Blog

  • हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

    हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

    २८ असोज, काठमाडौं ।
    दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ ।

    निर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ । त्यसमध्ये साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग थप कागजात मागिएको हो ।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ मा दल दर्ताका लागि के कस्ता कागजात चाहिने भन्ने व्यवस्था छ । जसअनुसार दलको विधान, झन्डा, चिह्नको नमुना दल दर्ताको निवेदनसँगै बुझाउनुपर्छ ।

    दल दर्ताको निवेदनको साथमा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्छ । कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था हुनुपर्छ । यी विवरणसहित निवेदन दिएपछि निर्वाचन आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात समेत बुझाउनुपर्ने भनिएको छ ।

    यही व्यवस्था अनुसार निवेदन दिएका तीन वटै दलसँग आयोगले थप कागजात मागेको हो ।

    हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई विधानको व्यवस्थाबारे स्पष्ट हुनुपर्ने भनेर थप कागजात मागिएको छ । नागरिक पार्टी र उज्यालो नेपालसँग पाँच सय जनाको हस्ताक्षर नपुगेको भनेर विवरण माग गरिएको हो ।

    उज्यालो नेपाल पार्टीकी कोषाध्यक्ष विमली तामाङले पाँच सय जनाको हस्ताक्षर नपुगेको र हस्ताक्षर गरेकाहरूले सनाखत गर्नुपर्ने भनिएको जानकारी दिइन् । उनले भनेकी छन्, ‘पाँच सय जनाको सनाखत हुनुपर्छ भनेर आएको छ । हामी त्यसको तयारी गर्दैछौं ।’

    जनमत पार्टी फुटेर दर्ता हुन पुगेको जनस्वराज पार्टीको प्रक्रिया भने अगाडि बढेको छ ।

  • फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

    फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार

    बागमती, असोज २८ –
    कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागार फर्केका छन् । भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म तीन सय २५ कैदीबन्दी कारागार फर्केका छन् ।

    भीमफेदी कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ५६ र अन्य कारागारबाट फरार ६९ गरी तीन सय २५ कैदीबन्दी भीमफेदी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलका अनुसार भागेकामध्ये एक सय १३ कैदीबन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन्भने बाँकी सबैलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका हुन् ।

    यही भदौ २४ गते राति भीमफेदी कारागारको पर्खाल भत्काएर चार सय ४० कैदीबन्दी फरार भएका थिए । कारागारबाट फरार भएकामध्ये एक सय ८४ कैदीबन्दी अझै सम्पर्कमा नआएको प्रमुख पौडेलले बताउनुभयो । यस्तै सो कारागारबाट फरार ३९ जना विदेशी कैदीबन्दीमध्ये हालसम्म १२ जनामात्र फिर्ता आएको र २७ जना अझै फरार रहेको उहाँले बताउनुभयो ।

    कारागारको तीनवटा गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट दुई सय ६० र (ख) ब्लकबाट एक सय ८० गरी चार सय ४० कैदीबन्दी फरार भएका थिए । फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले विभिन्न स्थानबाट कैदीबन्दीलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनुभयो । कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताउनुभयो । रासस

  • जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

    जैमिनी नगरपालिकाको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित

    गलकोट (बागलुङ), असोज २८ –
    जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो ।

    शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्र्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको परीक्षण तथा आँखाका जटिल बिरामीको सिफारिस गरिएकामा असोज २३ गतेदेखि चार दिनसम्म जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरामा शल्यक्र्रिया तथा भिडियो एक्सरे सेवा प्रदान गरिएको जैमिनीका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

    “यस प्रकारको विशेषज्ञ सेवा लिन नगरवासीले करोडौँ खर्चनु पर्दथ्यो, हाम्रो पहलमा गाउँमै निःशुल्क विशेषज्ञ सेवा दिइएको छ, आँखाको शल्यक्र्रिया सहरमा महँगो पर्दथ्यो, शिविरले गाउँमै निःशुल्क बनायो”, शर्माले भन्नुभयो, “शल्यक्र्रियासहितको पहिलो शिविर जैमिनीमा भएको हो, विशेषज्ञ चिकित्सकसहित दुई दर्जन बढी स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।”

    शिविरमा स्त्रीरोग विशेषज्ञ डा केशव भुर्तेल, हिमालय आँखा अस्पतालका प्रमुख डा हरिविक्रम अधिकारी, रेडियोलोजिष्ट डा कालु शर्मालगायत स्वास्थ्यकर्मी शिविरमा सहभागी थिए ।

    शिविरमा एक हजार १३६ जनाको आँखाको परीक्षण गरेकामा ५८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । यस्तै आँखाको परीक्षणपश्चात ४५० जनालाई निःशुल्क चश्मा र आवश्यकताअनुसार औषधि वितरण गर्नुका साथै स्त्रीरोगसम्बन्धी परीक्षणमा दुई सय ३९ जना महिलाले सेवा लिएकामा दुई सय आठ जनाको भिडियो एक्सरे गरिएको थियो । रासस

  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजामा युद्धविराम सम्झौतामा हस्ताक्षर

    काठमाडौ, असोज २८-
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, इजिप्ट र टर्कीका नेतासँग गाजा युद्धविराम सम्झौतामा हस्ताक्षर गर्दै मध्यपूर्वमा दीर्घकालीन शान्तिको प्रतिवद्धता जनाउनुभएको छ । यो सम्झौताअन्तर्गत हमासले गाजामा रहेका बाँकी २० जना जीवित इजरायली बन्धकहरूलाई मुक्त गरेको छ र थप चार जनाको शव हस्तान्तरण गरेको छ ।

    यही क्रममा इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी तथा बन्दीहरूलाई रिहा गरेको छ, जसमा एक सय ५४ जनालाई इजिप्ट निर्वासन गरिएको खबरमा उल्लेख छ । गाजाको दक्षिणी क्षेत्र खान युनिसमा रिहा भएका प्यालेस्टिनीहरू परिवारसँग पुनर्मिलन हुँदा खुशी देखिएका छन् ।

    सन् २०२३ अक्टोबरदेखि शुरू भएको इजरायलको गाजामाथिको युद्धमा अहिलेसम्म झन्डै ६७ हजार आठ सय ६९ जनाको ज्यान गएको छ र एक लाख ७० हजार एक सय पाँच जना घाइते भएका छन् । २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा एक हजार एक सय ३९ जनाको ज्यान गएको थियो भने दुई सय जनालाई अपहरण गरिएको थियो ।

  • वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

    वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद

    वीरगञ्ज असोज २८-
    सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ ।

    विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।

    “भन्सार छली गरेर सुन चाँदी भित्र्याएको आशङ्कामा सोमबार छापा मर्दा सो परिमाणको सुनचाँदी बरामद भएको हो”, उहाँले भन्नुभयो, “संयुक्त टोलीद्वारा उक्त सुनचाँदी नियन्त्रणमा लिई सुन चाँदी व्यवसायी सङ्घमा लगी मापन गर्दा सुन दुई हजार २५४।८६ ग्राम र चाँदी १० हजार ३५४।०७ ग्राम फेलापरेको छ ।”

    सशस्त्र प्रहरीले सुनजस्तो देखिने थप पाँच सय ५९।१० ग्राम र चाँदीजस्तो देखिने पाँच सय ५० ग्राम पनि बरामद गरेको जनाएको छ । त्यसैगरी सोही गोदामबाट एक लाख नौ हजार नेपाली रुपैयाँ र भारु ४१ हजार ६० पनि बरामद गरेको छ ।

    पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुनचाँदीको परीक्षण र अन्य अनुसन्धानको काम अघि बढाइने बताउनुभयो । “बरामद भएको सुनचाँदीको परीक्षण भएपछि राजस्व अनुसन्धान विभागबाट अनुसन्धान अधिकृत तोकेर आएपछि छानबिनको प्रक्रिया अघि बढ्नेछ”, उहाँले भन्नुभयो । राजस्व चुहावटको सूचनाका आधारमा सो सुनचाँदी बरामद भएकाले पनि आवश्यक कागजात हेरेर मुद्दा चलाइने उहाँको भनाइ छ । रासस

  • सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

    सञ्चालन हुन थाल्यो बेनी–दरवाङ सडक

    म्याग्दी, असोज २८-
    जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

    पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताउनुभयो ।

    सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताउनुभयो । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् ।

    यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी–दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् ।

    म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरवाङदेखि काठमाडाँै र काठमाडौँदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको बताउनुभयो । म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारण लाइन, सबस्टेशन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ ।

    पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–दरवाङ सडकको विभिन्न ठाउँमा रहेका पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ । रासस

  • आज मंगलबार कुन राशीको  भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    आज मिति वि.सं.२०८२ साल आश्विन २८ गते । मंगलबार । ईश्वी सन् २०२५ अक्टोबर १४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–अषटमि , बेलुकी ७ बजेर ५० मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मृगशिरा, बेलुकी ७ बजेर ४९ मिनेट उप्रान्त आर्द्रा । योग–वरियान, बेलुकी ५ बजेर ४० मिनेट उप्रान्त परिध । करण–गर, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त वणिज, बेलुकी ७ बजेर ५० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–वृष, बिहान ८ बजेर ३२ मिनेट उप्रान्त मिथुन ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर २ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३७ मिनेट । दिनमान २८ घडी ५५ पला ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पराक्रम बढेर जानेछ । उद्योग तथा व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग पाइने हुँदा मन खुसी हुनेछ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । बैक तथा वित्तीय क्षेत्रमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना कामबाट लाभ लिने समय रहेको छ भने व्यापार तथा शेयर बजारबाट मनग्गे नाफा कमाउन सकिनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय मध्यम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । लामो दुरीको यात्रा हुनेछ । विदेशमा बसेर काम तथा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

    सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पैतृक धन तथा सम्पत्तिको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । बैङ्क तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । विद्यार्थीहरुका लागी समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रसन्न रहनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शुभचिन्तक तथा परिचित व्यक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाढता थपिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रबल सम्भावना रहेको छ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कम हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटनाहरु हुन सक्छन् । प्रेममा टाढिने समय रहेको छ भने घर परिवार तथा दिदीबहिनीसँग मनमुटाब बढ्नेछ । खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । पढाइ लेखाइमा प्रशस्त समय दिए मात्र सफलता हात पार्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

  • राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

    राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

    चितवन, २७ असोजः
    जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीका लागि आजदेखि ११ घण्टा सेवा दिन थालेको छ ।

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि बिहान ७ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सेवा सुरु गरिएको हो ।

    आवश्यक उपकरणको अभावका कारण चापअनुसार सेवा दिन नसकेपछि ती सेवालाई बिहानदेखि सुरु गरेको उहाँले बताउनुभयो ।

    राष्ट्रिय परिचयपत्र र राहदानी विभागले आवश्यक उपकरण नपठाउँदा दक्ष जनशक्ति हुँदा हुँदै पनि सेवा दिन कठिन भएको उहाँले बताउनुभयो ।

  • हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

    हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

    २७ असोज, काठमाडौं-
    हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।

    हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ ।

    बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो ।

    हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।

     

  • विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

    विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

    काठमाडौँ, २७ असोजः
    विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सो सम्बन्धमा आज बिहान इजरायलको स्थानीय समयानुसार ७ः३० बजे इजरायली सेना (आइडिएफ)ले इजरायलका लागि नेपाली राजदूत, निज जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक गरेको थियो ।

    उक्त बैठकमा इजरायली सेनाले आज रिहा हुने बन्दीमा जोशीको नाम समावेश नभएको र उहाँको अवस्था अज्ञात रहेको जानकारी दिएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    इजरायल र हमासबीच ७ अक्टोबर २०२३ देखि सुरु भएको द्वन्द्व अन्त्यका लागि प्रस्तावित ‘मध्यपूर्व शान्ति योजना’ को प्रथम चरणअन्तर्गत आज बन्दी आदान–प्रदान गरिएको हो । उल्लिखित मितिदेखि नै हमासको कब्जामा रहेका इजरायलको ‘सिक्दै र कमाउँदै’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थी जोशी पनि हमासले रिहा गर्ने बन्दीहरूको सूचीमा रहने अपेक्षा गरिएको थियो ।

    यस सन्दर्भमा निजको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत दुई वर्षदेखि विभिन्न तहबाट कूटनीतिक प्रयास गरेको थियो । हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृतक बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्ने जनाएको छ ।