Blog

  • सशस्त्रको एआइजीमा राजु अर्याल सिफारिस

    सशस्त्रको एआइजीमा राजु अर्याल सिफारिस

    काठमाडौँ, ५ वैशाख-
    गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

    मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ (क) बमोजिम उहाँलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

    डिआइजी अर्याल वरियतामा पहिला नम्बरमा हुनुहुन्छ । डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा हुनुहुन्छ ।

    यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली थियो ।

    समितिले बढुवाउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी दिन सूचनामार्फत अनुरोध गरेको छ ।

    पदोन्नति भएको खण्डमा अर्याललाई यही वैशाख १८ पछि सशस्त्र प्रहरी बलको नेतृत्व (महानिरीक्षक) सम्हाल्ने बाटो खुला हुनेछ । (रासस)

  • कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

    कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

    वीरगञ्ज, ५ वैशाख-
    सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

    कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ । आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् ।

    निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । जिल्लाभरि मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिका, अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

    वीरगञ्जमा यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरिसकेका सक्नुभएको छ । उहाँलाई एमालेले मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सारिसकेको जनाइएको छ ।(रासस)

  • नेपालगञ्जमा नयाँ उद्योगको लागि जग्गा अपुग

    नेपालगञ्जमा नयाँ उद्योगको लागि जग्गा अपुग

    राँझा, ५ वैशाख-
    नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अपुग भएको छ ।

    नयाँ उद्योग स्थापनाको लागि कार्यालयमा जग्गा माग हुँदै आएपनि खाली जग्गा नभएका कारण दिन नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनलेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नेपालगञ्ज औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योग सञ्चालनमा छन् । २३३ रोपनी जग्गामा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका सबै उद्योग सुचारु रहेका छन् । “उद्योग स्थापनाको लागि उद्योगी व्यवसायीबाट औद्योगिक क्षेत्रमा माग छ तर हामीसँग जग्गा छैन”, कार्यालयका प्रमुख पुनले भन्नुभयो, “नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन नहुँदासम्म दिन सकिने अवस्था छैन ।”

    नेपालगञ्जको बीच बजारमा रहेको औद्योगिक क्षेत्र सुरक्षा र सुविधाका दृष्टिकोणले उपयुक्त रहेकाले नयाँ उद्योग सञ्चालन गर्न चाहने उद्योगी व्यवसायीको आकर्षणमा पर्ने गरेको छ ।

    नेपालगञ्ज औद्योगिक क्षेत्रमा पाइप निर्माण गर्ने, प्लाष्टिक उद्योग, प्लाई उद्योग, मेटल उद्योग र पानी उद्योगलगायतका उद्योग सञ्चालनमा रहेका छन् । यहाँ रहेको विनोद मेटल उद्योग र विजय मेटल उद्योगबाट उत्पादन हुने चरेशका थालहरू तेस्रो मुलुकमा समेत निर्यात हुने गरेको कार्यालयका प्रमुख पुनले बताउनुभयो ।

    नेपालगञ्जमा उद्योग स्थापना गर्ने जग्गा अभाव भएपछि पछिल्लो पटक नेपालगञ्जसँगै जोडिएको जानकी गाउँपालिकाको वडा नं ६ स्थित गनापुरमा जग्गा किनेर धेरै उद्योग स्थापना भएका छन् । त्यहाँ करिब ८० उद्योग सञ्चालनमा रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिनुभयो । शिलान्यास भएको एकवर्ष बितिसक्दा पनि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम सुरु हुन सकेको छैन ।

    उहाँले नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना नहुँदासम्म उद्योग स्थापनाको लागि जग्गा अभाव देखिएको बताउनुभयो । शिलान्यास भएको १३ महिना बित्दासमेत उक्त औद्योगिक क्षेत्रको काम सुरु हुन सकेको छैन । काम सुचारु गर्न आफूहरूले बारम्बार अनुरोध गर्दै आएको महासचिव ओलीको भनाइ छ ।(रासस)

  • नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

    नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

    त्रिशूली, ५ वैशाख-

    नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो । गत शनिबारमध्य रातमा देवीघाटस्थित जालपादेवी मन्दिर पुग्नुभएका ८३ वर्षका धामी हरिमानसिंह डङ्गोल आज बिहान नुवाकोटको धरमपानीमा पुगेर आराम गरिरहनुभएको छ ।

    जात्राअन्तर्गत जालपादेवी मन्दिरमा पु¥याइएको भैरवीदेवी, अष्टमातृकासहितको रथयात्रालाई स्थानीयवासी, तीर्थालु, जात्रालुले आइतबार साँझ जालपादेवी र भैरवीदेवीको जय–जयकार गरी देवीघाटबाट बिदाइ गरेका थिए । भैरवीको रथ लच्याङका ६० डोके, ३२ नोले गुठीयारहरुले देवीघाटस्थित जालपादेवी मन्दिरबाट आइतबार साँझ प्रस्थान गरेर आज बिहानीपख धरमपानीमा पु¥याइएको हो ।

    शनिबार राति जालपादेवी मन्दिर पुग्नुभएका धामी पनि गएमध्यरातमा लामबगैँचा, बाणाचौतारो, इनारपाटी, बट्टारको पुरानोपाटी, बट्टारबजार चोक, नुवाकोटको वन हुँदै धर्मपानीमा पुगेर अहिले विश्राम गरिरहनुभएको छ । मध्यरातको सङ्कटासन्न समयमा धामी देवीघाटबाट नुवाकोटतर्फ फर्कनुभएको द्वारे शाहीले जानकारी दिनुभयो । “उहाँ फर्केको हेरेमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेकाले धामीमध्ये रातको सुनसान समयमा फर्कने चलन छ ।” उहाँले भन्नुभयो ।

    देवीघाट पुग्नुभएका धामीले यस वर्ष विसं २०७९ मा देशमा के हुन्छ भनेर गोप्यरुपमा भविष्यवाणी गर्नुभएको छ । “धामीले देशमा यस वर्ष हुने घटनाक्रमको गोप्यरुपमा भविष्यवाणी गर्नुभयो ।” द्वारे शाहीले भन्नुभयो, “धामीले भविष्यवाणी बोलेर गर्ने भएकाले त्यसलाई द्वारेमार्फत शब्दमा उतारेर राष्ट्रिपतिसमक्ष पठाइन्छ ।”

    आज अपराह्न ३ बजेपछि जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सहित राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थितिमा जबरजङ्ग गण देवीघाटका नेपाली सैनिकले निशान झण्डा र भैरवी सलामीको बढाइँ दिँदै लावालस्करसहित भैरवीदेवी मन्दिर परिसरमा पुगेपछि द्वारेबाट सिन्दूर छर्केसँगँ यस वर्षको सिन्दूरेजात्रा मनाइने गरिएको छ ।

    गत फागुपूर्णिमाको दिनदेखि भैरवी वर्ष बन्धन सुरु भए पनि वैशाख २ गते साँझ बूढीदेवता स्थान परिसर र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो ठडाएसँगै विशेष उल्लास सुरु भएको हो । यो उल्लास आज सिन्दूर खेल्ने समयसम्म कायम रहने गरेको छ । भैरवी वर्षबन्धन–२०७८ को धार्मिक विधि भने वैशाख १३ गतेसम्म कायम रहने द्वारे शाहीले जानकारी दिनुभयो ।

    सरकारी जात्राको रुपमा रहेको सिन्दूरेजात्रा कहिलेदेखि सुरु भएको यकीन मिति पाइन्न तर, विसं १८०१ मा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजयी गरेपश्चात् भैरवीदेवी मन्दिर परिसरमा साततले दरबारको निर्माण गरेर जात्रालाई विशेषरुपमा मनाउने व्यवस्था मिलाएको बताइएको छ ।

    सिन्दूरेजात्राको विशेष रौनक लिङ्गो उठाउने, भैरवीदेवी मन्दिरको रथयात्रा, जीवित भगवान्को रुपमा रहेका धामीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा भोगबली, राष्ट्रमा के हुन्छ भने गरिने गोप्य भविष्यवाणी, जालपादेवी मन्दिरबाट फर्केपछि जिल्लाका सरोकारवाला व्यक्तिको उपस्थितिमा खेलिने सिन्दूर मुख्य आकर्षण र महत्वको रुपमा रहेको छ । (रासस)

  • म्याग्दीमा उम्मेदवार छनोटमा सकस

    म्याग्दीमा उम्मेदवार छनोटमा सकस

    म्याग्दी, ५ वैशाख-
    सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् ।

    गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने सैद्धान्तिक सहमति गरेका थिए ।

    सहमतिपछि दुई पटक बसेको बैठकमा वडा र पालिका बाँडफाँटमा विवाद उत्पन्न भएपछि ती दलहरुले एकल उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    बेनी नगरप्रमुखमा कांग्रेसले चिरञ्जीवी शर्मालाई मेयरको उम्मेदवार बनाउने निर्णय शुक्रबार गरेको थियो । माओवादी केन्द्रले आइतबार नै नगरप्रमुखमा शेरबहादुर केसी र धनलाल जैशी तथा उपमेयरमा ज्योति लामिछाने पौडेललाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

    माओवादीका बेनी नगर इञ्चार्ज विनोद केसीले गठबन्धनभित्र समय घर्किदासम्म पनि सहमति नभएपछि एकल उम्मेदवार छनोट गर्नुपर्ने अवस्था आएको बताउनुभयो । “सहमतिको अन्तिम प्रयत्न अझै पनि छ”, उहाँले भन्नुभयो, “समय घर्किसकेकाले आफ्नै तयारी गर्नुपर्छ भनेर उम्मेदवार घोषणा गरिएको हो ।”

    कांग्रेसले मालिका गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा वर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहो¥याउने घोषणा गरेको छ ।

    कांग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उम्मेदवार बनाउने भन्ने विषयमा छलफल अड्किएको बताउनुभयो । कांग्रेसले अघिल्लो चुनावमा आफूले जितेका पालिका आफूसँगै राखेर एमालेले जितेको थप ५० प्रतिशत वडा र पालिका छोडेर बाँडफाँट गर्ने प्रस्ताव गरेका थिए ।

    माओवादी केन्द्रले कम्तीमा दुई स्थानीय तह र १८ वडाध्यक्षमा दाबी गरेका थिए । नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक÷एक पालिकाको नेतृत्व दाबी गरेका थिए ।

    अन्नपूर्ण, रघुगङ्गा, मङ्गला र धौलागिरि गाउँपालिकामा सिफारिस भएका उम्मेदवार छनोट र सार्वजनिक गर्ने चरणमा कांग्रेस छ । माओवादी केन्द्रका नेताहरुले बेनीसँगै अन्य पालिकामा एकल उम्मेदवार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ ।

    गठबन्धनका प्रमुख दलले संवाद अन्त्य र सहमति भङ्ग भएको घोषणा गरिनसकेकाले एकले अर्कालाई गलाउन खोजेको देखिन्छ । पछिल्लो तीन दिनयता छलफल नगरेका उनीहरु केन्द्रको निर्णयको प्रतीक्षामा छन् ।

    एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत

    एमालेले म्याग्दीका चार गाउँपालिकाको अध्यक्ष र दुई पालिकाका उपाध्यक्षका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मङ्गलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगङ्गाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा भरत पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले जिल्ला अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो ।

    अन्नपूर्णको उपाध्यक्षमा दिवा पुन र रघुगङ्गाको उपाध्यक्षको उम्मेदवारमा यामकुमारी गर्बुजाको नाम सर्वसम्मत सिफारिस भएको छ । बेनी नगरप्रमुख मेयरको उम्मेदवारमा एमालेबाट प्रमोद श्रेष्ठ, सुरत केसी, सन्तोष रावल र नारायण जिसीको नाम सिफारिस भएको छ । उपमेयरमा पशुपति शाही, गौरी थापामगर, विष्णु गुरुङ र भावना पौडेलको नाम सिफारिस भएको छ ।

    धौलागिरिको अध्यक्षको उम्मेदवारमा वर्तमान अध्यक्ष थमसरा पुन, प्रदेश कमिटी सदस्य रेशम भण्डारी, गाउँपालिका कमिटीका अध्यक्ष होमबहादुर थापा र गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले दाबी गरेका छन् । मङ्गलाको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सिर्जना केसी र पेमा अधिकारीले दाबी गरेका छन् । (रासस)

  • वीणा उल्का वर्षा आजदेखि

    वीणा उल्का वर्षा आजदेखि

    काठमाडौँ, ५ वैशाख-
    सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

    आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने उहाँले बताउनुभयो ।

    अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ । ‘थ्याचर’ नामक पुच्छे«ताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ । ‘थ्याचर’ पुच्छे«ताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ ।

    पुच्छे«ताराल वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् । जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ । यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ । (रासस)

  • चितवनमा  औषधि उद्योग फस्टाउने नीतिको अभाव : व्यवसायी

    चितवनमा औषधि उद्योग फस्टाउने नीतिको अभाव : व्यवसायी

    चितवन, ५ वैशाख-
    विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ ।

    नेपाल औषधि उत्पादक सङ्घ (एपोन) का निवर्तमान अध्यक्ष जी नारायणबहादुर क्षेत्रीले राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गर्ने नीतिको अभाव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योग प्रवद्र्धन गर्ने नीतिको अभाव छ, कतिपय नीति भएर पनि कार्यान्वयन हुन सकेको छैन ।” वार्षिक एक खर्ब बढीको कारोबार हुने औषधिमा अहिलेसम्म ५० प्रतिशत मात्रै नेपाली उत्पादनको हिस्सा रहेको उहाँको भनाई छ ।

    औषधि उद्योगलाई प्रवद्र्धन गर्न सके विदेशी मुद्रा सञ्चिति र देशभित्र आर्थिक गतिविधिमा बढोत्तरी हुने क्षेत्रीको भनाइ छ । उहाँले भन्नुभयो, “नेपालमा उत्पादन हुने औषधि विदेशबाट आयात रोक्नुपर्छ ।” नेपाललाई आवश्यक पर्ने खोपलगायतका औषधिजन्य वस्तुमध्ये २० प्रतिशत तत्काल उत्पादन गर्न नसक्ने भए पनि ८० प्रतिशतभन्दा बढी औषधि यही उत्पादन गर्न सकिने क्षेत्रीको भनाइ छ । उहाँले भन्नुभयो, “प्रविधि हस्तान्तरणका कारण खोप लगायतका केही औषधिबाहेक सबै औषधि नेपालमै उत्पादन गर्न सकिन्छ ।”

    नेपाली औषधि उद्योगमा रु ७० अर्ब हाराहारी लगानी भएको भन्दै उहाँले त्यसको ५० प्रतिशत बैंकिङ लगानी रहेको जानकारी दिनुभयो । पछिल्लो समय एउटै कम्पनी सञ्चालन गर्न कम्तीमा रु ५० करोड आवश्यक पर्ने बताउँदै उहाँले भन्नुभयो, “सरकारले नीतिगत रुपमा सहजता दियो भने व्यवसायी लगानी गर्न तयार छन् ।” नेपालमा हाल ८५ उद्योगले औषधि उत्पादन गरिरहेका छन् भने केही उद्योग सञ्चालनको तयारीमा रहेका छन् ।

    सङ्घका उपाध्यक्ष सन्तोष बरालले २५ वर्षअघि बङ्गलादेश अहिलेको हाम्रो हालतमा रहेको भन्दै भन्नुभयो, “अहिले बङ्गलादेशमा ९९ प्रतिशत औषधि स्वदेशमी उत्पादन हुन्छ ।” स्वदेशमा उत्पादन हुने औषधि आयातमा प्रतिबन्ध लगाउँदा बङ्गलादेशले औषधि उद्योगमा ठूलो सफलता पाएको उदाहरण दिँदै बरालले नेपालमा पनि त्यो नीति लागू गर्नुपर्नेमा जोड दिनुभयो । नेपालमा धेरैथरिका औषधि उत्पादन हुने बताउँदै बरालले भन्नुभयो, “अहिले पनि नेपालमा २०० थरिका औषधि बाहिरबाट आयात गर्न रोक्नुपर्छ । हामी उत्पादन गर्न सक्षम छौँ ।”

    कस्तुरी फर्मास्युटिकल्सका निर्देशक ईश्वर भण्डारी नेपाली औषधि उद्योग विभिन्न समस्यामा रहेको बताउनुहुन्छ । उहाँको भनाइमा बैंकको चर्काे व्याज, औषधि व्यवस्था विभागमा हुने ढिलासुस्ती, कच्चा पदार्थ आयातका समस्या, जनशक्तिको अभावसँगै नीतिगत समस्या रहेका छन् । नेपाली उद्योगलाई राज्यले हेर्न नसकेको भन्दै उहाँले नीतिगत सुधार गर्न सकेमा झण्डै आत्मनिर्भर अवस्थामा पुग्न सकिने भण्डारी बताउनुहुन्छ ।

    औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपाली औषधि उद्योगका समस्या समाधान गर्न धेरै वर्षअघिदेखि गृहकार्य हुँदै आएको बताउनुभयो । उहाँले उद्योगका समस्या समाधानका लागि प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “समस्या समाधानका लागि हामी सकारात्मक छौँ, सबैको सहयोग भयो भने समस्या समाधान गर्न सक्छौँ ।” १० वर्षदेखि औषधि उद्योगका नीति कार्यक्रम आउन नसकेको उहाँको भनाइ छ । (रासस)

  • पल शाह प्रकरण : पीडित भनिएकी नाबालिग गायिकाले बयान फेर्दै भनिन्, उक्साहटमा परेर जाहेरी दिएको भनाइ

    पल शाह प्रकरण : पीडित भनिएकी नाबालिग गायिकाले बयान फेर्दै भनिन्, उक्साहटमा परेर जाहेरी दिएको भनाइ

    काठमाण्डौ, वैशाख ४ –

    बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।

    जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पल शाह पुर्पक्षका लागि थुनामा गएका बेला नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन् ।

    नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

    बयान फेर्नेलाई ६ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

  • भरतपुर सिक्स लेन विस्तार : गैंडा मर्दा पनि संवेदनशील बनेन् ठेकेदार कम्पनी, अब मान्छे मर्ने जोखिम

    भरतपुर सिक्स लेन विस्तार : गैंडा मर्दा पनि संवेदनशील बनेन् ठेकेदार कम्पनी, अब मान्छे मर्ने जोखिम

    बैशाख ३, चितवन –
    भरतपुर महानगरको व्यस्त सडक हो भरतपुर हाइट । अत्याधिक सवारी चाप रहने वीरेन्द्र क्याम्पस चोकदेखि नारायणगढ पुल्चोकसम्म अहिले सडक निर्माण कार्य भइरहेको छ ।

    भरतपुर महानगरपालिको कार्यालय, दुई ठूला सपिङ सेन्टर, वीरेन्द्र बहुमुखी क्यापस, ठूला होटल तथा चितवनकै मुख्य बजार क्षेत्र भएकाले यहाँ सँधै जसो सवारी चाप देखिन्छ । सडकमा सवारी चाप र ट्राफिकको अस्तव्यवस्तताले दिनहुँ जसो सवारी दुर्घटना हुने क्षेत्रकै रुपमा चिनिने वीरेन्द्र क्याम्पस चोकदेखि भरतपुर ओरालोको भाटभटेनी क्षेत्र अहिले थप जोखिमयुक्त बनेको छ ।

    वीरेन्द्र क्याम्पस चोकमा रहेको सिजी ल्याण्डमार्क र भाटभटेनी आसपासमा भइरहेको निर्माण कार्यमा चरम लापरवाही देखिन्छ ।

    डिभिजन सडक कार्यालय भरतपुरका अनुसार निर्माण कार्य भइरहेका क्षेत्रमा रिफ्लेक्टिङ लाइट, टेप र ठाँउठाँउमा बोर्ड तथा ट्राफिक कोन राखेर काम गर्नुपर्ने हुन्छ । साथै निर्माण कार्यमा संलग्न कर्मचारीहरुले सेफ्टी हेलमेट, रिफ्लेक्टर ज्याकेट अनिवार्य लगाउनुपर्ने हुन्छ ।

    तर, निर्माण कार्य सुरु भएको एक साता बितिसक्दा पनि यस क्षेत्रमा सुरक्षाका न्यूनतम मापदण्ड पालना गरेको देखिँदैन । न त कर्मचारी तथा कामदारहरु नै सेफ्टी हेलमेट तथा रिफ्लेक्टर ज्याकेटमा देखिन्छन् ।

    सडक डिभिजन भरतपुरका सूचना अधिकारी शिव खनालले सो क्षेत्रमा निर्माण कार्य सुरु भइसकेको बारे आफू जानकार नै नभएको बताए ।

    नाला निर्माणको क्रममा सोलिङका लागि ढुंगा राख्न सुरु गरिएको छ । तर ती निर्माण सामग्री मापदण्ड अनुरुप भए नभएको अनुगमन समेत भएको देखिँदैन ।

    पूर्वपश्चिम राजमार्गको अति नै व्यस्त क्षेत्रमा भइरहेको निर्माण कार्यले सवारी व्यवस्थापनमा समेत कठिनाई भएकाले सुरक्षा सर्तकता पालना गरिदिन पटकपटक आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले बताए ।

    मुख्य चोकहरुमा मास हेडलाइट जडानका लागि खनिएको खाडल र सडकमा नाला निर्माण लागि खनिएको खाडल आसपासमा रिफ्लेक्टिङ टेप तथा ट्राफिक कोन राख्न आग्रह गरेको उनले बताए । ‘यो क्षेत्र दुर्घटनाको अधिक जोखिम क्षेत्र हो’ ट्राफिक प्रमुख थापाले भने, ‘न्यूनतम प्रावधान पूरा गरिदिन हामीले पटकपटक आग्रह पनि गरेका छौं तर सम्बन्धित निकायले ध्यान दिएकै छैन ।’

    वीरेन्द्र क्याम्पस चोकदेखि भाटभटेनी क्षेत्रलाई मात्र हेर्ने हो भने यहाँ केही दिनदेखि असरल्ल छरिएका निर्माण सामाग्री, जथाभावी थुपारिएका ढुंङ्गामात्र छन् । अटोलेबल मेसिन, थेरोलाइट, टोटल स्टेशन, रेन्जिङ रड जस्ता सामाग्री जथाभावी सडकमा राखिएका देखिन्छन् ।

    खनेर साँघुरो बनाइएको सडकमा जथाभावी राखिएका सामान पन्छाउँदै हिँड्दा खाल्डोमै खसिन्छ की जस्तो लाग्ने गरेको सर्वसाधारणले गुनासो गर्ने गरेका छन् ।

    ‘पार्किङको समस्या छँदै थियो त्यसमाथि बाटो खनेर हिँड्न अस्तव्यस्त भएको छ’ एक सर्वसाधारणले आक्रोश पोख्दै भने, ‘ अब यो सामानहरु पनि हामीले नै जोगाइँदिँदै हिड्नुपरेपछि हामी खाल्डोमा खसे के गर्ने ? ।’

    केही महिना अघि मात्रै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वनबीचको क्षेत्रमा सडकछेउमा खनिएको नालीमा खसेर एउटा भाले गैँडा मरेको घटनाले संरक्षणको क्षेत्रमा चासो दिनेहरुमाझ चर्चा बटुलेको थियो ।

    राष्ट्रिय निकुञ्जले सडक डिभिजन कार्यालयको लापरबाहीका कारण उक्त गैंडाको मृत्यु भएको निष्कर्ष निकालेको थियो ।

    वन्यजन्तु आवतजावत गर्ने एउटा साँघुरो मार्गमा जसरी संवेदनशीलता र मूल्यांकनका साथ काम हुनुपर्ने थियो त्यो नदेखिएको संरक्षणकर्मीहरुको ठम्याई थियो ।

    सोही निर्माण कार्य अहिले व्यस्त बजार क्षेत्रमा आइपुगेको छ । तर सुरक्षा संवेदनशीलतातर्फ निर्माण कम्पनीले अझै ध्यान दिएको छैन । आम सर्वसाधारणको ज्यान जोखिममा पारेर यस्ता निर्माण कार्य भइरहँदा सम्बन्धित निकायको ध्यान बेलैमा जानु पर्ने देखिन्छ । नत्र यसैका कारण दुर्घटना भई मान्छेको ज्यान नजाला भन्न सकिन्न ।

  • मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा खुल्यो भरतपुरको लायन्स चोकमा

    मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा खुल्यो भरतपुरको लायन्स चोकमा

    बिनय आचार्य

    चितवन, बैशाख ४ –
    मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा भरतपुरको लायन्स चोकस्थिति चरण टावरमा खुलेको छ ।

    आज आइतबार सफल युवा व्यवसायी निर्देश सेढाईले उक्त शाखाको उद्घाटन गरे ।

    अस्ट्रेलियामा मुख्य कार्यालय रहेको मेन्टर एजुकेशनको नेपालका लागि भरतपुरमा पहिलो शाखा खुलेको शाखाका ब्रान्च म्यानेजर कुमार वाग्लेले जानकारी दिए ।

    मेन्टर एजुकेशनले अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि भाषा कक्षा सञ्चालन गर्ने तथा भिसा एप्लाई गर्ने वाग्लले बताए ।

    शाखाको प्रबन्ध निर्देशकमा निश्चल पराजुली रहेका छन,् भने विमल रिजाल र सरोज कँडेल निर्देशक रहेका छन् ।