Blog

  • वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

    वडाध्यक्ष गुरुङले फिर्ता गरे वडा कार्यालयको माेटरसाइकल

    खोटाङ, ७ वैशाख-
    खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष खगेन्द्र गुरुङले वडा कार्यालयको माेटरसाइकल फिर्ता गरेका छन् । वडाध्यक्ष गुरुङले प्रयोग गर्दैआएको प्रदेश १–०५–००१ ब ००१३ नम्बरको बाईक आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै गाउँपालिकालाई फिर्ता गरेका हुन् ।

    निर्वाचन आचारसंहिता, २०७८ लागू भएपछि वडाध्यक्ष गुरुङले गाउँपालिका पुगेर माेटरसाइकलकाे चाँबी र ब्लुबुक प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई हस्तान्तरण गरेका छन् ।- न्युज कारखाना

  • मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु

    मकवानपुरमा चट्याङबाट वृद्धको मृत्यु

    मकवानपुर, ७ वैशाख-
    मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोले छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो । (रासस)

  • आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

    आज चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राप्रपा

    काठमाडाैं, ७ वैशाख-

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बुधबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिने भएकाे हाे ।
    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएका हुन् ।
    घोषणापत्रमार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजना ल्याउने तयारी गरेकाे छ ।

    नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले यसअघि नै घोषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

    स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा हुँदैछ, दलहरु पालिका उम्मेदवार टुंग्याउन व्यस्त छन् ।-न्युज कारखाना

  • आज दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

    आज दिउँसाे र राति यी क्षेत्रमा हुनेछ वर्षा

    काठमाडाैं, ७ वैशाख-
    नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

    बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएकाे छ ।

    दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

    राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएकाे छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।- न्युज कारखाना

     

  • विश्वकै धनाढ्य एलन मस्क भन्छन् :  मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

    विश्वकै धनाढ्य एलन मस्क भन्छन् : मेरो घर छैन, साथीहरूको खाली कोठामा सुत्छु

    न्युयोर्क, ७ वैशाख-

    विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् ।

    ‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा बसिरहेको छु’, उनको भनाई उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

    ‘खाडी क्षेत्रमा यात्रा गर्दा म मूलतः साथीहरूको खाली सुत्ने कोठामा घुम्छु’, अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका सीईओसमेत रहेका मस्कले भने ।
    उनले अगाडि थपे, ‘मसँग समुद्री डुंगा याच छैन । म बिदा लिन्न । ’

    विश्वभर सम्पत्तिको असमानता र अर्बपतिहरूले खर्च गर्ने रकमको बारेमा सोधिएका प्रश्नहरूको मस्कले जवाफ दिएका थिए ।‘मलाई लाग्छ कि त्यहाँ स्वयंसिद्ध त्रुटिहरू छन्, जसले त्यो निष्कर्षमा पुर्‍याइरहेको छ । म व्यक्तिगत उपभोगमा वार्षिक अरबौं डलर खर्च गर्छु भने यो धेरै समस्याग्रस्त हुनेछ तर त्यस्तो छैन’, मस्कले भने ।

    एक प्रसँगमा मस्कले आफूले विमान प्रयोग नगर्दा काम गर्ने समय थोरै हुने बताए ।- एजेन्सी

     

  • विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

    विद्यालयका प्रअलाई गाउँपालिका अध्यक्षमा सिफारिस गर्‍याे कांग्रेसले

    हेमन्त केसी
    सुर्खेत, ७ वैशाख-

    नेपाली कांग्रेसले रुकुम पश्चिममा एक बहालवाला प्रधााध्यापक (प्रअ) लाई गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेकाे छ ।

    कांग्रेसले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई त्रिवेणी गाउँपालिका अध्यक्षकाे उम्मेदवारमा सिफारिस गरेकाे हाे ।

    खड्का २७ वर्षदेखि अध्यापनरत छन् । प्रावि द्वितीय तहमा कार्यरत खड्काले आफू राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए । पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको खड्काले बताए ।

    उपाध्यक्षको उम्मेदवारमा सृष्टि बाँठामगरलाई सिफारिस गरिएको कांग्रेस गाउँ कार्यसमिति सचिव सन्तोष ओलीले बताए ।

    कांग्रेसले बाँफीकोट गाउँपालिका अध्यक्षमा जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरिसकेको छ ।

    यसअघिकाे निर्वाचनमा कांग्रेसले रुकुम पश्चिममाबाट कुनै पनि पालिका जितेको थिएन ।- न्युज कारखाना

  • गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

    गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

    पोखरा, ७ बैशाख-
    गण्डकीका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा पोखरामा एक जनाको मृत्यु भएको छ ।

    अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो ।

    पोखरा महानगरपालिका- ३२ खुदीमा दुर्घटना भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतिको भने अवस्था सामान्य छ । गाडी तीब्र गतिमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।- न्युज कारखाना

  • अन्दाजका भरमा नभई तथ्य र यथार्थपरक समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

    अन्दाजका भरमा नभई तथ्य र यथार्थपरक समाचार प्रवाह गर्न निर्वाचन आयोगको आग्रह

    काठमाडौँ, ७ वैशाख –

    सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गर्नुभएको हो ।

    स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा यहाँ आयोजित मिडिया अन्तक्र्रियामा उहाँले निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग अनुरोध गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दै आएको सहयोग सराहनीय छ ।”

    निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दै आएको उल्लेख गर्दै डा तुलाधरले निर्वाचनसम्बन्धी सही सूचना र निर्णयलाई आम नागरिकसामु पु¥याएर सहयोग गर्न आग्रह गर्नुभयो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको अनुगमन गर्न केन्द्रदेखि पालिकासम्म विभिन्न तहका संयन्त्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रले निर्वाचान आचारसंहिता उल्लङ्घन भए/नभएकोबारे तथ्यगत सूचना निःशुल्क सम्प्रेषण गरी आयोगको काममा सहयोग पु¥याएको छ ।”

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीले दल विशेषप्रतिका आस्था र आबद्धता त्याग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “चुनावका बेला ‘फेक न्यूज’को कारखाना नै चल्न सक्ने खतरा छ, त्यसबाट जोगिन समाचार, समाचारको पुष्ट्याइँ गरी सत्य, तथ्य समाचार सम्प्रेषणमा ध्यान पु¥याउनुपर्छ ।”

    वरिष्ठ पत्रकार बबिता बस्नेतले राजनीतिक दलका नेताहरूबाट एक–अर्कालाई लाञ्छित गर्ने गरी आउने गरेको अभिव्यक्तिले नेताको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेसन’को चुनौती छ, प्रभावकारी अनुगमनका लागि निर्वाचन अनुगमन संयन्त्र प्रभावकारी हुन आवश्यक छ ।” (रासस)

  • नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

    नेकपा एसले घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने

    काठमाडौं, ६ वैशाख-

    नेकपा एस (एकीकृत समाजवादी)ले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ ।

    नेकपा एसले मंगलबार सार्वजनिक गरेको चुनवाी घोषणापत्रमा उक्त प्रतिवद्धता जनाएको हो ।

    ‘आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक छ,’ घोषणापत्रमा भनिएको छ, ‘यसैले सङ्घ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनानबद्ध ढङ्गले अगाडि बढाउने छन् ।’

    नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेकोले यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउनु आवश्यक रहेको घोषणापत्रमा औंल्याइएको छ ।

    ‘यस कामबाट आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास हुने र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने छ,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ ।- न्युज कारखाना

     

  • चुनाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

    चुनाव लड्न जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

    काठमाडौं, ६ वैशाख-

    स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले उक्त प्रावधानका विषयमा परेको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको हो ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहितामा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान राखेको थियो । उक्त प्रावधान खारेज गर्न माग गर्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सर्वोच्च‍मा गत ७ चैतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै ८ चैतमा सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    निर्वाचन आयोगले अल्पकालीन अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो । न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरेको प्रावधान कार्यान्वय गर्ने बाटो खुलाएको हो ।

    योसँगै अब बहालवाला जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्र उम्मेदवारी दिन पाउनेछन् । आयोगले सबै उम्मेदवारलाई समान मैदान तयार गर्न यस्तो प्रावधान ल्याइएको प्रष्ट पारेको थियो । न्युज कारखाना