Blog

  • सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

    सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि

    भक्तपुर, २ वैशाख-

    भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ ।

    देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ ।

    जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रममा गर्ने परम्परा छ ।

    सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ ।

    अविर जात्रामा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठसहित सयौं मध्यपुर थिमिबासीहरू रमाएका छन् । उनीहरू सवै अविरले राताम्य भएका छन् ।- न्युज कारखाना

     

  • पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा

    पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा

    कञ्चनपुर, २ वैशाख-
    पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । नगरपालिकाले पाँच वर्षको अवधिमा पर्यटकको सुविधाका लागि सडक, पुल, पदमार्ग निर्माणसँगै नयाँ पर्यटकीय गन्तव्यको पहिचानको काम पनि गरेको छ । पर्यटन महोत्सव आयोजना गरी शुक्लाफाँटा निकुञ्जमा पर्यटकको आवागन बढाएका छौँ”, नगरप्रमुख सुरेन्द्र विष्टले भन्नुभयो, “नगर पर्यटन विकास समिति गठन गरी पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ ।” उहाँका अनुसार ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी गड्डाचौकी नाकामा ७७ फिट अग्लो स्तम्भमा नेपालको झण्डा राखी उद्यान निर्माण गरिएको छ ।

    नगरपालिकाको १९ वटै वडाको प्रतिनिधित्व हुने गरी वडा नं १ स्थित रौटेला धाममा १९ फिटको त्रिशूलसहित उद्यान निर्माण गरिएको छ । झोलुङ्गे पुलमा सौर्यबत्ती जडान गरिएकाले राति पर्यटकलाई पुल क्षेत्रमा हिँडडुल गर्न सहज भएको छ । भक्तजनलाई धार्मिक पर्यटकीय क्षेत्रमा सहजरुपले पुग्न बाटो निर्माण गरिएका छन् । रौटेला, विष्णुमन्दिर, भम्कनीधाम, झिलमिलालगायत क्षेत्रलाई पाँच वर्षको अवधिमा सडक सञ्जालमा जोडिएको छ । नगरपालिकाका १९ वटै वडालाई जोड्नका लागि शुक्लाफाँटा पर्यटनमार्ग पनि निर्माण गरिएको छ ।

    उक्त मार्गले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज भएको छ । बाह्रमासे झर्ना, कालिताल, कालोढुङ्गा, बाउन्ने कोठे दरबार, सेल्फीडाँडा, साइलेन्ट रिभर, खन्याखोला लिङ्गालगायत नयाँ पर्यटकीय गन्तव्य पहिचान गरी संरक्षणका कार्यक्रम अगाडि बढाइएका छन् । बाह्रकुण्डा क्षेत्रका पुरिँदै गएका १२ वटा ताललाई पुरानै स्वरुपमा फर्काइ पानी भरिएको नगरप्रमुख विष्टको भनाइ थियो ।

    महाकाली नदीको बहुउपयोगअन्तर्गत महाकाली नदीमा ¥याफ्टिङ सफल परीक्षण पछि खल्लाका १५ युवालाई ¥याफ्टिङसम्बन्धी तालिम प्रदान गरिएको छ । महाकाली नदीको सुनसान क्षेत्रमा पर्यटकीय सम्भावनाको स्थल पहिचान गर्नाका साथै ¥याफ्टिङका माध्यमबाट प्रचारप्रसार पनि गरिएको छ ।

    “नगरपालिकाको वडा नं ९ ब्रह्मदेवमा बहुसांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “सङ्ग्रहालय निर्माणमा सहयोग गरेका छौँ । यसबाट यस क्षेत्रको रहनसहन, संस्कृति, सामाजिक परिवेश, धार्मिक कार्यबारे आन्तरिक तथा बाह्य पर्यटकले जानकारी लिन सक्ने छन् ।”चुरे फेदीमा रहेको रमणीय पर्यटकीय क्षेत्र झिलमिलामा पर्यटकको सुविधाका लागि सौर्यबत्ती र पदमार्ग निर्माण गरिएको छ । भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणका लागि नगरपालिकाका तर्फबाट रु ५० लाख उपलब्ध गराइएको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठूलो बथानका रुपमा रहेको बाह्रसिङ्गालाई चिनाउन प्रचारप्रसारसँगै नगरको ब्राण्ड घोषणा गरिएको छ । महाकाली नदीमाथिको झोलुङ्गे पुल हेर्न पुग्ने पर्यटकको सहायताका लागि नदी किनारमा सजावट तथा भौतिक संरचना निर्माण गरिएको छ । नदी किनारामा स्मार्ट सौचालय, स्मार्ट लाइटसँगै डिजिटल साइनेज तथा सूचना बोर्डको व्यवस्था गरिएको छ । पर्यटकीय क्षेत्रको विकासमा योगदान गर्दै आएको नगरपालिकालाई पर्यटन प्रवद्र्धन सङ्गठन (टिपिओ) को सदस्यतासमेत उपलब्ध गराइएको छ ।

    नगरपालिका क्षेत्रको पर्यटकीय क्षेत्रका रुपमा रहेको विष्णु मन्दिरदेखि राई ढुङ्गासम्म आठ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । नगर क्षेत्रको सुविधाका लागि १७२ वटा सौर्य सडक बत्ती जडान गरिएका छन् ।

    यसैगरी नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा उज्यालो भीमदत्त अभियानअन्तर्गत (स्मार्ट लाइट) महेन्द्रनगर बजारका मुख्य चोक (पुष्पलाल चोक, बसपार्क, बाह्रसिङ्गा चोक, झोलुङ्गे पुल, नगरपालिका कार्यालय परिसर, मदन चोक)मा स्मार्टलाइट र क्याम्पस रोडमा सौर्य बत्ती जडान गर्न थालिएको छ ।

    यसैक्रममा नगर क्षेत्रभित्रका ८४ वटा मन्दिरमा पूर्वाधारका संरचना निर्माण एवं मर्मत गरिएको नगरपालिकाका इन्जिनियर हिमालय ऐरले बताउनुभयो । उहाँका अनुसार पर्यटकलाई आराम गर्न ११ वटा चौतारा निर्माण गरिएका छन् । नगरपालिकाको वडा नं १, २, ४, ८, ९, ११, १३, १४, १६ र १८ मा गरी ११ वटा पार्क निर्माण गरिएको छ । उनन्तीस किलोमिटर धार्मिक पर्यटन मार्गको दुई दशमलव पाँच किलोमिटर क्षेत्रमा कालोपत्रे गरिएको छ ।

    बाँकी क्षेत्रमा निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत सडक डिभिजन कार्यालयको सहकार्यमा ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको इन्जिनियर ऐरले जानकारी दिनुभयो । पाँच वर्षकै अवधिमा शुक्लाफाँटा पर्यटन मार्गको पाँच दशमलव ७५ किलोमिटर क्षेत्रमा कालोपत्र गरिएको छ । जिल्ला र नगरलाई हवाई सेवाद्वारा जोड्न र पर्यटक भित्र्याउन मझगाउँ विमानस्थललाई सङ्घ, प्रदेश, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सहलगानीमा विमानस्थल पुनः निर्माण गर्न थालिएको छ । नमूना सडक तथा सडक सौन्दर्य बढाउन सिद्धनाथ विज्ञान क्याम्पस मार्गमा रोड साइड गार्डेनिङ बनाइएकोे छ । (रासस)

  • फेरि सत्याग्रह थाल्ने डा गाेविन्द केसीकाे चेतावनी, अघि सारे पाँच बुँदे माग

    फेरि सत्याग्रह थाल्ने डा गाेविन्द केसीकाे चेतावनी, अघि सारे पाँच बुँदे माग

    काठमाडाैं, २ वैशाख-

    चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झाैता कार्यान्वयन नभएकाे भन्दै डा केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् ।

    ‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो भने देशको स्वास्थ्य प्रणाली पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले आसन्न स्थानीय र त्यसपछिको प्रादेशिक तथा आम चुनावमा पार्टीहरुको सही प्राथमिकता सुनिश्चित गर्नु अनिवार्य बनेको छ,’ उनले भनेका छन्, ‘त्यसैले देशको स्वास्थ्य प्रणालीमा सुधार गर्नका लागि सरकार र मुख्य राजनीतिक दलहरुलगायत सबै सरोकारवालासमक्ष निम्न मागहरु प्रस्तुत गर्दर्छौं । यी माग पूरा नभएमा कुनै पनि बेला सत्याग्रह शुरु गर्ने जानकारी गराउन चाहन्छौं ।’

    केसीले पाँच बुँदे माग अघि सारेका छन् ।

    जुन यस प्रकार छन्

    १. तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् । जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् । संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् । सरकारले तोकेको सुची अनुसारका सबै औषधि आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस् । स्थानीय तहको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् । देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस् । स्वास्थ्य चौकीदेखि जिल्ला र प्रदेश अस्पतालका वरिपरि च्याउझैं खुलेका तर मापदण्ड नपुर्याइ जथाभावी जोखिमपूर्ण सेवा दिइरहेका निजी संस्था बन्द गरेर दोषीलाई दण्डित गरियोस् । प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई गैरचिकित्सक नभई चिकित्सकको मात्र नेतृत्व दिने व्यवस्था गरियोस् ।

    २. स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गरियोस् । विभिन्न प्रतिष्ठानहरुमा जनशक्तिको अभाव पुर्ति गर्दै दाङ लगायत मधेश र गण्डकी प्रदेशमा तुरुन्त सरकारी मेडिकल शिक्षण संस्था निर्माण शुरु गरियोस् ता कि चिकित्सा शिक्षा ऐनअनुसार २०८० सालसम्म सबै प्रदेशमा त्यस्ता संस्था सञ्चालनमा आउन् । त्यस्तै हामी संग समझौता भए अनुरुप डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पांचथर मा पनि तुरुन्त सरकारी मेडिकल कलेज निर्माण गरियोस् र कैलाली गेटामा अर्को वर्षदेखि एम वी वी एस लगायतका कार्यक्रम हरु को पठन पाठन शुरु गरियोस्। सरकारी स्वास्थ्य शिक्षण संस्थाहरु मा स्नातकोत्तर तह को निशुल्क पठन पाठन को लागि चिकित्सा शिक्षा ऐन बमोजिम (बीचमाअवरोध आउन नदिन) दिगो सरकारी आर्थिक सहयोग को व्यवस्था गरियोस्।

    ३. सार्वजनिक पदमा बस्नेहरुको स्वार्थको द्वन्द्व रोक्न तत्काल कानुनी व्यवस्था गरियोस् ।

    ४. आपराधिक पृष्ठभुमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैध रुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अहिले पनि जारी छ । चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयको निर्देशनका बाबजुद अवैध असुलीको प्रयास र विद्यार्थीमाथिको गुण्डागर्दी अझै जारी भएकाले त्यसलाई तत्काल रोकी दोषी मेडिकल कलेज सञ्चालकहरुमाथि कडा कारवाही गरियोस् ।

    ५. हामीसँग विगतमा भएका सम्झौताहरु तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गरियोस्ः

    चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार नेपालको मेडिकल शिक्षालाई गैरनाफामुलक बनाउने

    बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गरी कारवाही गर्ने

    प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्ने

    चिकित्सा शिक्षा आयोगका सहअध्यक्षबाट मन्त्रीहरुलाई हटाउने, आदि ।
    -न्युज कारखाना

  • राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट

    राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आजबाट

    काठमाडौं, २ वैशाख
    एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि आज शुक्रबारबाट नेपाली राष्ट्रिय टोलीले प्रशिक्षण सुरु गर्ने भएको छ ।

    नेपाली टोलीले आज बिहान ९ बजेदेखि १०ः३० बजेसम्म दशरथ रंगशालामा प्रशिक्षण गर्नेछ ।

    छनोटको समूह ए मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् ।

    यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

    नेपाली टोलीः
    गोलकिपरः किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
    रक्षक: अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी,
    मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
    स्ट्राइकरः विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ
    -न्युज कारखाना

  • स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइन : नेता महर

    स्थानीय औचित्य, आवश्यकता र परामर्श नै गठबन्धनको बटमलाइन : नेता महर

    काठमाडौं, २ वैशाख-

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धनलाई सफलता दिलाउन स्थानीयस्तरको आवश्यकता, गठबन्धनको औचित्य र स्थानीय नेताको कार्यकर्ताको परामर्शका आधारमा तय हुनुपर्ने बताएका छन्।

    बुढानीलकण्ठ नगरपालिका-१० मा शुक्रबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता महरले स्थानीय नेता कार्यकर्ताको भावनाअनुरुप निर्णय लिँदा गठबन्धनको हितमा हुने बताएका हुन्।

    ‘गठबन्धन गर्दा स्थानीय नेता, कार्यकर्ताको मन मिल्न आवश्यक छ। मन बन्धन भएन भने गठबन्धनको औचित्य हुँदैन। मनै नमिलेर गठबन्धन गर्दा सहजै जित पनि हासिल गर्न सकिँदैन। त्यसैले सबै दलका शीर्ष नेताहरूले यसतर्फ पनि ध्यान दिनुपर्छ,’ महरले भने। उनले स्थानीय स्तरका नेताकार्यकर्ताहरूलाई त्यहाँको वास्तविक वस्तुस्थिति थाहा हुने भएकाले उनीहरूका कुरा सुन्नुपर्ने बताएका छन्।

    ‘प्रत्येक पार्टीको अस्थित्व, स्वाभिमान र शक्तिका आधारमा मात्र गठबन्धन गरिनुपर्छ। हामी भावनामा बग्नु हुँदैन। बैचारिक समीक्षा गर्नुपर्छ,’ महरले भने।

    गाउँगाउँ जाऔं, कांग्रेस जिताऔं अभियानका क्रममा जनता एमालेप्रति आजित भएको पाएको उनले बताएका छन्। कम्युनिस्ट सरकारले जनतालाई प्रताडिन तुल्याएको कुरा जनताले भुल्न नसकेको उनले बताए।

    ‘अभियानका क्रममा एक लाख ६३ हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। हामीले कतै हल्ला गरेनौं। ओलीले जस्तो एकजना पार्टी प्रवेश गर्दा हामी हल्ला गर्दैनौं। काम गर्नेहरू बोल्दैनन्। काम गरेर जनताको मन जित्न चाहन्छन्। काम नगर्नेहरू भ्रमको खेती गर्न चाहन्छौं। ओलीको भ्रमको खेती अहिले उदाङ्‍गो भइसक्यो,’ महरले भने।

    कांग्रेसले आफ्नै सामर्थ्यमा जनताको ठूलो विश्वास जितेको भए पनि देशको हितका लागि गठबन्धन गरेको उनले बताए। देशमा राजनीतिक अस्थिरता नहोस भनेर आफूहरू गठबन्धन गरेर घाटै बेहोरेर भए पनि चुनावमा जान तयार रहेको उनले बताए।- न्युज कारखाना

     

  • एमाले अध्यक्ष ओली सर्लाही आउँदै

    एमाले अध्यक्ष ओली सर्लाही आउँदै

    एसवी थापा
    सर्लाही, २ वैशाख-

    नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लागेका हुन् । आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।

    सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ ।- न्युज कारखाना

     

  • बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन

    बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन

    हेटौँडा, २ वैशाख –
    बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ ।

    नयाँ भाडादरअनुसार काठमाडाँै उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।

    यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु ५० र प्रति मिटरको भाडा रु १० कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा रु १३ कायम गरिएको छ ।

    पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ । (रासस)

    बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन

    हेटौँडा, २ वैशाख –
    बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ ।

    नयाँ भाडादरअनुसार काठमाडाँै उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ ।

    यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु ५० र प्रति मिटरको भाडा रु १० कायम गरिएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट एक रुपैयाँ २० पैसा तोकिएको छ । बढीमा ३० मिनेटसम्म प्रतीक्षा गर्न पाइनेछ । बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने रात्रिकालीन ट्याक्सीमा प्रति मिटरको हकमा रु १३ कायम गरिएको छ ।

    पछिल्लोपटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य पाँच प्रतिशत वा त्योभन्दा धेरै वा कम भएका प्रदेशभित्र सञ्चालन हुने गाडीमा भाडा समायोजन गर्ने बताइएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको निर्णयअनुसार भाडादर समायोजन गरिएको हो । भाडा समायोजनसँगै नयाँ आर्थिक वर्षमा सार्वजनिक यातायातमा नगदरहित गराउनका लागि कार्डको प्रयोग गरिने मन्त्रालयले जनाएको छ । (रासस)

  • बागमती प्रदेशका १० जिल्लामा सवारी दुर्घटना : एक वर्षमा ३६० जनाको मृत्यु

    बागमती प्रदेशका १० जिल्लामा सवारी दुर्घटना : एक वर्षमा ३६० जनाको मृत्यु

    चितवन, २ वैशाख –
    विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् ।

    कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ ।

    गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ घाइते भएका थिए । जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ घाइते भएका थिए । साउनमा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ घाइते भएका छन् । यस्तै भदौमा भएका ११८ दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए । दुई सय ७८ जना घाइते भएका थिए ।

    असोजमा भएका १५८ दुर्घटनामा ३६ जनाले ज्यान गुमाए भने ३७५ जना घाइते भएका थिए । कात्तिकमा भएका १६३ सवारी दुर्घटनामा ४३७ जना घाइते भएका थिए भने ४१ ज्यानले ज्यान गुमाएका छन् । मङ्सिरमा भएका १५५ दुर्घटनामा ३५ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा ३६३ घाइते भएका छन् । पुसमा भएका दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । एक सय १४ दुर्घटनामा २२० जना घाइते भएका थिए । माघमा ३४ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने १२२ दुर्घटनामा १७७ जना घाइते भएका छन् ।

    फागुनमा भएका १७५ दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएका छन् भने ३८९ घाइते भएका छन् । चैतमा भएका १४७ दुर्घटनामा ३२ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सोही दुर्घटनामा परी ३३५ घाइते भएका छन् ।

    बागमती प्रदेशमा वर्षभरि भएका दुर्घटनामा दुई हजार ४०७ सवारीसाधन परेका छन् । ती दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल परेको कार्यालयको तथ्याङ्कले देखाएको छ । कार्यालयका प्रमुख राठौरका अनुसार एक हजार २०१ मोटरसाइकल दुर्घटनामा परेका हुन् । यस्तै जीप, कार र भ्यान ३६३, ट्रक, ट्याङ्कर ३०२, बस १६१, ९७ टिपर, ८४ ट्र्याक्टर, ७३ ट्याम्पो, ६४ शारीरिक शक्तिबाट चल्ने, ३४ माइक्रो र २८ अन्य सवारीसाधन दुर्घटनामा परेको उहाँले बताउनुभयो । (रासस)

  • भरतपुरमा करोडौंको लगानीमा युवाहरुले खोले बियर दरबार, ४० प्रकारका बियर पाइने

    भरतपुरमा करोडौंको लगानीमा युवाहरुले खोले बियर दरबार, ४० प्रकारका बियर पाइने

    – बिनय आचार्य
    चितवन, ०७९ बैशाख १ –
    चितवनको भरतपुर–१० सप्तगण्डकी कलेज रोडमा बियर दरबार खुलेको छ ।

    बियर दरबारबारको आज नयाँ वर्षका दिन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे ।

    बियर दरबारबारको उद्घाटन गर्दै श्रेष्ठले युवाहरु नयाँ सोचका साथ स्वदेशमा नै केही गर्नुपर्छ भनेर व्यावसायमा लाग्नु धरै खुसीको कुरा भएको भन्दै सफलताको शुभकामना दिए ।

    ४ जना युवाहरु मिलेर बियर दरबार खोलिएको बियर दरबारका सञ्चालक एवम् प्रबन्ध निर्देशक सुमन अधिकारीले जानकारी दिए । बियर दरबारमा ४० भन्दा बढी प्रकारका स्वदेशी तथा विदेशी बियरहरु पाइने उनले जानकारी दिए ।

    बियर दरबारमा रेष्टुरेन्ट, बार, बर्थडे हल, जेल हल, होम हल पनि रहेको छ । खाजा खानका लागि मात्र पनि बियर दरबारमा आउन सकिने उनले बताए । प्राय खाजाका सम्पूर्ण परिकार बन्ने उनको भनाइ छ ।

  • नेपाली पत्रकारिताको लागि वर्ष २०७८ कस्तो रह्यो ?

    नेपाली पत्रकारिताको लागि वर्ष २०७८ कस्तो रह्यो ?

    काठमाडौं, १ वैशाख –

    नेपाल पत्रकार महासंघले वर्ष २०७८ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण रहेको निस्कर्ष निकालेको छ ।

    ‘श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन,’ महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

    महासंघका अनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ वटा घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएको ठहर महासंघले गरेको छ ।

    ‘श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । २०७७ सालमा ५ सय १७ जना पत्रकारको श्रम समस्या रहेकामा २०७८ सालमा २ सय २१ वटा श्रम समस्या महासंघ अभिलेखीकरण भएका छन् । २०७७ मा समाधान हुन बाँकी श्रम समस्या र २०७८ का श्रम समस्यामध्ये झण्डै ३ सय जना पत्रकारका समस्या समाधान भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

    कानुनी सहायता डेस्कमार्फत श्रम समस्या र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननविरुद्ध ३३ वटा घटनाका बारेमा न्यायिक लडाइँ चलिरहेको महासंघले जनाएको छ ।

    त्यस्तै २०७८ सालमा संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएको छ ।

    ‘संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानुनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती थपिदिएको छ,’ महासंघले भनेको छ ।

    अघिल्लो सरकारले जस्तै वर्तमान सरकारले पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गैरकानुनी कामलाई निरन्तरता दिएको छ । नेपाल सरकारकै संलग्नतामा उजुरी गरेर युएईमा कार्यरत एक पत्रकारलाई अहिले पनि जेलमा राखिएको छ ।

    ‘नागरिकको अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई उपयोग गर्न नदिनेगरी सरकारले विभिन्न प्रकारका कानुन ल्याउने प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    वर्ष २०७९ चुनावी वर्ष रहेकाले नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्ता, पत्रकारको पेशागत सुरक्षा तथा भौतिक सुरक्षा, सेल्फसेन्सरसिपलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गरेको जनाइएको छ ।

    वैशाख पहिलो हप्तादेखि नै श्रम समस्या समाधानका लागि आवश्यक आन्दोलन, दबाब र कानुनी लडाइँलाई एकसाथ लैजानेगरी योजना बनाइएको महासंघले बताएको छ ।

    ‘यो वर्ष हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि निर्वाचन आयोगसँगकै साझेदारीमा सबै जिल्लामा महासंघले अनुगमन गरेर नागरिकको आफूले चाहेको राजनीतिक दल तथा उम्मेदवारलाई मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने काममा सघाउ पुर्याउने छ,’ महासंघले भनेको छ ।

    महासंघले निर्वाचनमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा निर्वाचन आयोग र अन्य संघसंस्थासँग मिलेर विभिन्न जिल्लामा तालिम दिन सुरु गरिसकेको जनाएको छ ।
    तीन तहकै सरकारले ल्याएका र ल्याउने तयारी गरिरहेका कानुन पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूत गरेका अधिकारको पक्षमा हुनु पर्ने माग महासंघले गरेको छ ।

    ‘तर अहिले आइसकेका केही र ल्याउने तयारीमा रहेका केही कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भएकाले त्यसकाविरुद्ध सशक्त आन्दोलनमा उत्रिने तयारी महासंघले गरेको छ । यसमा अधिकारकर्मी सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ,’ महासंघले भनेको छ । – न्युज कारखाना