Blog

  • भरतपुरका ५० जना कांग्रेसीले दिए सामुहिक राजीनामा, कांग्रेस माओवादी बनेको भनाइ

    भरतपुरका ५० जना कांग्रेसीले दिए सामुहिक राजीनामा, कांग्रेस माओवादी बनेको भनाइ

    चितवन, वैशाख ३ –
    भरतपुरको बेलुवाका ५० जना कांग्रेसी नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । कांग्रेस माओवादीकरण भएको भन्दै उनीहरुले पार्टीको साधारण सदस्य पनि नरहने गरी आज शनिबार सामुहिक राजीनामा दिएका हुन् ।

    स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । स्वतन्त्र नागरिकको हैसियतमा रहने गरी राजीनामा दिइएको कँडेलले बताए ।

    राजीनामा दिनेमा पूर्व वडाध्यक्ष देवनारायण महतो र पूर्वपार्टी वडा सभापति विष्णुप्रसाद सुवेदी समेत छन् ।

    पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको कँडेलको आरोप छ । कांग्रसले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको पनि उनले बताए ।

    सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवनका कांग्रेस कार्यकर्ता बिच्किएका छन् । जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन् । कार्यकर्तापंक्ति देखि जनस्तरमा पनि कांग्रेस शुभेच्छुकहरु असन्तुष्ट रहेका छन् ।

  • कांग्रेस पोखराले खोल्यो मेयर र उपमेयरको आवेदन

    कांग्रेस पोखराले खोल्यो मेयर र उपमेयरको आवेदन

    पोखरा, ३ बैशाख-

    नेपाली कांग्रेसले पोखरा महानगरको मेयर र उपमेयरको लागि आवेदन खुलाएको छ । ४ बैशाख दिउँसो ४ बजेभित्र इच्छुकहरूले आफ्नो नाम महानगर समितिमा टिपाउनु पर्नेछ । कांग्रेस पोखराले सूचना जारी गरि आकांक्षी आफै उपस्थित भएर नाम दर्ता गराउनु पर्ने जनाएको छ ।

    सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले पोखराको मेयर उपमेयर पाउने नपाउने कुनै टुंगो छैन । श्रोतका अनुसार पोखराको मेयर एकीकृत समाजवादीले पाउने पक्का जस्तै छ । महामन्त्री गगन थापाले पनि माधवकुमार नेपालले पोखराको मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखेको बताए ।

    ‘माधवकुमार जीले पोखराको मेयरमा बढी नै दावी गर्नु भएको छ । उहाँले भोटसहित कांग्रेससँगको बैठकमा छलफल गर्नुभएको छ,’ कास्की कांग्रेसको प्रतिनिधि मण्डलसँग कुरा गर्दै उनले भनेका थिए, ‘तपाईंहरुको दबाबले उथलपुथल भए मात्रै । नत्र यो एकीकृत समाजवादीले छोड्दैन ।’

    काठमाडौं पुगेर फर्केपछि पोखरा महानगर समितिले मेयर र उपमेयरको आवदेन खुलाएको हो । नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ अनुसार योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सूचना जारी गरिएको हो ।

    कांग्रेस कास्कीले पोखराको मेयर आफैले पाउनुपर्ने अडान राखेको छ । पोखराका सभापति सुरेन्द्रमान बिजुक्छेले आवेदन लिएर सकेसम्म सर्वसम्मत एउटै व्यक्ति प्रदेश हुँदै केन्द्रमा पठाउने बताए । ‘हामी हाम्रो तयारी गरेर बस्नुपर्छ । उम्मेदवार खोजेर जित्नेलाई अघि सार्नुपर्छ,’ उनले भने, ‘गठबन्धनको कुरा केन्द्रको हो । तर, आफ्नो जिम्मेवारी त पूरा गर्नै प¥यो ।’- न्युज कारखाना

     

  • चितवन कांग्रेस सभापति राजेश्वर खनाल भन्छन्, माओवादीलाई दिँदा  चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ

    चितवन कांग्रेस सभापति राजेश्वर खनाल भन्छन्, माओवादीलाई दिँदा चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ

    चितवन, ३ बैशाख –

    नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए ।

    शुक्रबार चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र)लाई छाड्ने गरी तालमेल हुने बताएका थिए । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको छ ।

    भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने खनालले दोहो¥याए ।

    ‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो । जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकुल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रुपमा जिम्मा लिनुपर्छ,’ उनले भने ।

    चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उनले बताए ।

    नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन कांग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उनले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताए ।

    ‘समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेरअघि बढ्ने कुरामा तयार छौँ तर तालमेल जायज हुनुप¥यो । ग्राउण्ड सुहाउँदो हुनुप¥यो,’ उनले भने ।

    नेपाली कांग्रेसको मूल्य, मान्यता, सिद्धान्त र विधानमा रुख चिह्नबाहेक अन्त पनि मत हाल भन्ने व्यवस्था नरहेको भन्दै उनले गठबन्धन गरेर अन्य चिह्नमा मत हाल्ने निर्णय गर्नु नै अनुशासनहिन काम भएको बताए ।

    विगतमा गरेको सहयोग र वर्तमान संगठनको हिसाबले भरतपुर महानगरले मेयर कांग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको संस्थागत निर्णय रहेको उनले बताए ।

    त्यही निर्णयलाई आत्मसाथ गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उनले जानकारी दिए । ‘पटक पटक मेरो पक्षमा नै हुनुपर्छ भन्ने दृष्टिकोणबाट गठबन्धन मजबुत हुन सक्दैन । एउटा पक्षलाई निराश बनाएर अर्को पक्ष सँधै खुसी हुने प्रवृत्तिबाट गठबन्धन सघन भएर जान सक्दैन,’ उनले भने ।- न्युज कारखाना

  • जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो

    जसको सिको गर्दै गाउँनै तरकारी खेतीमय बन्यो

    खोटाङ, ३ बैशाख-

    १८ वर्षअघि व्यवसायिक रुपमा तरकारी खेतीमा लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको बाँझघरेका ईन्द्र श्रेष्ठलाई छिमेकीलेनै पत्याएका थिएनन् । बजारबाट तरकारी ल्याएर खाने गरिन्थ्यो तर त्यही तरकारी आफ्नै बारीमा फलाउन सकिन्छ भन्नेमा कसैको ध्यान गएको थिएन ।

    त्यो बेला कृषिविज्ञ मदन राई र सूर्यबहादुर राईको नेतृत्वमा खाल्लेको नाहिमा कृषि श्रोत केन्द्र सञ्चालन थियो । नाहिमा हाल शुभम् फाउण्डेसन (दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–२ सोल्मा)को रुपमा सञ्चालनमा छन् । त्यही कृषि श्रोत केन्द्र पुगेर व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिम लिएर श्रेष्ठले बारीमा कृषि कर्म सुरु गरे ।

    गोलबेँडा, तिते करेला, फर्सी, काँक्रोलगायत तरकारी फलाउन थालेपछि भने ईन्द्रलाई छिमेकीले पत्याउन थाले । उनको बारीमा उत्पादित तरकारी दिक्तेल बजार पुग्न थाल्यो । तरकारी बिक्रीबाट राम्रो आम्दानी गर्न थाले । बिस्तारै छरछिमेकमा उनको सिको सुरु भयो । घर–घरमा तरकारी खेती हुन थाल्यो ।

    हाल खाल्ले बाँझघरेका स्थानीयले तरकारी खेतीलाई आम्दानीको माध्यम बनाएका छन् । बाँझघरेमा १७ घरपरिवारको बसोबास छ । यी सबै घरमा तरकारी खेती हुन्छ । तरकारी बिक्रीबाट किसानले मासिक ३५–४० हजार आम्दानी गर्छन । तरकारी खेतीबाटै घर खर्च टरिरहेको स्थानीय सूर्योदय कृषक समूहका अध्यक्ष टंक श्रेष्ठ बताउँछन् ।

    तरकारीसँगै मौरीपालन
    अगुवा किसान ईन्द्र श्रेष्ठ तरकारी खेतीमा मात्र सिमित भएनन् । उनले व्यवसायिक रुपमा मौरी पालन पनि सुरु गरे । हाल वार्षीक ५० देखि ६० केजी मह बिक्री हुने गरेको श्रेष्ठ बताउँछन् । उनको घर वरपर मौरीका १७ घार छन् । मौरी पालनबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भएकाले घार थप्ने योजना बनाएको श्रेष्ठ बताउँछन् । मौरीपालन भने ६–७ वर्षअघि मात्र सुरु गरिएको हो ।

    मौरी पालनका लागि उनले आफैले मौरीको घार निर्माण गर्ने गरेका छन् । हाल उनले नयाँ २५ घार तयारी अवस्थामा राखेका छन् । मौरी पालनलाई थप वृहत बनाउन उनका छोरा इटहरी पुगेर तालिम लिएर फर्किसकेका छन् ।- न्युज कारखाना

  • जसले १८३ जनाबर, चराचुरुङ्गीलाई फ्रिजमा राखे

    जसले १८३ जनाबर, चराचुरुङ्गीलाई फ्रिजमा राखे

    न्युयोर्क, ३ वैशाख-

    अमेरिको एरिजोनामा प्रहरीले एक व्यक्तिलाई आफ्नो फ्रिजमा कुकुर, बिरालो, चराचुरुङ्गीलगायत १८३ जनाबर भेटिएपछि पक्राउ गरेको छ । ४३ वर्षीय माइकल प्याट्रिक टर्ल्यान्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेको मोहावे काउन्टी शेरिफको कार्यालयले जनाएको छ ।
    उनीमाथि ९४ वटा पशु क्रुरता गरेको आरोप लगाइएको छ । घटनास्थलका तस्बीरहरू ‘पूर्ण रूपमा घृणित र हृदयविदारक भएको’ शेरिफकी प्रवक्ता अनिता मोर्टेनसेनले बताइन् ।

    ‘एक पशु प्रेमीका रूपमा म तिनीहरूलाई हेरेर रोइरहेको थिए’ उनले भनिन् । अधिकारीहरूले टर्ल्यान्डकी श्रीमती ब्रुकलायन बेकको खोजी गरिरहेका छन् । एक महिलाले दिएको सूचनाको आधारमा उनी पक्राउ परेका थिए ।

    ती महिलाले सर्पहरू प्रजनन गर्न टर्ल्यान्डलाई दिएकी थिइन् । तर, उनी केही महिनापछि बेपत्ता भएका थिए । टर्ल्यान्ड र उनकी श्रीमती घरबाट बाहिरिएपछि मालिकले आफूलाई सम्पर्क गरेको महिलाले प्रहरीलाई बताएकी छिन् ।

    उनले जनाबरलाई फ्रिजमा राख्नुको उदेश्य प्रष्ट नभएको बताइएको छ । जनाबरलाई जिउँदै फ्रिजमा राखेर उनीहरूलाई यातना दिएको हुनसक्ने अनुमान गरिएको छ ।- एजेन्सी

  • बाइसे चौबिसे कालको पुल अझै पनि प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण

    बाइसे चौबिसे कालको पुल अझै पनि प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण

    हेमन्त केसी
    सुर्खेत, ३ बैशाख-

    जाजरकोट भेरी नगरपालिका–११ मेटालस्थित भेरी पुलबाट खसेर बिहीबार एक महिला घाइते भइन् । भेरी नगरपालिका–२ रिसाङकी ५२ वर्षीया देवि पुन जीर्ण पुलबाट खसेर गम्भीर घाइते भएकी हुन् ।

    चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा उनी पुलबाट खसेको उनका छोरा प्रेमबहादुर पुनले बताए । उनको करङ र दुवै खुट्टा भाँचिएको छ । घाइते पुनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । कच्ची पुलमा राखिएको काठका फल्याक झरेपछि पुलबाट खसेर नदि किनारमा खसेकी हुन् ।

    पुन मात्रै होइन यो पुलबाट खसेर वर्षेनी दर्जन बढी सर्वसाधारण घाइते हुन्छन् । जुनसुकै बेला पुलबाट खसेर घाइते भइन्छ भन्ने जान्दा जन्दै पनि सर्वसाधारण यही पुल प्रयोग गर्न बाध्य छन् । किनकी उनीहरूको विकल्प छैन । जीर्ण पूर्ण निर्माण गर्न स्थानीय सरकार र अन्य तहका सरकारले पनि चासो दिएका छैनन् ।

    रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल वर्षौदेखि जीर्ण अवस्थामा छ । बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाएको मटेलाको झोलुङ्गे पुलले अहिले पनि जेनतेन सेवा दिइरहेको छ ।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेलाबीचको भेरी नदीमा रहेको यस पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाइ छ ।

    अहिले झोलुङ्गे पुलको ठाउँ–ठाउँमा प्वाल परेको छ भने तारबारको जालीहरू फुत्किँदै गएको छ । पुलका विभिन्न भागमा रहेका नटबोल्टहरू समेत झरेका छन् । भेरी नगरपालिका–११ कि विष्णु गिरी पढ्न विद्यालय जाने विद्यार्थीहरू समेत डराइ ,डराइ पुल तर्ने गरेको बताउँछिन् । उनले पुलबाट बच्चाबच्ची खस्लान् कि भन्ने पीर लाग्ने गरेको दुखेसो पोखिन ।

    कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले वर्षौसम्म मर्मत नभएको र कसैले पनि संरक्षणमा ध्यान नदिएकाले पुल जीर्ण बन्दै गएको बताए ।

    उक्त पुल ९० मिटर लामो छ । पुलको छुट्टै इतिहास रहेको भेरी नगरपालिका–४ का राजेन्द्रविक्रम शाहले बताए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको यस पुल जाजरकोटी राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि यो पुल बनेको बताइन्छ ।

    जाजरकोटकी छोरी बालकुमारीले चन्द्रशमशेरसँग बिहे गरेर गएपछि आफ्ना माइती अर्थात् जाजरकोटवासीलाई रुकुमको चौरजहारी तथा नेपालगञ्ज आवागमन गर्न निकै कष्ट भएपछि भेरी नदीमा पुल जरुरी रहेको भनेर राणा दरवारमा आग्रह गरेपछि पुल निर्माण भएको शाहको भनाइ छ ।- न्युज कारखाना

  • बिक्रम पाण्डेलाई महेश बस्नेतको आग्रह : प्रचण्डलाई हराउनु छ भने चितवनमा सूर्य चिन्ह लिएर लड्नुस्, (भिडियो)

    बिक्रम पाण्डेलाई महेश बस्नेतको आग्रह : प्रचण्डलाई हराउनु छ भने चितवनमा सूर्य चिन्ह लिएर लड्नुस्, (भिडियो)

    चितवन, बैशाख ३ –

    नेकपा (एमाले)का नेता महेश बस्नेतले राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेलाई चितवनमा सूर्य चिन्ह लिएर चुनाव लड्न आग्रह गरेका छन् ।

    आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बस्नतेले पाण्डेलाई यस्तो आग्रह गरेका हुन् ।

    ‘मैले त अघिल्लो पटक पनि बिक्रम पाण्डे जीलाई नेकपा एमालेमा आएर अथवा सूर्य चिन्ह लिएर लड्ने मानसिकता बनाउनुस्, त्यसो हुँदा रेनु दाहालका बालाई हराउन सकिन्छ भनेको हो’ नेता बस्नेतले भने, ‘अब रेनु दाहालको ‘बा’प्रति सहानुभूति बिक्रम पाण्डेको कति छ ? म जान्दिन अब उहाँको सहानुभूति छैन र यो मुलुकमा निर्वाचित सांसद भएर हेर्ने उहाँको रहर छ भने उहाँले चाहिँ एमालेमा प्रवेश गर्ने अथवा एमालेको सूर्य चिन्ह लिने कुरा चाहिँ उहाँको लागि सबैभन्दा राम्रो आधार हुन्छ भन्ने चाहिँ मलाई लाग्छ ।’

    एमालेको चुनाव चिह्न सूर्य लिएर साना दलका उम्मेदवारले पनि चुनाव लड्न पाउने गरी गरेको सहमतिलाई गठबन्धन भन्न नमिल्ने उनले बताए । ‘नेकपा एमालेको आकर्षण र प्रभावबाट विभिन्न दलका नेताहरू नजिक हुनुभनेको एमालेसँग निकट हुनु हो,’ उनले भने ।

    यसपालि देशभरी नै निर्वाचनमा एमालेले धावा बोल्ने उद्घोष गरिसकेको उनले बताए । ‘एमालेले गठबन्धन गर्नेभन्दा पनि एमालेप्रति आकर्षण भएका साथीहरूलाई एमालेको चुनाव चिह्न लिएर हामीसँग आउनु खोज्छन् भने हामीले यसलाई फराकिलो ढंगले लिन्छौँ,’ उनले भने ।

    यस्तै उनले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दावी गरेका छन् । ‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्को चाही संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन आयोग लगायतका नियुक्तिलाई अदालतसँग सेटिङ गरेर हटाएर चुनाव सार्न सकिन्छ की भन्नेतर्फ पनि लागेको देखिन्छ ।’

  • सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा, सरकार स्थानीय तह निर्वाचन पनि सार्न खोज्दैछ : महेश बस्नेत

    सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा, सरकार स्थानीय तह निर्वाचन पनि सार्न खोज्दैछ : महेश बस्नेत

    चितवन, ३ बैशाख-

    नेकपा (एमाले)का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए ।

    ‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्को चाही संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन आयोग लगायतका नियुक्तिलाई अदालतसँग सेटिङ गरेर हटाएर चुनाव सार्न सकिन्छ की भन्नेतर्फ पनि लागेको देखिन्छ ।’

    गठबन्धन जोगिन्छ की जोगिँदैन भन्नेमा सत्ता गठबन्धन दलका नेतामा नै आशंका रहेको उनले बताए । यद्यपि, निर्वाचनको आयोगतको तीव्र तयारी र निर्वाचनप्रति जनताको लगाव देखेर सत्ता गठबन्धनले चुनाव सार्न सक्ने अवस्था भने नरहेको उनले दावी गरे ।

    ‘पाँच दलभित्र पनि गठबन्धनको प्रक्रिया कति जटिल छ भन्ने हामीले महसुस गरेका छौँ,’ उनले भने, ‘भरतपुरमा गठबन्धनल अस्वीकार गर्छौँ भनेर कांग्रेसले खुला भनेको अवस्था छ । कांग्रेसका ठूला नेताहरू पनि गठबन्धन गर्ने या नगर्ने भनिरहेको अवस्था छ ।’

    त्यस्तै, एमालेको चुनाव चिह्न सूर्य लिएर साना दलका उम्मेदवारले पनि चुनाव लड्न पाउने गरी गरेको सहमतिलाई गठबन्धन भन्न नमिल्ने उनले बताए । ‘नेकपा एमालेको आकर्षण र प्रभावबाट विभिन्न दलका नेताहरू नजिक हुनुभनेको एमालेसँग निकट हुनु हो,’ उनले भने ।

    यसपालि देशभरी नै निर्वाचनमा एमालेले धावा बोल्ने उद्घोष गरिसकेको उनले बताए । ‘एमालेले गठबन्धन गर्नेभन्दा पनि एमालेप्रति आकर्षण भएका साथीहरूलाई एमालेको चुनाव चिह्न लिएर हामीसँग आउनु खोज्छन् भने हामीले यसलाई फराकिलो ढंगले लिन्छौँ,’ उनले भने ।- न्युज कारखाना

  • जनकपुर कांग्रेसका नगरसभापति भन्छन : मेयर उपमेयरमा कांग्रेसलाई नदिए गठबन्धन मान्दैनौँ

    जनकपुर कांग्रेसका नगरसभापति भन्छन : मेयर उपमेयरमा कांग्रेसलाई नदिए गठबन्धन मान्दैनौँ

    धनुषा, ३ चैत-
    जनकपुरधामका नगर सभापति मनोज साहले पाँच दलीय गठबन्धनले मेयर र उपमेयरका नेपाली कांग्रेसलाई छाडनु पर्ने अडान राखेका छन । मेयर र उपमेयर कांग्रेसलाई नदिए गठबन्धनबाट अलग्गिएर कांग्रेस एक्लै निर्वाचनमा लडने पनि उनले घोषणा गरेका छन् ।

    ‘राजनीतिक संयन्त्रको बैठकमा जनकपुरको मेयर र उपमेयर नेपाली कांग्रेसले पाउनुपर्छ भनेर पार्टीको निर्णय सुनाएको छु, उपेन्द्रजीको पार्टी जसपा नेपालले अस्विकार गरेको छ,’ साहले न्युज कारखानासँग भने, ‘ मेयर र उपमेयर नपाए कांग्रेस एक्लै निर्वाचनमा होमिनेछ ।’ उनका अनुसार २५ वटा नै वडामा अध्यक्ष र सदस्य उम्मेदवारको हकमा गठबन्धन गर्न भने कांग्रेसको मञ्जुरी रहनेछ ।

    ‘गत निर्वाचनमा कांग्रेसले ११ हजार बढी मत ल्याएको थियो’, साहले अगाडी भने, ‘यो जनमतलाई अपमान हुने गरी निर्णय हुन खोजेमा गठबन्धनवाट कांग्रेसले विद्रोह गर्नेछ ।’ गत निर्वाचनमा मेयरका उम्मेदवार भएर पराजित भएका साहलाई पुनः मेयरमा उठाउने जनकपुर कांग्रेसको तयारी छ ।- न्युज कारखाना

  • युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

    युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

    रुपन्देही, ३ वैशाख-
    गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै हत्या गरेको आरोप लगाउँदै उनीहरुलाई कडा कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन् ।

    बुटवल इलाका प्रहरी कार्यालयका अनुसार बुधबार राति खत्रीले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनीस्थित प्रादेशिक अस्पताल ल्याइएकामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । खत्रीका माइती पक्षले श्रीमान् र सासू मिलेर हत्या गरेको आशङ्का गर्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् ।

    घरमा श्रीमान्सँग मनमुटाव भएपछि माइत गएकी खत्रीलाई बारम्बार फोन गरेर बोलाई कुटपिट गरेर विष खुवार्ई हत्या गरेको माइती पक्षको आरोप छ । मृतकका दाजु पुष्पक खत्रीले अमृताले बुधबार राति ९ः३० बजे आफूलाई बचाउन आग्रह गर्दै म्यासेज गरेको बताउनुभयो । म्यासेज आएको १५ मिनेटपछि अमृताको अस्पतालमा मृत्यु भएको खबर आएको गुनासो गर्दै उहाँले भन्नुभयो, “अमृताले आफैँ विष सेवन गरेकी होइनन् घरमा उनलाई मार्ने षडयन्त्र भएपछि बचाउन आग्रह गर्दै मलाई म्यासेज गरेकी थिइन्, एकैछिनमा अस्पतालमा मृत्यु भयो भन्ने खबर आयो”, खत्रीले पत्रकारसँगको कुराकानीमा भन्नुभयो ।

    घटनापछि प्रहरीले घटनास्थल तथा शवको जाँच मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको जनाएको छ । मृतककी श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासू दीपा विरुद्ध कर्तव्य ज्यान मुद्दामा गत बिहीबार मृतकका दाजु पुष्पक खत्रीले जाहेरी दर्ता गराउनुभएको थियो ।
    जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी शुक्रबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कुँवरले बताउनुभयो। मृतकका आफन्तले शुक्रबार पनि इलाका प्रहरी कार्यालयमा प्रदर्शन गरेका थिए ।

    संयमत अपनाउन तिलोत्तमाको आग्रह

    बुधबार राति अमृता खत्री टण्डनको रहस्यमय मृत्युको विषयलाई तिलोत्तमा नगरपालिकाले विशेषरुपमा लिएको जनाउँदै संयमता अपनाउन आग्रह गरेको छ ।नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले आज एक विज्ञप्ति जारी गर्दै अमृताको मृत्युले तिलोत्तमा नगरपालिकाका पदाधिकारी स्तब्ध भएको बताउनुभयो । उक्त घटनाको निष्पक्ष र विश्वसनीयरुपले छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनसमक्ष जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका सम्बन्धमा गरिने अनुसन्धानलाई सघाउन नगरपालिका तयार रहेकाले संयमता अपनाउन र विरोध प्रर्दशनलाई शान्तिपूर्ण बनाउन आग्रह गरिएको बताइएको छ । (रासस)