Blog

  • नवौँ राष्ट्रिय खेलकुदको तयारी

    नवौँ राष्ट्रिय खेलकुदको तयारी

    कास्की, ४ वैशाख-
    सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको छ । दुई वर्षअघि हुनुपर्ने सो प्रतियोगिता कोरोनाका कारण स्थगन भएकामा हालै सम्पन्न मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

    सरकारले प्रतियोगिताको मिति तोकेसँगै यहाँका सरोकार भएका निकायले आवश्यक प्रारम्भिक तयारी सुरु गरेका छन् । प्रतियोगिताका लागि मुख्यगरी खेल पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति आवश्यक रहेको उनीहरूले औँल्याएका छन् । पोखरामा ३९ वर्षपछि राष्ट्रिय खेलकुद निश्चित भएसँगै क्षेत्रीय खेलकुद विकास समितिमार्फत प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेलको प्रस्ताव गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेशकुमार गुरुङले बताउनुभयो ।

    उहाँले प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण र त्यसको स्तरोन्नति तत्कालै सुरु गर्नु अहिलेका लागि महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदलाई भव्यरूपमा सफल बनाउनका लागि खेल पूर्वाधार नै महत्वपूर्ण हुन्छ । अधिकांश खेलका पूर्वाधार तयार भए पनि केहीको स्तरोन्नति गर्नु आवश्यक छ ।”

    राष्ट्रिय खेलकुद आयोजना हुनुपूर्व देशका ७७ जिल्ला र सातै प्रदेशमा खेलाडी छनोटका प्रतियोगितासँगै बन्द प्रशिक्षणलगायतका कार्यक्रमसमेतलाई अघि बढाउनुपर्ने हुन्छ । प्रतियोगितामा कम्तीमा ३६ वटा खेल प्रस्तावका रूपमा अघि सारिएको सदस्य गुरुङले जानकारी दिनुभयो ।

    राखेपका पूर्वसदस्य एवं अग्रज खेलाडी खड्गबहादुर रानाभाटले प्रतियोगिता आयोजनाको अवसरलाई चुनौतीका रूपमा ग्रहण गर्दै चार दशकअघिको इतिहास दोहो¥याउने जिम्मा पोखरेलीहरूको काँधमा आएको बताउनुभयो । उहाँले सबै पोखरेली तथा प्रदेशवासीले प्रतियोगितालाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

    राष्ट्रिय खेलकुदको तयारीका लागि राखेपले सातै प्रदेशका सदस्यसचिव सम्मिलित बैठकको आह्वान गरेको छ । सोको तयारीका लागि शनिबार गण्डकी प्रदेश परिषद्ले पोखरामा सुझाव सङ्कलन गरेको थियो । पोखरा रङ्गशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुदका सदस्यसचिव तेजबहादुर गुरुङले नवौँ राष्ट्रिय खेलकुदको तयारीस्वरुप राखेपमा हुने बैठकमा आयोजक प्रदेशका रूपमा उठाउनुपर्ने विषयमा सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

    नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले राष्ट्रिय खेलकुद आयोजनाको हिसाबमा छोटो समय भए पनि यसलाई सफल बनाउन प्रदेशवासी एकजुट हुनुपर्ने बताउनुभयो । प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य दिलबहादुर गुरुङले सरकारले गण्डकीमा प्रतियोगिता आयोजना गर्ने निर्णय स्वागतयोग्य रहेको बताउँदै प्रदेश खेलकुद र राष्ट्रिय खेलकुद परिषद्बीच रहेका विभिन्न प्रशासनिक झन्झटबाट मुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

    नवौँ राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधार स्तरोन्नतिका राखेपबाट यस वर्ष पोखरामा रु १७ करोड विनियोजन गरिए पनि कार्यक्रम कार्यान्वयन सुरु हुनसकेको छैन । (रासस)

  • मुलुक निर्वाचनमय

    मुलुक निर्वाचनमय

    काठमाडौँ, ४ वैशाख-
    निर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन र तालिम प्रशिक्षण पूरा गरेको छ ।

    निर्वाचनसम्कन्धी गतिविधि र कार्यक्रम अक केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहतर्फ उन्मुख भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । राजनीतिक दल उम्मेदवार सिफारिसको अन्तिम तयारीमा जुटेका छन् भने निर्वाचन आयोग व्यवस्थापन गरिएको सामग्री र निर्वाचन अधिकृतलाई खटिएका तत्तत् पु¥याउने कार्यमा लागिपरेको छ ।

    आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि मुलुकका आठ स्थानमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ । प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्ज चैत ३० र जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा वैशाख २ गते सम्पन्न भएका हुन् । राजनीतिक दलले पनि यसबीचमा स्थानीय तहमा भेला र प्रशिक्षणका अधिकाश कार्यक्रम पूरा गरिसकेका छन् ।

    यही वैशाख ३० गते शुक्रवार देशका सबै स्थानीय तहमा एकै चरणमा हुने निर्वाचनका लागि निर्वाचन अधिकृतलाई चैत २९ गतेदेखि लागू हुने गरी आयोगले नियुक्ति दिइसकेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । निर्वाचन अधिकृत कार्यक्षेत्रतर्फ प्रस्थान गरी पूर्वतयारीका काममा जुट्ने कार्य ुसुरु भइसकेको छ । दुर्गम जिल्लामा खटिएका कतिपय अधिकृत केन्द्रबाट त्यसतर्फ प्रस्थान गरिसकेको आयोगले जानकारी दिएको छ ।

    तालिम प्रशिक्षण लिएका निर्वाचन अधिकृतले मुलुकका सबै स्थानीय तहमा यही वैशाख ८ गते विधिवतरूपमा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनुहुनेछ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयमा कम्तीमा नौ जनाका हिसाबले मुलुकभर करिब दुई लाखको सङ्ख्यामा कर्मचारी खटिने आयोगले बताएको छ । आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको समन्वय र सहकार्यमा यसबीचमा सञ्चारकर्मीका लागि निर्वाचन आचारसंहितासम्बन्धी प्रदेशस्तरीय प्रशिक्षणसमेत सम्पन्न भइसकेको छ ।

    मतदाता शिक्षा

    परम्परागत पद्धति खर्चिलो र प्रभावकारी नभएको निष्कर्षसहित यसपटक आयोगले मतदाता शिक्षाका लागि विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको अधिकतम् प्रयोगमा जोड दिएको छ । त्यसका लागि आयोगले बेवसाइटलगायतका अन्य सामाजिक सञ्जाल, इ–बुलेटिन प्रयोग, सञ्चालन र प्रकाशनमा ल्याएको छ ।

    विभिन्न भाषाभाषीमा मतदाता शिक्षासम्बन्धी सूचनामूलक कार्यक्रम सञ्चालन तथा जिल्ला निर्वाचन कार्यालयले स्थानीय एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनबाट पनि निर्वाचन शिक्षाको आवश्यक प्रचार–प्रसार गरिरहेको छ । आयोगले मतदाता शिक्षालाई प्रभावकारी तुल्याउन तथा बदर मत प्रतिशत घटाउन मतदानस्थलमा यसपटक दुई दिनअघि मतदाता शिक्षा सूचना केन्द्र स्थापना गरी स्वयंसेविकामार्फत मतदान गर्ने तरिका सिकाउने व्यवस्था गरेको छ ।

    मतपत्रमा दलका चुनाव चिह्न छापिएता पनि आयोगले डमी मतपत्रका आधारमा मात्र मतदाता शिक्षा दिनेछ । वास्तविक मतपत्रमा दल विशेषका मतपत्र हुने भएकाले आयोगले त्यसका आधारमा मतपत्र शिक्षा दिन मिल्दैन । राजनीतिक दलले आफ्ना मतदातालाई मत माग्न जाँदा बढीभन्दा बढी मत कसरी कम बदर हुन्छ भन्ने विषयमा पर्याप्त ज्ञान दिलाउने गरी सिकाउने अपेक्षा आयोगले राखेको छ । आफ्नो पार्टी र उम्मेदवारलाई विजयी गराउनुपर्ने भएकाले मतदाता शिक्षामा सबैभन्दा ठूलो भूमिका राजनीतिक दल र उम्मेदवारकै रहन्छ ।

    विगतमा निर्वाचन शिक्षाका लागि गरिएको खर्चको तुलनामा कार्यक्रम प्रभावकारी नभएको ठहरसहित यसपटक आयोगले पर्चा, पम्प्लेट छपाइ गरी निर्वाचन शिक्षा नगर्ने नीति लिएको हो । पर्चा, पम्प्लेट कारण वातावरण दूषित हुनुका साथै सहरको शोभासमेत कुरुप हुने भन्दै आयोगले राजनीतिक दललाई पनि आचारसंहिताको परिधिभित्र रही मापदण्डविपरीत झण्डा र पर्चा, पम्प्लेट प्रयोग नगर्न–नगराउन भनेको छ ।

    सामाजिक सञ्जाललगायत विकसित नयाँ प्रविधिको प्रयोग गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन आयोगले राजनीतिक दल र उम्मेदवारलगायत सबै सरोकारवाला पक्षलाई अनुरोध गर्दै आएको छ । आयोग स्वयं पनि निर्वाचनको प्रचार–प्रसार, सामाजिक पत्रपत्रिका, सञ्जाल र रेडियो, टेलिभिजनका माध्यमद्वारा होस् भन्ने मान्यता राखेर आयोग त्यसतर्फ लागिरहेको छ ।

    मुलुकको राजधानी, प्रदेश र स्थानीय तहका मुकाममा मात्र नभई वडा, टोल, मेला, भेला, चोक, चिया पसल र घरपरिवारमा समेत स्थानीय तह निर्वाचनसम्बन्धी विषयमा हुने चर्चा र परिचर्चाले निर्वाचनको वातावरण बनाएको छ । (रासस)

  • जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    बझाङ, ४ वैशाख-
    जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

    मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको र नेटवर्कको समस्याका कारण घटना के–कति कारणले घटेको हो भन्ने विवरण नखुलेको समेत सूचना अधिकारी चौधरीले बताउनुभयो ।(रासस)

  • तटबन्धन बनाउन माग

    तटबन्धन बनाउन माग

    तनहुँ, ४ वैशाख-
    मादीसेती नदी किनारस्थित व्यास नगरपालिका–३ देउराली नगर बस्ती जोखिममा परेको छ । नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ ।

    सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीवासीको माग रहेको छ । बस्ती जोगाउन नदीमा तटबन्धन गर्न अतिआवश्यक देखिएकाले नगरपालिकालाई आग्रह गरिएको स्थानीय नमस्ते देउराली युथ क्लबका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो ।

    स्थानीय नमस्ते देउराली युथ क्लबले मादी नदी किनारमा सेभेन साइड फुटबल खेलमैदानसमेत बनाएका छन् । डोजर लगाएर जग्गा सम्याएर फराकिलो बनाएपछि माटो ल्याएर फिलिङ गरिएको हो । व्यास नगरपालिका कार्यालय र स्थानीयवासीको करिब रु सात लाख आर्थिक सहयोगमा खेलमैदान निर्माण गरिएको उहाँले बताउनुभयो ।

    उक्त क्षेत्रमा खेलमैदान निर्माण गरिएपछि त्यसक्षेत्रका युवायुवती फुटबल र भलिबल खेलका लागि उत्साहित भएर खेल्न थालेका छन् । खेलमैदान र देउराली नगरका बस्ती नदीले कटान गरी क्षति हुनसक्ने भएकाले समयमै सम्बन्धित निकायले ध्यान दिन आग्रह गरिएको स्थानीय बाबुराम बगालेले जानकारी दिनुभयो ।

    नदी किनारमा तटबन्धन गरिए खेलमैदान र बस्ती जोगाउन सहयोग पुग्ने विश्वास गरिएको स्थानीयवासी बताउँछन् । व्यक्तिले हडपेर प्रयोग गर्दै आएको सार्वजनिक जग्गा देउराली नगरवासीको सक्रियतामा संरक्षण गरी खेलमैदान निर्माण गरिएको उहाँले बताउनुभयो ।

    उक्त बस्ती संरक्षणका लागि व्यास नगरपालिका कार्यालयले चासो दिँदै आएको जनाइएको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको बीच भागमा मादीसेती नदी बग्ने गरेको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले समन्वय गरी मादीसेती नदी किनारमा तटबन्धन गर्ने योजना रहेको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । (रासस)

  • गठबन्धन सङघीय निर्वाचनसम्म : अध्यक्ष प्रचण्ड

    गठबन्धन सङघीय निर्वाचनसम्म : अध्यक्ष प्रचण्ड

    कावासोती, ३ वैशाख

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विरोधीहरूले गणतन्त्रलाई उल्ट्याउन खोजेको भन्दै यो कुरा जनतालाई बुझाउन जरुरी रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धन सङ्घको निर्वाचनसम्म कायम रहने बताउनुभयो ।

    “गठबन्धनभित्र स्थानीय तह निर्वाचनमा तालमेल गर्ने कुरा सजिलो कुरा होइन, सबैलाई आफ्नो पार्टीले धेरै पाए हुन्थ्यो भन्ने छ । तर स्थानीय तहदेखि सङ्घको निर्वाचनसम्म गठबन्धन कायम हुन्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

    आउने चुनाव माओवादीका लागि चुनावमात्रै नभएर ‘ब्याटल’ ( लडाइँ) भएको उहाँको भनाइ थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “आउने चुनाव, हाम्रा लागि चुनाव हैन, ब्याटल हो, लडाइँ हो ।” आउने चुनाव माओवादीले हर हालतमा जित्नुपर्ने बाध्यता भएकोसमेत उहाँले बताउनुभयो । “आउने चुनाव माओवादीले हरहालतमा जित्नुपर्ने बाध्यता छ, अहिले माओवादीले हा¥यो भने संविधान, गणतन्त्रले हार्छ, महिला, दलित, जनजाति, थारू, आदिवासी, मधेशी सबैको प्रतिनिधित्व भएको छ यसले हार्छ, सिंहदरबारको अधिकार गाउँमा ल्याइएको छ, त्यो अधिकारले हार्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो । (रासस)

  • संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

    संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

    काठमाडौँ, ३ वैशाख

    बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले संविधान, सङ्घीयता र समावेशी लोकतन्त्रको रक्षाका गठबन्धन आवश्यक रहेको बताउनुभएको हो ।

    “संविधानको रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो । प्रगितमनकारी दलहरूबीच हुन लागेको गठबन्धनले पाँच दलीय गठबन्धनलाई कुनै फरक नपर्ने उहाँको भनाइ थियो ।

    मनमोहन मेमोरियल अस्पतालका संस्थापक अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि विदेशी लगानी भित्र्याउनुपर्ने बताउनुभयो । “अस्पताललाई अब नयाँ ढङ्गले सञ्चालन गर्नुपर्छ” उहाँले भन्नुभयो ।

    मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा ऐन पारित गरेको बताउँदै सोही ऐनअनुसार मनमोहन अस्पताललाई पनि विश्वविद्यालयका रूपमा अगाडि बढाउन सकिने धारणासमेत राख्नुभयो । उहाँले मनमोहन अस्पतालमा कर्मचारी भर्ना, बढुवा, सरुवा गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने बताउँदै नयाँ सञ्चालक समितिलाई इमान्दार र लगनशील भएर काम गर्न आग्रह गर्नुभयो ।

    विसं २०६२ चैत ४ गते सहकारी दर्ता गरेर विस २०६३ जेठ १ गतेदेखि काठमाडौँमा सञ्चालनमा आएको मनमोहन अस्पतालले अहिले झापाको बिर्तामोडमा समेत १०० शय्याको अस्पताल सञ्चालन गरेको छ ।

    यस्तै काठमाडौँको रविभवनमा मनमोहन मेमोरियल इन्च्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौँको दहचोकमा अस्पताल भवनसमेत निर्माण गरेको छ । स्थापनामा २८ जना संस्थापक शेयर रहेको अस्पतालमा हाल दुई हजार ६०० भन्दा बढी शेयरधनी रहेको सो अस्पतालले जनाएको छ ।
    (रासस)

  • ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली

    ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको छ : अध्यक्ष ओली

    सर्लाही, ३ वैशाख-

    आफूलाई मधेशका ठेकेदार ठान्नेहरूबाट मधेश मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए ।

    शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेशको ठेकेदार नठान्न चेतावनी दिएका छन् ।

    विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेशका नागरिकलाई मधेशको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे ।

    २०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे । मधेशको जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले दाबी गरे ।

    एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीले बताए ।

    जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेशका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उनले बताए । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए ।

    उनले मधेशका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे । फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाएका छन् ।

    एसवी थापा/न्युज कारखाना

  • ब्राउन सुगरसहित एक युवक पक्राउ

    ब्राउन सुगरसहित एक युवक पक्राउ

    सिरहा, ३ वैशाख

    सिरहा प्रहरीले प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

    गोलबजार नगरपालिका-६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिव २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीटोलीले विशेष सूचनाको आधारमा रामलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । न्युज कारखाना

  • तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण, चीनको अन्तरिक्ष याात्रामा अर्को सफलता

    तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण, चीनको अन्तरिक्ष याात्रामा अर्को सफलता

    लरी चेन बेइजिङ
    वैशाख ३ वैशाख-

    चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले सार्बजनिक गरेको छ ।

    यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो । अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि चीनको अन्तरिक्ष महत्वाकांक्षामा एउटा ऐतिहासिक सफलता मिलेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रले अन्ततः मानिसलाई चन्द्रमामा पठाउने आशाका साथ आफ्नो सैन्य–चालित अन्तरिक्ष कार्यक्रममा अरबौंको बजेट राखेको छ ।

    चीनले संयुक्त राज्य अमेरिका र रूसलाई भेट्न निकै लामो यात्रा गरेको छ, जसका अन्तरिक्ष यात्री तथा अन्तरिक्षयात्रीहरूको अन्तरिक्ष अन्वेषणमा दशकौंको अनुभव छ ।

    माओको प्रतिवद्धता –

    सन् १९५७ मा सोभियत संघले स्पुत्निक प्रक्षेपण गरेको केही समय नबित्दै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालिन अध्यक्ष तथा राष्ट्रपति माओ त्सेतुङले ‘हामी (चिनियाँ) हरूले पनि भूउपग्रह बनाउनेछौं ।” यसको लागि एक दशकभन्दा बढी समय लाग्यो तर सन् १९७० मा चीनले लङ मार्च रकेटमा आफ्नो पहिलो उपग्रह प्रक्षेपण गरेको थियो।

    मानव अन्तरिक्ष उडानको लागि दशकौं लागेपनि सन् २००३ मा पहिलो चिनियाँ ‘ताइकोनट’ बन्न याङ लिवेइ सफल हुनुभएको थियो ।

    प्रक्षेपण नजिकिंदै जाँदा, मिशनको क्षमताबारेको चिन्ताले बेइजिङले अन्तिम क्षणमा प्रत्यक्ष टेलिभिजन प्रसारण रद्द गरेको भन्ने भनाइहरू अन्तर्राष्ट्रि सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यद्यपि, चिन्ताबीच चिनियाँ मिसन जारी भयो । याङले शेन्झाउ–५ मा २१ घण्टे उडानको दौडान १४ पटक पृथ्वीको परिक्रमा गर्नुभएको थियो । चीनले त्यसबेलादेखि सातवटा चालक दलका मिशनहरू सुरु गरेको छ ।

    ‘विशेष सपना’ –

    राष्ट्रपति सी जिनपिङका अनुसार चीनको ‘विशेष सपना’ को योजनालाई निरन्तरतामा राखिएको छ ।

    बेइजिङले वर्षौंदेखिको अन्तरीक्ष यात्राको प्रयासमा कोसेढुङ्गा सावित भएपछि अन्ततः अन्तरीक्ष यात्राको अभियानमा संयुक्त राज्य अमेरिका र रूससँग प्रतिस्पर्धामा पुग्ने प्रयास गरिरहेको छ ।

    अन्तरिक्ष स्टेशनबबाहेक चीनले चन्द्रमामा आधार निर्माण गर्ने योजना पनि बनाएको छ र देशको राष्ट्रिय अन्तरिक्ष प्रशासनले भने यसको लक्ष्य सन् २०२९ सम्ममा चालक दलित चन्द्र मिशन सुरु गर्नु हो ।

    तर सन् २०१७ मा शक्तिशाली हेभी–लिफ्ट रकेट लङ मार्च–५ वाई–२ ले सञ्चार उपग्रहहरू अक्षमा पठाउने मिशनमा प्रक्षेपण गर्न असफल हुँदा चन्द्रमाको काम निकै कम भएको थियो । त्यसले गर्दा चाङए–५ प्रक्षेपणलाई चीनले केही समय स्थगित गर्नुपरेको थियो । सन् २०१७ को दोस्रो कालमा चन्द्रमाको नमूना सङ्कलन गर्ने निर्धारित लक्ष्य चीनको रहेको थियो ।

    जनवरी २०१९ मा अर्को रोबोट, चाङए–४, पहिलोपटक चन्द्रमाको एउटा कुनामा अवतरण भएपछि चीनलाई चन्द्रमाको अध्ययनका लागि ऐतिहासिक सफलता मिलेको थियो । त्यसपछि गत वर्ष चन्द्रमाको भित्री भागमा अवतरण भई चन्द्रमाको सतहमा मानव उपस्थितिमा चिनियाँ झन्डा फहराउन चीन सफल भएको थियो ।

    मानव रहित अन्तरिक्ष यान चट्टान र माटोसहित डिसेम्बरमा पृथ्वीमा फर्किएको थियो । यो चीनले अन्तरिक्ष यात्राको चार दशकमा सङ्कलन गरिएको चन्द्रमाको पहिलो नमूना हो ।

    फेरि सन् २०२१ फेब्रुअरीमा मंगल ग्रहका पाँच टन पहिलो तस्वीरहरू टियानवेन–१ द्वारा पठाइएको थियो । त्यसपछि मे महिनामा मार्सियन सतहमा रोभर अवतरण भयो जसले पछि रातो ग्रह (रेड प्लानेट) को सतह पत्ता लगाउन थालेको छ ।

    – आकाशमा दरबार –

    सन् २०२१ अप्रिलमा अक्षमा राखिएको चिनियाँ अन्तरिक्ष स्टेशनको ‘टियानहे मोड्युल’सँग अक्टोबर महिनामा तीन जना अन्तरिक्षयात्रीहरू सफलतापूर्वक पुग्न सफल भएका हुन् । अन्तरिक्षयात्रीहरू शनिबारको दिन सुरक्षित साथ पृथ्वीमा फर्कनुभन्दा छ महिनाअघि स्टेशनमा पुगेका र अहिलेसम्म चीनको सबैभन्दा लामो चालक दल मिशनमा सहभागी भई पृथ्वीमा फर्किएका छन् ।

    चिनियाँ अन्तरिक्ष स्टेशन तियाङगोङ ‘स्वर्गीय दरबार’ निर्माणका लागि धेरै भागहरू ल्याउन र अक्षमा एकत्रित गर्न जम्मा ११ मिशनहरूको आवश्यकता पर्नेछ ।

    एक पटक पूरा भएपछि, यो कम्तीमा १० वर्षसम्म हाम्रो ग्रहभन्दा ४०० देखि ४५० किलोमिटर (२५० देखि २८० माइल) माथि न्यून पृथ्वीको अक्षमा रहने आशा गरिएको छ –– अन्तरिक्षमा दीर्घकालीन मानव उपस्थिति कायम राख्ने महत्वाकांक्षा चीनमा थप बलियो बन्दै गएको छ ।

    चीनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको स्केलमा विश्वव्यापी सहयोगका लागि आफ्नो अन्तरिक्ष स्टेशन प्रयोग गर्ने योजना नगरे पनि बेइजिङले भने विदेशी सहयोगका लागि खुला रहेको बताएको छ । यो सहयोग कत्तिको व्यापक हुनेछ आगामी दिनले पुष्टि गर्दै जानेछन् ।
    (रासस/एफपी)

  • धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

    धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु

    महेन्द्रनगर, ३ वैशाख –
    धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको थियो । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

    स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेको थियो । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा सङ्कलन भट्टद्वयलाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पु¥याइएको बताउनुभयो । “घटनाबारे विस्तृत अनुसन्धान हँुदैछ”, उहाँले भन्नुभयो, “दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।”

    बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । “धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ”, उहाँले भन्नुभयो, “बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।”(रासस)