Blog

  • मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

    मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

    काठमाडौँ, २७ असोज:
    नेपाली कांग्रेसका युवा नेताहरूले आगामी मङ्सिर मसान्तभित्र पार्टीको १५ औँ महाधिवेशन गर्नेगरी स्पष्ट कार्ययोजना ल्याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

    नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वअध्यक्ष इञ्जिनियर रञ्जित कर्ण नेतृत्वको टोलीले आज कांग्रेसको मङ्सिरभित्रै महाधिवेशन गर्न स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय समितिलाई आग्रह गरेका हुन् ।

    देशको वर्तमान अवस्था, हालैको ‘जेनजी’ प्रदर्शन र त्यसपछि उत्पन्न हिंसात्मक घटनाक्रमबारे पार्टीले खेल्नुपर्ने भूमिकाबारे समेत पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ । विधिवत् र नियमित महाधिवेश मात्र पार्टीमा युवा पुस्ताको सम्मानजनक सहभागिता, पुस्तान्तरण र रूपान्तरणको एक मात्र वैधानिक विकल्प भएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

    नेताहरूले हालैको ‘जेनजी’ प्रदर्शन देखाएर जननिर्वाचित सरकारलाई विस्थापित गर्ने र प्रतिनिधिसभा विघटन गर्ने कदमले राजनीतिक अस्थिरता निम्त्याएको समेत बताएका छन् । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले अन्य संसदवादी दल, नागरिक समाजसँग संवाद गरी राजनीतिक पहलकदमी लिनुपर्ने पनि उहाँहरूको जोड छ ।

    यस्तै, प्रदर्शनका क्रममा भएका हिंसा, आगजनी र तोडफोडका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ । युवाहरूले सुशासन र भ्रष्टाचारविरुद्ध उठाएका मुद्दालाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने पनि उल्लेख छ ।

    ज्ञापनपत्र बुझाउन कर्णसहित नेविसङ्घका पूर्वउपाध्यक्ष भूपेन्द्रजङ्ग शाही, सरोज थापा, दीपक भट्टराई, मनहरी श्रेष्ठ, युपी लामिछाने, पुष्पकुमार शाही, शिव रिमाललगायत नेताहरू पार्टी कार्यालय पुग्नुभएको थियो ।

  • मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

    मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

    जनकपुरधाम, २७ असोज –
    मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले राजीनामा दिएकी छन्। मुख्यमन्त्री सतिशकुमार सिंहलाई पत्र लेख्दै शर्माले सोमबार पदबाट राजीनामा दिएकी हुन्।

    उनी लोसपाबाट मन्त्री बनेकी थिइन्। मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा मन्त्री शर्माले राजीनामा घोषणा गरेकी हुन्। यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ। यस्तै, सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत यसअघि नै समर्थन फिर्ता लिइसकेका छन्।

    जेन–जीको आन्दोलन चर्किंदै जाँदा २४ भदौमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए। तर, पछि उनले राजीनामा नदिने बताए। त्यसयता उनलाई स–सम्मान पद त्याग गर्न उनको आफ्नै दलले पनि पटकपटक आग्रह गरेको थियो। तर, उनले अस्वीकार गर्दै सदनबाट विश्वासको मत लिन लागेका हुन्।

    अहिलेसम्मको स्थितिमा उनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को समर्थन मात्र कायम छ।

  • दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

    दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

    चितवन, असोज २७ –
    दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आज यहाँ छलफल भएको छ । चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको हो ।

    सो क्रममा संस्थानका महाप्रबन्धक सञ्जीव झाले सहकारीहरुको दूधको बजारीकरणमा सहयोग गर्दै दूधको भुक्तानीलाई समेत प्रथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । झाका अनुसार संस्थानमा अहिले रु ५६ करोडका धुलो दूध र मखन मौज्दात रहेको छ । त्यसका कारण भुक्तानीमा समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर मौज्दात घटाउँदै लगेका छौँ ।” भदौ मसान्तसम्ममा रु ८६ करोडको मौज्दात रहेकामा अहिले यसलाई घटाइएको हो । दसैँको समयमा मात्रै २०० मेट्रिकटन धुलो दूध र मखन बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । देखिएको समस्यामा सुधार हुँदै गरेको उहाँको भनाइ थियो ।

    किसानको रु ८५ करोड संस्थानले तिर्नुपर्ने बक्यौता रहेकामा यो महिनासम्ममा रु ३२ करोड हाराहारी भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । हरेक महिनामा सोही अनुसार भुक्तानी गरेर गरेर माघ÷फागुनसम्ममा नियमित भुक्तानी हुने व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    केन्द्रीय दुग्ध उत्पादक सरकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले किसानको दूधको भुक्तानी गरेर सहज गर्न आग्रह गर्नुभयो । तीनदेखि सात महिनाको भुक्तानी पाउन बाँकी रहेकाले तिहारलगत्तै मन्त्रालयसँग बसेर भुक्तानीको विषय टुङ्गो लगाउन सङ्घ लागिपरेको उहाँले बताउनुभयो । भुक्तानीको विषयमा सङ्घ गम्भीर भएर सोचेर अघि बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार डेरीहरुले रु तीन अर्ब हाराहारी बक्यौता भुक्तानी गर्न बाँकी छ । देशभरमा एक हजार ८७५ दुग्ध उत्पादक सहकारी रहेका छन् । तीमध्ये सङ्घमा ८६६ सहकारी आबद्ध भएको भन्दै उहाँले छ लाखभन्दा बढी परिवार दुग्ध उत्पादन क्षेत्रमा लागेको बताउनुभयो । संस्थानबाहेक ३५ वटा निजी डेरीले सहकारीबाट दूध उठाउँदै आएका छन् । तीमध्ये ४० प्रतिशतको भुक्तानी नियमित नभएर बक्यौता बसेको उहाँको भनाइ थियो ।

    सो अवसरमा विभिन्न जिल्लाका अध्यक्षले आ–आफ्नो समस्या राख्नुभएको थियो । नेपालमा सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन, इलाम र काभ्रेपलाञ्चोक पर्दछन् । दैनिक १२ लाख लिटर दूध बजारमा बिक्रीका लागि जाने गर्दछ । चितवनका दुग्ध उत्पादक किसानले मात्र रु ८० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवनका सहकारीले मात्र संस्थानबाट रु ४० करोड र निजी डेरी उद्योगबाट अन्य बक्यौता पाउनुपर्ने बताउनुभयो । जिल्लामा हाल तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर खपत हुने गरेको बगालेले जानकारी दिनुभयो । रासस

  • स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

    स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

    काठमाडौँ, असोज २७ –
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएककाहरुको वर्गीकरण गर्नेभएको छ ।

    गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ ।

    घाइतेहरुको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिनुुभयो । उहाँले भन्नुभयो, “विशेषज्ञको टोलीसहित हामीले अधययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।”

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ । रासस

  • पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

    पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

    काठमाडौं ,असोज २७ –
    सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।

    उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।

  • मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

    मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

    काठमाडौँ, असोज २७ –
    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गर्नुभएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा राजदूत पार्कले मन्त्री घिसिङलाई कोरियाका तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सो अवसरमा मन्त्री घिसिङले नेपाल र कोरियाबीच आर्थिक सहायतामा लामो समयदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै ऊर्जा सन्तुलन र विद्युत् निर्यातका लागि ठूला जलाशयुक्त जलविद्युत् आवश्यक रहेकाले ५०० मेगावाटभन्दा ठूला त्यस्ता आयोजनामा सहयोग गर्नु आग्रह गर्नुभयो ।

    उहाँले दुई देशको सरकारी तहबाट साझेदारीमा या कोरियन निजी कम्पनीको लगानी र कोरियामा सफल रहेका एवं नेपालमा प्रचुर सम्भावना रहेका हरित हाइड्रोजनको उत्पादनलाई नमूना परियोजनाका रूपमा विकास गरी यसबाट मलखाद उत्पादन र सार्वजनिक यातायात सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

    रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन एवं कोरिया जानुपूर्व सीप विकास तालिम र फर्किएपछि त्यहाँ हासिल सीपलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलतामार्फत रोजगारी सिर्जनाका लागि सहयोग गर्न मन्त्री घिसिङले आग्रह गर्नुभयो । उहाँले अरुण नदी करिडोर र पूर्व–पश्चिम प्रसारण लाइनलाई जोड्ने इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइनमा कोरियन आयात–निर्यात ९एक्जिम० बैङ्कमार्फत प्राप्त हुने सहायतालाई चाँडो टुङ्ग्याउन, रेलमार्ग निर्माण, सञ्चालन र मर्मतको क्षमता विस्तारलयागतमा आवश्यक सहयोग गर्न आग्रह गर्र्नुभयो ।

    भेटमा कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको प्रगतिका विषयमा राजदूत पार्कले मन्त्री घिसिङलाई जानकारी गराउनुभएको थियो ।

    आयोजनाको निर्माण प्रगति झण्डै ७० प्रतिशत रहेको र आगामी डिसेम्बरमा मुख्य सुरुङ छिचोल्ने (ब्रेक थ्रू) तयारी भइरहेकाले उक्त समारोहमा सहभागिता जनाइदिन र हालसम्म आयोजना अगाडि बढाउन सरकार र नेपाल विद्युत् प्राधिकरणका तर्फबाट गरिएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

    कोरियाले नेपालको ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य सहयोग गरिरहेको कोरियाली कम्पनीलाई आकर्षित गर्न निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँगको सहकार्यमा नेपालमा सेमिनार गर्न लागिएको जानकारी गराउनाका साथै राजदूत पार्कले प्रसारण लाइन निर्माणमा सहायता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग छलफल भइरहेको उल्लेख गर्नुभयो । रासस

  • समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

    समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

    पाटन (ललितपुर), असोज २७ –
    गृहमन्त्री ओमप्रकाश अर्यालले समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव नहुने भएकाले सबैको समन्वय, सहकार्य र सहभागिता आवश्यक पर्ने बताउनुभएको छ ।

    विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस २०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० खुमलटारमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा उहाँले सरकार सबैको समन्वय, सहकार्य र सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

    गृहमन्त्री अर्यालले भन्नुभयो, “नेपाल विपद् संवेदनशील क्षेत्रमा रहेको छ, भौगोलिक रूपमा सुन्दरका साथै त्यतिकै विपद्को उच्चजोखिममा पनि छ, हालै भएको विपद्का कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको छ, यसका कारण विकासको गतिसमेत अवरुद्ध हुँदै आएको तथ्य हामीसामु छ, विगतका ठूला भूकम्प र बाढीपहिरोले हामीलाई विपद् जोखिम न्यूनीकरणका लागि व्यवस्थाको महत्त्वको आवश्यकता महसुस गराउँदै आएको छ, सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।”

    गृहमन्त्री अर्यालले विपद्लाई प्रकृतिमा मात्रै नभई सामाजिक, संरचनात्मक एवं नीतिगत कमजोरीसँग पनि तुलना गर्नुपर्ने बताउनुभयो । उहाँले केन्द्रदेखि स्थानीय तहसम्म विपद् व्यवस्थापनका लागि थुप्रै संयन्त्र क्रियाशील छन् ती सबै निकाय जिम्मेवार हुनुपर्छ भन्नुभयो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशक दिनेश भट्टले विपद् व्यवस्थापनका क्षेत्रमा सरकारले गर्ने कामलाई प्रभावकारी र विश्वसनीय आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय प्राकृतिक विपद् बढ्दै गएकाले त्यसलाई रोक्नका लागि विकास निर्माणका कार्यलाई विपद् व्यवस्थापनका अवधारणालाई ध्यान दिएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले विपद्सम्बन्धी पूर्वसूचना, समुदायमा आधारित समाधानका लागि असल अभ्यासको आदानप्रदान, लैङ्गिकमैत्री समाधानका लागि यो सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

    इसिमोडका महानिर्देशक डाक्टर पेमा ग्माम्त्सोले यस सम्मेलन विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा महत्त्वपूर्ण प्रविधिको उपयोगका लागि चेताना अभिवृद्धि, स्रोतको व्यवस्थापनका साथै परिचालनका विषयमा जानकारी र विपद् पूर्वतयारीका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

    रोशनकुमारी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनले मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका लागि विपद् जोखिमको आकलन र जोखिम न्यूनीकरणमा ज्ञान, सीप र दक्षता अभिवृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

    सम्मेलनले नीतिनिर्माता, अभ्यासकर्ता, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज, निजी क्षेत्रका प्रतिनिधिहरू र सामुदायिक नेताहरूका लागि अनुभवहरू साझा गर्न, नवीन अभ्यासहरू र नेपाल बाहिरका विपद् जोखिम व्यवस्थापनबाट सिकेका पाठहरू साझा गर्न नेपालको प्रमुख प्लेटफर्मका रूपमा काम गर्ने जानकारी गराइएको छ । आजदेखि सुरु भएको सम्मेलन भोलिसम्म चल्नेछ । रासस

  • अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

    अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

    लमजुङ, असोज २७ –
    यहाँ अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।

    आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर घाइते हुनुभएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।”

    जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताउनुभयो । रासस

  • कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

    कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

    काठमाडौँ,असोज २७-
    कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानीमा विषादी भेटिएको छ । मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

    सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १५ थरीका तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये अकबरे खुर्सानीमा अत्यधिक विषादीको मात्रा रहेको फेला परेको छ ।

    नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी विषादीको दुई समूह परीक्षण हुँदै आएको छ । बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।

  • कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

    कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

    जलेश्वर (महोत्तरी), २७ असोज –
    जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने भएको छ ।

    कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै ५७६ कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्कि आउन अनुरोध गरेकामा नौ भारतीयसहित २८१ जना फर्केर आइसकेका तथा अझै २९५ कैदीबन्दी आउन बाँकी रहेको जनाएको छ । कारागारका जेलर अशोक क्षेत्रीले तोकिएको अवधीभित्र फर्कि नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।

    कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही कारागारद्वारा जारी सूचनामा उल्लेख छ । गत भदौ २४ गते राति जलेश्वर कारागारमा रहेका ४० भारतीयसहित ५७६ कैदीबन्दी फरार भएका थिए । जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनःकारागार फर्काउन मद्दत गरेका थिए । रासस