Blog

  • प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

    प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

    काठमाडौँ, माघ २४ –
    प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।

    अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएका बताउनुभएको छ ।

    प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताउनुभएको छ । सन्देशमा उहाँले “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ”, भन्नुभएको छ ।

    प्रधानमन्त्रीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

    अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । रासस

  • चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

    चितवनमा अनुमति लिएर राखिएका ११ हतियार बुझाइयो

    चितवन, माघ २४
    जिल्लामा अनुमति लिएर राखिएका ११ हतियार मात्रै स्थानीय प्रशासनलाई फिर्ता गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले हतियार बुझाउन आग्रह गरे पनि अनुमति लिएका हतियार अपेक्षाकृत रुपमा बुझाइएको छैन ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा १४१ जनाले हतियार राख्न अनुमति लिएका छन् । स्थानीय प्रशासनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ, शान्तिपूर्ण र विश्वसनीय बनाउन अनुमति लिएर राखिएका हतियार बुझाउन गत माघ ६ गते सूचना प्रकाशित गरेको थियो । पन्ध्र दिनभित्र हतियार बुझाउन भनिए पनि सो अवधि सकिँदासमेत सम्पूर्ण हतियार फिर्ता गरिएको छैन ।

    “हतियार राख्ने अनुमति लिएर जिल्ला बाहिर राखिएको पनि हुन सक्छ, अन्य जिल्लामा बुझाइएको तथ्याङ्क आउने क्रम जारी छ”, प्रजिअ अर्यालले भन्नुभयो । उहाँका अनुसार बैंकिङ क्षेत्रमा रहेका हतियार बैंकको सुरक्षाका लागि राखिने हुँदा ती हतियार फर्ता गर्नुपर्दैन । अन्यको हकमा अनुमति लिएर राखिएका हतियार निर्वाचनको समयमा फिर्ता गरी निर्वाचनपछि पुनः लिन मिल्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रासस

  • युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

    युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

    काठमाडौँ, माघ २४ –
    नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताउनुभएको छ ।

    नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभा’मा उहाँले जेनजीका भावना सम्बोधन हुनुपर्छ भन्ने कांग्रेसमा कुनै द्विविधा नभएको बताउनुभयो ।

    महामन्त्री पौडेलले पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई सुदृढ बनाउनका साथै निर्वाचनमा होमिन सहज भएको बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधि बढाउनुपर्छ भन्नुभयो ।

    त्यस अवसरमा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दिलबहादुर घर्ती र पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो । रासस

  • चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

    चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

    काठमाडौँ, माघ २४-
    काठमाडौँ उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने आठ वटा मोटरसाइकललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

    उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ ।

    काठमाडौँको तारकेश्वर नगरपालिका–८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडकखण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

    “तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाउने गरेको भन्ने गुनासो आएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको थियो”, उहाँले भन्नुभयो, “सोही क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आइटी ग्यारेजमा चेकजाँच गर्दा आठ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।”

    उहाँका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको र जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको थियो ।

    चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पु¥याउने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । “अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थीहरू बढी प्रभावित हुने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन नचलाउन सबै सवारी चालकलाई आग्रह गर्दछौँ ।”

    प्रवक्ता सुवेदीका अनुसार नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिनेछ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।

    ट्राफिक प्रहरीले सवारीसाधनलाई कानुनले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न र अवैध रूपमा स्वरूप परिवर्तन नगर्न सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ । रासस

  • सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन भरतपुर

    सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन भरतपुर

    नारायणगढ (चितवन), माघ २४ –
    जिल्लाका मुख्य सडकमा हुने स–साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ ।

    सामान्य सिमेन्टको बोरामा प्याकिङ गरी राखिने उक्त प्रिमिक्सको आयु कम्तीमा छ महिनासम्म रहने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक पोटहोलको मर्मत नियमित रूपमा हुने हो । कार्यालयअन्तर्गतका सडकको नियमित मर्मतका लागि कार्यालय मै रेडिमेड प्रिमिक्स निर्माण गरी प्रयोग गरिरहेका छौँ ।”

    प्रिमिक्स तयार गर्न बिटुमिन (एमसी–एटर्नेट) प्रयोग गरिन्छ । स्टोन चिप्सलाई करिब ८० डिग्री सेल्सियस तापक्रममा मिक्सिङ गरी चिसिएपछि बोरामा प्याक गरेर भण्डारण गरिन्छ । आवश्यकता परेको बेला सोही सामग्री प्रयोग गरेर तत्काल मर्मत गर्न सकिने उहाँको भनाइ छ ।

    कम खर्च र कम जनशक्तिमा तयार गर्न सकिने यो प्रविधि आपत्कालीन अवस्थामा विशेष उपयोगी हुने उहाँले बताउनुभयो । “सडक विभागमा पहिलो पटक पाइलट प्रोजेक्टका रूपमा विसं २०७६ सालमै रेडिमेड प्रिमिक्स निर्माण सुरु गरेका हौँ,” उहाँले भन्नुभयो । “यो तयारी अवस्थामा रहने भएकाले सडकमा पोटहोल देखिए तुरुन्तै मर्मत गर्न सकिन्छ र थप पोटहोल बढ्न पाउँदैन ।” अन्य प्रविधिको तुलनामा यो किफायती र टिकाउसमेत भएको कार्यालयको दाबी छ । हाल करिब एक हजार ५०० बोरा प्रिमिक्स तयारी भइरहेको र आवश्यकताअनुसार परिमाण बढाइने उहाँले जानकारी दिनुभयो ।

    कार्यालयको लक्ष्य खाल्डाखुल्डी मुक्त सडक बनाउनु रहेको भन्दै उहाँले जिल्लाको नारायणगढ–मुग्लिन, नारायणगढ–लोथर, भरतपुर–माडी तथा भरतपुर–मेघौली सडक खण्डमा नियमित मर्मत भइरहेको जानकारी दिनुभयो । यहाँका सडक भारी सवारीसाधनको चाप, डिजाइन लोडभन्दा बढी भार र वर्षायाममा पानीको बहावले क्षति हुने गरेको उहाँले बताउनुभयो । हिउँदभन्दा वर्षामा सडक बढी बिग्रने भएकाले रेडिमेड प्रिमिक्सको आवश्यकता पनि त्यति नै बढी पर्ने उहाँको भनाइ छ । रासस

  • वरिष्ठ कलाकार सुनिल थापाको निधन

    वरिष्ठ कलाकार सुनिल थापाको निधन

    काठमाडौँ माघ २४
    वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

    हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

    शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए ।

  • विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

    विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ, २३ माघः
    रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारी तथा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय युवराज कुँवर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

    पक्राउ परेकामध्ये भण्डारीले क्रोएशिया पठाउने भन्दै रु १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै रु १९ लाख रकम लिइ फरार रहेको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

    उनीहरुलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।

  • निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त

    निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरीमा ३४ स्पष्टीकरण, २४ को जवाफ प्राप्त

    काठमाडौँ, २३ माघ : 
    केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ३४ उजुरी प्राप्त भएको र सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा २४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

    जिल्लास्तरमा उजुरी प्राप्त भई आवश्यक कारबाही भइरहेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । निर्वाचन आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

    आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालयहरु क्रियाशील रहेको उहाँले बताउनुभयो ।

    जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाई कार्यान्वयन सुनिश्चितताका लागि निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन गर्न आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

    छोटो समयमै सबै जिल्लामा सरोकारवालाहरूलाई आचारसंहिताबारे जानकारी गराउने र  आचारसंहिता पालना गर्ने प्रतिवद्धता गराउने कार्य भइरहेको आयोगले जनाएको छ ।

    समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।

    उक्त बन्दसूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा तीन हजार १३५ उम्मेदवार कायम भएका छन् । जसमा एक हजार ७७२ महिला र एक हजार ३६३ पुरूष उम्मेदवार रहेको आयोगले जनाएको छ ।

  • चितवन–२ मा मीना खरेलको घरदैलो अभियान

    चितवन–२ मा मीना खरेलको घरदैलो अभियान

    चितवन, २३ माघः
    चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलको घरदैलो कार्यक्रम भव्य रुपमा सञ्चालन भइरहेको छ। भरतपुरका विभिन्न वडाहरुमा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

    जसमा भरतपुर–११, भरतपुर १२ मा घरदैलो कार्यक्रम सञ्चालन भएको छ भने हिजो भरतपुर–२ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गरेको थियो ।

    घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले खरेलको समर्पण, कर्मठता, इमानदारी तथा समाजका पीडित र असहाय वर्गको पक्षमा निरन्तर उभिने प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्। प्रत्येक घरमा पुगेर उनले महिला अधिकार, बालबालिका संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक कल्याणसँग सम्बन्धित योजनाबारे जनतासँग छलफल गरिरहेकी छन्।

    कार्यक्रममा सहभागी नागरिकहरूले आफ्ना समस्या र गुनासो प्रत्यक्ष राख्ने अवसर पाएका छन् भने खरेलले सांसद निर्वाचित भएपछि कार्यान्वयन गर्ने योजना र प्राथमिकताबारे जानकारी दिएकी छन्। घरदैलो अभियान केवल औपचारिक भेटघाटमा सीमित नभई जनतासँग प्रत्यक्ष संवाद र विश्वास निर्माणको माध्यम बनेको देखिएको छ।

    स्थानीयहरू उनको स्पष्ट दृष्टिकोण, नेतृत्वशैली र सामाजिक सेवाप्रतिको प्रतिबद्धताबाट प्रेरित हुँदै भविष्यको नेतृत्वका लागि भरोसा व्यक्त गरिरहेका छन्। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय खरेललाई क्षेत्रका बासिन्दाले ‘आफ्नै प्रतिनिधि’ का रूपमा लिँदै मत दिने प्रतिबद्धता समेत जनाएका छन्।

    समग्रमा, चितवन–२ मा खरेलको उम्मेदवारीप्रति जनताको सकारात्मक ऊर्जा, उत्साह र समर्थन बढ्दो देखिएको छ । जसले उनको घरदैलो अभियानलाई थप प्रभावकारी बनाएको छ।

  • नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

    नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

    गण्डकी, २३ माघः 
    नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताउनुभएको छ । कांग्रेस कास्कीद्वारा पार्टी कार्यालयमा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नागरिकहरूमा रहेका सबै असन्तुष्टिको जवाफ दिन जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिनुभयो ।

    “नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यसलाई सुधारबाटै जवाफ दिनु आवश्यक छ” सभापति थापाले भन्नुभयो,“नागरिकमा अविश्वास बढ्दै गएको छ । चरम निराशा छ । यी सबै कुरालाई आत्मसात गर्दै देशलाई सम्हाल्नु छ । देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्छ ।”

    सभापति थापाले राष्ट्रमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उल्लेख गर्दै अब भ्रष्टाचारविरुद्धको सबैभन्दा ठूलो योद्धा आफ्नो पार्टी बदलिएर चुनावमा आएको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई विगतमा हिंसाको आहालबाट बाहिर निकालेको कांग्रेसले अब भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्ने बताउनुुभयो ।

    निर्वाचनलाई केन्द्रमा राखेर हरेक मतदाताका घरघरमा पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै सभापति थापाले जनतासँग कुरा गर्नुुका समस्यालाई धैर्यताका साथ सुन्नुपर्नेमा जोड दिनुभयो । “देशका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरी पार्टी निर्वाचनमा होमिएको छ । अब कांग्रेसले देश सम्हाल्छ र सुधार्छ भन्ने सन्देशसहित जनतामाझ जानुपर्छ । सबै पार्टी पङ्क्ति एकताबद्ध भएर निर्वाचनमा होमिऔँ”, उहाँले भन्नुभयो ।

    बैठकपछि सभापति थापा पार्टीको गण्डकी प्रदेश समितिको बैठकमा सहभागी हुनुुभएको छ । उहाँलाई पार्टीका प्रदेश सभापति शुक्रराज शर्माले स्वागत गर्नुुभएको थियो ।
    बैठकको सुरुआत गर्दै सभापति शर्माले आम जनताको चाहनाअनुरुप देशलाई अघि बढाउनका लागि कांग्रेसको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउनुुभयो ।

    निर्वाचनमार्फत पार्टीलाई थप सशक्त बनाएर देशका हरेक समस्यालाई समाधान गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकताअनुसार परिचालित हुन निर्देशन दिनुभयो ।
    बैठकमा प्रदेश समितिका पदाधिकारीसहित गण्डकी प्रदेशमा पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।