गते देखि २०७८ असार ३१ गतेसम्म एक वर्षको अवधिमा संकलन भएको ५५ लाख २७ हजार ७७ रुपैयाँमध्ये ३४ लाख २३ हजार ७ सय ९० रुपैयाँ अझै बैंक दाखिला नगरेको प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले जनाए ।

    उनले आफू भर्खरै यो जिम्मेवारीमा आएकोले धरै कुरा थाहा नभए पनि राजस्व रकम बैंक दाखिला नभएको पाइएपछि आफूले तुरुन्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ बमोजिम २५ प्रतिशत जरिवानासहित ४२ लाख ७९ हजार ३ सय ३७ रुपैयाँ दाखिला गर्न पत्र काटिसकेको बताए । तत्काल रकम जम्मा गर्न निर्देशनसहितको पत्र काटेको उनले बताए ।

    हिनामिना गर्ने कर्मचारीको नाममा रकम बुझाउन पत्र काटेको १० दिन बितिसक्दा पनि अझै रकम जम्मा भएको छैन । उनले महालेखा परीक्षणको क्रममा यो कुरा जानकारी हुनासाथ आफूले उनलाई पटक-पटक ताकेता गरेको पनि जानकारी दिए ।

    यता नासु महेन्द्रप्रसाद यादवले प्रशासनिक रूपमा आफू दोषी भएको स्वीकार गरेका छन् । ‘प्रशासनिक हिसाबले मैले जिम्मेवारी लिनु पर्छ । तर, रकम आफूले गाउँ पालिका अध्यक्ष अशेश्वर यादवलाई दिएको थिए । मैले त्यस्तो गर्नु गल्ती भयो,’ उनले भने ।

    यता अध्यक्ष यादवले कर्मचारीले आफूलाई फसाउन खोजेको आरोप लगाएका छन् । अध्यक्ष यादवले भने, ‘मैले कोही कर्मचारीसँग कुनै पैसा लिएको छैन । कर्मचारीहरूले मलाई फसाउन र बदनाम गर्न खोजेका छन् । म योभन्दा बढी अहिले केही भन्दिन । पत्रकारलाई बोलाएरै थप कुरा गर्ने छु,’ उनले भने ।

    घटना सार्वजनिक भएलगत्तै पालिकाका एक वडा अध्यक्षले कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहालाई जानकारी गराएका थिए । जानकारीपछि कोलेनिकाले पालिकाको खाता रोक्का गरे पनि अध्यक्ष आफै आएर तत्काल रकम जम्मा गर्ने प्रतिबद्धता जनाउँदै खाता खोल्न लगाएको एक कर्मचारीले जानकारी दिए । तर, अझै रकम जम्मा नभएको उनले सुनाए ।- न्युज कारखाना

     

     

  • डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज : अध्यक्ष दाहाल

    डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई मेडिकल कलेज : अध्यक्ष दाहाल

    चितवन, २५ चैत-
    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डडेल्धुरा अस्पतालकै मोडेलमा भरतपुर अस्पताललाई पनि मेडिकल कलेज बनाउन आवश्यक रहेको बताउनुभएको छ । भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले स्वास्थ्य र शिक्षा मन्त्रालय, सम्बन्धित अस्पतालको त्रिपक्षीय सम्झौता गरेर मेडिकल कलेज स्थापना गर्नुपर्ने बताउनुभएको हो ।

    डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो भने भरतपुर अस्पताल रहेको चितवन दाहालको गृह जिल्ला हो । “प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा स्वास्थ्य, शिक्षा मन्त्रालय, सम्बन्धित अस्पताललगायतको त्रिपक्षीय सम्झौता गरेर सुदूरपश्चिम विश्वविद्यालयको मेडिकल कलेजका रूपमा विकास गर्ने एउटा मोडालिटी तयार भएको छ”, उहाँले भन्नुभयो, “भरतपुर अस्पताललाई पनि सेन्टर अफ एक्सिलेन्सका रूपमा र एकेडेमिक सेन्टरको रूपमा त्यही मोडालिटीअनुसार मैले यहाँबाट फर्केर गएपछि प्रधानमन्त्रीलाई भन्ने छु ।”

    उहाँले भरतपुर अस्पताललाई पनि त्यही मोडालिटीमा पोखरा विश्वविद्यालयको मेडिकल कलेजका रूपमा स्थापित गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंले डडेल्धुरामा गर्नु भएछ अब पालो चितवनको भन्ने छु । मलाई विश्वास छ प्रधानमन्त्रीले मेरो कुरा काट्नु हुने छैन । काट्न मिल्ने ठाउँ नै छैन ।” प्रधानमन्त्रीले डडेल्धुरामा गरेपछि आफूले चितवनमा माग्नु बिलकुल जायज भएको बताउनुभयो ।

    अस्पतालमा आवश्यक रहेको एमआरआई सेवा, मुटुरोगसम्बन्धी क्याथ ल्याब, ओएनएम र एकेडेमीको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले भन्नुभयो, “मैले यो अस्पताललाई आवश्यक परेका चारवटै कुरामा मेरो सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”

    भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेण्ट प्रा डा सुनिलमणि पोखरेलले अस्पतालको वस्तुस्थिति र आवश्यकताका बारेमा प्रकाश पार्नुभएको थियो । न्यून जनशक्तिका कारण उपचारमा कठिनाइ भएको भन्दै आवश्यक पहलका लागि उहाँहरुको अनुरोध थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेपाली कांग्रेस चितवनका कार्यवाहक सभापति राजीव न्यौपाने, नेकपा (समाजवादी) का उपाध्यक्ष कृष्णराज न्यौपाने, नाम्सका डिन प्रा डा पियुष दाहाल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा कृष्णप्रसाद पौडेललगायतले बोल्नुभएको थियो ।

    सो अवसरमा ट्रमा एण्ड डाइग्नोस्टिक ब्लक भवन र कुरुवा भवनको दाहालले उद्घाटन गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा प्रकाशित सञ्जीवनी पुस्तकको उहाँले विमोचन गर्नुभयो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलको संयोजकत्वमा पुस्तक प्रकाशन गरिएको हो । कार्यक्रममा अस्पतालमा उत्कृष्ट कार्य गर्ने र बिदाई भएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरिएको थियो । (रासस)

  • यसवर्ष नेपालमा विभिन्न हिमाल आरोहण गर्न ५०५ जना लिए अनुमति, करिव ३० करोड राजस्व संकलन

    यसवर्ष नेपालमा विभिन्न हिमाल आरोहण गर्न ५०५ जना लिए अनुमति, करिव ३० करोड राजस्व संकलन

    काठमाडौं, २५ चैत-
    यसवर्ष नेपालका १८ वटा हिमाल आरोहण गर्नको लागि ५०५ जनाले अनुमति लिएका छन् ।

    पर्यटन विभागका अनुसार यसवर्ष हालसम्म ६१ वटा समूहलाई हिमाल आरोहणको अनुमति दिइएको छ । ती समूहमा ३८९ पुरुष र ११६ जना महिला गरी कूल ५०५ जना रहेका छन् ।

    यसवर्ष सबैभन्दा बढीले विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्नको लागि अनुमति लिएका छन् । हालसम्म २३ समूहमा २०४ जनाले सगरमाथा आरोहणको लागि अनुमति पाएका छन् । सगरमाथा आरोहणको लागि अनुमति पाउनेमा १५८ जना पुरुष र २०४ जना महिला छन् ।

    सगरमाथा पछि दोस्रो ठूलो संख्या लोत्से हिमाल आरोहणको लागि अनुमति लिनेहरुको छ । लोत्से हिमाल आरोहण गर्न हालसम्म ५२ जनाले अनुमति लिएका छन् ।

    विभागका अनुसार आमादब्लमको लागि ३९, अन्नपुर्ण फर्टको लागि २६, बरुन्त्सेको लागि १६, धौलागिरीको लागि २१, हिमलुङको लागि १६, कञ्चनजङ्गाको लागि ४६, मकालुको लागि १५, मनास्लुको लागि ९, नुप्त्सेको लागि २८ जनाले अनुमति पाएका छन् ।

    यसवर्ष हिमाल आरोणको लागि अनुमति दिंदा हालसम्म २९ करोड ७४ लाख ३४ हजार ८०१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ ।न्युज कारखाना

     

  • पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश

    पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश

    काठमाडौं, २५ चैत-
    काठमाडौं जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ ।

    पशुपति क्षेत्र विकास कोषले शुक्रबार ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद म्याद बाहेक १५(पन्ध्र) दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरुको नाममा आदेश दिएको छ ।

    होटेल आनन्द प्रा.लिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरिएको छ । नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।

    ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो। तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।

    कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ। होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ। अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच शुक्रबार पनि विवाद भएको थियो ।

    यसअघि गत बिहीबार पर्यटनमन्त्री प्रेमबहादुर आले कोषका पदाधिकारीसहित धर्मशाला पुगेका थिए । त्यसबेला पनि बतास समूहका कर्मचारीले अवरोध गरेका थिए । -न्युज कारखाना

  • आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

    आयात गर्ने संस्कार निरुत्साहित गर्न मन्त्री भुसालको आग्रह

    ललितपुर, २५ चैत
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गर्नुभएको छ । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवद्र्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रवद्र्धन गरौँ ।”

    व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याउँदै मन्त्री भुसालले भन्नुभयो, “सिँचाइ विभागको तथ्याङ्कमा सन् २०१९÷२०२० मा नेपालको कृषि व्यापार घाटा लगभग रु दुई खर्ब ५० अर्ब रहेकामा र सन् २०२१÷२२ मा ३० प्रतिशतले वृद्धि भएर रु तीन खर्ब २५ अर्ब पुगेको छ, यो अत्यन्त चुनौतिको विषय भएको छ । अब थप व्यापार घाटा बढ्न नदिन पनि हामीले आयातलाई निरुत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ।”

    हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्याङ्कले बसोबासको अवस्थामा फेरबदल ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमि खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताउनुभयो । उहाँले बसाइँसराइको चुनौतीलाई सम्बोधन गर्नेगरी नीति विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रवद्र्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा सबै स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई र जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले देशको सिँचाइ क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयनमा विभागले सक्रियतापूर्वक लगेको बताउनुभयो । उहाँहरूले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधनस्रोत तथा नीतिगतरूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । विभागका पूर्वमहानिर्देशक तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सिँचाइ विभागमा महानिर्देशक सुशीलचन्द्र आचार्यले सिँचाइ विभागले अगाडि बढाएका कार्यक्रम कार्यान्वयन सबैको सहयोग आवश्यकपर्ने बताउनुभयो । (रासस)

  • नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्यो

    नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्यो

    काठमाडौं, २५ चैत-
    नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ ।

    कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा दुई देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
    राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई सन्दै पठाउँदै बधाई दिएकी छन् ।

    राष्ट्रपतिले सन्देशमा पाँच दशकअघि बंगलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्रमध्ये नेपाल रहेको स्मरण गर्दै व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षाका क्षेत्रमा बढ्दै गएको सहयोगप्रति सन्तुष्टी व्यक्त गरेकी छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई सन्देश पठाएका छन् ।

    बंगलादेशका प्रधानमन्त्रीलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेकोमा खुसी व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटी लगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई अगाडि बढाउँदै पारस्परिक हितका नयाँ र प्रशस्त सम्भावनाहरू प्रशस्त गरेको जनाएका छन् ।

    नेपाल र बंगलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा सार्क, बिमस्टेक र बीबीआईएन जस्ता क्षेत्रीय मञ्चहरू र संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा सहकार्यका गरिरहेको पनि उनले बताएका छन् ।

    यस्तै, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बधाई सन्देशमा दुई देशबीच बढ्दो व्यापार र आर्थिक सम्बन्धप्रति सन्तोष व्यक्त गरेका छन् ।

    बंगलादेशका राष्ट्रपतिले दुई देशबीच निकै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै सन् २०१९ मा गरेको नेपाल भ्रमणको स्मरण गरेका छन् ।

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो बधाई सन्देशमा नेपालले बंगलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा सुरुमै मान्यता दिएको स्मरण गरेकी छन् । उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    नेपाल र बंगलादेशले ८ अप्रिल १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।- न्युज कारखाना

     

  • प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

    प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

    मोरङ, २५ चैत-
    प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको हो ।

    आजदेखि सुरु भएको अभियानअन्तर्गत प्रदेशका १४ जिल्लाका १२ लाख ३८ हजार ३८७ बालबालिकालाई खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आगामी वैशाख १८ गतेसम्म सञ्चालन हुने सो अभियानमा १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने छ । प्रदेशका १३७ पालिकाको नौ हजार ७७८ खोप केन्द्रमा नौ हजार ७६८ स्वास्थ्यकर्मी र १९ हजार ३५० स्वयंसेवकले खोप लगाउने कार्यमा सहयोग पु¥याउने निर्देशनालयका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरको आदर्श उच्च माविमा आयोजित खोप कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य नै धन हो भन्ने महत्वलाई बुझेर अभिभावक एवं शिक्षकशिक्षिकाले आफ्नो बालबालिकालाई खोप लगाई अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।

    निर्देशनालयका निर्देशक बस्नेत, आदर्श उच्च माविका प्राचार्य सन्तोष पोखरेलले खोपबाट जीवन सुरक्षित हुने भएकाले खोप लगाउनका साथै सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।(रासस)

  • देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भएको छ : राजेन्द्र लिङ्देन

    देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भएको छ : राजेन्द्र लिङ्देन

    काठमाडौं, २५ चैत-

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् ।

    काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् ।

    गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए ।

    तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएका उनले बताए ।- न्युज कारखाना

  • कुशल चालक : जसले बचाए ४० जनाकाे ज्यान

    कुशल चालक : जसले बचाए ४० जनाकाे ज्यान

    हरिप्रसाद भुसाल
    अर्घाखाँची, २५ चैत-
    शुक्रबार बिहान करिब ११ बजेकाे थियाे । पाेखराबाट भ्रमणका लागि निस्किएकाे ग१ख ६८० नम्बरकाे बस २७ जना यात्रु बाेकेर सन्धिखर्क नगरपालिका-२ भलायडाँडाकाे ओरालाे झर्दै थियाे ।

    २३ गते पाेखराबाट प्रस्थान गरेका यात्रुहरू बाेकेर हिजाे प्युठानमा रहेकाे ऐतिहासिक स्वर्गद्वारी मन्दिर दर्शन गरी आज सुपा देउराली मन्दिरमा पुग्ने अनि आजकाे रात यतै बिताएर भाेलि पाेखरा फर्कने याेजनासहित सुरेश सुनारले बस हाँकिरहेका थिए । बसमा सवार थिए पाेखरा साना किसान कृषि सहकारी संस्था बेगनासका सेयर सदस्यहरू ।

    सन्धिखर्क पुग्न ५०० मिटर मात्रै बाँकी थियाे । एक्कासि बसले नियन्त्रण गुमायाे । ओरालाेमा कुदिरहेकाे बसमा ब्रेकले काम नगरेपछि पाेखरा-२७ निवासी चालक सुनारले अगाडि तेर्साेबाटाे आउने विश्वासमा बसलाई नियन्त्रण बाहिर जान दिएनन् । दुईवटा माेड कटाएका सुनारले अगाडि ठाडाे ओराले देखेपछि बसलाई भित्तामा ठाेक्याए जसबाट ठूलाे जनधनकाे क्षति हुनबाट बच्याे ।

    ‘अब ब्रेकले काम गर्दैन भन्ने पुष्टि भएपछि ओरालाे बाटाेमा मसँग धेरै विकल्प थिएन । अगाडि सजिलाे बाटाे आउने आसमा दुईवटा माेड त कटाएकाे थिएँ,’ सुनारले भने, ‘तर तेस्राे माेडपछि अगाडि झन् ठाडाे ओरालाे देखेपछि यात्रुहरूलाई बचाउन भित्तामा ठाेक्याउनुकाे विकल्प देखिनँ ।’

    चालककाे कुशलताका कारण ठूलाे क्षति हुनबाट बचेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार महेन्द्र भुसालले बताए । ‘ओराेलाेमा ब्रेक फेल हुँदा निकै जनधनकाे क्षति हुनसक्थ्याे,’ भुसालले भने, ‘निकै कुशलताका साथ चालकले सुरक्षित अवतरण गर्नुभएछ ।’

    चालकले बडाे कुशलताका साथ आफूहरूलाई बचाएकाे सहकारीका सेयर सदस्य रुद्रनाथ तिवारीले बताए । ‘यदि चालकले आफूलाई नियन्त्रण नगरेकाे भए आज ठूलाे क्षति हुने थियाे,’ तिवारीले भने, ‘ठूलाे खतराबाट बच्न सफल भइयाे।’

    गाडीमा सवार अधिकांश सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका दुईजनाकाे बुटवल रिफर गरिएकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ । यद्यपि घाइतेहरूकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए । -न्युज कारखाना

  • गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी

    गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी

    पोखरा, २५ चैत-
    गण्डकी सरकारले यसअघिको सरकारले नियुक्त गरेका खेलकुद विकास समिति र सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारी बर्खास्त गरेको छ । ११ वटै जिल्लाका खेलकुद विकास समिति र पोखरा स्थित सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारीलाई सरकारले काम चित्तबुझ्दो नभएको आरोपमा हटाएको हो ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘उहाँहरूलाई काम चित्तबुझ्दो नभएकोमा स्पष्टीकरण सोधिएको थियो । उहाँहरुले दिएको प्रष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालयको सिफारिसमा पदबाट हटाईएको हो,’ उननले भने ।

    यसअघि सरकारले सबैलाई स्पष्टीकरण सोधेको थियो । सबै समिति एमाले नेतृत्वको सरकार भएका बेला गठन गरिएको हो । हटाइएकाहरुले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । संक्रामक तथा सरुवा रोग अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्ण पौडेलले राजनीतिक परिवर्तनसँग यस्ता संस्थालाई चलाउनु उपयुक्त नहुने बताए ।

    ‘सरकार त परिस्थिति जन्य विषय हो । कहिले को आउँछ, कहिले को आउँछ । तर, मातहतका निकायलाई सरकार नयाँ भएपछि चलाउनु राम्रो होइन,’ उनले भने, ‘यसरी देशको विकास हुँदैन । काम राम्रो नभए सुधार्न सुझाव दिनुपर्छ । एकैचोटी हटाउनु राम्रो हुँदैन ।’

    बर्खास्तमा परेकाहरु भने अदालत जाने तयारीमा छन् । विनाकारण राजनीतिक विभेदका आधारमा हटाइएको भन्दै उनीहरु अदालत जान लागेका हुन् ।
    ‘विधि प्रक्रियाबाट नियुक्त भएका हौं । व्यक्तिगत कुरा होइन । सबै समितिसँग कुरा गर्छौं । त्यतिबेला नियुक्त गर्ने सरकारसँग पनि सल्लाह गर्छौं । कानुन अनुसार नियुक्ति थियो,’ उनले भने, ‘सरकारले सोधेपछि स्पष्टीकरण दिएका थियौं । हटाउला भन्ने चाहिँ लागेको थिएन । यसरी हटाउनु गैरकानुनी हो । हामी कानुनी उपचार खोज्छौं ।’ उनले राजनीतिक विभेद गरेर देश नबन्ने बताए ।

    ‘विल्कुल राजनीतिक विभेद हो । हामी राजनीति गर्ने नै मान्छे हौं । संकुचित भावनाबाट अघि बढ्यौं भने देश र खेलकुद क्षेत्र बन्दैन,’ उनले भने । बर्खास्तमा पर्नेहरूमा १४३ जना खेलकुद विकास समितिका पदाधिकारी र सदस्य तथा अस्पतालका अध्यक्ष छन् । सबै जिल्लामा १३ सदस्यका दरले समिति गठन भएको थियो । – न्युज कारखाना