Blog

  • बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

    बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

    काठमाडौँ, ४ वैशाख-

    नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ ।

    काठमाडाँैमा आज आयोजित एक कार्यक्रमकाबीच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरिएको हो । बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सेफ टोलीलाई सम्मान गर्नुभएको थियो ।

    सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो । “नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकले सुन्दर गन्तव्यकारुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना÷परिकारलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ”, उहाँले भन्नुभयो । सन्तोषसहित टिमका सहभागी अन्य सेफको आगमन र नेपाल भ्रमणलेसमेत नेपाली पकवान पर्यटनलाई थप टेवा पु¥याएको भन्दै उहाँहरुलाई पनि बोर्डले सम्मान गरेको बताउनुभयो ।

    सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्वमञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको धारणा राख्नुभयो । सेफ साहले आफ्नो साथमा आएको टिमलाई पुनःनेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह गर्नुभयो ।

    यस्तै सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजले आफूहरु नेपाल घुम्न, यहाँको कलासंस्कृतिका बारेमा जान्न पाउँदा खुसी लागेको बताउनुभयो । नेपाल साँच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिँदै उहाँहरुले नेपाल सबैका लागि प्रिय देश रहेको बताउनुभयो ।

    वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफको नेपाल भ्रमणले गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक टुर कार्यक्रमका क्रममा सेफ सन्तोष शाहसहितको टोली अप्रिल ७ तारिखदेखि नेपाल भ्रमणमा रहेको छ । उक्त टोली नेपालका विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा संलग्न भएर काठमाडौँ फर्किएको छ ।(रासस)

  • भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ : सभामुख अग्निप्रसाद सापकोटा

    भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ : सभामुख अग्निप्रसाद सापकोटा

    काठमाडौँ, ४ वैशाख-
    सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ ।

    विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो ।

    आजदेखि काठमाडौँमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताउनुभयो । उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको पनि बताउनुभयो । सभामुख सापकोटाले आफ्नो विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने प्रण पनि गर्नुभएको छ ।

    “कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा समाजको चित्रण साँच्चैको सिर्जनामा हुन्छ”, उहाँले भन्नुभयो, “अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु ।” सत्यकुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उहाँले काम गुणस्तरयुक्त, कानुन निर्माण गर्नु र ठीक ढङ्गले लागू भएको छ कि छैन भनेर निगरानीको नेतृत्व गर्ने हो भन्दै उहाँले त्यसमा आफू प्रतिबद्धताका लागि लागिरहेको र अब पनि लागिरहने बताउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, “भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । यो राष्ट्रियतासँग जोडिएको विषय पनि हो । यो बढ्दै गयो र यस्तै गरी हामीले यसविरुद्ध खबरदारी गरेनौं भने यसले हाम्रो प्यारो मातृभूमिलाई भित्रभित्रै खाइदिन सक्छ ।”

    स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सुरु भएको चित्रकारको कार्टुन प्रदर्शनी अर्थपूर्ण रहेको र अबको २५ दिन धेरै गुणात्मक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा तीनदिने उक्त कार्टुन प्रदर्शनी सुरु भएको हो । भ्रष्टाचारविरुद्ध सचेतना जगाउन दुई महिना भित्रमा सातै प्रदेशमा प्रदर्शनी गर्ने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिनुभयो । प्रदर्शनीमा ३६ जनाका ५० वटा कार्टुन समावेश छ । (रासस)

  • दिगो अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास गरिने : कृषिमन्त्री झलकबहादुर मगर

    दिगो अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास गरिने : कृषिमन्त्री झलकबहादुर मगर

    मोरङ, ४ वैशाख-
    प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनुभएको छ ।

    नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको आज यहाँ आयोजित प्रदेशस्तरीय भेला शुभारम्भ गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायीकरण गरी कृषि तथा पशु पन्छीका लागि अवश्यक वस्तुको उत्पादन वृद्धि गरी आयात निरुत्साहित र निर्यातमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कृषि र पशुपालन क्षेत्रमा ६० प्रतिशत जनता आबद्ध भएकाले यस पेशालाई सम्मानजनक बनाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
    भेलामा प्रदेशका १४ जिल्लाका २०० जना प्राविधिकको सहभागिता रहेको छ । भेलाले कृषि तथा पशुपक्षी क्षेत्रको उत्पादनमा वृद्धि गर्न आवश्यक रणनीति तयार गर्ने जनाइएको छ । (रासस)

     

  • राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

    राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

    बैतडी, ४ वैशाख-
    स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सरकारी साधन प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै सवारी साधन नियन्त्रणमा लिइ आवश्यक कारवाही हुने जनाएको छ ।

    उक्त कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको अटेरी भएको पाइएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर गत चैत मसान्तसम्म इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको थियो । उक्त अवधिमा एक जनाले पनि हतियार नबुझाएको सूचना अधिकारी भारतीले बताउनुभयो ।

    जिल्लामा बारबोर, एकनाले र दुईनाले बन्दुकसहित करिब एक हजार इजाजतप्राप्त हातहतियार रहेकामा तीमध्ये २५१ हातहतियार द्वन्द्वकालमै प्रशासनमा जम्मा गरिएका थिए । निर्वाचन विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन भनिएको उहाँको भनाइ थियो । हातहतियार बुझाउन अटेरी गरेका छन् सूचना अधिकारी भारतीले भन्नुभयोे, “ हातहतियार नबुझाउनेलाई के गर्ने भन्नेबारे गृह मन्त्रालयको आदेश पर्खिराखेका छौँ, सोहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।” तोकिएको समयमा हातहतियार नबुझाएकाले खानतलासी गरेर कारबाही गरिने जनाइएको छ ।

    हातहतियार जम्मा नहुँदा यसले निर्वाचनको शान्तिसुरक्षामा असर पार्ने आशङ्का गरिएको छ । सूचना जारी गरेर बुझाउन आग्रह गरेकामा नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुने प्रहरी नायब उपरीक्षक रमेश पालले बताउनुभयो । उहाँले भन्नुभयो, “हातहतियार बुझाउन आग्रह गरिसेकका छौँ, नबुझाउनेले कानुनी सजाय भोग्नुपर्छ ।”

  • म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा

    म्यालपोखरीका ३२५ घरमा खानेपानीको धारा

    तम्घास, ४ वैशाख-
    गुल्मीको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ७८ वर्षीय झमाकुमारी ओलीलाई घरमै पानी आउला भन्ने कहिल्यै लागेको थिएन । एक गाग्रो पानी लिनका लागि उहाँ कालीमाटी, ढाडा, गैरापधँेरालगायत स्थानमा पुग्ने गर्नुहुन्थ्यो । ती ठाउँबाट पानी लिएर फर्कंन करिब एक घण्टा लाग्थ्यो तर पछिल्लो एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा आएको छ । घरमै पानी आउन थालेपछि उहाँको दैनिक जीवन धेरै सहज बनेकोे छ । कहिलेकाहीँ पानी लिएर फर्कंदा बाटैमा लडेर गाग्री फुटेका घटना अझै ताजै रहेको झमाकुमारी सुनाउनुहुन्छ । “बिहानै उठेर पानी लिन तलको पधेँरोमा जान्थ्यौँ, फर्केर आउँदा लडेर घैँटो (पानी बोक्ने माटाको भाँडो) फुट्थ्यो”, उहाँले भन्नुभयो, “बाटैमा घैँटो फुट्दा घरमा श्रीमान्, सासू र ससुराको गाली सहनुपथ्र्याे ।” अहिले घरमै पानी आएपछि घरायसी र छिमेकीबीच हुने झगडासमेत धेरै कम भएको उहाँको भनाइ थियो ।

    “घरमै पानी आउला जस्तो लागेको थिएन, अहिले पनि सपनाजस्तै लाग्छ”, झमाकुमारीले भन्नुभयो, “गाउँपालिकाको निर्वाचन भएदेखि पानी, बिजुली र बाटोको सुविधा धेरै सहज छ ।”
    घरमै पानी आएदेखि स्थानीय डिम्पल सेन पनि खुसी देखिनुहुन्छ । पधेँरामा पनि प्रशस्त पानी नपाउँदा स्थानीयवासीबीच झगडासमेत हुन्थ्यो तर आजकाल सेनका लागि ती सबै सम्झना मात्र भएका छन् । विगत एक महिनादेखि उहाँको घरमा खानेपानीको धारा जडान भएको छ । “बिहान दुई घण्टा र बेलुका डेढ घण्टा घरमै पानी आउछ”, डिम्पलले भन्नुभयो, “पानी आएपछि घरको आधाभन्दा धेरै काम घटेको छ ।” घरमै पानी आएदेखि पुस्ताँैदेखि कुवा र पधेँरोमा धाउने बाध्यता हटेको छ ।

    त्यस्तै सरसफाइ गर्न, तरकारी लगाउनेलगायत काममा पानी आएपछि धेरै सहज भएको छ । “निर्वाचनका समयमा उम्मेदवारले पानी ल्याइदिने प्रतिबद्धता जनाएका थिए । तर विश्वास लागेको थिएन । उहाँले भन्नुभयो, “घरमै पानी आएसँगै स्थानीय सरकार र जनप्रतिनिधिप्रति विश्वास बढेको छ ।”

    चुनावी वाचा पूरा ग¥र्यौं : वडाध्यक्ष

    म्यालपोखरीमा ‘एक घर, एक धारा’ अवधारणाअन्तर्गत लिफ्टिङ प्रविधिबाट पानी पु¥याइएको छ । सङ्घ, प्रदेश र गाउँपालिकाको लगानीमा लिफ्टिङ प्रविधिबाट बृहत् तल्लो लुप्सी खानेपानी आयोजना सञ्चालन गरिएको हो । त्यस्तै वडाभित्र केही साना आयोजना सञ्चालन गरी कूल ३२५ घरमा खानेपानीको धारा पु¥याइएको वडाध्यक्ष भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । म्यालपोखरीमा खानेपानीका अन्य योजना पनि सञ्चालनमा छन् । जसका लागि चार करोडभन्दा बढी रकम खर्च हुने अनुमान छ । “पानी पु¥याउने प्रतिबद्धता जनाएर भोट मागेका हौँ”, वडाध्यक्ष भट्टराईले भन्नुभयो, “विश्वास गरेर भोट दिनुभयो, हामीले चुनावी वाचा पूरा ग¥र्यौं ।”(रासस)

  • जीप दुर्घटनामा स्याङ्जाको एकै गाउँका पाँचको मृत्यु

    जीप दुर्घटनामा स्याङ्जाको एकै गाउँका पाँचको मृत्यु

    वालिङ, ४ वैशाख-
    स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो ।

    जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

    जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन् ।

    घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो । मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ ।(रासस)

  • चितुवाको छालासहित बूढानीलकण्ठबाट चार पक्राउ

    चितुवाको छालासहित बूढानीलकण्ठबाट चार पक्राउ

    काठमाडौँ, ४ वैशाख-
    नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

    पक्राउ परेका उनीहरुले ‘द नर्थ फेस’ लेखेको नीलोकालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्रीवितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले पक्राउ परेकासँग लम्बाइ पुच्छरसहित ४.३ फिट र चौडाइ दुई फिट भएको चितुवाको छाला एक थान, लम्बाइ पुच्छरसहित ६.९ फिट र चौडाइ तीन फिट भएको चितुवाको छाला एक थान, छालाविनाको चितुवाको टाउको एक थान, ओपो मोबाइल तीन थान र सामसुङ कम्पनीको मोबाइल एकथान बरामद गरेको छ ।

    पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो । (रासस)

  • रहर लाग्दो बाख्रा फार्म

    रहर लाग्दो बाख्रा फार्म

    तनहुँ, ४ वैशाख-
    व्यास नगरपालिका–४ चुरेखोल्सी निवासी देवीप्रसाद र गङ्गादेवी अधिकारीको रहर लाग्दो बाख्रा फार्म रहेको छ । उक्त फार्ममा पुग्ने जो कसैको मनमा आनन्द मिल्छ र केही चाही गर्नुपर्ने रहेछ भन्ने मनोभावना पलाएर आउँछ ।

    जोश जाँगर भए स्वदेशमै बसेर पनि मनग्य आम्दानी लिन सकिन्छ भन्ने उक्त फार्ममा पुग्ने जो कोही मानिसका लागि पनि गतिलो सन्देश मिल्न सक्छ । शुरुमा रु डेढ लाख लगानी गरी आठ बाख्राबाट शुरुवात गरेका अधिकारी दम्पत्ती फार्ममा १०० को हाराहारीमा बोयर जातका बाख्रा रहेका छन् । बाख्रा फार्ममा अधिकारी दम्पत्तीसँगै अन्य तीन जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    दिउँसो एउटा खोरमा र राती अर्को खोरमा बाख्रा राख्ने व्यवस्था मिलाइएको छ । बाख्रा फार्ममा दुई कुकुरसमेत परिचालन गरिएको छ । बाख्रा पालनका लागि आफ्नो चौबीस रोपनी र बाह्र रोपनी भाडामा लिएर घाँस खेती गरिएको छ । डाले घाँस र नेपियरलगायतका घाँस लगाइएको छ ।

    गङ्गादेवी बाख्रा फार्मका नाउँमा दर्ता गरी व्यवसायिक बाख्रा पालन थालिएको छ । उक्त फार्म अधिकारीकी बुहारी गायत्रीका नाउँमा दर्ता गरिएको छ । गायत्रीको पसल रहेकाले फूर्सदको समयमा फार्मको रेखदेखसमेत गर्दै आएको बताउनुभयो ।

    हालसम्म बैकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक बताउनुहुन्छ । उहाँका छोरा नारायणप्रसाद दमौली कारागारका जेलर हुनुहुन्छ । उहाँले कार्यालयको कामबाहेक बिदाको दिन बिहान बेलुकाको समयमा फार्मको रेखदेख गर्दै आउनुभएको छ ।

    बुबा आमाको पुख्यौली पेशा नै पशुपालन भएकाले अन्य व्यवसायभन्दा पशुपालनमा लगानी गरिएको उहाँ बताउनुहुन्छ । शुद्ध १०० प्रतिशत बोयर जातका दुई बोका, शुद्ध बोयर पाठी एक वटा फार्ममा रहेका छन् ।

    त्यसैगरी ७५ प्रतिशत बोयरमा त्रीचालीस वटा माउ, ७५ प्रतिशत बोयरका २५ पाठी र २३ पाठा रहेका छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरीद गरेर ल्याएको अधिकारीले बताउनुभयो ।

    नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदानको हालै मात्र सम्झौता गरिएको छ । अबका दिनमा प्रजनन् कार्यलाई जोड दिँदै जतिसक्दो मासु धेरै उत्पादनतर्फ केन्द्रित रहेको फार्म सञ्चालक अधिकारी बताउनुहुन्छ । (रासस)

  • संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत

    संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत

    संयुक्त राष्ट्रसङ्घ, ४ बैशाख-
    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गर्नुभएको उहाँका प्रवक्ताले बताउनु भएको छ। महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाइ समेत व्यक्त गर्नुभएको छ।
    “आरएसटीले विकासोन्मुख देशहरू र कमजोर मध्यम आय भएका देशहरूलाई जलवायु परिवर्तन र लामो समयसम्म चल्ने कोभिड-१९ महामारी जस्ता समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ । साथै भविष्यमा देखापर्न सक्ने यस्ता समस्याहरूसँग जुध्न सहयोग गर्नेछ,” विज्ञप्तिमा भनिएको छ।
    “हामीले वर्तमान त्रि-आयामिक सङ्कटलाई मात्रै सम्बोधन गर्ने होइन तर दिगो विकास लक्ष्यहरूलाई बचाउने आशा कायम राख्ने हो भने दीर्घकालीन परिप्रेक्ष्यको आवश्यकता छ,” विज्ञप्तिमा थपिएको छ । (रासस-सिन्ह्वा)

  • दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

    दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

    ४ बैशाख-
    दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् । यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् ।

    दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी दिएको थियो । यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना सङ्क्रमण भएको थियो । यहाँ कोरोना सङ्क्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ । (रासस÷सिन्ह्वा)