Blog

  • कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले गुमाए ज्यान

    कोरोनाका कारण नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले गुमाए ज्यान

    काठमाडौं, १ वैशाख –
    कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् ।

    नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

    ‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।

    विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । – न्युज कारखाना

  • एमाले नेतृत्वलाई भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

    एमाले नेतृत्वलाई भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ?

    काठमाडौं, १ वैशाख –
    नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् ।

    नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् ।

    ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच÷पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो । सम्झौतामाा रापप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भागलिन पाउने उल्लेख थियो । – न्युज कारखाना

  • सडक दुर्घटनामा ज्यान गुमाएका परिवारले दोषीमाथि कडा कारवाहीको माग गर्दै बीपीचोकमा प्रदर्शन

    सडक दुर्घटनामा ज्यान गुमाएका परिवारले दोषीमाथि कडा कारवाहीको माग गर्दै बीपीचोकमा प्रदर्शन

    नेपालगन्ज, १ वैशाख-

    नेपालगन्जको सुर्खेतरोडमा गत सोमबार राति कारको ठक्करबाट तीन जनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयबासीले बीपीचोकमा टायर बालेर प्रदर्शन गरेका छन्।

    प्रदेश ३– ०१ – २३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बीपीचोक र धम्बोझी चोकको बीचमा ठक्कर दिंदा ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो ।

    कारले ठक्कर दिए लगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोममा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनामा संलग्न रहेको कार र चालक इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

    पीडक चालक प्रहरी अनुसन्धानमा रहे पनि उसमाथि कडा कारवाही र क्षतीपुर्ति माग्दै पीडितका घर परिवारको संलग्नतामा टायर बालेर प्रदर्सन गरेका हुन् ।

    जिल्ला प्रहरी बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले घटनामा संलग्न रहेको चालक र गाडि प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको बताए । उनले भने–‘ कानूनी प्रकृया अघि बढेको छ । पीडकमाथि कारवाहीको प्रकृया अघि बढी सक्यो अनावश्यक बाटो अबरोध गरेर कुनै समाधान निस्कदैन ।’- न्युज कारखाना

     

  • माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता : अध्यक्ष दाहाल

    माओवादी र कम्युनिष्ट शक्तिबीच एकताको आवश्यकता : अध्यक्ष दाहाल

    काठमाडौँ, १ वैशाख-
    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्ट शक्तिबीच ध्रुवीकरणको आवश्यकता औँल्याउनुभएको छ । खुमलटारमा आज आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्ति बीच एकजुट हुन आग्रह गर्नुभयो ।

    प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उहाँले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताउनुभयो । पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको उहाँको भनाइ थियो ।

    अध्यक्ष दाहालले अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीको रिहाइका लागि आफूले पहल गर्ने बताउनुभयो । सो अवसरमा नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराईले जनयुद्धकै उपलब्धि खोस्न नदिन सचेत बन्न आग्रह गर्नुभयो । (रासस)

  • राष्ट्रिय परिचयपत्रः २४ हजारको विवरण सङ्कलन

    राष्ट्रिय परिचयपत्रः २४ हजारको विवरण सङ्कलन

    बैतडी, १ वैशाख-
    बैतडीमा हालसम्म २४ हजार बढीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय बैतडीबाट गत वर्ष असोज पहिलो सातादेखि सुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य हाल वडास्तरबाटै भइरहेको छ ।

    हाल अभियानकै रुपमा वडास्तरमा परिचयपत्र विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । चैत ७ गतेदेखि वडास्तरमा सञ्चालन भएको विवरण सङ्कलनको कार्यमा नागरिकको उत्साहजनक सहभागिता रहेको छ ।

    जिल्लाको डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाका वडामा विवरण सङ्कलनको कार्य सम्पन्न भएको छ । डिलाशैनीमा आठ हजार ३९६ र सिगासमा सात हजार २०६ जनाको विवरण सङ्कलन गरिएको सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिचयपत्र बनाउन विवरण दिने नागरिकको उत्साहजनक सहभागिता रहेको छ, सिगासमा ९५ प्रतिशत र डिलाशैनीमा ८८ प्रतिशत नागरिक सहभागि भएका छन् ।”

    हाल दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकामा उक्त अभियान सुरु भएको छ । दोगडाकेदारमा २३४ र पुर्चौडीमा ७३५ जनाको विवरण सङ्कलन भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट सात हजार ८५९ जनाको विवरण सङ्कलन भइसकेको सूचना अधिकारी भारतीको भनाइ छ ।्

    विवरण सङ्कलनका लागि ३५ जना विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको हो ।

    राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुवा र बाजेको नागरिकता भए सक्कल र नभए नामथर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ । यसैगरी बसाइँसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ ।

    विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहिता महिलाका हकमा श्रीमान्को पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र बहुउपयोगी भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ ।(रासस)

  • १० वटै जिल्लाबाट पानी परीक्षण सुरु

    १० वटै जिल्लाबाट पानी परीक्षण सुरु

    सुर्खेत , १ वैशाख-

    कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ । एक महिना देखि पानी परीक्षणको काम सुरु भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए ।

    कर्णालीका १० जिल्लामा रहेका खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयबाट पानी परीक्षणको काम सुरु भएको उनले बताए । प्रत्येक जिल्लामा एक वटा पानी परीक्षण गर्ने मेसिन पठाएर काम सुरु भएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । गाउँ ,गाउँबाट माग आए अनुसारको पानी परीक्षणको काम सुरु भएको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए ।

    प्रदेश राजधानी सुर्खेतमा २४ फागुनदेखि २६ सम्मा पानी परीक्षणको तालिम दिएर जिल्लामा कर्मचारी परिचालन गरिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा खानेपानीको बजेट रहेकोमा दुइ हप्ता अघि मात्र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा ल्याइएको थियो । पानी परीक्षण गर्नका लागि प्रदेश राजधानी नै धाउनुपर्ने बाध्यता अन्त्य भएपछि सर्वसाधारणहरु खुसी भएका छन् ।

    जिल्ला तहमै पानीको परीक्षण सुरु भएसँगै अब फोहर पानी पिउनुपर्ने बाध्यता विस्तारै कम हुँदै जाने अपेक्षा लिइएको छ । सबैको पहुँचमा पानी नभएको सन्दर्भमा गाउँ , गाउँमै गएर पानी जाँचको काम सुरु भएपछि सर्वसाधारणहरु खुसी भएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । जिल्लाहरुमा मेसिन पुगेसँगै पानी परीक्षणको माग अत्यधिक बढेको जिल्ला कार्यालयले जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा रिर्पोट पेश गरेका छन् ।

    नयाँ खानेपानीका योजना निर्माणसँगै पानीको शुद्धतामा समेत मन्त्रालयले ध्यान दिएको मन्त्री सिंहले बताए । लगानी गरेपछि ,त्यसको हरेक कुरामा प्रतिफल आउनुपर्छ भन्ने हाम्रो चाहना रहेको उनले बताए ।- न्युज कारखाना

     

  • एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

    एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

    काठमाडौं, ३० चैत-

    नेपाली फुटबलको सर्बोच्च निकाय अखिल नेपाल फुटबल संघ(एन्फा) को आधिकारिक फेसबुक पेज “ह्याक” भएको छ ।

    बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

    पेज यसअघि समेत ह्याक गर्ने प्रयास गरिएको थियो । तर यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेज खोलिने जनाएको छ ।- न्युज कारखाना

  • मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

    मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं, ३०  चैत-

    उत्तर प्रदेश-११ लाई १४ रनले हराउँदै मलेसिया-११ नेपाल प्रो क्लव च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

    बिहिवार भएको पहिलो सेमिफाइनल वर्षाका  कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो ।

    भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११  ले तीन विकेट गुमाउँदै ४४ रन बनाएको थियो ।
    ओपनर बिरन्दिप सिंहले अविजित २० रन बनाए भने अर्का ओपनर सेइल अजिजले २३ रन बनाए ।

    बलिङमा उत्तर प्रदेश -११ का राज यादवले तीनै विकेट लिए ।

    जवाफमा उत्तर प्रदेश-११ ले पाँच ओभरमा चार विकेट गुमाउँदा ३० रनमा रोकियो ।

    उसका शुभंम चौधरीले सर्वाधिक  ११ तथा राज यादवले ६ रन बनाए ।

    बलिङमा मलेसिया-११ का  बिरन्दिप सिंहले दुई विकेट लिए ।- न्युज कारखाना

  • अख्तियारमा बाराका उजुरी बढी

    अख्तियारमा बाराका उजुरी बढी

    वीरगञ्ज, १ वैशाख-
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बाराबाट बढी उजुरी परेका छन् । सबैभन्दा बढी जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको रहेको तथ्याङ्कले देखाएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका अनुसार बाराका १६ स्थानीय तहमध्ये आर्थिक वर्ष २०७७÷७८ मा सबैभन्दा बढी जितपुरसिमरा उपमहानगरपालिकामा ३६ उजुरी परेका छन् । चालु आव २०७८÷८९ को फागुन मसान्तसम्ममा ४० उजुरी परेको आयोगले जनाएको छ । गत आव र चालु आवमा ३७ उजुरी फछ्र्याेट गरिएको छ ।

    यसैगरी बाराको कलैया उपमहानगरपालिकामा गत आव र चालु आवमा गरी ५४ उजुरी परेका छन् । यिमध्ये २९ उजुरी फछ्र्योट गरिएको । आयोगको क्षेत्राधिकारभित्र १५ जिल्ला पर्छन् । बाराबाट ३०४ उजुरी परेकामा १७५ फछ्र्योट गरिएको आयोगले जनाएको छ । (रासस)

  • बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

    बागमती प्रदेश प्रमुख यादवचन्द्र द्वारा नयाँ वर्षको शुभकामना

    मकवानपुर, १ वैशाख-
    बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो ।

    प्रदेश प्रमुख शर्माले मुलुकको विकासका लागि सबैले साझा सङ्कल्प लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देश यस वर्षदेखि ती साधनको समुचित उपयोग गरी समुन्नत राष्ट्र निर्माण गर्न तथा अतिकम विकसित राष्ट्रबाट माथि उठाउन सबैले साझा सङ्कल्प गर्नुपर्छ ।”

    शुभकामना सन्देशमा उहाँले अर्थतन्त्रमा देखिएको सङ्कट समाधानका लागि प्रत्येक प्रदेशको राजधानी वा उपयुक्त स्थानमा ठूला–ठूला उद्योग, आयोजना सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनुभएको छ । प्रदेश प्रमुख शर्माले देशलाई आर्थिक, सामाजिक एवं राजनीतिकरूपमा प्रगतिको गोरेटोतर्फ लम्काउनका लागि सबैले अहम् भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ । (रासस)