Blog

  • मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

    मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

    फिक्कल (इलाम), १५ कात्तिक १५ –
    बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ । राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् ।

    सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन । “सडक खुलाउन हामी अहोरात्र खटेका छौँ तर सडक भासिने क्रम रोकिएको छैन”, उहाँले भन्नुभयो ।

    मेची राजमार्ग अवरुद्ध हुँदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका यात्री प्रभावित भएका छन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारी साधन गोलाखर्क भञ्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधन माईखोलामा रोकिएका छन् ।

    वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्गा सडक) अन्तर्गत बेलासेस्थित माईखोलाको पुल असोज १८ को बाढीले भाँचिएको र तिल्केनी–सिमलगोलाई सडक अन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा बिहीबारको बाढीले क्षति भएपछि इलामबाट झापा जाने यात्री पनि मर्कामा परेका छन् । रासस

  • महाधिवेशन कार्यतालिकाबारे कांग्रेस पदाधिकारी बैठकमा मिलेन कुरा

    महाधिवेशन कार्यतालिकाबारे कांग्रेस पदाधिकारी बैठकमा मिलेन कुरा

    कार्तिक १५ ,काठमाडौं ।
    महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ। पार्टीको महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विवाद चर्किएपछि थप छलफलका लागि आज पदाधिकारी बैठक बसेको थियो।

    तर, आजको बैठकमा कुनै निष्कर्षमा नपुगेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनले नेपाल प्रेससँग भने, ‘छलफल सकारात्मक भएको छ। अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ। केन्द्रीय समिति बैठकबाट साझा धारणा बनाएर जानुपर्छ भन्नेमा जोड एकमत छौँ।’
    उनले भोलि दिउँसो १ बजेबाट केन्द्रीय समिति बैठक निरन्तर बस्ने उनले बताए।

    हिजो महामन्त्री गगन थापाले पुस १६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गर्ने अडान लिएका थिए। तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नदिएपछि हिजो बैठक बस्ने नबसी स्थगित गरिएको थियो।

    हिजो खड्कासँग भेट्नुअघि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले इतर पक्षका नेता डा. शेखर कोइरालासँग पनि भेटेका थिए।
    महामन्त्रीलाई काउन्टर दिन संस्थापन पक्षबाट अर्को कार्यतालिका आउने अवस्था बनेपछि बैठक रोकिएको थियो।

    तर संस्थापन पक्षले भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नसक्ने भन्दै वैशाखमा गर्नुपर्ने पक्षमा छन् । कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले बिहीबार पनि बैठक नै बहिस्कार गरेका थिए।

    महामन्त्रीहरूले अडान लिइराखे कावा सभापति खड्काले भने केन्द्रीय समितिले बहुमतको आधारमा निर्णय गर्ने जवाफ दिइसकेका छन्।

  • नारायणीले बगाएका पुरुषको अचेत अवस्थामा उद्दार,भरतपुर अस्पतालमा उपचार हुँदै

    नारायणीले बगाएका पुरुषको अचेत अवस्थामा उद्दार,भरतपुर अस्पतालमा उपचार हुँदै

    चितवन, कात्तिक १५-
    नारायणी नदिले बगाएको एक पुरुषको उद्दार गरिएको छ । चितवनको भरतपुर महानगरपालिका २० भिमनगर बस्ने ७९ वर्षीया पूर्णचन्द्र अर्याललाई प्रहरी पोष्ट शारदानगरबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको हो ।

    आज (शनिबार) बिहान १०ः ४० बजे महानगरपालिका १७ मझुवा वनको नारायणी नदि किनारबाट अर्यालको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार अचेत अवस्थामा उद्दार गरिएका अर्याललाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ । अर्यालको उपचारको लागि उनका छोरा पुरुषोत्तम अर्याल खटिएको प्रहरीले जनाएको छ ।

  • सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

    सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा होटलमा पर्यटक खचाखच

    सोलुखुम्बु, कात्तिक १५ –
    प्रतिकूल मौसमका कारण सगरमाथाको प्रवेशद्वार मानिने लुक्लास्थित तेञ्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ । निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ ।

    हवाई उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक ९एटिसी० नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि हवाई उडान हुन सकेको छैन । यस याममा दैनिक औसत ६० भन्दा हवाई उडान हुने गरिए पनि अहिले सबै ठप्प भएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “झरी परेकाले भिजिविलिटी न्यून त, विमान मात्रै नभई हेलिकप्टरको उडान पनि हुन सकेको छैन, गत बिहीबार केही हेलिकप्टरको उडान भए पनि अहिले भएको छैन ।”

    हवाई उडान रोकिएसँगै खुम्बु क्षेत्र भ्रमण गरी फर्कने तयारीमा रहेका पर्यटकहरु लुक्लामै अड्किएका छन् । यतिबेला लुक्लाका होटल र गेस्टहाउस पर्यटकले भरिएका छन् ।

    तारा एयरलाइन्स लुक्लाका इञ्चार्ज अमृत मगरका अनुसार एयरलाइन्सबाट टिकट काटेका करिब एक हजार ५०० पर्यटक लुक्लामै अड्किएका छन् । “लुक्लाका सबै होटल भरिएका छन्, नयाँ पाहुनाका लागि कोठा पाउन मुस्किल भएको छ”, उहाँले भन्नुभयो ।

    पर्यटकलाई होटलले लबीमै बसाल्नु परेको स्थानीय तोयाकुमार श्रेष्ठले बताउनुभयो । फ्रान्सबाट आउनुभएकी पर्यटक ज्युली मारीले आफूहरु हवाई उडानको प्रतीक्षामा रहेको बताउनुभयो । “हामी सगरमाथा आधारशिविर पुगेर तीन दिनअघि लुक्ला फर्किएका छौँ, हवाई उडान नहुँदा यही रोकिएको अवस्था छ ।”

    नाम्चेमा पनि उस्तै भीड

    लुक्लामा मात्रै होइन नाम्चेबजारका होटल पनि पर्यटकले भरिएका छन् । नाम्चेमा मात्रै करिब एक हजार २०० पर्यटक रोकिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “लगातारको झरी र माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ, माथिल्लो क्षेत्रमा गएका पर्यटक नाम्चे आइपुगेका छन्, लुक्लाबाट माथि हिँडेका पर्यटक पनि नाम्चेमै अड्किएका छन्, यतिबेला पर्यटकले नाम्चेका होटलमा शतप्रतिशत अकुपेन्सी छ ।”

    नाम्चे पुगेका टेक राईका अनुसार नाम्चेमा चार दिनदेखि घाम लागेको छैन । पाहुनाहरू पुस्तक पढ्दै, सङ्गीत सुन्दै दिन कटाइरहेका छन् ।

    सडक मार्ग पनि सहज छैन

    हवाई उडान ठप्प भएपछि केही पर्यटक भने लुक्लाबाट सल्लेरी हुँदै स्थलमार्गबाट काठमाडौँ फर्किने प्रयासमा छन् । तर त्यो बाटो पनि सहज छैन । पर्यटन व्यवसायी बल दर्नालका अनुसार बर्खाका कारण सोलुखुम्बु–काठमाडौँ सडकखण्डका विभिन्न ठाउँमा पहिरो र हिलोका कारण आवागमन अवरुद्ध भएको छ ।

    विशेषगरी बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली आसपासमा भारी वर्षा र हिलोका कारण सवारीसाधन घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था आएको छ ।

    मौसम अझै नखुल्ने सङ्केत

    काठमाडौँस्थित जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन अझै सक्रिय छ र अहिले पनि भारी वर्षा र हिमपात हुने सम्भावना छ । उहाँले भन्नुभयो, “कोशी प्रदेशसहितका हिमाली र पहाडी क्षेत्रमा अझै दुईदेखि तीन दिनसम्म वर्षा हुने सम्भावना छ, त्यसपछि मात्र मौसम विस्तारै खुल्ने अनुमान छ ।” रासस

  • शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालन

    शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालन

    मुस्ताङ, कात्तिक १४ –
    निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।

    जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सडक मर्मत गरेर केहीबेरअघिदेखि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन् । अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको छ ।

    स्थानीय प्रशासनले कागबेनी—छुसाङ सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले राससलाई जानकारी दिनुभयो । रासस

  • माडीको रिउ खोलामा घुँगी खोज्न गएका वृद्ध मृत फेला

    माडीको रिउ खोलामा घुँगी खोज्न गएका वृद्ध मृत फेला

    चितवन, कात्तिक १५-
    चितवनको माडीमा एक जना वृद्ध मृत फेला परेका छन् । माडी नगरपालिका-१ रिउ खोलाको किनारमा पाण्डवनगरका ६५ वर्षीया बुद्धिराम बोट मृत फेला परेका हुन् ।

    इलाका प्रहरी कार्यालय माडीका अनुसार बोटको शव खोला किनारको दलदलमा घोप्टो परेको अवस्थामा फेला परेको हो।

    घरबाट हिजो दिउँसो करिब १ बजे ‘घुँगी खोज्न जान्छु’ भन्दै निस्केका बोट घर नफर्केपछि परिवारजनले प्रहरी चौकी बरुवा, माडीमा खबर गरेको थियो ।

    खबर प्राप्तपछि प्रहरी चौकी बरुवाका प्रहरी सहायक निरीक्षक अर्जुन घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा बोटको शव रिउ खोलामा मृत अवस्थामा फेला परेको थियो ।

  • आज हरि बोधिनी एकादशीः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    आज हरि बोधिनी एकादशीः घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै

    काठमाडौँ, कात्तिक १५-
    वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको हो । आसार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

    विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

    कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।

    आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

    तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

    तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।

    आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।

    किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

    कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

    आजका दिन धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । यसैगरी काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ ।

    यसैगरी नारायणहिटस्थित चातुव्र्युह नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा राजेश्वरानन्दले जानकारी दिनुभयो । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।रासस

  • अझै खुलेन बीपी राजमार्ग, पहिरो र लेदोले सडक अवरुद्ध

    अझै खुलेन बीपी राजमार्ग, पहिरो र लेदोले सडक अवरुद्ध

    काभ्रे, कात्तिक १५-
    पहिरो र लेदोको कारण अवरुद्ध बीपी राजमार्ग अझै खुलेको छैन । शुक्रबार बिहान देखि काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण अवरुद्ध राजमार्ग अझै नखुलेको हो।

    पहिरो र लेदोको अवरोधको कारण राजमार्ग अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक इश्वर कार्कीले जानकारी दिए । लगातारको बर्षाका कारण बीपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । माम्तीको तल्लो भेगमा गत आसोजमा सड़क बगेर बनेको डाइभर्सनमा लेदो सहितको बाढ़ी पसेको छ ।

  • निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ: प्रधानमन्त्री कार्की

    निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी हुन्छ: प्रधानमन्त्री कार्की

    काठमाडौँ, कात्तिक १५ –
    प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग मुलुकको समयसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी, सरकारको काम कारवाहीलगायतका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारका तर्फबाट अधिकत्तम प्रयास भइरहेको र क्रमशः वातावरण बन्दै गएको तथा यसबीचमा जेनजी, राजनीतिक दलबीचमा छलफल भएको समेत सो अवसरमा जानकारी दिनुभएको थियो ।

    सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने र नयाँ सरकारलाई जिम्मा लगाएर विदा हुने मनसायमा आफू रहेको समेत प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

    सुशासन कायम गर्ने र निर्वाचन गराउने सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले राजनीतिक दललाई निषेध गरेर नभई उत्साहपूर्वक सहभागिता गराएर फागनु २१ को निर्वाचन सम्पन्न गर्दै सत्ता हस्तान्तरण गर्ने बताउनुभयो । आफूले असहज अवस्थामा सरकारको नेतृत्व लिएको स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले आलोचनाबाट नडराउने बताउनुभयो ।

    छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थिति थियो । रासस

  • नारायणी नदी किनारमा खेलकुद महोत्सव : तयारी ८० प्रतिशत पुरा

    नारायणी नदी किनारमा खेलकुद महोत्सव : तयारी ८० प्रतिशत पुरा

    चितवन,१४ कात्तिकः
    चितवनको नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ गतेदेखि सुरु हुने खेलकुद तथा बृहत व्यापार महोत्सवको तयारी ८० प्रतिशत पुरा भएको छ । चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजनामा मंसिर २ गतेसम्म चल्ने महोत्सव तयारी धमाधम भईरहेको छ ।

    हालसम्म तयारी ८० प्रतिशत सकिएको समितिका अध्यक्ष राजन कार्कीले बताए । कार्तिक १८ गते भव्यताका साथ उद्घाटन गर्ने गरी तयारी भईरहेको उनले जानकारी दिए ।उद्घाटनको दिनमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिनेछ । कार्कीका अनुसार उद्घाटनमा कराँते, तेक्वान्दोलगायतका खेलाडी र प्रशिशकहरुले डेमो प्रस्तुत गर्नेछन् । यसका लागि तयारी भईरहेको छ । यस्तै बिच भलिवलका लागि पनि ठाउँ तयार गरिएको छ ।

    महोत्सव परिसरमा कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टल निर्माण गरिएको छ । अन्य स्टल निर्माणको काम पनि करिब अन्तिम चरणमा रहेको छ । बाल उद्यानको काम पनि अन्तिम चरणमा रहेको उनले बताए । दर्शकहरुलाई महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माणको काम पनि सुरु भएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् । लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि महोत्सव परिसरमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको प्रतिमा निर्माण गरिनेछ । दर्शकले अतिरिक्त शुल्क नतिरी तीनको अवलोकन गर्नसक्ने महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिए ।

    महोत्सवमा तीन सय बढी स्टल रहने रहनेछ । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा नि:शुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । नेपालका चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।

    तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकट रहने खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताए । उनका अनुसार विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सव सम्पन्न गर्न एक करोड ५० लाख खर्च हुने आयोजकको अनुमान छ ।